लिपुलेक हाम्रो हो, नेपाल पछाडि हटेको छैन : मन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले लिपुलेक नेपालकै भूमि भएको बताएका छन् । लिपुलेकबाट नेपाल सरकार पछाडि नहटेको उनले बताए ।

पोखरामा प्रेस चौतारी कास्कीले गरेको पत्रकार सम्मेलनमा बोल्दै गुरुङले नेपालको भूमि भारतले उपयोग पनि गर्दै आएको बताए । यस विषयलाई कूटनीतिक माध्यमबाट समाधान गर्ने पनि प्रवक्ता गुरुङले बताए ।

लिपुलेक, लिम्पियाधुरा, कालापानी नेपालको स्वामित्वमा रहेको ठाउँ भएको तथ्य प्रमाण रहेको बताउँदै उनले भने, ‘दुई देशको व्यापारको नाउँमा करिडोर, सडक बनाउन पाउँदैन । यो विषय दुई देशको डिप्लोमेटिक चरणमा पुग्यो । अब डिप्लोमेटिक डायलगको माध्यमबाट समस्या समाधान गर्ने हो । लडाइँ लडेर प्राप्त गर्ने कुरा त हामीले कल्पनै गरेका छैनौँ ।’

नेपालको निषेधित क्षेत्रभित्र व्यापारका लागि करिडोर बनाउने कुरा नेपालको चासोको विषय भएको उनले बताए । भारत र चीनले नेपालको भूमि लिपुलेक पासबाट व्यापार पुनस् सुरु गर्ने सहमति गरेपछि फेरि एक पटक विवाद सतहमा आएको भन्दै उनले यस विषयमा परराष्ट्र मन्त्रालयले कूटनीतिक नोट जारी गरे राम्रो हुने बताए ।