• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

बंगलादेशमा हिन्दू युवकको निर्मम हत्या: कुटपिटपछि रुखमा बाँधेर जलाइयो

बंगलादेशको मैमनसिंह जिल्लामा धर्मको अपमान गरेको आरोपमा एक हिन्दू युवकको भिडले कुटपिट गरी हत्या गरेको छ। मैमनसिंह जिल्लाको भालुका उपजिलामा बिहीबार राति यो विभत्स घटना भएको हो।

स्थानीय प्रहरीका अनुसार भिडले हिन्दू युवकलाई कुटपिट गरी हत्या गरेपछि उनको शवलाई रुखमा बाँधेर आगो लगाइदिएको थियो। मृतकको पहिचान दीपु चन्द्र दासका रूपमा भएको छ।

दीपु स्थानीय एक कपडा कारखानामा काम गर्थे र भाडाको कोठामा बस्दै आएका थिए। भालुका प्रहरी थानाका ड्युटी अफिसर रिपन मियाले बीबीसी बंगलालाई दिएको जानकारी अनुसार, पैगम्बरको अपमान गरेको आरोपमा उत्तेजित भिडले उनलाई नियन्त्रणमा लिएर निर्घात कुटपिट गरेको थियो।

“भिडले उनलाई कुटपिट गरी मारेपछि शवलाई रुखमा बाँधेर जलाइदिए,” प्रहरीले भनेको छ। प्रहरीले घटना स्थलबाट शव बरामद गरी पोस्टमार्टमका लागि अस्पताल पठाएको छ। प्रहरीले हाल मृतकका आफन्तको खोजी भइरहेको र उनीहरू आएपछि कानुनी प्रक्रिया अघि बढाइने बताएको छ।

अन्तरिम सरकारका प्रमुख सल्लाहकार डा. मोहम्मद युनुसले यस हत्याको कडा शब्दमा निन्दा गरेका छन्। उनको प्रेस विङले फेसबुकमा लेख्दै भनेको छ, “हामी मैमनसिंहमा भएको हिन्दू युवकको हत्याको कडा निन्दा गर्छौं। नयाँ बंगलादेशमा यस्तो हिंसाका लागि कुनै ठाउँ छैन। यो जघन्य अपराधका दोषीहरूलाई छोडिने छैन।” युनुसले यस संवेदनशील समयमा सबै नागरिकलाई शान्ति कायम राख्न र घृणा फैलाउने कार्यको विरोध गर्न आग्रह गरेका छन्।

विद्यार्थी आन्दोलनका लोकप्रिय नेता शरिफ उस्मान हादीको मृत्युपछि बंगलादेशका विभिन्न भागमा हिंसा भड्किएको छ। बिहीबार राति प्रदर्शनकारीहरूले बंगलादेशका दुई ठूला अखबारहरू ‘द डेली स्टार’ र ‘प्रथम आलो’ का कार्यालयहरूमा तोडफोड र आगजनी गरेका थिए।

हादीको मृत्युलाई डा. युनुसले ‘राष्ट्रका लागि अपूरणीय क्षति’ भनेका छन्। फेब्रुअरीमा हुन लागेको आम निर्वाचनअघि बंगलादेशमा भइरहेको यो हिंसा र अल्पसङ्ख्यकहरू माथिको आक्रमणले अन्तरिम सरकारमाथि ठूलो चुनौती थपेको छ।