एक यस्तो गाउँ जहाँ श्रीमतीहरूले सयौं श्रीमानहरूको ज्यान लिएका थिए

१४ डिसेम्बर १९२९ मा अमेरिकी अखबार ‘द न्युयोर्क टाइम्स’मा एउटा यस्तो खबर छापियो जसले केवल अमेरिका मात्रै होइन, यसभन्दा धेरै टाढा हङ्गेरीमा समेत मानिसहरूलाई अचम्ममा पारिदियो।

यस खबरका अनुसार करिब ५० महिलाहरूविरुद्ध एउटा मुद्दा सुरु भएको थियो।

यी सबैमाथि आरोप थियो कि उनीहरूले यो युरोपेली देशको एउटा गाउँमा बस्ने अधिकांश पुरुषहरूलाई विष दिएर मारेका थिए।

यसमा बताइएको थियो कि सन् १९११ देखि १९२९ बीच हङ्गेरीको राजधानी बुडापेस्टबाट करिब १३० किलोमिटर दक्षिणमा रहेको नाग्यरेव नामको क्षेत्रमा बस्ने धेरै महिलाहरूले ५० भन्दा बढी पुरुषहरूलाई विष दिएका थिए।

यी महिलाहरूलाई फरिश्ता बनाउने अर्थात परी निर्माण गर्ने भनिन्थ्यो र उनीहरूले ती पुरुषहरूलाई विषाक्त आर्सेनिकबाट मारेका थिए।

धेरै वर्षपछि सुरु भयो अनुसन्धान

कसै–कसैले यसलाई आधुनिक इतिहासमा महिलाहरूको हातबाट भएका पुरुषहरूको सबैभन्दा ठूलो सामूहिक हत्या भनेका छन्।

पछि महिलाहरूमाथि चलेको मुद्दाको क्रममा एउटा नाम बारम्बार अगाडि आयो। त्यो नाम थियो जोझसाना फाजकास। उनी गाउँकी दाई थिइन्।

त्यतिबेला यो गाउँ अष्ट्रो–हङ्गेरी साम्राज्यको अधिनमा थियो र त्यहाँ कुनै स्थानीय डाक्टर थिएन। दाई नै मानिसहरूलाई औषधि दिन्थिन्।

सन् २००४ मा बीबीसीको एउटा रेडियो डक्युमेन्ट्री कार्यक्रममा गाउँकी बासिन्दा मारिया गुनयाले बताइन् फाजकासलाई विष दिने मुख्य अभियुक्तका रूपमा देखाइएको थियो किनभने गाउँकी महिलाहरू आफ्ना व्यक्तिगत समस्याहरू उनीसँग खुलस्त रुपमा बाँड्थे।

गुनयाले बताइन्, फाजकासले ती महिलाहरूलाई बुझाइन् यदि उनीहरूलाई पतिहरूसँग वा पुरुषहरूसँग कुनै समस्या छ भने उनीसँग यसको सजिलो समाधान छ।

यद्यपि फाजकासलाई सामूहिक हत्याको मुख्य अभियुक्त ठहराइयो, तर मुद्दाका कागजातहरूमा गाउँकी महिलाहरूका बयानहरूबाट पुरुषहरूद्वारा गरिएको दुर्व्यवहार, बलात्कार र हिंसाका दर्दनाक कथाहरू अगाडि आए।

तर यो कथा धेरै वर्षसम्म दबाएर राखिएको थियो। प्रहरी रिपोर्टअनुसार सुरुआती हत्या सन् १९११ मा भएका थिए, तर सन् १९२९ सम्म यसको अनुसन्धान सुरु गरिएको थिएन।

अन्ततः यी हत्याहरूको खुलासा कसरी भयो ?

फाजकास १९११ मा नाग्यरेव गाउँमा आएकी थिइन्।

गुनया र मुद्दाका अन्य साक्षीहरूका अनुसार उनी दुई कारणले सबैको नजरमा परिन्। पहिलो, उनी दाईको काम जान्थिन् साथै औषधिहरूको पनि जानकार थिइन्। उनका केही नुस्खाहरूमा केमिकल पनि समावेश हुन्थे, जुन त्यो क्षेत्रमा सामान्य कुरा थिएन।

दोस्रो कुरा, उनका श्रीमानको कुनै अत्तोपत्तो थिएन।

गुनयाका अनुसार, ‘नाग्यरेवमा न कुनै पादरी थियो, न डाक्टर। त्यसैले उनको जानकारीले मानिसहरूलाई आफूतिर तान्यो र उनीहरूमाथि विश्वास गर्न थाले।’

उनले बताइन्, उनी महिलाहरूको घरमा धेरै कुरा देख्न गएकी थिइन्, जस्तै पुरुषहरूले आफ्नी श्रीमतीलाई कुटपिट गर्नु, बलात्कार गर्नु, र धोका दिनु।

त्यसैले फाजकासले एउटा यस्तो काम सुरु गरिन् जुन त्यो समय प्रतिबन्धित थियो, अर्थात् उनले गर्भपतन गराउन थालिन्। यसकारण उनलाई अदालतमा पनि ल्याइएको थियो, तर उनलाई कहिल्यै सजाय दिइएन।

गुनयाका अनुसार, मुख्य समस्या यो थियो कि त्यो समयमा विवाहहरू प्रायः परिवारको इच्छाले तय गरिन्थ्यो र धेरै कम उमेरकी केटीहरूको विवाह उनीहरूभन्दा धेरै उमेरका पुरुषहरूसँग गराइन्थ्यो।

