• २०८३ साउन २६
  • 2026 August 11, Tuesday

अमेरिका-इरान युद्धका बीच तेल कम्पनीहरूको नाफामा किन उछाल आइरहेको छ?

मध्यपूर्वमा रहेको महत्त्वपूर्ण होर्मुज जलमार्ग बन्द भएपछि विश्वव्यापी ऊर्जा आपूर्ति प्रवाहमा अवरोध आएको छ। यसका कारण महिनौँदेखि तेलको मूल्यमा ठुलो उछाल आएको छ र विश्वभरका ऊर्जा बजार प्रभावित भएका छन्।

खाडी क्षेत्रबाट हजारौँ माइल टाढा रहेको संयुक्त राज्य अमेरिका र युरोपमा घरायसी वस्तु तथा सेवाको मूल्य बढेको छ। उता, इरानमाथिको युद्धबाट उत्पन्न परिस्थितिबाट ठुला तेल कम्पनीहरूले आश्चर्यजनक नाफा कमाइरहेका छन्।

एक्सोनमोबिल, शेभ्रोन, शेल र बीपीजस्ता कम्पनीहरूले युद्धका कारण उत्पन्न अराजकताबीच ठुलो नाफा कमाउँदै छन्। युद्ध अन्त्य हुने कुनै संकेत नदेखिँदा र द्वन्द्व रेड सीतर्फ समेत फैलिँदै जाँदा यी कम्पनीहरूले अर्बौँ डलर कमाएका छन्।

त्यसो भए, इरान युद्धका कारण ठुला तेल कम्पनीहरूले कति पैसा कमाएका छन्?

एक्सोनमोबिल: अमेरिकाको सबैभन्दा ठुलो यस तेल कम्पनीले दोस्रो त्रैमासिकमा १४.५ अर्ब डलर आम्दानी भएको जनाएको छ। समायोजित आम्दानी १४.७ अर्ब डलर रहेको थियो। यो चार वर्षयताकै सबैभन्दा उच्च त्रैमासिक नाफा हो।

इरान युद्धका बीच बढेको तेलको मूल्य र बलियो रिफाइनिङ मार्जिनले कम्पनीको प्रतिफलमा वृद्धि गराएको थियो। यद्यपि, कतारमा उत्पादनमा आएको अवरोधका कारण यसको आम्दानी वाल स्ट्रिटको अपेक्षाभन्दा कम रह्यो।

शेभ्रोन: अमेरिकाको दोस्रो ठुला यस तेल कम्पनीले दोस्रो त्रैमासिकमा १२ अर्ब डलर आम्दानी गरेको छ। यो छ वर्षयताकै सबैभन्दा उच्च त्रैमासिक नाफा हो र विश्लेषकहरूको अनुमानभन्दा बढी हो।

रोयटर्सका अनुसार विश्वव्यापी तेलको मूल्य बढ्दा कम्पनीको अपस्ट्रिम र डाउनस्ट्रिम दुवै कारोबारमा वृद्धि भएको छ। अपस्ट्रिम आम्दानी वार्षिक आधारमा २०० प्रतिशतले बढेर ८.२ अर्ब डलर पुगेको छ भने डाउनस्ट्रिम आम्दानी ४.९ अर्ब डलर पुगेको छ। यो सन् २०१० को सुरुआती दशकयताकै शेभ्रोनको सबैभन्दा बलियो प्रदर्शन हो।

शेल: युरोपको सबैभन्दा ठुलो तेल कम्पनी तथा बेलायती-डच समूह शेलले दोस्रो त्रैमासिक आम्दानी दोब्बरभन्दा बढी बनाएको छ। कम्पनीले करिब १० अर्ब डलर आम्दानी गरेको जनाएको छ। यो विश्लेषकहरूको अपेक्षाभन्दा बढी हो। तेल र ग्यासको बढ्दो मूल्य तथा मध्यपूर्वका केही उत्पादनमा अवरोध आए पनि यसको बलियो तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) कारोबारले कम्पनीलाई बलियो अवस्थामा पुर्याएको हो।

