विद्युत् निर्यातमा वृद्धि, भारतले फेरि थप ८० मेगावाट किन्ने

काठमाडौँ । भारत सरकारले नेपालबाट थप ८० मेगावाट विद्युत् खरिद गर्न स्वीकृति दिएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार, ४८.५ मेगावाट क्षमताको मेवा खोला र ३१.०४ मेगावाट क्षमताको करुवा सेती जलविद्युत् आयोजनाबाट उत्पादन भएको बिजुली निर्यात गर्न स्वीकृति प्राप्त भएको हो।

यसअघि भारतले ८१०.९ मेगावाट र साउन २६ मा थप २०० मेगावाट बिजुली निर्यातको अनुमति दिँदै कुल १०१०.९ मेगावाटसम्मको निर्यात स्वीकृति दिएको थियो। पछिल्लो स्वीकृत ८० मेगावाट थपिएसँगै भारततर्फको निर्यात क्षमता १०९०.९ मेगावाट पुगेको छ।

त्यसैगरी, नेपालले बङ्गलादेशलाई समेत ४० मेगावाट विद्युत् निर्यात गर्दै आएको छ, जससँगै नेपालको कुल विद्युत् निर्यात स्वीकृति ११३०.९ मेगावाट पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

नेपाल र भारतबीच भएको द्विपक्षीय सम्झौता अनुसार अब मध्यम अवधिसम्म, अर्थात् आगामी अक्टोबर ३१, २०२६ सम्म नेपालले भारतलाई निर्यात गर्न पाउनेछ। पछिल्लो स्वीकृति साउन २६ गते (११ अगस्ट २०२५) देखि लागु भई ३१ अक्टोबर २०२६ सम्मका लागि हुनेछ। यसअन्तर्गत लिखु–२, लिखु खोला ए, लोअर सोलु, ठुलो खोला, सुपर कावेली खोला ए र सुपर कावेली खोलाबाट उत्पादित विद्युत् भारत निर्यात हुनेछ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार आर्थिक वर्ष २०८१/८२ मा १७ अर्ब ४७ करोड रुपैयाँ बराबरको विद्युत् निर्यात भएको छ। नयाँ स्वीकृति तथा आगामी स्वीकृतिहरूका आधारमा चालु आर्थिक वर्षमा विद्युत् निर्यात दोब्बर हुने अनुमान गरिएको छ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१