प्रायः मानिसहरू बस्दाबस्दै त्यसै औँलाहरू पड्काउन थाल्छन्। यसबाट आउने आवाजले उनीहरूलाई एक प्रकारको सन्तुष्टि पनि दिन्छ।
तर, औँला पड्काउने बानीलाई लिएर विभिन्न कुराहरू सुन्न पाइन्छ, जस्तै: यसो गर्नाले ‘आर्थराइटिस’ (बाथ) हुन सक्छ। तर, के साँच्चै औँला पड्काउनाले जोर्नीहरूमा कुनै स्थायी नोक्सान पुग्छ त?
यस विषयमा डाक्टर डोनाल्ड उङ्गरले एउटा रोचक प्रयोग गरेर हेरेका थिए।
वास्तवमा, बाल्यकालमा डोनाल्ड उङ्गरलाई उनकी आमा, काकीहरू र पछि सासूले समेत लगातार औँला पड्काएमा आर्थराइटिस हुन सक्छ भनेर चेतावनी दिएका थिए।
उनीहरूलाई गलत साबित गर्ने पक्का इरादाका साथ उनले लगातार ५० वर्षसम्म दिनमा कम्तीमा दुई पटक आफ्नो देब्रे हातका औँलाहरू पड्काए। उनले यो क्रम करिब ३६ हजार पटक दोहोर्याए, तर दाहिने हातका औँलाहरूलाई भने कहिल्यै चलाएनन्।
सन् १९९८ मा ७२ वर्षको उमेरमा उनले आफ्नो जीवनभरको यस प्रयासको नतिजा जान्नका लागि दुवै हातको एक्स-रे गराए।
जाँचको नतिजा अनुसार, “कुनै पनि हातमा आर्थराइटिस देखिएन र दुवै हातमा कुनै स्पष्ट भिन्नतासमेत फेला परेन।”
निश्चय नै, यो केवल एकै व्यक्तिमा गरिएको प्रयोग थियो। यद्यपि, विभिन्न अध्ययनहरूले देखाए अनुसार करिब २० देखि ५० प्रतिशत मानिसहरू आफ्ना औँलाहरू पड्काउने बानी भएका हुन्छन्।
त्यसो भए, के यस विषयमा हामीले चिन्ता लिनुपर्ने हो त? के औँलाहरू पड्काउनाले कुनै स्थायी नोक्सान पुग्न सक्छ?
औँला पड्काउँदा आवाज किन आउँछ?

केही मानिसहरूका लागि औँला पड्काउनु अझै पनि नसोची गरिने एक प्रकारको बानी मात्र हो। कसै-कसैलाई भने आफ्ना जोर्नीहरू पड्काउँदा मिल्ने महसुस मन पर्छ।
पछिल्लो समय सामाजिक सञ्जालमा ट्रेन्ड भइरहेका काइरोप्र्याक्टिक एडजस्टमेन्टसम्बन्धी भिडियोहरूको बाढीलाई हेर्ने हो भने, यस्ता धेरै मानिसहरू छन् जसलाई जोर्नी ‘पड्किएको’ आवाज सुनेरै आनन्द आउँछ।
जब हामी हाम्रा जोर्नीहरू पड्काउँछौँ, त्यहाँ एक सामान्य शारीरिक प्रक्रिया भइरहेको हुन्छ। जोर्नी भनेको त्यो ठाउँ हो जहाँ दुईवटा हड्डीहरू आपसमा जोडिएका हुन्छन्।
हाम्रा औँलाका आँख्ला, घाँटी र ढाडमा रहेका जोर्नीहरू ‘साइनोभियल फ्लुइड’ (Synovial Fluid) ले घेरिएका हुन्छन्। यो अण्डाको सेतो भाग जस्तो बाक्लो पदार्थ हो, जसले जोर्नीमा लुब्रिकेन्ट (ग्रिज वा चिल्लोपन) को काम गर्छ।
जब तपाईं जोर्नीहरूलाई पड्काउनका लागि तिनलाई घुमाउनुहुन्छ, तान्नुहुन्छ वा मोड्नुहुन्छ, तब जोर्नीभित्रको रिक्त स्थान (ग्याप) केही समयका लागि बढ्छ।
यसले गर्दा साइनोभियल फ्लुइडको चाप घट्न पुग्छ। फलस्वरूप, उक्त तरल पदार्थमा घोलिएका ग्यासहरू स-साना फोका (बुल्बुले) का रूपमा बाहिर निस्कन थाल्छन्।
वास्तवमा, जोर्नी पड्किँदाका आवाज तिनै ग्यासका फोकाहरू फुट्दाको आवाज हो।
रमाइलो वा अचम्मको कुरा त के छ भने, यो आवाज ८३ डेसिबलसम्म चर्को हुन सक्छ। यो भनेको करिब ६४ किलोमिटर प्रतिघण्टाको गतिमा गुइरहेको डिजेल ट्रकको आवाज जत्तिकै तीव्र हो।
जब युनिभर्सिटी अफ क्यालिफोर्निया, डेभिसका वैज्ञानिकहरूले अल्ट्रासाउन्डको प्रयोग गरेर पड्काइँदै गरेको जोर्नीको अवलोकन गरे, उनीहरूले त्यो ‘पड्किएको’ क्षणलाई स्क्रिनमा पटाका पड्किए जस्तै भएको रूपमा वर्णन गरेका थिए।
नोक्सान नपुऱ्याउने बानी

बेलायतको म्यानचेस्टर युनिभर्सिटीकी रुमेटोलोजिस्ट किमे हाइरिच भन्छिन्– जोर्नी पड्कँदा आउने आवाज केवल ‘एउटा सामान्य शारीरिक प्रक्रिया’ मात्र हो।
तर, के सामान्य हुनुको अर्थ सधैँ यसले कुनै हानि नगर्नु हो त?
