काठमाडौँ । उपकरण अभावको फाइदा उठाउँदै विद्युतीय कार कम्पनी बीवाईडी नेपालको आधिकारिक आयातकर्ता साइमेक्स इंकले ठूलो परिणाममा भन्सार छली गरेको खुलेको छ । आर्थिक ऐन, २०८० ले विद्युतीय सवारीसाधनहरूको मोटर पिक पावरको क्षमताको आधारमा फरक भन्सार दर कायम गरेको छ, जसको फाइदा उठाउन साइमेक्स साइमेक्स इंकले भन्सारमा छली गरेको हो ।
आर्थिक ऐन, २०८० ले विद्युतीय सवारीसाधनहरूको मोटर पिक पावरको आधारमा पैठारी भएका सवारीसाधनको मोटर पिक पावर ५० देखि १०० किलोवाटसम्म भएमा भन्सार उपशीर्षक ८७०३.८०.५९ (अन्य) ८७०३.८०.२१ (अनएसेम्बल), ८७०३.८०.२९ (अन्य) बाट जाँचपास गरी १५ प्रतिशत भन्सार महसुल, १० प्रतिशत अन्तःशुल्क र मूल्य अभिवृद्धि कर तथा मोटर क्षमता १०० देखि २०० किलोवाट भएमा भन्सार उपशीर्षक ८७०३.८०.६९ बाट जाँचपास गरी २० प्रतिशत भन्सार महसुल, २० प्रतिशत अन्तःशुल्क र मूल्य अभिवृद्धि कर लगाउनुपर्ने व्यवस्था गरेको छ ।
आर्थिक ऐन, २०८० ले यो व्यवस्था गरेपनि रसुवा र तातोपानी भन्सार कार्यालयहरुमा विद्युतीय सवारीसाधनहरूको मोटर पिक पावर जाँच्ने उपकरण छैन । यातायात कार्यालयले समेत त्यस्ता सवारीको रोड ओर्दिनेस मात्र जाँच गर्ने गरेका छन् । यही स्थितिको लाभ उठाउँदै साइमेक्स इंकले कम मोटर क्षमता देखाउँदै भन्सार छली गर्ने गरेको पाइएको हो ।
भन्सार कार्यालय रसुवाको तथ्यांक अनुसार आर्थिक वर्ष २०८१/८२ मा साइमेक्स इंकले बीवाईडीका विभिन्न मोडलका कुल २ हजार ७२५ वटा गाडी भित्र्याएको थियो । तर, आश्चर्यजनकरुपमा यस अवधिमा १०० किलोवाट माथिको मोटर पिक पावर भएका केवल २ वटा गाडी मात्रै आयात गरिएको तथ्यांक छ ।
हाल नेपालमा बीवाइडीका ७ वटा मोडलका गाडीहरु विक्री भइरहेका छन् । यीमध्ये बीवाईडी सिलबाहेक सबै मोडलका मोटर पावर १०० किलोवाट वा त्यो भन्दा कम देखाइएको छ । जबकि, बीवाईडीका यी गाडीहरुको मूल निर्माता चीन र अन्य देशहरुमा मोटर पिक पावर १०० किलोवाट माथि छ ।
सामान्यतया, सानो बजार भएकाले नेपालका लागि भनेरै बीवाईडीले आफ्ना गाडीहरुलाई १०० किलोवाट मोटर पावर राखेर सीमित गर्दैन । यद्यपि, आयातकर्ताले कागजातमा १०० किलोवाट मोटर पावर उल्लेख गरिदिन आग्रह गरेको खण्डमा बीवाईडीले सो सुविधा प्रदान गर्ने गर्छन् । यही कुराको लाभ उठाउँदै नेपालको आधिकारिक अयातकर्ता साइमेक्स इंकले भन्सारमा कम शूल्क तिर्न १०० किलोवाट वा सो भन्दा कम मोटर पिक पावर देखाएको हो ।
महालेखा परीक्षकको ६२औँ प्रतिवेदनले समेत यस सम्बन्धमा प्रश्न उठाएको थियो ।
