काठमाडौं । बङ्गलादेशमा सन् २०२४ मा भएको घातक विद्रोहले प्रधानमन्त्री शेख हसिनालाई पदबाट हटाएपछि बिहीवार पहिलो पटक आमनिर्वाचन भइरहेको छ ।
हसिनाको अवामी लीग पार्टीलाई चुनाव लड्न प्रतिबन्ध लगाइएको छ भने प्रधानमन्त्रीका प्रमुख दाबेदार बङ्ग्लादेश न्याश्नलिस्ट पार्टी (बीएनपी) र जमात–ए–इस्लामी दलबाट हुने अपेक्षा गरिएको छ।
जमात–ए–इस्लामीले विद्रोहबाट जन्मिएका शक्तिहरूसँग चुनावी सहकार्य गरेको छ। दशकौँपछि पहिलो पटक बङ्ग्लादेशका दुई प्रमुख राजनीतिक व्यक्तित्वहरू शेख हसिना र खालिदा जियाबिनाको चुनाव समेत भइरहेको छ।
पूर्ण रूपमा बिथोलिएको राजनीतिक प्रणालीलाई ठिक गर्न अन्तरिम सरकारले प्रस्ताव गरेको संवैधानिक परिवर्तनको बारेमा जनमत सङ्ग्रहमा पनि मतदाताहरू सहभागी भइरहेका छन्।
१२ करोडभन्दा धेरै मतदाता रहेको निर्वाचनको शुक्रबार नतिजा आउने अपेक्षा गरिएको छ। चुनावका लागि व्यापक रूपमा सुरक्षा व्यवस्था कडा पारिएको छ।
सन् २०२४ मा भएको युवाहरुको प्रदर्शनले हसिनाको नेतृत्वमा १५ वर्षदेखि बढ्दो रूपमा अधिनायकवादी बनिरहेको शासनको अन्त्य गराएको थियो। उक्त जेनजी विद्रोहका क्रममा ४६ दिनमा कम्तीमा १,४०० प्रदर्शनकारीहरू मारिएका थिए।
हसिनालाई दमनको आदेश प्रत्यक्ष रूपमा दिएको आरोप लगाइएको छ जुन उनले अस्वीकार गर्दै आएकी छन्। गत नोभेम्बरमा बङ्ग्लादेशको एक अदालतले हसिनालाई उनको दमनको कारण मानवताविरुद्धको अपराध भएको भन्दै उनीविरुद्ध मृत्युदण्डको सजाय सुनाएको थियो।
हसिना देश छाडेर भागेदेखि नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकारले बाङ्ग्लादेशको नेतृत्व गर्दै आएको छ। बिहीवारको चुनावले बाङ्ग्लादेशका लागि प्रतिनिधि शासनको नयाँ युगको सुरुवात गर्ने धेरैको आशा छ।
मतदाताले बिहीवार दुई वटा मतपत्र पाउने छन्। पहिलो सेतो मतपत्रमा उनीहरूले आफ्नो निर्वाचन क्षेत्रबाट एक सांसद चयन गर्न मतदान गर्छन्। दोस्रो गुलाबी मतपत्र राष्ट्रिय जनमत सङ्ग्रहका लागि हो वा होइन भन्न पाउँछन्।
त्यसमा मतदाताले संसद्मा बढ्ता महिला प्रतिनिधित्व, प्रधानमन्त्रीको कार्यकालको सीमा र १०० सदस्यीय माथिल्लो सदन मिलेर बनेको द्विसदनात्मक सदनसहितको सुधारका प्रस्तावित प्याकेजलाई हो वा होइन भन्न पाउँछन्।
जनमत सङ्ग्रह पारित भएमा अगाडि बढ्ने कुनै पनि संवैधानिक संशोधनलाई माथिल्लो सदनको बहुमतले अनुमोदन गर्नुपर्ने छ।
जारी चुनावमा प्रधानमन्त्री पदको प्रमुख दाबेदार हुन्, पूर्वप्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान। उनको पार्टी बीएनपी विजयी भएका खण्डमा रहमान बंगलादेशको प्रधानमन्त्री हुने निश्चित छ।
यद्यपि देशमा कट्टरपन्थी मुस्लिम दल जमात–ए–इस्लामी र युवा दल एनसीपीप्रतिको समर्थन पनि बढ्दो छ। जमात–ए–इस्लामी नेता सिफुकर रहमान र एनसीपी नेता नाहिद इस्लाम पनि प्रधानमन्त्री पदका अर्का दाबेदार हुन्।

