
काठमाडौँ । नेपाली कांग्रेसका सर्लाही जिल्ला सभापति सुरेन्द्र प्रसाद सिंहले पदबाट राजीनामा दिएका छन् । पार्टी सभापति शेरबहादुर देउवालाई सम्बोधन गर्दै सिंहले शुक्रबार पदबाट राजीनामा दिएका हुन् ।
२०५६ सालमा कांग्रेसको सदस्यता लिएका सिंह सर्लाही कांग्रेसको दुई कार्यकाल उपसभापति भएर काम गरेका थिए । २०७८ साल फाल्गुण २९ गतेदेखि सर्लाही सभापति भएका थिए । उनीमाथि दायर भएको भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतले दोषी ठहर गरेपछि उनले राजीनामा दिएका हुन् ।
‘पछिल्लो पटक म माथि लगाइएको मुद्दाको सन्दर्भमा सम्मानित अदालतले निर्णय गरेको अवस्था छ । सम्मानित अदालतले गरेको निर्णय मान्ने मेरो कर्तव्य हो, तर उक्त निर्णयले मलाई अन्याय भएको मेरो ठहर छ ।
म माथि भएको अन्यायको, म व्यक्तिगत रूपमा मेरो कानुनी तथा न्यायिक लडाइ लडिरहनेछु । साथमा मेरो राजनीतिक लडाइ जारी नै रहनेछ । यद्यपि सम्मानित अदालतको निर्णय, नेपालको प्रचलित कानुन र पार्टीको विधान बमोजिम म सभापतिको रूपमा आफ्नो जिम्मेवारीमा निरन्तर रहने अवस्था रहेन,’ सिंहले राजीनामा पत्रमा भनेका छन् ।