काठमाडौँ । काठमाडौँको ठमेलस्थित दुईवटा क्यासिनोमा अत्याधुनिक प्रविधि प्रयोग गरी ठगी गर्ने एउटा ठूलो गिरोहलाई प्रहरीले कानुनी फन्दामा पारेको छ। भारतबाट आएको उक्त गिरोहले चुम्बक जडित तास र विशेष प्रकारको लेन्स (आँखामा लगाउने) प्रयोग गरेर खेलमा धाँधली गरिरहेको खुलासा भएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौँले बुधबार पत्रकार सम्मेलन गरी ठगी धन्दामा संलग्न ६ जनालाई सार्वजनिक गरेको छ। पक्राउ पर्नेहरूमा सुरेश महाजन, दिनेश बर्मा, विक्रम सिंह, प्रमोद मौर्य, चिजा खड्का र भवानी पाण्डे रहेका छन्।
प्रहरीका अनुसार यो गिरोहले क्यासिनोमा ठगीका लागि ‘डमी’ खेलाडीहरूको ठूलो समूह परिचालन गरेको थियो। उनीहरूले डमी खेलाडीहरू राख्नका लागि मात्रै काठमाडौँका तीनवटा सुविधासम्पन्न होटलमा ११० वटा कोठा बुक गरेका थिए। होटल अलोफ्टमा ४०, मेरियटमा ५० र र्याडिसनमा २० वटा कोठा बुक गरी खेलाडी व्यवस्थापन गरिएको पाइएको छ।

प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार भारतको हरियाणाका दिनेश बर्मा र उत्तराखण्डका विक्रम सिंह यो गिरोहका मुख्य योजनाकार हुन्। बर्माले भारतबाट ५० प्याकेट चुम्बकीय तास र ४ सेट विशेष लेन्स खरिद गरी नेपाल भित्र्याएका थिए। उक्त लेन्स आँखामा लगाएपछि तासका लुकेका संकेतहरू सजिलै देख्न सकिने र यसलाई २ देखि ३ घण्टासम्म प्रयोग गर्न मिल्ने खुलेको छ।
यो गिरोहलाई नेपालमा ‘बीपी ग्रुप’ का सञ्चालक विनोद भन्ने जनार्दन उप्रेतीले सहजीकरण गरेको प्रहरी दाबी छ। उप्रेतीले नै क्यासिनोभित्र तास छिराउने, होटल र प्लेन टिकट बुकिङ गर्ने तथा क्यासिनोको बिल भुक्तानी गर्ने काम गर्दै आएका थिए। हाल उनी फरार छन्।
अनुसन्धानका क्रममा क्यासिनोमा जितेको रकममध्ये ९० प्रतिशत सञ्चालकले र बाँकी १० प्रतिशत मात्र खेलाडीले पाउने गरी सहमति भएको पाइएको छ। गिरोहले क्यासिनो ‘प्राइड’ मा विगत २ वर्षदेखि र क्यासिनो ‘वाल्डो’ मा हालै मंसिर २५ देखि २८ गतेसम्म ‘इन्डियन फलास’ को इभेन्ट सञ्चालन गरेको थियो।

यस प्रकरणमा क्यासिनो सञ्चालकसहित अन्य केही व्यक्तिहरू अझै फरार छन्। फरार हुनेहरूमा जनार्दन उप्रेती, गौरव खत्री, मोनु भन्ने निरज कुमार, हिरा शेखर भन्ने मल्ली पुरी, कमल खरबन्दा र मुकेश रहेका छन्। फरार रहेका गौरव र निरजले आँखामा लेन्स लगाएरै भागेको प्रहरीको दाबी छ।
गिरोहका नाइके सुरेश महाजनले नेपालबाहेक भारत, श्रीलंका, भियतनाम र कम्बोडियामा समेत यस्ता अवैध इभेन्टहरू आयोजना गर्ने गरेको अनुसन्धानबाट खुलेको छ। प्रहरीले क्यासिनो प्राइडका सञ्चालक विनय साह र दावा सेट्टी भनिने दावा शेर्पासँग पनि यो समूहको सम्पर्क रहेको भन्दै थप अनुसन्धान अघि बढाएको छ।