नेपाल प्रिमियर लिग (एनपिएल) टी-२० क्रिकेट प्रतियोगिताको पहिलो संस्करणको उपविजेता टिम सुदूरपश्चिम रोयल्सले आगामी सिजनका लागि ६ खेलाडीलाई रिटेन गरेको छ।
राष्ट्रिय टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई मार्की खेलाडीको रूपमा टिममा यथावत् राखिएको छ। ऐरीसँगै विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहरा, ईशान पाण्डे र नरेन साउदलाई पनि टिमले रिटेन गरेको हो।
साथै, सुदूरपश्चिमले ६ खेलाडीलाई टिमबाट अलग गरेको छ। टिमका मुख्य कार्यकारी अधिकृत प्रकाश खड्काका अनुसार अर्जुन कुमाल, नरेश बुढाथोकी, खडकबहादुर बोहरा, भोजराज भट्ट, अमित श्रेष्ठ र वसन्त खत्रीलाई रिलिज गरिएको छ।
रिलिज गरिएका खेलाडीहरूको भविष्यका लागि शुभकामना दिँदै, आगामी ड्राफ्ट र ट्रायलमार्फत नयाँ खेलाडीहरूलाई स्वागत गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ।