• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

निर्वाचनमा विजयी बीएनपीले भारतसँग भन्यो– शेख हसिनालाई फिर्ता पठाउनू

काठमाडौं । बंगलादेशको आम निर्वाचनमा भारी बहुमतका साथ विजयी भएको बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) ले भारतमा शरण लिइरहेकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई बंगलादेश फिर्ता पठाउन (सुपुर्दगी गर्न) माग गरेको छ।

सन् २०२४ अगस्टमा भएको विद्यार्थी नेतृत्वको जनविद्रोहपछि सत्ताच्युत भएकी हसिना भारतमा शरण लिइरहेकी छिन्। बीएनपीको यो ताजा मागले अब बन्ने नयाँ सरकार र भारतबीचको कूटनीतिक सम्बन्धमा चुनौती थपिने संकेत गरेको छ।

समाचार एजेन्सी पीटीआईका अनुसार बीएनपीका वरिष्ठ नेता सलाहुद्दीन अहमदले हसिनाको सुपुर्दगी प्रक्रियालाई अगाडि बढाउनुपर्नेमा जोड दिएका छन्। उनले भने, ‘हाम्रा विदेश मन्त्रीले पहिले नै सुपुर्दगीको विषय उठाइसक्नुभएको छ र हामी त्यसको पूर्ण समर्थन गर्दछौँ। हामी भारत सरकारसँग अनुरोध गर्दछौँ कि हसिनालाई बंगलादेश फिर्ता पठाइयोस् ताकि उनले यहाँको कानुनी मुद्दा र मुकदमको सामना गर्न सकून्।’
अहमदले थपे, ‘हामी भारतलगायत सबै देशसँग पारस्परिक सम्मान र समानतामा आधारित मैत्रीपूर्ण सम्बन्ध चाहन्छौँ।’

गत वर्ष नोभेम्बरमा बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले शेख हसिना र पूर्व गृहमन्त्री असदुज्जमान खान कमाललाई उनीहरूको अनुपस्थितिमा मृत्युदण्डको सजाय सुनाएको थियो। सन् २०२४ को आन्दोलनका क्रममा भएको हिंसात्मक दमन र ‘मानवता विरुद्धको अपराध’ मा उनीहरूलाई दोषी ठहर गरिएको छ। यद्यपि, हसिनाले भने आफूलाई नसुनी एकपक्षीय रूपमा गरिएको फैसला ‘गैरकानुनी’ भएको दाबी गर्दै आएकी छिन्।

सन् २०२४ को विद्रोहपछि भएको यो पहिलो निर्वाचनमा हसिनाको दल अवामी लिगलाई प्रतिबन्ध लगाइएको थियो। हसिनाले भारतबाटै यस निर्वाचनलाई ‘अलोकतान्त्रिक र प्रहसन’ को संज्ञा दिएकी छिन्। तर, बीएनपी नेता अहमदले हसिनाको आलोचनालाई खारेज गर्दै भने, ‘बंगलादेशी जनताले अगस्ट २०२४ को जनविद्रोह मार्फत अवामी लिगलाई पहिले नै खारेज गरिसकेका छन्।’

भारत र अवामी लिगबीच सन् १९७१ को बंगलादेश स्वतन्त्रता संग्रामदेखि नै ऐतिहासिक र गहिरो सम्बन्ध रहिआएको छ। संकटका बेला भारतले हसिना र उनको दलका हजारौँ नेता–कार्यकर्तालाई सुरक्षित आश्रय दिएको छ।