काठमाडौँ । विश्वबजारमा बहुमूल्य धातु सुनको मूल्यले नयाँ ऐतिहासिक उचाइ कायम गरेको छ । अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुनको मूल्य पहिलो पटक ५,००० अमेरिकी डलर नाघेपछि यसको प्रत्यक्ष असर नेपाली बजारमा पनि देखिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३,०९,००० रुपैयाँ पुगेको छ । यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ६,७६५ रुपैयाँ तोकिएको छ । अन्तर्राष्ट्रिय बजारमा गत शुक्रबार चाँदीको मूल्य पनि पहिलो पटक प्रतिऔंस १०० डलर नाघेको थियो ।
किन बढिरहेको छ सुनको मूल्य?
विश्वभर सुनको मूल्य अस्वाभाविक रूपमा बढ्नुमा विभिन्न भूराजनीतिक र आर्थिक कारणहरू रहेका छन्:
१. भूराजनीतिक तनाव: ग्रीनल्यान्डको विषयलाई लिएर संयुक्त राज्य अमेरिका र नेटो बीच बढ्दो तनाव, युक्रेन र गाजा युद्ध तथा भेनेजुएलाका राष्ट्रपतिको पक्राउ जस्ता कारणले विश्वभर अन्योल सिर्जना भएको छ । यस्तो बेला लगानीकर्ताहरू सुनलाई ‘सुरक्षित सम्पत्ति’ मानेर त्यसतर्फ आकर्षित हुन्छन् ।
२. अमेरिकी व्यापार नीति: अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अघि सारेका व्यापारिक नीति र भन्सार शुल्क बढाउने चेतावनी (विशेषगरी क्यानडा र चीनमाथि) का कारण वित्तीय बजार चिन्तित देखिएको छ ।
३. ब्याजदर र मुद्रास्फीति: अमेरिकी केन्द्रीय बैंक (यूएस फेडरल रिजर्भ) ले यो वर्ष ब्याजदर घटाउन सक्ने सम्भावना र बढ्दो मुद्रास्फीतिका कारण लगानीकर्ताहरूले बन्ड वा सेयरभन्दा सुनमा लगानी सुरक्षित ठानेका छन् ।
४. केन्द्रीय बैंकहरूको खरिद: विश्वका विभिन्न देशका केन्द्रीय बैंकहरूले अमेरिकी डलरको भण्डारलाई विविधीकरण गर्न ठूलो मात्रामा सुन सङ्कलन गरिरहेका छन् ।
५. सांस्कृतिक माग: चीन र भारत सुनका सबैभन्दा ठूला उपभोक्ता हुन् । फेब्रुअरीमा सुरु हुने चिनियाँ नयाँ वर्ष र भारतमा विवाहको सिजनका कारण पनि सुनको माग उच्च छ ।
वर्ल्ड गोल्ड काउन्सिलका अनुसार अहिलेसम्म विश्वभर खानीबाट करिब २,१६,२६५ टन सुन निकालिएको छ । अमेरिकी भौगोलिक सर्वेक्षणले अब भूमिगत खानीहरूमा केवल ६४,००० टन मात्र सुन बाँकी रहेको अनुमान गरेको छ । मागको तुलनामा आपूर्ति सीमित हुनुले पनि यसको मूल्यलाई थप टेवा पुगेको विज्ञहरूको विश्लेषण छ ।
सन् २०२५ मा मात्रै सुनको मूल्य ६० प्रतिशत र चाँदीको मूल्य १५० प्रतिशतले बढेको थियो । मूल्य वृद्धिको यो शृङ्खला सन् २०२६ को सुरुवातमा पनि निरन्तर देखिएको छ । मूल्य अत्यधिक बढेपछि अहिले बजारमा सुन किन्नेभन्दा बेच्ने ग्राहकहरूको चाप बढी देखिएको व्यवसायीहरू बताउँछन् ।
–अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा ।