• २०८३ साउन २५
  • 2026 August 10, Monday

पहिलो प्रेम बिर्सन किन गाह्रो हुन्छ ?

पहिलो पटक प्रेममा पर्नु जीवनकै सबैभन्दा अविस्मरणीय अनुभवमध्ये एक हो।

तर दशकौं बितिसक्दा पनि पहिलो प्रेम र पहिलो सम्बन्ध किन मनमा ताजै रहिरहन्छ? त्यस समयका सम्झनाहरू किन गहिरो हुन्छन्? तिनलाई बिर्सन किन सजिलो हुँदैन?

वास्तवमा, कम उमेरमा हाम्रो मस्तिष्कले लामो समयसम्म रहने सम्झनाहरू निर्माण गर्छ।

धेरैले किशोरावस्थामै पहिलो प्रेमको अनुभव गर्छन्। यो मस्तिष्कको विकासको त्यस्तो चरण हो जहाँ सम्झना सञ्चित गर्ने र लामो समयसम्म सुरक्षित राख्ने क्षमता उच्चतम अवस्थामा हुन्छ।

वेस्टमिन्स्टर विश्वविद्यालयकी न्यूरोसाइकोलोजी प्राध्यापक क्याथरिन लोवी भन्छिन्, “किशोर उमेरमा हाम्रो मस्तिष्कमा सम्झनाहरू अत्यन्त स्पष्ट रूपमा सुरक्षित राख्ने र लामो समयसम्म जोगाइराख्ने असाधारण क्षमता हुन्छ।”

लोवीको भनाइमा मस्तिष्कले भावना र अनुभूतिसँग जोडिएका घटना अरूभन्दा बढी प्रभावकारी रूपमा सम्झिरहन्छ।

उनी भन्छिन्, “कुनै घटना जीवनमा पहिलो पटक घटेको छ र गहिरो प्रभाव समेत पारेको छ वा त्यसले दुःख, पीडा वा बेचैनीजस्ता उत्कट भावना पैदा गरेको छ भने त्यो लामो समयसम्म स्मृतिमा रहने सम्भावना बढी हुन्छ।”

यसबाहेक, कुनै सम्झनालाई जति धेरै पटक सम्झिने वा दोहोर्‍याउने गरिन्छ, त्यो मस्तिष्कमा त्यति नै बलियो रूपमा बस्छ।

यही कारणले भावनात्मक अनुभवहरू प्रायः सबैभन्दा लामो समयसम्म स्मृतिमा रहन्छन्।

प्राध्यापक लोवी भन्छिन्, “हामी त्यस्ता अनुभव र सम्झनाहरू हामी जति सम्झिरहन्छौं, तीसँग सम्बन्धित न्युरल कनेक्सन झन् बलिया बन्दै जान्छन्।”

हार्मोन र पहिलो प्रेमको सम्बन्ध

खुसी, उत्साह वा प्रेममा चोट लाग्दाको पीडा जस्ता पहिलो प्रेमसँग जोडिएका भावनाहरू प्रायः निकै गहिरा र प्रभावशाली हुन्छन्।

लोवीका अनुसार किशोरावस्थामा शरीर र मस्तिष्कमा विभिन्न हार्मोन र रासायनिक तत्वहरू सक्रिय हुन्छन्। यिनै कारण तीव्र भावनाहरू उत्पन्न हुन्छन्।

सबैभन्दा पहिले इस्ट्रोजन र टेस्टोस्टेरोन जस्ता हार्मोनको मात्रा बढ्छ। यसले भावनात्मक आकर्षण सिर्जना गर्छ।

त्यसपछि सम्बन्ध अघि बढ्दै जाँदा मस्तिष्कबाट सेरोटोनिन, डोपामिन र अक्सिटोसिन जस्ता रसायन उत्सर्जित हुन्छन्।

यी रसायनहरू खुसी, उपलब्धिको अनुभूति, भावनात्मक निकटता र आत्मीय सम्बन्धसँग जोडिएका हुन्छन्।

पहिलो प्रेम भनेको सम्बन्ध बुझ्ने यात्राको सुरुआत पनि हो। आधारभूत रूपमा हेर्ने हो भने मानवीय सम्बन्ध हाम्रो जीवन र सामाजिक अस्तित्वसँग प्रत्यक्ष जोडिएका हुन्छन्।

