बंगलादेशको युवा आन्दोलनका प्रभावशाली नेता शरिफ ओस्मान हादीको मृत्युपछि राजधानी ढाकासहित देशका विभिन्न भागमा हिंसात्मक प्रदर्शन चर्किएको छ। गत साता ढाकाको एक मस्जिदबाहिर नकाबधारी समूहको गोली प्रहारबाट गम्भीर घाइते भएका हादीको बिहीबार सिंगापुरमा उपचारका क्रममा निधन भएको हो।
गत वर्ष पूर्वप्रधानमन्त्री शेख हसिनालाई सत्ताच्युत गर्ने ‘जेन जी’ आन्दोलनमा ३२ वर्षीय हादीले महत्त्वपूर्ण भूमिका खेलेका थिए। उनी ‘इन्कलाब मञ्च’ नामक विद्यार्थी समूहका वरिष्ठ नेता र भारतका कडा आलोचक मानिन्थे। बंगलादेशमा अन्तरिम सरकारले निर्वाचनको मिति घोषणा गरेको भोलिपल्टै उनीमाथि गोली प्रहार भएको थियो। हादीले आगामी निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धा गर्ने तयारी गरिरहेका थिए।
हादीको मृत्युको खबर सार्वजनिक भएलगत्तै उनका सयौँ समर्थकहरू सडकमा उत्रिएका छन्। आक्रोशित भीडले बंगलादेशका दुई अग्रणी सञ्चारमाध्यम ‘द डेली स्टार’ र ‘प्रोथोम आलो’ को कार्यालयमा तोडफोड र आगजनी गरेका छन्।
आक्रमणका क्रममा भवनभित्र धेरै पत्रकारहरू थुनिएका थिए, जसलाई पछि सेना र अग्निनियन्त्रकहरूले उद्धार गरेका थिए। स्थिति नियन्त्रणमा लिन प्रभावित क्षेत्रमा ठूलो संख्यामा सेना र प्रहरी परिचालन गरिएको छ।
अन्तरिम सरकारका मुख्य सल्लाहकार तथा नोबेल पुरस्कार विजेता मोहम्मद युनुसले हादीको मृत्युलाई “देशका लागि अपूरणीय क्षति” भन्दै भर्त्सना गरेका छन्। राष्ट्रका नाममा सम्बोधन गर्दै उनले भने “प्रजातन्त्रतर्फको हाम्रो यात्रालाई डर, आतङ्क वा रक्तपातले रोक्न सक्दैन। यो हत्या निर्वाचन बिथोल्ने षड्यन्त्रको हिस्सा हो।”
सरकारले हादीको सम्मानमा आगामी शनिबार राष्ट्रिय शोक घोषणा गरेको छ। प्रहरीले घटनामा संलग्न भएको आशंकामा केही व्यक्तिहरूलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ।
शेख हसिना गत अगस्टमा सत्ता छोडेर भारतमा शरण लिन गएदेखि नै बंगलादेशमा राजनीतिक अस्थिरता कायमै छ। गत नोभेम्बरमा मात्रै बंगलादेशको एक अदालतले हसिनालाई मानवताविरुद्धको अपराधमा मृत्युदण्डको सजाय सुनाएको थियो। आन्दोलनका क्रममा करिब १४ सय मानिसको ज्यान गएको तथ्याङ्क छ।
हादीको हत्याले बंगलादेशमा फेरि एकपटक राजनीतिक ध्रुवीकरण र हिंसाको जोखिम बढाएको विश्लेषण गरिएको छ।