• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

ईश्वर पोखरेलको ‘जिद्दी’ देखेर ओली आश्चर्यचकित, भने– जाने/नजाने मेरो कुरा हो

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३–२४ को घटना सम्बन्धमा आयोगमा बयान दिन जाने वा नजाने भन्ने विषय नितान्त आफ्नो सरोकारको कुरा भएको बताएका छन् ।

बिहीबार प्रेस चौतारी नेपालले सम्पादकहरूसँग राखेको संवाद कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल लगायतका नेताहरूले बयानमा जानैपर्छ भनेर गरेको ‘जिद्दी’ देखेर आफू आश्चर्यमा परेको टिप्पणी गरे । उनले बयानबारेको कानूनी व्यवस्थाप्रति आफू जानकार रहेको समेत स्पष्ट पारे ।

‘बयान दिन जाने/नजाने मेरो कुरा हो । के कानूनी व्यवस्था छ, त्यस सम्बन्धमा मैले पनि हेरेको छु । त्यसबापतको सजाय व्यहोर्ने (परे) मैले होला नि,’ वरिष्ठ उपाध्यक्ष पोखरेलप्रति लक्षित गर्दै ओलीले भने, ‘उहाँ के चाहनुहुन्छ भनेर मिडियामा बोलेको कुरा बारम्बार आइरहेको छ । सुशीला कार्कीको मनसाय र वरिष्ठ उपाध्यक्षजी लगायत मेरा मित्रको चाहना त एउटै देखियो ।’

ओलीले आफ्नै पार्टीका नेताहरूले बयान दिनुपर्छ भनेर बोल्नुलाई ‘वैरभाव’ को संज्ञा दिए । उनले प्रश्न गरे, ‘उहाँको गुट त्यो जिद्दीमा किन लागेको, मलाई थाहा छैन । वैरभाव नभई स्वच्छ ढंगले राजनीति गर्न सुझाव दिन्छु ।’

आफूलाई जनताले माया गरेको तर विरोधीले लखेटेको भन्दै ओलीले आफूलाई ‘हावा भरेको भकुन्डो’ सँग तुलना गरे । ‘विरोधीले माया नगरेकाले न यो ठाउँमा रहेको हुँ, न सिद्धिएको छु । विरोधीहरू हावा भरेको भकुन्डोजस्ता हुन्, जति पछार्‍यो त्यति उफ्रिन्छन्,’ उनले भने ।

यसअघि बुधबार सम्पादकहरूसँगको भेटमा वरिष्ठ उपाध्यक्ष पोखरेलले अध्यक्ष ओली आयोगको बयानमा जानुपर्ने अभिव्यक्ति दिएका थिए ।