
काठमाडौँ । रुपन्देही क्षेत्र नम्बर ३ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनमा भैरहवाका अजयकुमार गुप्ताले उम्मेदवारी दिने घोषणा गरेका छन् ।
राप्रपाका वरिष्ठ नेता तथा रुपन्देही-३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित दीपक बोहराको गत चैतमा निधन भएपछि रिक्त पदमा यहाँ हुने उपनिर्वाचनमा अहिले उम्मेदवारी घोषणा सुरु हुन थालेको छ ।
राप्रपा रुपन्देहीको उपाध्यायबाट तीन महिनाअघि राजीनामा दिएका सिद्धार्थनगर नगरपालिका–३ का ४३ वर्षीय गुप्ताले उम्मेदवारी दिने घोषणा गरेका हुन् । यसअघि बुटवल १९ का लेखनाथ गैरेले पनि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् ।
गुप्ताले बिहीबार भैरहवामा पत्रकार सम्मेलन गरी आफू उपनिर्वाचनमा उम्मेदवार बन्ने सार्वजनिक गरेका छन् । विगतमा मधेशवादी दल र त्यसपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा रहेर राजनीति गरेका गुप्ताले अहिले कुनै पार्टीमा नभएको जनाएका आफू हाल स्वतन्त्र युवा भएको बताए ।
उनले गत वैशाख ३० गते राप्रपा परित्याग गरेका थिए । ‘अबको नेतृत्व रैथाने युवाको’ हुनुपर्ने नाराका साथ आफू अघि बढेको उनले बताए । ‘म भैरहवामा जन्मे, यही हुर्के, शिक्षा पाएँ, उद्योग व्यवसाय सञ्चालन गरे, मेरो बाल्यकाल यही बित्यो । म यहाँको स्थानीय भएकोले यहीको माटोको माया छ, ’उनले भने । उनले रुपन्देही–३ ले रैथाने युवा नेतृत्व खोजिरहेको दाबी गरे ।