टेरामक्स प्रकरणमा पूर्वमन्त्री मोहनबहादुर बस्नेत विशेष अदालतमा उपस्थित

नेपाल दूरसञ्चार प्राधिकरणमार्फत टेरामक्स प्रविधि खरिदसम्बन्धी भ्रष्टाचार मुद्दामा बयान दिन पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेत आज विशेष अदालतमा उपस्थित भएका छन्।

विशेष अदालतका उपरजिस्टार कृष्णशरण लामिछानेका अनुसार बस्नेतको बयान सुरु भइसकेको छ। अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा बयान प्रक्रिया अगाडि बढाइएको हो।

बयानपछि आजै बस्नेतविरुद्ध थुनछेक बहससमेत हुने विशेष अदालतले जनाएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रीका हैसियतमा बस्नेतकै नेतृत्वमा टेरामक्स प्रविधि खरिद निर्णय गरिएको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि उनकाे सांसद पद स्वतः निलम्बनमा परेको हो।