तारिक रहमान १७ वर्ष बेलायतमा निर्वासित जीवन बिताएर गत जनवरी २५ तारिख मात्र बंगलादेश फर्केका हुन्। फर्केको पाँच दिनपछि नै आमा पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन भयो। यसपछि बंगलादेश न्याश्नलिस्ट पार्टी (बीएनपी) को बागडोर रहमानको हातमा आएको हो।
२००१ देखि २००६ सम्म बीएनपीको शासनकालमा तारिकलाई भ्रष्टाचार मुद्दा लाग्यो। २००७ मा अन्तरिम सरकारको समयमा उनलाई १८ महिनाको जेल सजाय तोकियो। यसबिच उपचारका लागि विदेश जाने अनुमति पाएपछि उनी यही निहुँमा २००८ मा लन्डन गए। तर स्वदेश फर्केनन्। हसिना भागेपछि मात्र उनी १७ वर्षपश्चात् बंगलादेश फर्किएका हुन्।
डिसेम्बरमा गरिएको मत सर्वेक्षणले तारिकको पार्टीले लगभग ७० प्रतिशत समर्थन प्राप्त गरेको देखाएको छ। आफ्नी आमाको मृत्युपछि उनले पाएको सहानुभूति र उनको राजनीतिक पुनरागमन पनि वर्तमान परिस्थितिका महत्त्वपूर्ण कारक बनेका छन्।
तारिक रहमानले आफूलाई शान्त, सुन्ने र नीति–केन्द्रित नेताका रूपमा प्रस्तुत गरिरहेका छन्। उनले वार्षिक ५ करोड रुख रोप्ने, ढाकामा नयाँ हरित क्षेत्र सिर्जना गर्ने र प्राविधिक शिक्षा विस्तार गर्ने एजेन्डा अघि सारेका छन्।
प्रधानमन्त्री पदको दौडमा दोस्रो प्रमुख दाबेदार हुन्– सिफुकर रहमान। उनी बंगलादेशी इस्लामिक पार्टी जमात–ए–इस्लामीका अमिर (प्रमुख) हुन्।
जमात अहिलेसम्म बंगलादेशको सत्तामा आएको छैन। तर बंगलादेशको राजनीतिमा यस पार्टीलाई एक सुव्यवस्थित भोट बैंक मानिन्छ। धार्मिक प्रभाव भएका क्षेत्रमा यसको बलियो उपस्थिति छ।
यद्यपि यस पार्टीले १९७१ मा पाकिस्तानबाट बंगलादेशको स्वतन्त्रताको विरोध गरेको थियो। त्यतिबेला यसका धेरै नेतालाई स्वतन्त्रता समर्थकको हत्यामा पाकिस्तानी सेनासँग मिलेको आरोप लगाइएको थियो।
नयाँ र सबैभन्दा कान्छा नाहिद इस्लाम पनि बंगलादेशका भावी प्रधानमन्त्रीका दाबेदार हुन्। उनी सन् २०२४ मेमा तत्कालीन हसिना सरकारविरुद्ध सुरु भएको विद्यार्थी आन्दोलनका प्रमुख नेतामध्ये एक हुन्।
त्यसबेला उनी नाहिद स्टुडेन्ट्स अगेन्स्ट डिस्क्रिमिनेसन नामक विद्यार्थी मञ्चका संयोजक थिए। यस अवधिमा उनलाई प्रहरीले हिरासतमा लिएको थियो। शेख हसिनालाई सत्ताबाट हटाइएपछि नाहिद इस्लामलाई मोहम्मद युनुसको नेतृत्वमा रहेको अन्तरिम सरकारमा सूचना, हुलाक र दूरसञ्चारसँग सम्बन्धित विभागको सल्लाहकार बनाइएको थियो। उनले केही महिनासम्म यो पद सम्हाले।
पछि सरकारबाट राजीनामा दिएर उनी सक्रिय राजनीतिमा प्रवेश गरे। र, २०२५ फेब्रुअरीमा नाहिद इस्लामले न्याश्नल सिटिजन पार्टी (एनसीपी) घोषणा गरे। यो पार्टीले आफू विद्यार्थी आन्दोलन, युवा र प्रणालीसँग असन्तुष्ट मतदाताहरूको राजनीतिक आवाज भएको दाबी गर्छ। यद्यपि एनसीपीले सिफुकर रहमानको जमात–ए–इस्लामीसँग गठबन्धन गरेको छ।
स्थानीय सञ्चारमाध्यमका अनुसार नाहिद इस्लामलाई सहरी क्षेत्र, विद्यार्थी र पहिलोपटक मतदानमा सहभागी युवाबाट समर्थन मिलिरहेको छ।