कुनै युवाका लागि पहिलो प्रेम सम्बन्ध एउटा महत्वपूर्ण मोड हो। किनभने त्यही बेला उसले पहिलो पटक आफ्नो परिवार र सीमित सामाजिक घेराभन्दा बाहिरको व्यक्तिसँग गहिरो भावनात्मक सम्बन्ध बुनेको हुन्छ।

लोवी पहिलो प्रेमलाई मानवीय सम्बन्धसँग जोडिएको जीवनकै सबैभन्दा महत्वपूर्ण अनुभवमध्ये एक मान्छिन्।

उनी भन्छिन्, “हामीले आफ्नो परिचित घेराभन्दा बाहिरको व्यक्तिमाथि विश्वास गर्न सिक्नुपर्छ। जीवनको एउटा नयाँ दिशातर्फ पाइला चाल्नुपर्छ।”

उनको बुझाइमा पहिलो प्रेम केवल भावनात्मक अनुभव मात्र होइन। यो मानिसलाई विश्वास गर्न, आत्मीयता महसुस गर्न र नयाँ सम्बन्ध बनाउन सिकाउने प्रक्रिया पनि हो।

पुरानो प्रेमी वा प्रेमिका फेरि भेटिँदा के हुन्छ?

सन् १९९३ मा अमेरिकी मनोवैज्ञानिक डा. न्यान्सी कालिशले धेरै वर्षपछि आफ्ना पुराना प्रेमी वा प्रेमिकासँग पुनः सम्पर्क गरेका व्यक्तिहरूमाथि अध्ययन गरेकी थिइन्।

अध्ययनमा सहभागी अधिकांश व्यक्ति या त अविवाहित वा आफ्ना जीवनसाथी गुमाइसकेका थिए।

धेरै जोडीले केही सातामै आफ्नो सम्बन्ध पुनः सुरु गरे। तीमध्ये ७२ प्रतिशतले पछि एकअर्कासँग विवाह नै गरे।

इन्टरनेटको विस्तारसँगै पुराना प्रेमी वा प्रेमिकालाई खोज्न र सम्पर्क गर्न पहिलेभन्दा निकै सजिलो भएको छ।

सन् २००४ मा गरिएको अर्को अध्ययनमा कालिशले आफ्ना पुराना प्रेमी वा प्रेमिकासँग पुनः सम्पर्क गर्ने ६२ प्रतिशत व्यक्ति फेरि प्रेम सम्बन्धमा जोडिएको पत्ता लगाएकी थिइन्। यद्यपि, तीमध्ये केवल ५ प्रतिशत सम्बन्ध मात्रै विवाहसम्म पुगे।

पहिलो प्रेम वर्षौंसम्म किन सम्झनामा रहिरहन्छ?

लोवीको अनुसन्धान केवल पहिलो प्रेममा सीमित छैन। उनले मानिसको सम्पूर्ण जीवनका स्मृतिमाथि अध्ययन गरेकी छन्।

तर, उनको भनाइमा पहिलो प्रेमका सम्झनाको स्थान भने अलग्गै हुन्छ।

उनी भन्छिन्, “मैले ७० र ८० वर्ष उमेरका मानिसहरूसँग पनि कुरा गरेकी छु। उनीहरूमध्ये धेरैले आज पनि आफ्नो पहिलो प्रेमलाई जीवनकै सबैभन्दा स्पष्ट र महत्वपूर्ण सम्झनामध्ये एकका रूपमा सम्झिन्छन्।”

उनका अनुसार धेरैका लागि पहिलो प्रेम विगतको एउटा अध्याय मात्र हुँदैन। यो यस्तो अनुभव हो, जुन वर्षौं र कहिलेकाहीँ दशकौंसम्म पनि मन र भावनामा जीवित रहन्छ।

पुरानो प्रेमका सम्झनाले अहिलेको सम्बन्ध कसरी बलियो बनाउन सक्छ?

