काठमाडौँ । शक्ति, पैसा र पहुँचको आडमा मानिसले कतिसम्म घिनलाग्दो अपराध गर्न सक्छ भन्ने एउटा ज्वलन्त र डरलाग्दो उदाहरण हो, जेफ्री एपस्टिन सेक्स स्क्यान्डल।
दशकौँसम्म अमेरिकाका राष्ट्रपति, बेलायती राजपरिवार र हलिउडका हस्तीहरूसँग उठबस गर्ने एक अर्बपति फाइनान्सर कसरी ‘यौन अपराधी’ का रूपमा पतन भए र उनले कसरी विश्वका शक्तिशाली व्यक्तिहरूलाई आफ्नो जालमा पारे भन्ने कुराको खुलासाले अहिले फेरि विश्वस्तरमा तरंग पैदा गरेको छ।
शुक्रबार अमेरिकी न्याय विभागले एपस्टिनसँग सम्बन्धित तीन लाख दस्ताबेज र हजारौँ तस्बिरहरू सार्वजनिक गरेपछि यो काण्डले नयाँ मोड लिएको छ।
के हो एपस्टिन सेक्स स्क्यान्डल?
यो काण्डको सुरुवात सन् २००५ बाट भएको थियो, जब फ्लोरिडाकी एक १४ वर्षीया बालिकाकी आमाले प्रहरीमा उजुरी दिइन्। एपस्टिनले आफ्नो भव्य बंगला (भिल्ला) मा ‘मसाज’ गर्ने बहानामा बालिकाहरूलाई बोलाउने र उनीहरूको यौन शोषण गर्ने गरेको खुलासा भयो।
प्रहरी अनुसन्धान बढ्दै जाँदा यो कुनै एउटा घटना मात्र नभएर एउटा ठूलो सञ्जाल रहेको पाइयो। एपस्टिन र उनकी प्रेमिका घिसलिन म्याक्सवेलले गरिब र असहाय नाबालिग बालिकाहरूलाई मोडलिङ, सपिङ र फिल्मको लोभ देखाएर फसाउने गर्थे। उनले आफ्नो निजी विमान ‘लोलिता एक्सप्रेस’ मार्फत बालिकाहरूलाई आफ्नो निजी टापु ‘लिटिल सेन्ट जेम्स’ पुर्याउँथे, जहाँ विश्वका प्रभावशाली व्यक्तिहरूको उपस्थितिमा यौन पार्टीहरू आयोजना गरिन्थ्यो।
डोनाल्ड ट्रम्प : पुराना मित्रदेखि ‘पारदर्शिता’को अभियन्तासम्म
यो स्क्यान्डलमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम पनि निकै चर्चामा छ। ट्रम्प र एपस्टिन सन् १९९० को दशकका पुराना साथी थिए। सन् २००२ मा ट्रम्पले एपस्टिनलाई एक ‘उत्कृष्ट व्यक्ति’ भन्दै उनलाई आफूलाई जस्तै सुन्दर र कम उमेरका महिलाहरू मन पर्ने बताएका थिए। एपस्टिन धेरै पटक ट्रम्पको ‘मार-ए-लागो’ रिसोर्टमा पनि देखिएका थिए।
यद्यपि, सन् २००४ मा एउटा जग्गा कारोबारलाई लिएर दुईबीच विवाद भएपछि उनीहरूको सम्बन्ध टुटेको दाबी गरिन्छ। सन् २०२४ को चुनावी अभियानमा ट्रम्पले एपस्टिनसँग सम्बन्धित सबै सरकारी फाइलहरू सार्वजनिक गर्ने वाचा गरेका थिए। राष्ट्रपति बनेपछि उनले आफ्नो वाचा पूरा गर्दै ‘एपस्टिन फाइल ट्रान्सपरेन्सी एक्ट’ मा हस्ताक्षर गरे। कतिपयले यसलाई ट्रम्पको राजनीतिक दाउपेच पनि मानेका छन्, जसको उद्देश्य आफ्ना प्रतिद्वन्द्वीहरूको असली अनुहार बाहिर ल्याउनु थियो।
