• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

किन लडिरहेका छन् थाइल्याण्ड र कम्बोडिया ?

एजेन्सी । थाइल्याण्ड र कम्बोडियाबिचको पुरानो सीमा विवाद फेरि सतहमा आएको छ। लामो समयदेखि भित्रभित्रै गुम्सिएको तनाव सोमबार एक्कासि विष्फोट हुँदा दुई देशबिचको सीमा क्षेत्र युद्ध मैदानमा परिणत भएको छ। यो घटनाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थनमा गरिएको युद्धविराम सम्झौतालाई धरापमा पारेको छ।

सोमबारदेखि सुरु भएको भिडन्तमा अहिलेसम्म कम्तीमा तीन थाई सैनिक र सात कम्बोडियाली सर्वसाधारणको मृत्यु भइसकेको छ। दुवै पक्षले हिंसा भड्काएको आरोप एक–अर्कामाथि लगाएका छन्।

यो भिडन्त गत जुलाईमा भएको युद्धविराम सम्झौतापछिको सबैभन्दा गम्भीर हो। थाइल्याण्डले सीमा क्षेत्रमा हवाई आक्रमण सुरु गरेको छ। यसअघि जुलाईमा पाँच दिनसम्म चलेको भिडन्तमा कम्तीमा ४८ जनाको ज्यान गएको थियो भने हजारौँ विस्थापित भएका थिए।

त्यसबेलाको हिंसापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मलेसियाको सहयोगमा हस्तक्षेप गर्दै युद्धविराम गराएका थिए।

ट्रम्पको ‘शान्ति सम्झौता’ र उल्लंघन

अक्टोबरमा ट्रम्पको रोहबरमा ‘क्वालालम्पुर शान्ति सम्झौता’ मा हस्ताक्षर भएको थियो। यद्यपि, थाइल्याण्डले यसलाई शान्ति सम्झौता नभई ‘प्रधानमन्त्रीहरूको संयुक्त घोषणापत्र’ मात्र भनेको थियो। तर, सम्झौता भएको दुई हप्ता नबित्दै थाइल्याण्डले यसलाई निलम्बन गर्‍यो र डिसेम्बरमा फेरि लडाइँ सुरु भयो।

सम्झौता अनुसार दुवै देशले विवादित क्षेत्रबाट भारी हतियार हटाउने र १८ जना कम्बोडियाली सैनिकलाई रिहा गर्ने सहमति भएको थियो। तर अहिले बैंककले ‘युद्धविरामले काम नगरेको’ बताएको छ भने कम्बोडियाले आफूले केवल आत्मरक्षा गरेको दाबी गरेको छ।

विवादको चुरो कुरो के हो?

यो विवाद नयाँ होइन। फ्रान्सेली उपनिवेशका बेला कोरिएको नक्सा र सीमालाई लिएर दुई देशबिच एक शताब्दीभन्दा लामो समयदेखि विवाद छ।

सन् २००८ मा कम्बोडियाले सीमा क्षेत्रमा रहेको ११औँ शताब्दीको ‘प्रेह विहार’ मन्दिरलाई युनेस्को विश्व सम्पदा सूचीमा दर्ता गराउन खोज्दा थाइल्याण्डले कडा विरोध गरेको थियो। त्यसयता पटक–पटक झडप हुँदै आएको छ। गत मे महिनामा एक कम्बोडियाली सैनिक मारिएपछि सम्बन्ध दशककै सबैभन्दा खराब स्तरमा पुगेको थियो।

कसले सुरु गर्‍यो आक्रमण ?

दुवै पक्षको दाबी फरक–फरक छ। थाइल्याण्डले सोमबार (८ डिसेम्बर) कम्बोडियाले पहिले गोली चलाउँदा आफ्नो एक सैनिक मारिएको दाबी गरेको छ। साथै, कम्बोडियाले ड्रोन र रकेट प्रयोग गरी सर्वसाधारण बस्ने क्षेत्रमा आक्रमण गरेको आरोप लगाएको छ।

आफ्नो रक्षा मन्त्रालयमार्फत बयान दिँदै कम्बोडियाले थाइल्याण्डले पहिले ‘प्रेह विहार’ प्रान्तमा आक्रमण गरेको र आफूले जवाफी कारबाही मात्र गरेको बताएको छ। साथै, थाइल्याण्डले अन्धाधुन्ध हवाई आक्रमण गरेको आरोप कम्बोडियाको छ।