
काठमाडौं बाथरुममा लडेर सामान्य चोट लागेको भन्दै फर्काइएको एक वृद्धको मृत्यु प्रकरणमा ॐ अस्पताल एण्ड रिसर्च सेन्टर र संलग्न दुई चिकित्सक अदालतबाट दोषी ठहरिएका छन्। उपभोक्ता अदालतको फैसलाले अस्पताल प्रशासनको व्यवस्थापकीय कमजोरी र चिकित्सकहरूको हेलचेक्र्याइँले बिरामीको ज्यानै गएको पुष्टि गरेको हो।
९८ वर्षीय हरिहर गौतमलाई बाथरुममा लडेपछि २०८१ माघ ५ गते दिउँसो अस्पतालको इमर्जेन्सी कक्षमा भर्ना गरिएको थियो। तर तत्कालिन ड्युटीमा रहेका डा. सरोजकुमार गोहीवार र डा. सायुज्यराज घिमिरेले सामान्य एक्स–रे गराएर फ्र्याक्चर छैन भन्दै दुखाइ कम गर्ने सुई र औषधि दिएर डिस्चार्ज गरिदिएका थिए।
तर चार दिनमै पिडा असह्य भएपछि अर्को अस्पताल लग्दा पुरानो एक्सरेमा नै ‘एकेटाबुलम फ्र्याक्चर’ देखिएको पुष्टि भएको थियो। समयमा ठोस उपचार नपाएपछि वृद्धलाई ‘स्केलेटल ट्र्याक्सन’ वा शल्यक्रिया गर्नु पर्ने अवस्था आयो तर उमेर र स्वास्थ्यले साथ नदिँदा ज्यान जोगाउन नसकिएको फैसलामा उल्लेख छ।
अदालतले प्रस्ट पारेको छ अस्पतालले आकस्मिक कक्षमा चौबीसै घण्टा विशेषज्ञ चिकित्सकको ‘अनकल’मा उपस्थिति अनिवार्य राख्नुपर्ने कानुनी व्यवस्था उल्लङ्घन गरेको छ। त्यसैगरी एक्स–रे गरेपछि रेडियोलोजिस्टबाट रिपोर्ट नझिकाएको, समयमै विस्तृत परीक्षण नगरेको र बिरामीलाई आवश्यक सल्लाह नदिएको ठहर छ।
फैसलामा भनिएको छ “लापरवाहीजन्य काममा अस्पतालको व्यवस्थापकीय दायित्व पहिलो, चिकित्सकको व्यक्तिगत दायित्व दोस्रो हुने प्रस्ट देखियो।” यसैले अदालतले अस्पताललाई करिब ५० लाख ७० हजार रुपैयाँ क्षतिपूर्ति तिराउने निर्णय गरेको छ भने दोषी चिकित्सकहरूलाई समेत जनही तीन लाख बढी भराउनुपर्ने ठहर गरेको छ।
उपभोक्ता अदालतको यो ठहरले स्वास्थ्य सेवा पनि उपभोक्ताको मौलिक हकअधिकार भित्रकै कुरा हो भन्ने फेरि एक पटक बलियो प्रमाण दिएको छ।यस घटनाले अस्पताल र निजी स्वास्थ्य सेवाको नाफामुखी कारोबारले नागरिकको जीवन र स्वास्थ्य अधिकार कत्तिको जोखिममा पर्छ भन्ने सन्देशसमेत दिएको छ।
के सिक्नुपर्ने?
अब कुनै पनि अस्पतालमा उपचार लिँदा बिरामी वा आफन्तले आफूले पाउने सेवा, डाक्टरको हैसियत, रिपोर्टको पक्का नतिजा र विशेषज्ञको राय बारेमा प्रश्न गर्नुपर्छ। आशंका लागे अर्को अस्पताल वा चिकित्सकको मत लिन हिचकिचाउन नहुने फैसलाले नै देखाएको छ।
अदालतले दिएको फैसलाको पूर्णपाठ