हालैको खुलासा: क्लिन्टनदेखि प्रिन्स एन्ड्रयू सम्म
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ३० दिनभित्र सबै दस्ताबेज सार्वजनिक गर्न दिएको आदेशपछि शुक्रबार राति सार्वजनिक भएका फाइलहरूमा धेरै प्रतिष्ठित अनुहारहरू देखिएका छन् ।
बिल क्लिन्टन: पूर्व अमेरिकी राष्ट्रपति बिल क्लिन्टन युवतीहरूसँग स्विमिङ पुल र हट-टबमा रमाइलो गरिरहेका तस्बिरहरू सार्वजनिक भएका छन्। क्लिन्टनका प्रवक्ताले भने आफूहरूलाई ‘बलिको बोका’ बनाइएको र यी तस्बिरहरू पुरानो भएको दाबी गरेका छन्।
प्रिन्स एन्ड्रयू: बेलायती राजकुमार प्रिन्स एन्ड्रयू ५ जना युवतीको काखमा लम्पसार परेको तस्बिरले राजपरिवारलाई फेरि विवादमा तानेको छ।
माइकल ज्याक्सन र ओप्रा विन्फ्रे: पप स्टार माइकल ज्याक्सन र चर्चित प्रस्तोता ओप्रा विन्फ्रे पनि एपस्टिनसँगका तस्बिरहरूमा देखिएका छन्। यद्यपि तस्बिरमा देखिनुको अर्थ उनीहरू अपराधमा संलग्न थिए भन्ने पुष्टि भने भइसकेको छैन।
बिल गेट्स र अन्य: माइक्रोसफ्टका संस्थापक बिल गेट्स र गुगलका सर्गेई ब्रिनका तस्बिरहरू पनि यसअघि नै सार्वजनिक भइसकेका छन्।
मसाजको आवरणमा अपराधको तालिम
सार्वजनिक गरिएका नयाँ दस्ताबेजहरूमा ‘बेबी मसाज ट्रेनिङ’ सम्बन्धी निर्देशिकाहरू भेटिएका छन्। यसमा बालिकाहरूलाई कसरी ग्राहकहरूलाई मसाज गर्ने र कसरी यौन गतिविधिमा संलग्न गराउने भन्नेबारे कदम-कदममा निर्देशन दिइएको छ। एपस्टिनले आफ्ना कोठाहरूमा गोप्य क्यामेराहरू जडान गरेका थिए, जसको उद्देश्य सम्भवतः शक्तिशाली व्यक्तिहरूलाई ब्ल्याकमेल गर्नु थियो।
पीडितहरूको आक्रोश: पारदर्शिता कहाँ छ?
न्याय विभागले दस्ताबेज सार्वजनिक गरे पनि धेरै ठाउँमा नाम र विवरणहरूमा कालो पोतिएको छ। यसले पीडितहरूलाई आक्रोशित बनाएको छ। एक पीडित मारिना लार्सेडाले भनिन्, ‘हामीलाई धोका दिइएको छ। सरकारले अझै पनि शक्तिशाली मानिसहरूको नाम लुकाउन खोज्दैछ।’ अहिलेसम्म १२०० भन्दा बढी पीडितहरूको पहिचान भइसकेको छ।
एपस्टिनको रहस्यमय अन्त्य
जेफ्री एपस्टिनले सन् २०१९ मा न्यूयोर्कको जेलमा आत्महत्या गरेका थिए। धेरैले उनको मृत्युलाई षड्यन्त्र मान्छन्, किनकि उनले मुख खोलेको खण्डमा विश्वका धेरै शक्तिशाली व्यक्तिहरू जेल जानुपर्ने हुन्थ्यो। उनकी मुख्य सहयोगी घिसलिन म्याक्सवेल हाल २० वर्षको जेल सजाय काटिरहेकी छिन्।