अमेरिकाको मिसिगनमा अभ्यास गर्ने न्युरोसर्जन जे जगन्नाथ भन्छन्, “जोर्नीमा दुखाइ वा सुन्निए जस्ता लक्षणहरू छन् भने ती खतराका संकेत हुन सक्छन्।”
उनले यस्ता बिरामीहरू पनि भेटेका छन्, जसले घाँटी धेरै जोडले पड्काउँदा विभिन्न शारीरिक समस्याहरू भोग्नुपरेको थियो। त्यसैले, उनले घाँटी वा यस्तै संवेदनशील जोर्नीहरू जबरजस्ती नपड्काउन सल्लाह दिन्छन्।
यद्यपि, जगन्नाथ भन्छन्, “सामान्यतया जब तपाईंलाई आफ्नो जोर्नी पड्काउन मन लाग्छ, यसलाई ठूलो नोक्सान नगर्ने बानीकै रूपमा लिन सकिन्छ।”
औँलाहरू जोडले पड्काउनाले औँलाहरू आफ्नो ठाउँबाट हट्न सक्छन्, खासगरी तब जब तपाईं धेरै जोड लगाउनुहुन्छ वा औँलालाई यसरी झट्का दिएर तान्नुहुन्छ, त्यो झुक्किएर आफ्नो जोर्नीबाट अलग होस्।
वास्तवमा यस्ता फाट्टफुट्ट घटनाहरू पनि नभएका होइनन्। उदाहरणका लागि, सन् १९९९ मा फिलाडेल्फियाका एक ह्यान्ड सर्जनले औँला पड्काउने आनन्द लिने क्रममा अत्यधिक जोड लगाउँदा मोच आएका (Sprain) दुईजना बिरामीहरूको उपचार गरेको उल्लेख गरेका थिए।
जो मानिसहरू प्रायः आफ्ना जोर्नीहरू पड्काउँछन्, उनीहरूमा सबैभन्दा ठूलो चिन्ता कतै आफूलाई ‘अस्टियोआर्थराइटिस’ पो हुने हो कि भन्ने हुन्छ। यो आर्थराइटिसको सबैभन्दा सामान्य प्रकार हो, जुन जोर्नीको कार्टिलेज खिइने गर्दा हुन्छ।
कार्टिलेज भनेको हड्डीको जोर्नीलाई सुरक्षित राख्ने र प्याडको रूपमा काम गर्ने एक प्रकारको नरम तन्तु (Protective Tissue) हो।
यसबारे हाइरिच भन्छिन्, “मेरो क्लिनिकमा र डिनर टेबलमा पनि धेरै मानिसहरू मलाई यसबारे सोध्ने गर्छन्। यसको सीधा र प्रस्ट जवाफ हो– यस्तो हुँदैन।”
विभिन्न अध्ययनहरूले यो पुरानो अन्धविश्वासलाई गलत साबित गरिसकेका छन्। सन् १९७५ मा प्रकाशित एक अध्ययनमा अनुसन्धानकर्ताहरूले नर्सिङ होममा बस्ने २८ जना वृद्धवृद्धामाथि अध्ययन गरेका थिए। उनीहरूले के पाए भने, नियमित रूपमा औँला पड्काउने मानिसहरूमा डिजेनेरेटिभ आर्थराइटिसको सम्भावना त्यो बानी नभएका मानिसहरूको तुलनामा फरक थिएन।
त्यस्तै, हालै गरिएको एक ‘रेटोस्पेक्टिभ स्टडी’ मा अस्टियोआर्थराइटिसका २१५ जना बिरामीहरूको विगतमा औँला पड्काउने बानी भए वा नभएको अध्ययन गरियो। उनीहरूको तुलना यो रोग नभएका मानिसहरूसँग गरियो।
त्यसबाट पनि उही निष्कर्ष निस्कियो, कुनै व्यक्तिले जीवनभर कति पटक र कति लामो समयसम्म औँला पड्कायो, त्यसले अस्टियोआर्थराइटिसको जोखिम बढाउनमा कुनै पनि भूमिका खेल्दैन।
ग्रिप स्ट्रेन्थ (हातको पकड शक्ति) मा असर?