टोटलएनर्जिज: फ्रान्सेली तेल कम्पनीको दोस्रो त्रैमासिक आम्दानी ६७ प्रतिशतले बढेको छ। यो करिब तीन वर्षयताकै कम्पनीको सबैभन्दा राम्रो त्रैमासिक प्रदर्शन हो। बढेको तेलको मूल्य र रिफाइनिङ तथा रसायन व्यवसायमा बलियो नाफा मार्जिनले कमजोर एलएलजी आम्दानीलाई क्षतिपूर्ति गरेको छ।

बीपी: अर्को प्रमुख बेलायती तेल कम्पनी बीपीले दोस्रो त्रैमासिकमा ५.७३ अर्ब डलर नाफा कमाएको छ। यो अघिल्लो वर्षको सोही अवधिमा कमाएको २.३५ अर्ब डलरभन्दा दोब्बरभन्दा बढी हो र विश्लेषकहरूको अनुमानभन्दा पनि माथि हो।

साउदी अराम्को: यो लाभ पश्चिमी तेल कम्पनीहरूमै सीमित रहेन। विश्वकै सबैभन्दा ठुलो राज्य-स्वामित्वको तेल उत्पादक साउदी अराम्कोले पनि त्रैमासिक आम्दानीमा ठुलो वृद्धि भएको जनाएको छ। कम्पनीको आम्दानी वार्षिक आधारमा ४४ प्रतिशतले बढेर ३२.६९ अर्ब डलर पुगेको छ। साउदी अरबको पूर्व-पश्चिम पाइपलाइनले निर्यातका लागि होर्मुज जलमार्गमाथिको निर्भरता घटाउन मद्दत गरेको छ।

नाफामा आएको उछालको कारण

केप्लरकी वरिष्ठ कच्चा तेल विश्लेषक मुयु सुका अनुसार सन् २०२६ को दोस्रो आधामा इन्टरकन्टिनेन्टल एक्सचेन्जमा कारोबार भएको कच्चा तेलको विश्वव्यापी बेन्चमार्क मूल्य औसत ९६.६८ डलर प्रति ब्यारेल थियो। यो सन् २०२६ को पहिलो त्रैमासिकको ७८.३८ डलर र सन् २०२५ को दोस्रो त्रैमासिकको ६६.७१ डलर प्रति ब्यारेलभन्दा उल्लेख्य रूपमा बढी हो।

“यसको अर्थ हो, विशेषगरी होर्मुजमार्फत हुने आवतजावतमा आएको अवरोधका कारण आफ्ना निर्यात प्रभावित नभएका तेल उत्पादकहरूले उच्च तेल मूल्य र मध्यपूर्वी कच्चा तेलको विकल्प खोजिरहेका देश तथा रिफाइनरीहरूबाट आएको बलियो मागबाट फाइदा लिन सके,” उनले भनिन्, “यसका अतिरिक्त, विशेषगरी पश्चिमी क्षेत्रमा उल्लेख्य रिफाइनिङ सम्पत्ति भएका तेल कम्पनीहरूले पनि बलियो रिफाइनिङ मार्जिनबाट फाइदा लिए। मध्यपूर्वबाट हुने निर्यातमा आएको अवरोधका कारण प्रशोधित पेट्रोलियम उत्पादनको मूल्य बढ्नु र ती उत्पादनको आपूर्ति कडा हुनुका कारण नाफा बढ्यो।”

अमेरिकी तेल फ्युचर्सको अप्रिलदेखि जुनसम्मको औसत बन्द मूल्य करिब ९२ डलर प्रति ब्यारेल थियो, जुन वर्षको पहिलो त्रैमासिकको तुलनामा करिब २७ प्रतिशत बढी हो।

वाल स्ट्रिटको प्रमुख सेयर सूचकांक एस एन्ड पी ५०० का कम्तीमा आठ क्षेत्रले सन् २०२६ को दोस्रो त्रैमासिकमा दोहोरो अंकको आम्दानी वृद्धि रिपोर्ट गरिरहेका छन्। वित्तीय तथ्यांकसम्बन्धी कम्पनी फ्याक्टसेटका अनुसार यसमा ऊर्जा क्षेत्र सबैभन्दा अगाडि छ। ऊर्जा क्षेत्रको आम्दानी वार्षिक आधारमा १३५.३ प्रतिशतले बढेको छ, जुन उक्त सूचकांकका सबै क्षेत्रमध्ये ठूलो अन्तरले सबैभन्दा उच्च वृद्धि हो।

