• २०८३ जेठ २६
  • 2026 June 09, Tuesday

नेपाल-बेलायत व्यापार साझेदारी सुदृढ गर्न डा. राठीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

काठमाडौं । नेपाल–बेलायत उद्योग वाणिज्य सङ्घको अध्यक्षमा डा. रोशन राठी (एलसीसीआई ग्लोबल क्वालिफिकेशन्स प्रा. लि.) सर्वसम्मत चयन भएका छन् । सोमबार काठमाडौंमा सम्पन्न सङ्घको असाधारण साधारण सभाले आगामी तीन वर्षे कार्यकालका लागि डा. राठीको नेतृत्वमा नयाँ कार्यकारिणी समिति चयन गरेको हो।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा पियुष राज अर्याल (लक्ष्मी सनराइज बैंक), कोषाध्यक्षमा विद्यावरिदि सिग्देल (डोल्मा इम्प्याक्ट फण्ड), महासचिवमा सरद बञ्जारा (जेनेस सोलुसन्स) र उप–महासचिवमा गोविन्द शाही (युनिलिभर नेपाल) चयन भएका छन् ।

त्यसैगरी, कार्यकारिणी सदस्यहरूमा येमी कार्की (स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल), शिव प्रकाश खेम्का (महावीर श्री इन्टरनेशनल) र नीलु बस्न्यात (डीएआई ग्लोबल) रहेका छन् ।

कार्यक्रममा सङ्घका निवर्तमान अध्यक्ष राजेन्द्र कुमार खेतानलाई उनको लामो योगदान र नेतृत्वको कदर गर्दै President Emeritus को पदवीले सम्मान गरिएको थियो। साधारण सभाले सङ्घलाई पुनर्स्थापना र सुदृढ गर्न खेतानले खेलेको भूमिकाको प्रशंसा गर्दै कृतज्ञता व्यक्त गरेको थियो।

नवनिर्वाचित अध्यक्ष डा. राठीले सदस्यहरूको विश्वासप्रति आभार प्रकट गर्दै नेपाल र बेलायतबीचको व्यापार प्रवर्द्धन, बजार पहुँच विस्तार र लगानी प्रोत्साहनका लागि सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता जनाए। उनले भने, ‘दुवै देशका निजी क्षेत्रबीचको साझेदारीलाई थप बलियो बनाउँदै आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउनु हाम्रो प्रमुख लक्ष्य हुनेछ।’

यसअघि, कार्यक्रमलाई सम्बोधन गर्दै निर्वतमान अध्यक्ष खेतानले नेपालमा पुनः सक्रिय भएको यूके डिपार्टमेन्ट फर बिजनेस एण्ड ट्रेड र दुई देशबीच बढ्दो व्यावसायिक साझेदारीले नयाँ अवसर सिर्जना गरेको बताए।

सन् १९९५ मा स्थापित नेपाल–बेलायत उद्योग वाणिज्य सङ्घ नेपालका अग्रणी द्विराष्ट्रिय वाणिज्य सङ्घहरूमध्ये एक हो। विगत तीन दशकदेखि यसले नेपाल र बेलायतबीच व्यापार, लगानी र आर्थिक सहकार्य प्रवर्द्धनमा सेतुको भूमिका खेल्दै आएको छ। नयाँ समितिमा वित्त, व्यापार, बहुराष्ट्रिय कम्पनी, विकास र उद्यमशीलता क्षेत्रका अनुभवी व्यवसायीहरूको मिश्रण रहेकाले यसले सङ्घको मिशनलाई थप ऊर्जा दिने विश्वास गरिएको छ।