काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौं १ बाट प्रत्यक्ष निर्वाचनतर्फ पशुपतिशमशेर राणासहित ४ र समानुपातिकमा प्रा. डा. जयन्तनाथ खनालसहित ६ जनालाई सिफारिस गरेको पुष्टि भएको छ ।
काठमाडौं क्षेत्र नं १ को क्षेत्रीय समितिको बैठकले गत हप्ता नै उम्मेदवारको सिफारिस गरेको हो । क्षेत्रीय समिति अध्यक्ष रामेश्वर श्रेष्ठले हस्ताक्षर गरेको माइन्युटसहित सो निर्णय पार्टी सचिवालयमा दर्ता गरिएको क्षेत्रिय समिति सदस्य विनोद दवाडीले जानकारी गराए ।
उनका अनुसार क्षेत्रीले रविन्द्र मिश्रको नाम सिफारिस नगरेपछि कार्यकर्ताको उपेक्षाकाबीच मिश्रले समिति बाहिरको मान्छे बोलाएर आफ्नो नाम सिफारिस गर्न लगाएका छन् ।
क्षेत्रिय अध्यक्ष रामेश्वर श्रेष्ठले नमान्दा एउटा कापी किनेर आफ्नो नाम अरु कसैलाई लेख्न लगाएर सिफारिस भन्दै सामाजिक सञ्जालमा भ्रम फैलाएको उनको आरोप छ ।
काठमाडौं क्षेत्र नं १ का राप्रपाका कार्यकर्ता र क्षेत्रिय र सबै वडा समितिका सदस्यहरुले मिश्रको गतिविधिप्रति आपत्ति जनाउँदै भेला आह्वान गरेका छन् । उनीहरूले यो गैर जिम्मेवारी कार्यको प्रतिकार गर्ने चेतावनी दिएका छन् ।
यसको लागि आजभोलिमै १ नं क्षेत्रका सबै सकृय सदस्यहरू समेतको भेलाको तयारी गरिएको दवाडीले बताए ।