२ रनले चुक्यो नेपाल, कीर्तिमानी जितको सपना अधुरै

आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत सोमबार भएको रोमाञ्चक खेलमा नेपाल स्कटल्याण्डसँग २ रनले पराजित भएको छ। ३२४ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको नेपाल ५० ओभरमा ३२१ रनमै अलआउट हुँदै लक्ष्य नजिक पुगेर पनि हार्न बाध्य भयो।

नेपालको पारीको सुरुवात कमजोर रह्यो, ३४ रनमै ३ विकेट गुमाएको दबाबपूर्ण अवस्थाबाट आरिफ शेख र भीम सार्कीले ९४ रनको साझेदारी गर्दै इनिङ सम्हाले। आरिफ ३९ रनमा आउट भएपछि भीमले ७३ रन बनाए भने गुल्शन झा ११ रनमै पवेलियनको बाटो फर्किए। त्यसपछि नेपाल १८३-६ को स्थितिमा पुगेको थियो।

यही अवस्थामा दिपेन्द्रसिंह ऐरी ले इनिङसलाई सम्हाल्दै ५६ रन र सोमपाल कामीको आक्रमक ६७ रनले सातौं विकेटका लागि १०५ रनको सानदार साझेदारी गर्दै नेपाललाई जितको नजिक पुर्‍याएका थिए। तर दिपेन्द्र ४७औं ओभरमा र सोमपाल ४८औं ओभरमा आउट भएपछि जिम्मेवारी करण केसी र सन्दीप लामिछानेको काँधमा आयो।
यस सिरिजको पहिलो म्याचको हिरो करणले खेल जिताउलान् भन्नेमा सबै ढुक्क थिए ।

नेपाललाई अन्तिम १२ बलमा १६ रन आवश्यक हुँदा ब्रान्डन म्याकमुलेनले एक चौका सहित ९ रन दिए। अन्तिम ओभरमा नेपाललाई ७ रन आवश्यक थियो। करण केसीले पहिलो बलमा २ रन लिए, दोस्रो बल डट भयो र तेस्रो बलमा उनि क्याच आउट भए। बाँकी ३ बलमा ५ रन आवश्यक भएको अवस्थामा ललित राजवंशीले बाइमार्फत १ रन लिँदा सन्दीपले थप १ रन जोडे। अन्तिम बलमा नेपाललाई ३ रन आवश्यक हुँदा ललित बोल्ड भए र नेपाल २ रनले हार्न पुग्यो।

यो हारसँगै नेपालले एक साताभित्रै दोस्रो पटक ऐतिहासिक जितको अवसर गुमाएको छ। स्कटल्याण्डविरुद्ध अघिल्लो साता २९७ रनको लक्ष्य पछ्याउँदै नयाँ कीर्तिमान बनाएको नेपाल आज ३२४ रनको लक्ष्य चेज गर्ने प्रयासमा नजिक पुगे पनि सफल हुन भने सकेन। यद्यपि, यो नेपालले ओडिआईमा पछ्याएको सबैभन्दा ठूलो योगफल (३२१ रन) बन्यो। यसअघि नेपालले कीर्तिपुरमा ओमानविरुद्ध ३१० रन बनाएको थियो।

स्कटल्याण्डको ब्याटिङको कुरा गर्दा स्कोटिस कप्तान रिची बेरिङटनले ११४ बलमा ६ चौका र ४ छक्का प्रहार गर्दै १०२ रन बनाए भने माइकल लिस्कले १२ चौका र ३ छक्का सहित ९६ रनमा अविजित रहे। ओपनर चार्ली टियरले ६८ रन जोडे। स्कटल्याण्डले ५० ओभरमा ६ विकेट गुमाउँदै ३२३ रन बनायो, जुन नेपालले एसोसियट राष्ट्रसँग खेलेको खेलमा सबैभन्दा ठूलो स्कोर हो।

नेपालका बलरमध्ये करण केसीले १० ओभरमा २ मेडनसहित ७४ रन दिँदै २ विकेट लिए भने दिपेन्द्र ऐरीले ७ ओभरमा ३७ रन खर्चेर २ विकेट लिए। ललित राजवंशीले १ विकेट हात पारे।

यसअघिका दुई खेलमा नेपालले स्कटल्याण्ड र नेदरल्याण्ड्सलाई पराजित गरेको थियो। तर यस खेलमा पराजित भएपछि लिग २ मा नेपालले १५ खेलबाट १० अंक बनाएको छ। स्कटल्याण्ड भने १७ खेलबाट २२ अंकसहित शीर्ष चारतिर अग्रसर देखिन्छ। लिग २ मा ८ एसोसियट टोली सहभागी छन्, जसमा शीर्ष चार टोलीले सन् २०२७ को एकदिवसीय विश्वकप छनोटमा सिधा स्थान पाउनेछन् ।