औँला पड्काउनेसँग जोडिएको अर्को एउटा धारणा यो पनि छ, यसले तपाईंको ‘ग्रिप स्ट्रेन्थ’ (हातमार्फत कुनै वस्तु समात्ने वा निचोर्ने शक्ति) लाई कमजोर बनाउँछ। ग्रिप स्ट्रेन्थ स्वास्थ्यको एक महत्त्वपूर्ण मापदण्ड हो, जसको कमीलाई मुटुको रोग, संज्ञानात्मक क्षमतामा ह्रास, डिप्रेसन र केही प्रकारका क्यान्सरहरूसँग जोडेर हेर्ने गरिन्छ।
सन् १९९० मा १८ देखि ६० वर्षको उमेरसम्म लगातार औँला पड्काउँदै आएका ७४ जना मानिसहरूमाथि एक अध्ययन गरिएको थियो।
त्यस अध्ययनले औँला नपड्काउनेहरूको तुलनामा ती व्यक्तिहरूको हातको पकड केही कमजोर रहेको र हातमा बढी सुन्निने समस्या देखिएको दाबी गरेको थियो।
तर, सन् २०१७ मा गरिएको अर्को विस्तृत अध्ययनले ती पुराना निष्कर्षहरूलाई गलत साबित गरिदियो। नयाँ अध्ययनमा औँला पड्काउनु र हातको ग्रिप कमजोर हुनुबीच कुनै पनि किसिमको सम्बन्ध नरहेको पाइएको थियो।
यस विषयमा अन्य धेरै किसिमका भ्रमहरू अझै समाजमा जीवित छन्। तर हाइरिचको स्पष्ट भनाइ छ, यी सबै धारणाहरू निराधार हुन्। माथि उल्लेख गरिएको अल्ट्रासाउन्ड अध्ययनले पनि यही कुराको पुष्टि गर्छ, जसमा डाक्टरहरूले औँला पड्काउने बानी भएका मानिसहरूको शारीरिक जाँच गर्दा जोर्नीहरूमा कुनै किसिमको सुन्नाइ वा दीर्घकालीन समस्या भेट्टाएका थिएनन्।
कतिपय मानिसहरूलाई औँला पड्काउँदा क्षणिक रूपमा राहत महसुस हुने र जोर्नीको चाल (Movement) मा हल्का सुधार भएको अनुभूति हुन सक्छ। यसले जोर्नीलाई केही समयका लागि तन्काएर त्यसको गतिशीलता (Range of motion) बढाउन मद्दत गर्न सक्छ।
यसबारे अर्को एउटा वैज्ञानिक तर्क यो पनि छ, औँला पड्काउँदा जोर्नी वरपर रहेका स्नायुहरू (Nerve endings) उत्तेजित हुन्छन्, जसले गर्दा वरिपरिका मांसपेशीहरू रिल्याक्स हुन्छन्, दुखाइ कम हुन्छ र एन्डोर्फिन (खुसी पार्ने हर्मोन) रिलिज हुन्छ। यद्यपि, यो कुरा वैज्ञानिक रूपमा पूर्ण रूपमा प्रमाणित भइसकेको भने छैन।
औँला पड्काउनु अधिकांश समय पूर्ण रूपमा हानिकारक नभएको बानी भएकाले यसलाई जबर्जस्ती छाड्नैपर्छ भन्ने कुनै वैज्ञानिक कारण छैन।
तैपनि, यदि तपाईं यो बानीबाट छुटकारा पाउन चाहनुहुन्छ भने, डाक्टर जगन्नाथका अनुसार ‘कोग्निटिभ बिहेभिएरल थेरापी’ (Cognitive therapy) वा मनोवैज्ञानिक तरिका अपनाउन सक्नुहुन्छ। यसबाट तपाईं आफूलाई कुन परिस्थितिमा औँला पड्काउने बानी छ भन्ने कुरा पहिचान गर्न र त्यस्तो बेला हात व्यस्त राख्ने उपायहरू अपनाउन सक्नुहुन्छ।
उदाहरणका लागि, तपाईं आफ्नो बानीमा नजर राख्दै औँला पड्काउन मन लाग्दा ‘स्ट्रेस बल’ वा ‘फिडजेट खेलौना’ हरू समातेर हातलाई व्यस्त राख्ने प्रयास गर्न सक्नुहुन्छ।
समग्रमा डा. हाइरिचको निष्कर्ष छ, “औँला पड्काउनु तपाईंको जोर्नी वा स्वास्थ्यका लागि कुनै हानिकारक कुरा होइन।”
बीबीसी हिन्दीबाट ।