पुरानो प्रेम सम्झिनु भनेको सधैं हराएको सम्बन्ध फर्काउने चाहना भन्ने पनि होइन। बरु, यसले अहिलेको सम्बन्धलाई थप मजबुत बनाउन सक्छ।

ह्युस्टन विश्वविद्यालयका प्राध्यापक एडम फेटरम्यानले ‘रोमान्टिक नोस्टाल्जिया’ भन्ने अवधारणामाथि अध्ययन गरेका छन्।

फेटरम्यानका अनुसार यो विगतप्रतिको आत्मीयता र प्रेमको त्यस्तो अनुभूति हो, जुन वर्तमान सम्बन्धकै सन्दर्भमा उत्पन्न हुन्छ।

फेटरम्यान भन्छन्, “पहिलो भेटमा सँगै हेरेको चलचित्र फेरि हेर्नुजस्ता सम्बन्धका विशेष क्षणहरू पुनः सम्झिँदा मानिसहरूले ती सुखद अनुभूतिहरू फेरि महसुस गर्न सक्छन्।”

उनका अनुसार आफ्नो सम्बन्धसँग जोडिएका यस्ता साझा सम्झनाहरू धेरै सम्झने व्यक्तिले आफ्नो जीवनसाथीसँग अझ गहिरो भावनात्मक निकटता महसुस गर्छन्। यसले प्रेम र अपनत्व दुवै बढाउँछ।

पहिलो नजरको प्रेम र ३० वर्षपछि भएको पुनर्मिलन

केट र गुन्टरको भेट सन् १९८९ मा बेलायतको डेभोनमा छुट्टी मनाउने क्रममा भएको थियो।

दुवैलाई पहिलो नजरमै एकअर्कासँग प्रेम बस्यो।

तर गुन्टरलाई जर्मनी फर्किनुपर्‍यो। त्यसपछि उनीहरूले भेटघाट र चिठीपत्रमार्फत सम्बन्धलाई निरन्तरता दिए। तर सँगै बस्ने कुनै उपाय निकाल्न सकेनन्।

केट भन्छिन्, “उहाँलाई म सँगै बस्न सक्दिनँ भनेर भन्नु मेरो जीवनकै सबैभन्दा कठिन निर्णय थियो।”

करिब दुई वर्षको सम्बन्धपछि दुवैले भारी मनले छुट्टिने निर्णय गरे।

करिब ३० वर्षपछि केटले आफ्नो दराजमा पुराना चिठीहरू फेला पारिन्। ती चिठीले सबै पुराना सम्झनाहरू फेरि ताजा बनाइदिए।

उनी भन्छिन्, “म लगातार रोइरहेँ। त्यसपछि मैले एउटा असाध्यै राम्रो मानिसको मन दुखाएँ र त्यसको कारण पनि कहिल्यै बताइँन भन्ने सोचेँ।”

त्यसपछि उनले गुन्टरको पारिवारिक व्यवसायको ठेगाना खोजिन् र एउटा चिठी लेखिन्। उनलाई जवाफ आउने कुनै आशा थिएन।

तर गुन्टरले जवाफ फर्काए।

त्यो क्षण सम्झिँदै केट भन्छिन्, “नोभेम्बर २२ को दिउँसो १२ बजेर ३६ मिनेटमा फोन बज्यो। जर्मनीबाट आएको कल देख्नेबित्तिकै मेरो मुटुको धड्कन एकाएक बढ्यो।”

त्यसपछि उनीहरू घण्टौंसम्म कुरा गरिरहे।

केही सातापछि गुन्टर उनलाई भेट्न म्यानचेस्टर पुगे।

केट भन्छिन्, “गुन्टरलाई फेरि देख्दा हामी कहिल्यै छुट्टिएका नै थिएनौं जस्तो लाग्यो।”

पछि गुन्टरले उनलाई त्यही डाँडामा लगे, जहाँ उनीहरू ३० वर्षअघि सँगै चढेका थिए। त्यहीँ उनले विवाहको प्रस्ताव राखे।

त्यसपछि दुवैले विवाह गरे।

केट भन्छिन्, “जीवनमा सबैलाई दोस्रो मौका मिल्दैन। तर अहिले गुन्टरलाई देख्दा मलाई कुनै कुराको पछुतो छैन।”

गुन्टर पनि यसमा सहमत छन्।

उनी भन्छन्, “अब म फेरि कहिल्यै केटलाई गुमाउनेछैन।”

(बीबीसी हिन्दीबाट)