काठमाडौँ । भिजिट भिसा प्रकरणबारे छानबिन गर्न गठित उच्च स्तरीय समितिको ९ वटा कार्यादेश रहेको छ । ९ वटा कार्यादेशसहित सरकारले समिति बनाएको गृहमन्त्री रमेश लेखकले जानकारी दिएका हुन् ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले पुर्व राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास वैरागीको नेतृत्वमा छानबिन समिति बनाएको छ । उक्त समितिमा सम्बन्धित मन्त्रालयहरूका सहसचिवहरू रहनेछन् । समितिले सुझाव दिने र त्यसलाई कार्यान्वयन सरकारले गर्ने गृहमन्त्री लेखकले बताए ।
उनका अनुसार समितिले तत्कालीन र दीर्घकालीन रूपमा गर्ने कामहरूबारे सुझाव दिनेछ । नीतिगत र कानुनी सुधार आवश्यक भए त्यसको मस्यौदा समेत सुझाउनेछ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको काममा असर नपर्ने गरी समितिले काम गर्नेछ ।
अध्यागमनमा रहेको समस्या पहिचानदेखि नीतिगत सुधारसम्मका काम गर्ने गरी छानबिन समितिलाई ९ वटा कार्यादेश दिइएको गृहमन्त्री लेखकले प्रतिनिधि सभाको बैठकलाई जानकारी गराएका हुन् ।
गृहमन्त्री लेखकले यो समितिको छानबिनबाट भिजिट भिसाको समस्या दीर्घकालीन रूपमै समाधान हुने पनि बताएका छन्।