एपस्टिन काण्ड केवल एउटा यौन अपराध मात्र होइन, यो सत्ता र शक्तिको दुरुपयोगको पराकाष्ठा हो। सार्वजनिक गरिएका यी ३ लाख दस्ताबेजले विश्वका ‘प्रतिष्ठित’ मानिने व्यक्तिहरूको असली अनुहार बाहिर ल्याउने प्रयास गरेको छ। तर, अझै धेरै तथ्यहरू गोप्य राखिएकाले पीडितहरूले पूर्ण न्याय पाउनेमा आशंका कायमै छ।
एपस्टिन काण्ड: सुरुदेखि अहिलेसम्मको घटनाक्रम
मार्च २००५: १४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा जेफ्री एपस्टिनमाथि पहिलो पटक पाम बीच प्रहरीद्वारा मुद्दा दर्ता।
मे २००६: अभियोजक ब्यारी क्रिशरद्वारा मुद्दालाई ग्रान्ड जूरीसमक्ष पठाउने असामान्य निर्णय।
जुलाई २००६: नाबालिगहरूलाई वेश्यावृत्तिमा लगाएको अभियोगमा एपस्टिन पक्राउ। तर, वकिलहरूको गोप्य सम्झौताका कारण संघीय अभियोजनबाट जोगिन सफल।
जुन २००८: एपस्टिनद्वारा १८ वर्ष मुनिकालाई वेश्यावृत्तिमा लगाएको स्वीकार। १८ महिनाको जेल सजाय तोकिए पनि ‘वर्क-रिलिज’ सुविधाअन्तर्गत दिनभर जेलबाहिरै बस्न पाउने सहुलियत।
मे २००९: पीडित भर्जिनिया रोबर्ट्स गिफ्रेद्वारा मुद्दा दर्ता। एपस्टिन र म्याक्सवेलले आफूलाई राजनीतिज्ञ र व्यवसायीहरूसँग यौन सम्बन्ध राख्न बाध्य पारेको खुलासा।
मार्च २०११: बेलायती पत्रिका ‘डेली मेल’ मा गिफ्रेको अन्तर्वार्ता सार्वजनिक। राजकुमार एन्ड्रयूसँगको तस्बिर बाहिरिएपछि बेलायती राजपरिवार विवादमा।
जुलाई ६, २०१९: यौन बेचबिखनको गम्भीर आरोपमा एपस्टिन न्यूयोर्कमा पुनः पक्राउ।
अगस्ट १०, २०१९: मुद्दाको सुनुवाइ हुनुअघि नै न्यूयोर्कको जेलमा एपस्टिनको रहस्यमय आत्महत्या।
जुलाई २०२० – जुन २०२२: एपस्टिनकी मुख्य सहयोगी घिसलिन म्याक्सवेल पक्राउ र उनलाई यौन बेचबिखनको कसुरमा २० वर्षको जेल सजाय।
जनवरी २०२४: अदालतका पुराना रेकर्डहरू सार्वजनिक भएसँगै अन्तर्राष्ट्रिय यौन बेचबिखन नेटवर्कबारे नयाँ बहस सुरु।
जनवरी २०, २०२५: डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपतिमा निर्वाचित। चुनावी अभियानका क्रममा एपस्टिन फाइलहरू सार्वजनिक गर्ने वाचा।
अप्रिल २५, २०२५: एपस्टिन काण्डको मुख्य पर्दाफास गर्ने पीडित भर्जिनिया गिफ्रेको निधन।
जुलाई – नोभेम्बर २०२५: ‘एपस्टिन फाइल पारदर्शिता ऐन’ पेश। अमेरिकी कांग्रेसद्वारा राजकुमार एन्ड्रयू, स्टीभ ब्यानन र बिल गेट्स लगायतसँगको इमेल पत्राचार सार्वजनिक।
नोभेम्बर १९, २०२५: राष्ट्रपति ट्रम्पद्वारा पारदर्शिता ऐनमा हस्ताक्षर।
डिसेम्बर १९, २०२५: अमेरिकी न्याय विभागद्वारा ३ लाखभन्दा बढी दस्ताबेज र हजारौँ तस्बिरहरू आधिकारिक रूपमा सार्वजनिक।