“विभिन्न पैठारीकर्ताले पिक मोटर पावरको क्षमता घोषणा गरे पनि प्राविधिकबाट परीक्षण नभएको साथै विद्युतीय सवारीसाधनका उत्पादक वा अन्य स्वतन्त्र जाँचकर्ताबाट मोटर क्षमतालाई पुष्टि गर्ने टेस्ट रिपोर्ट समेत संलग्न छैन। ती सवारीसाधनको उत्पादक कम्पनीको वेबसाइटमा रहेका क्याटलग तथा अन्य देशमा गरेको निर्यातको विवरणको आधारमा पैठारी भएका विभिन्न मोडेलका सवारीसाधनहरु १०० किलोवाटदेखि २०० किलोवाटसम्म क्षमताको रहेको देखिन्छ। तथापि सूचना र तातोपानी भन्सार कार्यालयबाट पैठारी भएका सवारीसाधनहरुको घोषणाबमोजिम क्षमता ९९ किलोवाट पिक मोटर पावर क्षमता उल्लेख गरी भन्सार उपशीर्षक ८७०३.८०.९९ (अन्य) बाट जाँचपास भएको देखिन्छ,” प्रतिवेदनमा भनिएको छ ।

महालेखाले त्यस्ता आयातकर्ताबाट भन्सार उपशीर्षक ८७०३.८०.६९ बाट जाँचपास गरी २० प्रतिशत भन्सार महसुल, २० प्रतिशत अन्तःशुल्क र मूल्य अभिवृद्धि कर असुल गर्नुपर्नेमा सो नगरेकोले आधिकारिक उत्पादकले प्रकाशन गरेको सवारीसाधनको प्राविधिक स्पेसिफिकेशन तथा मोटर क्षमता जाँच गरी भन्सार कार्यालयबाट रु २ अर्ब ७४ करोड १८ लाख ११ हजार र तातोपानी भन्सार कार्यालयबाट रु १ अर्ब ३ करोड २५ लाख २० हजारसमेत रु ३ अर्ब ७७ करोड ४४ लाख १९ हजार छुट महसुल तथा करका सम्बन्धमा छानविन गरी असुल गर्नुपर्दछ भनेर समेत उल्लेख गरेको छ ।
साइमेक्ससहितका कम्पनीबाट ३ अर्ब ७७ करोड रुपैयाँ बढी भन्सार छली भएको महालेखाले औँल्याएको छ । महालेखाको प्रतिवेदन र भन्सार कार्यालयको तथ्यांक हेर्दा साइमेक्सले करौडौँ रुपैयाँ भन्सार छली गरेको देखिन्छ ।
महालेखाले प्रश्न उठाएपछि रसुवा भन्सार कार्यालयले २०८२ फागुन २९ गते साइमेक्स इंक प्रालिलाई पत्र लेख्दै चीनको आधिकारिक निकायको मापदण्ड बमोजिम आयातित बीवाईडी गाडीहरुको मोटर पिक पावर पुष्टि हुने थप प्रमाण तथा कागजात पेस गर्न भनेको थियो ।

भन्सार कार्यालयले ३ दिनको समय दिएर नेपालमा पैठारी गरिएका सवारीहरुको प्रतिनिधित्व हुने गरी चीनको आधिकारिक निकायबाट चीनको राष्ट्रिय मापदण्ड अनुसार प्राविधिक जाँच गरेको कागजातसँगै चीनको आधिकारिक निकायबाट मोटर पिक पावर सम्बन्धी प्राविधिक जाँच गरेको आधारयोग्य कागज पेश गर्न भनेको थियो ।
तर कार्यालय स्रोतका अनुसार साइमेक्सले यसअघिकै स्वघोषणा मात्र बुझायो । हालसम्म पनि साइमेक्सले बीवाईडीको मोटर पिक पावर पुष्टि हुने प्रमाण पेस गर्न सकेको छैन । यसबाट साइमेक्सले भन्सार छली गरेको स्पष्ट हुन्छ ।
सत्ताको आडमा हालसम्म साइमेक्समाथि ठोस् अनुसन्धान भने अघि बढेको छैन । यसअघिसम्म काँग्रेस, एमाले र नेपाली कम्युनिष्ट पार्टी (तत्कालीन माओवादी ) का नेताहरुसँगको साँठगाँठमा साइमेक्सले उन्मुक्ति पाउँदै आइरहेको थियो । तर अहिले भने माहौल फेरिएको छ । पुराना नेताहरु पाखा लागेका छन् । प्रधानमन्त्री बालेन्द्र शाहका अर्थमन्त्री स्वर्णिम वाग्ले गलत गर्ने जोकोही व्यापारीलाई पनि नछोड्ने बताउँदै आइरहेका छन् । यस्तोमा अर्थमन्त्री वाग्लेले साइमेक्सको यस भन्सार छली प्रकरणमाथि अनुसन्धान गर्न अग्रसरता लिनु जरुरी छ ।