काठमाडौँ। त्रिभुवन विश्वविद्यालय (त्रिवि) को व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सेमेस्टरको ‘MGT 515: Organizational Behavior’ विषयको प्रश्नपत्र परीक्षा सञ्चालन भइरहेकै समयमा सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको घटनाले विश्वविद्यालयको परीक्षा प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ। घटनापछि नेपाल प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ भने त्रिविले छुट्टै छानबिन समिति गठन गरेर अनुसन्धान अघि बढाएको छ।
साउन ८ गते मध्याह्न १२ बजे परीक्षा सुरु भएको थियो। तर परीक्षा सुरु भएको करिब पाँच मिनेटमै ‘MBS First Sem Section C’ नामक ह्वाट्सएप समूहमा ‘सुलभ सर’ नामबाट एउटा पीडीएफ फाइल साझा गरिएको देखिएको छ, जसलाई परीक्षाको प्रश्नपत्र भएको दाबी गरिएको छ। त्यसको केही समयमै उक्त प्रश्नपत्र विभिन्न सामाजिक सञ्जाल र अन्य ह्वाट्सएप समूहहरूमा समेत फैलिएको थियो।
सार्वजनिक भएका स्क्रिनसटहरूमा प्रश्नपत्र पठाइएलगत्तै समूहका सदस्यहरूबीच त्यसबारे छलफल सुरु भएको देखिन्छ। एक विद्यार्थीले ‘सर, सोलुसन पनि पठाइदिनु न’ भनेर अनुरोध गरेको देखिन्छ भने त्यसको केहीबेरपछि ‘सुलभ सर’ नामबाट अर्को पीडीएफ फाइल र केही फोटोहरू पनि पठाइएको उल्लेख छ। ती फाइलमा प्रश्नहरूको उत्तर रहेको दाबी गरिएको भए पनि त्यसको आधिकारिक पुष्टि भएको छैन।
समूहभित्रका संवादहरूले प्रश्नपत्र नियमित रूपमा उपलब्ध गराइने अपेक्षा गरिएको संकेत पनि गरेका छन्। एक सदस्यले आगामी अर्थशास्त्रको परीक्षामा ढिला पुग्ने उल्लेख गर्दै ‘यसरी नै प्रश्नपत्र हालिदिनुहोला’ भन्ने सन्देश लेखेका छन्। अर्को संवादमा ‘सुलभ सर’ ले राति ११ बजे ‘महत्त्वपूर्ण प्रश्न’ पठाउने आश्वासन दिएको देखिन्छ भने केही विद्यार्थीहरूले यसअघि पनि उनले भनेकै प्रश्न आएको प्रतिक्रिया दिएका छन्। एक विद्यार्थीले त उक्त समूहलाई ‘जब होल्डर्सका लागि बेस्ट ग्रुप’ भन्दै सीमित प्रश्न पढेर पनि आफूले ९५ अंक ल्याएको दाबी गरेका छन्।
उक्त ह्वाट्सएप समूहमा एक हजारभन्दा बढी सदस्य रहेको देखिएको छ। यही कारण घटनाले संगठित रूपमा परीक्षा सामग्री चुहावट भएको हो कि भन्ने आशंका जन्माएको छ।
प्रश्नपत्र सार्वजनिक भएको विषय बाहिरिएपछि फेसबुक पेज ‘TU Students’ ले स्क्रिनसटसहित त्रिविको ध्यानाकर्षण गराएको थियो। पेजले परीक्षा सुरु भएको केही मिनेटमै प्रश्नपत्र विभिन्न समूहमा फैलिएको दाबी गर्दै यसले परीक्षा प्रणालीको गोपनीयता, निष्पक्षता र विश्वसनीयतामाथि गम्भीर प्रश्न खडा गरेको जनाएको थियो।
घटनापछि त्रिवि व्यवस्थापन संकायका सहायक डिन डा. भरत राईले नेपाल प्रहरीको साइबर ब्युरोलाई औपचारिक पत्र पठाएर अनुसन्धानको अनुरोध गरेका थिए। पत्रमा सार्वजनिक भएका स्क्रिनसटमा देखिएका ‘सुलभ सर’ लगायत व्यक्तिहरूको पहिचान गरी सम्बन्धित व्यक्ति, संस्था वा परीक्षा केन्द्र पत्ता लगाई कानुनी कारबाहीका लागि सहयोग गर्न आग्रह गरिएको थियो।
यसैबीच, शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीसँग घटनाबारे छलफल गरेका थिए। मन्त्रालय स्रोतका अनुसार मन्त्रीले प्रश्नपत्र चुहावटमा संलग्न व्यक्तिलाई तत्काल नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाउन निर्देशन दिएका थिए।
प्रहरीले त्यसलगत्तै ‘सुलभ सर’ भनेर चिनिने व्यक्तिसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मन्त्रीको सचिवालयले पक्राउको पुष्टि गर्दै अनुसन्धान जारी रहेको जनाएको छ। नेपाल प्रहरीका प्रवक्ता डीआईजी अबिनारायण काफ्लेले पनि विस्तृत विवरण औपचारिक रूपमा सार्वजनिक गरिने बताएका छन्। प्रहरीका अनुसार घटनाको अनुसन्धान सम्बन्धित अनुसन्धान इकाइमार्फत अघि बढाइएको छ।
विश्वविद्यालयले पनि आन्तरिक छानबिन प्रक्रिया सुरु गरेको छ। व्यवस्थापन संकायको परीक्षा सञ्चालन समितिले तीन सदस्यीय छानबिन समिति गठन गरेको हो। समितिको संयोजकमा प्रा. डा. अच्युत ज्ञवाली छन्। सदस्यहरूमा केन्द्रीय अनुगमन निर्देशनालयका उपनिर्देशक सहप्राध्यापक डा. पुष्कर रैखला र केन्द्रीय परीक्षा सञ्चालन समितिका सदस्य सहप्राध्यापक डा. महेशराज ओझा रहेका छन्।
समितिलाई घटनाको सत्यतथ्य पत्ता लगाई सात कार्यदिनभित्र प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ। त्रिविले जारी गरेको सूचनामा परीक्षा सञ्चालनकै क्रममा प्रश्नपत्र सामाजिक सञ्जालमा सार्वजनिक भएको घटनाले परीक्षाको मर्यादा र विश्वसनीयतामा गम्भीर असर परेको उल्लेख गर्दै त्यसको यथार्थ छानबिन गरी आवश्यक सिफारिस पेश गर्न समितिलाई जिम्मेवारी दिइएको जनाएको छ।