काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँबीचको बढ्दो विवादले गर्दा राजधानीको बजेट समयमै सार्वजनिक हुन सकेको छैन।
काठमाडौँ टावरको नक्सापास विवादपछि बालेनले गुरागाइँलाई स्वीकार नगरेपछि दुबैबीच प्रत्यक्ष भेटघाट नभएको ६ महिनासम्म भइसकेको छ। यद्यपि, दुबै पक्षले एक–अर्कालाई सम्बोधन गर्दै दर्जनौं फाइल पठाइरहेका छन्।
गुरागाइँले चैत २९ यता वैशाख २६ सम्म १८ वटा फाइल मेयरकोमा पठाएका छन् भने, बालेनले पनि प्रमुख प्रशासकीय अधिकृतलाई भनेर फाइलहरू तोक लगाएका छन्।
तर, आपसी संवादविहीनताका कारण नगरको नीति निर्माण प्रक्रियामा ठुलो असर परेको छ।
कार्यपालिका र नगरसभा सदस्यहरूले पटकपटक बालेनलाई बैठकमा सहभागी हुन आग्रह गरे पनि, उनले गुरागाइँ सहभागी हुने बैठकमा नबस्ने अडान कायमै राखेका छन्।
यस कारण काठमाडौँ महानगरको आगामी बजेट अझै अन्योलमा परेको छ।