नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजका कम्युनिष्ट नेताहरू पद, स्वार्थ र व्यक्तिगत प्रतिष्ठाका लागि मात्रै प्रतिस्पर्धामा लागेको भन्दै तीव्र असन्तुष्टि व्यक्त गरेका छन्।
‘प्रचण्ड’ले पछिल्लो समय कम्युनिष्ट आन्दोलन दिशाहीन बन्दै गएको टिप्पणी पनि गरेका छन्।
भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले अहिलेको कम्युनिष्ट आन्दोलनमा राजनीतिक, सैद्धान्तिक, व्यवहारिक र सांस्कृतिक विचलन देखिएको बताए। उनले विगतमा जनक्रान्ति र जनआन्दोलनका समयमा देखिएको समर्पण, त्याग र आदर्शको भावना हराउँदै गएको उल्लेख गरे।
“हिजो चाहे जनक्रान्तिको बेला होस् वा जनआन्दोलनको बेला, जुन किसिमको समर्पण प्रदर्शन गरिन्थ्यो, आज-भोलि त्यसमा खडेरी परेको छ,” उनले भने, “सबैतिर पद, स्वार्थ र व्यक्तिगत प्रतिष्ठाका लागि तँछाडमछाड मात्र देखिन्छ।”
प्रचण्डले कम्युनिष्ट आन्दोलन मूल मर्मबाट भट्किएको टिप्पणी गर्दै त्यसले वर्गीय मुद्दा र जनताको मुक्तिसँगको सम्बन्ध कमजोर बनाएको धारणा राखे। उनले आन्दोलनको उद्देश्य, मूल्य र आदर्शमा फर्किन आवश्यक रहेको बताए।