नेपाल र नेदरल्यान्ड्सबीचको खेलमा पहिलो पटक तीन सुपर ओभर,नतिजा नेपालको पोल्टामा परेन

स्कटल्यान्डमा जारी त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नेपालले पहिलो खेलमा नेदरल्यान्ड्ससँग निकै रोमाञ्चक प्रतिस्पर्धा गर्दै तेस्रो सुपर ओभरमा हार बेहोरेको छ।

तीन पटक स्कोर बराबरी भएपछि अन्ततः नेपाल पराजित भयो।नेपाल र नेदरल्यान्ड्सले तीन सुपर ओभर खेलेर कीर्तिमान बनाए। पहिलो र दोस्रो सुपर ओभरमा दुवै टिमले बराबरी खेलेपछि तेस्रो सुपर ओभरमा नेदरल्यान्ड्सले जित हासिल गर्यो।

पहिलो सुपर ओभरमा नेपालले १९ रन बनायो, तर नेदरल्यान्ड्सले पनि १९ रन बनाएपछि दोस्रो सुपर ओभरमा खेल पुग्यो। दोस्रो ओभरमा पनि दुबै टोलीले समान १७ रन बनाएपछि तेस्रो सुपर ओभर आवश्यक भयो। दीपेन्द्रसिंह ऐरीको छक्काले दोस्रो सुपर ओभरमा खेललाई तेस्रो ओभरमा पुर्यायो।

तेस्रो सुपर ओभरमा नेपालले कुनै रन बनाउन सकेन भने नेदरल्यान्ड्सले पहिलो बलमै छक्का हान्दै खेल आफ्नो पक्षमा पारेको हो। यसअघि नियमित २० ओभरको खेलमा नेदरल्यान्ड्सले पहिले ब्याटिङ गर्दै ७ विकेट गुमाएर १५२ रन बनायो। जवाफमा नेपालले पनि ८ विकेट गुमाएर समान १५२ रन बनायो।

अन्तिम ओभरमा नेपाललाई १६ रन आवश्यक परेको अवस्थामा सन्दीप लामिछाने र नन्दन यादवले आक्रामक ब्याटिङ गर्दै स्कोर बराबरी गराए। नेपालका लागि कप्तान रोहित पौडेलले ४८ रन बनाए भने कुशल भुर्तेलले ३४ रनको योगदान दिए। बलिङतर्फ सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट लिए भने नन्दन यादवले २ विकेट लिए।

खेलमा किरणकुमार ठगुन्ना र रुपेश सिंहले टी–२० मा डेब्यू गरे। नेदरल्यान्ड्सविरुद्ध पहिलो पटक टी–२० खेलिरहेका उनीहरू प्लेइङ-११ मा पनि परेका थिए। नेपाली टोलीले यो सिरिजलाई २०२६ टी–२० विश्वकप छनोटको तयारीको रूपमा लिएको छ।

यसअघिका सिरिज र अभ्यास म्याचहरू जस्तै, नेपालले आगामी महिना श्रीलंका, त्यसपछि अस्ट्रेलिया र सेप्टेम्बरमा युएई भ्रमण गरी तयारी गर्नेछ। अक्टोबरमा ओमानमा हुने एसिया र इस्ट एसिया प्यासिफिक क्षेत्रीय छनोटमा नेपालले प्रतिस्पर्धा गर्दैछ।

यस छनोटबाट तीन टोली २०२६ मा भारत र श्रीलंकामा हुने टी–२० विश्वकपमा पुग्ने छन्। विश्वकपमा १२ टोली पहिले नै छनोट भइसकेका छन् भने बाँकी आठ टोली क्षेत्रीय छनोटबाट तय हुनेछन्।