गुनया भन्छिन्, त्यो समयमा सम्बन्धबिच्छेद असम्भव थियो। तपाईं अलग हुन सक्दैनथ्यौ, चाहे तपाईंमाथि कति नै अत्याचार किन नहोस् वा तपाईंको शोषण किन नहोस्। परिवारबाट तय गरिएका विवाहहरूसँग एक किसिमको सम्झौता पनि हुन्थ्यो, जसमा जमीन, सम्पत्ति र कानुनी जिम्मेवारीहरू समावेश हुन्थे।

फाजकासले महिलाहरूलाई विश्वास दिलाउन थालिन् उनी उनीहरूको समस्याको समाधान गर्न सक्छिन्।

कुनै पुरुषलाई विष दिने पहिलो घटना उनी गाउँमा आएलगत्तै १९११ मा भएको थियो। त्यसपछि वर्षौंसम्म, विशेष गरी पहिलो विश्वयुद्धको समयमा र अष्ट्रो–हङ्गेरी साम्राज्यको पतनसँगै यस्ता घटनाहरू बढ्दै गएका थिए र धेरै पुरुषहरूको हत्या हुन थाल्यो।

र यसरी १८ वर्षमा ४५–५० पुरुषको मृत्यु भयो। ती मृतकहरू कसैका श्रीमान थिए त कसैका बुबा। तिनीहरू सबैलाई गाउँको कब्रिस्तानमा गाडिएको थियो।

धेरैले नाग्यरेवलाई ‘हत्याराहरूको सहर’ भन्न थालिसकेका थिए। यी घटनाहरूमा प्रहरीले ध्यान दिएपछि १९२९ को सुरुआतमा लाशहरू कब्रबाट निकालेर परीक्षण गरियो। ती लाशहरूमध्ये एउटामै प्रमाण भेटियो — आर्सेनिक।

महिलाहरूमाथि मुद्दा

फाजकास गाउँमा एउटा सामान्य एक तल्ले घरमा बस्दथिन्, जसको ढोका सडकतर्फ खुल्दथ्यो। यही घरमा उनले धेरै विषालु सलुसन तयार गरेकी थिइन्, जुन ती हत्याहरूमा प्रयोग भएका थिए।

अन्ततः १९ जुलाई १९२९ मा प्रहरी उनलाई पक्राउ गर्न आइपुग्यो।

जब उनले सिपाहीहरूलाई नजिक आउँदै गरेको देखिन्, तब उनी बुझिन् कि अब उनको खेल सकिएको छ। जब प्रहरी उनको घरमा पुग्दा उनी मरिसकेकी थिइन्। उनले आफूले बनाएको विष आफैँ खाएकी थिइन्।

तर त्यो दाई एक्लो अपराधी थिइनन्।

जब अन्य महिलाहरूको बारेमा पनि जानकारी प्राप्त भयो, तब सोही वर्ष १९२९ मा नजिकको सहर सोज्नोक मा २६ महिलाहरूविरुद्ध मुद्दा चलाइयो।

तीमध्ये आठजनालाई मृत्युदण्ड दिइयो र बाँकीलाई जेल पठाइयो। तीमध्ये सातजनालाई आजीवन कारावास दिइयो। किनभने धेरै थोरै महिलाहरूले मात्र आफ्नो अपराध स्वीकार गरे, त्यसैले यो कुराको ठ्याक्कै पत्ता लगाउन सकिएन कि उनीहरूको उद्देश्य के थियो।

इतिहासकार डाक्टर गिजा चेह ले अदालती अभिलेखहरूका आधारमा भनेका छन् आजसम्म पनि धेरै प्रश्नहरूको जवाफ पाइएको छैन। उनी भन्छन्– ती महिलाहरूले किन हत्या गरे भन्नेबारे धेरै मत छन् — जस्तै गरिबी, लोभ, र दिक्दारी।

केही रिपोर्टहरूमा यस्तो कुरा पनि अगाडि आएको छ कि धेरै महिलाहरूका रूसी युद्धबन्दीसँग सम्बन्ध बनेका थिए। ती युद्धबन्दीहरूसँग खेतमा मजदुरी गराइन्थ्यो। जब उनका श्रीमानहरू फर्किए, तब ती महिलाहरूले अचानक आफूले प्राप्त गरेको स्वतन्त्रता गुमाउँदै गएको महसुस गरे र त्यसैले यस्तो गरे।

१९५० को दशकमा इतिहासकार फेरेनेक गेरोगेव ले कम्युनिस्ट शासनको दौरान आफ्नो कैदको समयमा गाउँका एक वृद्ध व्यक्तिसँग भेट गरे। त्यो वृद्ध किसानले दाबी गरे, नाग्यरेवका महिलाहरू पुरानै समयदेखि आफ्ना पुरुषहरूको हत्या गरिरहन्थे।

नजिकको सहर तिस्जाकुर्त मा पनि केही लाशहरू कब्रबाट निकालिए, जसमा आर्सेनिक भेटियो। तर ती मृत्युमाथि कसैलाई सजाय दिइएन। केही अनुमान अनुसार, त्यो क्षेत्रमा आर्सेनिकबाट मर्नेको कुल संख्या ३०० सम्म पुगिसकेको थियो।

– बीबीसी हिन्दीबाट ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१