काठमाडौँ । बागमती प्रदेश सरकारको नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
बागमतीको छैटौँ मुख्यमन्त्रीको रूपमा आज मंगलबार दिउँसो नियुक्त भएका बानियाँलाई प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले पद तथा गोपनीयताको शपथ गराए । देवकोटाले आजै बानियाँलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।
नेपाली काँग्रेस बागमती प्रदेश समिति सभापतिसमेत रहेका बानियाँले मुख्यमन्त्री समक्ष हिजो सोमबार नेपाली काँग्रेस र नेकपा एमालेको संयुक्त सरकार निर्माणका लागि दाबी पेश गरेका थिए । उनलाई ११० सदस्यीय प्रदेशसभामा नेपाली काँग्रेस र नेकपा एमाले गरी कुल ६४ जना सांसदको समर्थन छ ।
मुख्यमन्त्री बानियाँ मकवानपुर निवासी हुन् । बानियाँ भन्दा अगाडि पाँच जना डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्य, राजेन्द्रप्रसाद पाण्डे, शालिकराम जम्कट्टेल र बहादुर सिंह लामा बागमती प्रदेशको मुख्यमन्त्री बनिसकेका छन् ।