भारतको लगानीले नेपालको पूर्वाधार र समृद्धिमा योगदान पुर्‍याएको छ : खाँण

विराटनगर । पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले नेपालमा भौतिक पूर्वाधार, ऊर्जा, कृषि, उद्योग र पर्यटनको विकासमा भारतको लगानीले महत्वपूर्ण योगदान पुर्याएको बताएका छन्।

नेपाल–भारत मैत्री युवा संघ मोरङ जिल्ला कार्यसमितिद्वारा विराटनगरमा आयोजित “नेपाली विकास र समृद्धिमा भारतको लगानीको भूमिका” विषयक एकदिवसीय सेमिनारमा बोल्दै खाँणले नेपाल–भारतबीचको भाइचारालाई मजबुत बनाउन आपसी शिष्टाचारको आवश्यकता औंल्याए।

कार्यक्रममा विशिष्ट अतिथि भारतकाे लाेकसभा सदस्य प्रदीप सिंहले दशकौँदेखि भारतले नेपालमा जलविद्युत्, सडक, शिक्षा, स्वास्थ्य, व्यापार र रोजगारी सिर्जनामा निरन्तर लगानी गर्दै आएको बताए। उनले भारतीय लगानीले नेपाली जनताको आयस्तर उकास्न र रोजगारी सिर्जनामा टेवा दिएको उल्लेख गरे।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य अमृत अर्यालले भारतको लगानीलाई अझ प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिंदै व्यापार, पर्यटन र पूर्वाधारमा सहकार्य विस्तारको आवश्यकता औंल्याए।

नेपाल भारत मैत्री युवा संघका केन्द्रीय अध्यक्ष तथा पूर्वमन्त्री महेन्द्र यादवले आर्थिक सहकार्यलाई अझ सुदृढ बनाउन भारत प्रतिबद्ध रहेको बताए।

कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले भारतीय लगानीबिना नेपालको दिगो विकास कठिन हुने धारणा राखे।

अध्यक्ष मोहमद नसरुलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ४५ वर्षभन्दा बढी समयदेखि कलाकारिता क्षेत्रमा योगदान दिएका वरिष्ठ गायक रामा मण्डल, जनस्वास्थ्य सेवामा सक्रिय डा. सफिर रहमान, पत्रकार महासंघ मोरङकी अध्यक्ष सुशील पाठक र सामाजिक अभियन्ता कृष्ण कुमार साहलाई सम्मान गरिएको थियो।

कार्यक्रममा उद्योगी, व्यापारी, कूटनीतिक नियोग, राजनीतिक दलका नेता तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उल्लेख्य उपस्थिति रहेको थियो।