• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

अस्ट्रेलिया गोलीकाण्ड : आक्रमणकारी बाबु–छोरा भएको पुष्टि

अस्ट्रेलियाको न्यू साउथ वेल्सस्थित प्रसिद्ध ‘बन्डी बिच’मा भएको बन्दुक आक्रमणमा १० वर्षीया बालिकासहित १५ जनाको मृत्यु भएको छ। न्यू साउथ वेल्सका प्रिमिअर क्रिस मिन्सले घटनाको पुष्टि गर्दै ज्यान गुमाउनेहरूमा १० वर्षदेखि ८७ वर्ष उमेर समूहका मानिसहरू रहेको जानकारी दिएको बिबिसीले उल्लेख गरेको छ।

घटनामा ड्युटीमा रहेका प्रहरीहरूसहित ४२ जना घाइते भएका छन्, जसलाई उपचारका लागि अस्पताल लगिएको छ।

प्रहरी आयुक्त माल लान्यनका अनुसार आक्रमणमा ५० वर्षीय बुवा र २४ वर्षीय छोराको संलग्नता देखिएको छ। प्रहरीको जवाफी कारबाहीमा ५० वर्षीय आक्रमणकारीको मृत्यु भएको छ भने २४ वर्षीय व्यक्तिको अवस्था गम्भीर रहेको बताइएको छ।

स्थानीय सञ्चारमाध्यमहरुले बाबुकाे नाम सजिद अकरम र छाेराकाे नाम नवीद अकरम उल्लेख गरेका छन् ।

गृहमन्त्री टोनी बर्कका अनुसार दुई आक्रमणकारीमध्ये बुवा सन् १९९८ मा विद्यार्थी भिसामा अस्ट्रेलिया आएका थिए। त्यसपछि उनले पार्ट्नर भिसा हुँदै आवासीय भिसा लिए। छोराको जन्म अस्ट्रेलियामै भएको र उनी त्यहीँका नागरिक भए।

अनुसन्धानका क्रममा ५० वर्षीय व्यक्तिसँग ‘रिक्रिएसनल हन्टिङ’ (मनोरञ्जनात्मक शिकार) का लागि हतियारको लाइसेन्स रहेको र उनी बन्दुक क्लबको सदस्य रहेको खुलेको छ। उनको नाममा ६ वटा हतियार दर्ता थिए। प्रहरीले बन्डी बिचबाट थप ६ वटा हतियार र दुईवटा विस्फोटक पदार्थ समेत बरामद गरी निष्क्रिय पारेको छ।

न्यू साउथ वेल्सकी प्रहरी मन्त्री यास्मिन क्याटलीले घटनाको समयमा ड्युटीमा नरहेका प्रहरी अधिकारीहरूले देखाएको तत्परताको प्रशंसा गरेकी छन्। उनले भनिन्, ‘घटनाबारे थाहा पाउनासाथ ड्युटीमा नरहेका धेरै अधिकारीहरू बर्दी लगाएर सहयोगका लागि बन्डी प्रहरी चौकी पुगेका थिए।’

अष्ट्रेलियाका प्रधानमन्त्री एन्थनी अल्बनीजीका अनुसार अक्टोबर २०१९ मा शङ्कास्पद गतिविधिमा संलग्न भएको आशङ्कामा छोरा चाहिँ अधिकारीहरूको दृष्टिमा परेका थिए। तर त्यतिबेला छानबिन गर्दा कुनै खतरा वा उनी हिंसामा संलग्न हुन जोखिम नदेखिएको उनले बताए।

यस दुखद् घटनाका बीच आफ्नो ज्यानको बाजी लगाएर आक्रमणकारीको बन्दुक खोस्ने ४३ वर्षीय अहमद अल अहमदको चौतर्फी प्रशंसा भइरहेको छ।

अहमद अल अहमद एक ४३ वर्षीय फलफूल विक्रेता हुन् र उनका दुई सन्तान छन्। प्रत्यक्षदर्शीले खिचेको र बिबिसीले पुष्टि गरेको भिडिओमा अहमदले एक आक्रमणकारीलाई लडाएर बन्दुक खोसेको देखिन्छ।

भिडिओमा देखिए अनुसार, पार्क गरिएको कारको पछाडि लुकेका अहमद दौडिँदै गएर आक्रमणकारीमाथि जाइ लाग्छन् र उनलाई भुइँमा लडाउँछन्। बन्दुक खोसेपछि उनले प्रहरीलाई आफू आक्रमणकारी नभएको सङ्केत गर्न हात माथि उठाएको देखिन्छ। यद्यपि, सोही आक्रमणकारी पछि अर्को हतियार लिएर पुलबाट पुनः गोली चलाएको अवस्थामा देखिएका थिए।

आक्रमणकारीसँग जुध्ने क्रममा अहमदको पाखुरा र हातमा दुईवटा गोली लागेको छ। उनको स्थानीय अस्पतालमा शल्यक्रिया गरिएको छ।