०८४ मा माओवादी पहिलो हुन्छ, विप्लव–माधवसँग एकताको प्रयास पनि छ: प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुमलटारस्थित आफ्नो निवासमा आयोजित विशेष कार्यक्रममा पार्टीमा हालै प्रवेश गरेका नयाँ सदस्यहरूलाई स्वागत गरे।

कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले माओवादी केन्द्रले सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्यसहित समाजवादी क्रान्तिलाई नयाँ चरणमा लैजान प्रयास गरिरहेको बताए। उनले विगतका गल्ती र कमजोरीहरूबाट सिकेर पार्टी जनतासँग पुनः जोडिन अभियानमा लागेको स्पष्ट पारे।

प्रचण्डले यस किसिमको पार्टी प्रवेश र समायोजनले पार्टीलाई थप ऊर्जा दिने विश्वास व्यक्त गरे। साथसाथै माओवादीप्रति जनचासो बढ्दो रहेको भन्दै पार्टीमा आउने नयाँ सदस्यहरूलाई जिम्मेवारी दिन तयार रहेको जानकारी समेत दिए।

उनले भने, “हामी सबैलाई एक ढिक्का बनाएर माओवादीलाई फेरि पहिलो शक्ति बनाउने अभियानमा छौं—जसरी २०६४ को निर्वाचनमा पार्टी सबैभन्दा ठूलो शक्ति बनेको थियो, त्यसलाई कायम राख्न नसकिए पनि अब पुनः त्यही उचाइमा पुर्‍याउने लक्ष्य लिएका छौं।”

यसै क्रममा उनले विप्लव नेतृत्वको नेकपा, माधवकुमार नेपालको नेकपा (एस) र महेन्द्र राय यादवको नेसपाबीच बनेको समाजवादी मोर्चाको उल्लेख गर्दै सम्भावित एकताको विषयमा छलफल भइरहेको जानकारी पनि दिए।