यो वृद्धिले इरान युद्धका क्रममा बढेको तेलको मूल्य कसरी तेल तथा ग्यास कम्पनीहरूको नाफामा परिणत भयो भन्ने देखाउँछ।

अर्थशास्त्रीहरूका अनुसार कच्चा तेलको मूल्य बढेका कारण यस क्षेत्रमा औसत आम्दानी बढेको भए पनि उत्पादकहरूले सञ्चालनगत लाभ र बलियो रिफाइनिङ मार्जिनबाट फाइदा उठाएका कारण नाफा भने अझ तीव्र गतिमा बढ्यो।

यसले उद्योगका सबैभन्दा ठुला कम्पनीहरूका लागि अप्रत्याशित ठुलो आम्दानी सिर्जना गरेको छ।

सर्वसाधारणलाई असर

इरानमाथिको युद्ध र कच्चा तेलको बढ्दो मूल्यका कारण धेरै मानिसका लागि यसको प्रभाव महँगो साबित भएको छ।

अमेरिकामा पेट्रोलको मूल्य औसतमा प्रति ग्यालोन (३.८ लिटर) ४ डलरभन्दा माथि पुगेको छ। अमेरिकन अटोमोबाइल एसोसिएसनका तथ्यांकअनुसार यो युद्धअघि रहेको मूल्यको तुलनामा झन्डै ४० प्रतिशत बढी हो।

बेलायतमा सोमबार पेट्रोलको मूल्य अझ बढ्दै प्रति लिटर १६०.८५ ब्रिटिस पेन्स (२.१७ डलर) को नयाँ उच्च बिन्दुमा पुगेको रोयल अटोमोबाइल क्लबले जनाएको छ। यसले यसअघिको उच्च मूल्यलाई पार गरेको छ। डिजेलको मूल्य पनि प्रति लिटर १८० पेन्स (२.४३ डलर) भन्दा माथि पुगेको छ।

अर्को वर्षको मध्यअघि होर्मुज जलडमरूमध्यबाट पानीजहाजको आवागमन पुनः सुरु नभए सन् २०२७ मा बेलायती अर्थतन्त्र खुम्चिने सम्भावना रहेको लेखा तथा परामर्श सेवा ईवाईका पूर्वानुमानकर्ताहरूले सोमबार चेतावनी दिएका छन्।

नाफा सम्बन्धमा ट्रम्पको प्रतिक्रिया

ठुला तेल कम्पनीहरू अझै पनि वासिङ्टनमा सबैभन्दा शक्तिशाली लबिङ समूहहरूमध्ये एक हुन्। यी कम्पनीहरूले लामो समयदेखि त्यहाँ व्यापक व्यावसायिक गतिविधि र राजनीतिक सञ्जाल कायम राख्दै आएका छन्।

ठुला तेल कम्पनीहरूले अर्बौँ डलर कमाउँदै थप कीर्तिमानी नाफा कमाउन थालेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार ह्वाइट हाउसमा आक्रोशपूर्ण प्रतिक्रिया दिएका छन्।

ट्रम्पका शब्दमा एक्सोनमोबिल र शेभ्रोनजस्ता कम्पनीहरूले अभावका आधारमा धेरै पैसा कमाइरहेका छन्।

“म यो कुरा ठुलो स्वरमा र स्पष्ट रूपमा भन्छु: म यसबाट खुसी छैन,” उनले पत्रकारहरूलाई भने।

ट्रम्पले यी कम्पनीहरुले कमाएको ‘धेरै पैसा’को केही हिस्सा जनतालाई फिर्ता दिनुपर्छ र खुद्रा तथा उपभोक्ता मूल्य घटाउनुपर्ने समेत बताएका छन्।

“जब तपाईं एउटा यस्तो कम्पनीलाई हेर्नुहुन्छ जसले अघिल्लो वर्षको तुलनामा १२ गुणा बढी कमाएको छ, उनीहरूले त्यसको केही हिस्सा जनतालाई फिर्ता दिनुपर्छ र उनीहरूले खुद्रा मूल्य, उपभोक्ता मूल्य घटाउनैपर्छ,” ट्रम्पले भने।

(अल जजिराबाट)