काठमाडौं । भारत र नेपालबीचको खेलकुद सहकार्यलाई अझ प्रगाढ बनाउने उद्देश्यले भारतीय राजदूतावास, काठमाडौंले तीनजना आशालाग्दा यू–१९ नेपाली क्रिकेट खेलाडीहरुलाई क्रिकेट किट हस्तान्तरण गरेको छ।
सोही अवसरमा भारतीय राजदूत नवीन श्रीवास्तवले “नेपाली युवाहरुका लागि राजदूत क्रिकेट फेलोशिप” को घोषणा गरे । जस अन्तर्गत नेपालका दुइजना युवा क्रिकेटरहरुले भारतका प्रतिष्ठित कोचिङ एकेडेमीहरुमा छोटो अवधिको कोचिङ प्राप्त गर्ने अवसर पाउनेछन्।
यो कार्यक्रम काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा २०८२ जेठ १७ गतेदेखि जेठ २५ गतेसम्म सम्पन्न “भारतीय राजदूत क्रिकेट प्रतियोगिता–२०८२” को समापन समारोहको अवसरमा सम्पन्न भएको हो।
प्रतियोगिताको उद्घाटन २०७२ जेठ १७ गते नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, बेलायती राजदूत तथा नेपालको परराष्ट्र मन्त्रालयका सहसचिव (दक्षिण एसिया महाशाखा) गेहेन्द्र राजभण्डारीको उपस्थितिमा भएको थियो।
प्रतियोगितामा भारतीय दूतावास, नेपाल सरकारको परराष्ट्र मन्त्रालय, बेलायती दूतावास, नेपाल पत्रकार महासंघ, कर्पोरेट क्षेत्र तथा नेपालस्थित भारतीय डायस्पोरालाई प्रतिनिधित्व गर्ने गरी छ वटा टोलीको सहभागिता रहेको थियो।
एक साता लामो उत्साहजनक प्रतिस्पर्धापछि फाइनल खेल २०८२ जेठ २५ गते भारतीय दूतावास र भारतीय डायस्पोराको टोलीबीच सम्पन्न भयो, जसपश्चात आयोजित पुरस्कार वितरण समारोहमा क्यानका अध्यक्ष चतुरबहादुर चन्द तथा अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिति थियो।
त्यसै दिन साँझ भएको समापन समारोह र रिसेप्सन कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, महिला राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरु तथा सहभागी टोलीका सम्पूर्ण खेलाडीहरु उपस्थित थिए।
राजदूतावासको यो पहल खेलकुद मार्फत नेपालमा युवाहरुको विकासमा टेवा पुर्याउनुका साथै भारत–नेपाल जनस्तरको सम्बन्धलाई थप बलियो बनाउन गरिएको भारतको प्रतिबद्धताको एउटा सशक्त संकेत हो।