‘आदिपुरूष’को संवाद सच्याउन बालेनकाे चेतावनी, अन्यथा काठमाडाैंमा हिन्दी फिल्म चल्न नदिने

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहले दक्षिण भारतीय फिल्म ‘आदिपुरूष’ मा समावेश केही शब्दलाई लिएर आपत्ति जनाएका छन् ।

फिल्ममा समावेश भएको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द नसच्चिएसम्म काठमाडौं महानगरपालिकाभित्र कुनै पनि हिन्दी फिल्म चल्न नदिने उनले बताए ।

सामाजिक सञ्जाल फेसबुकमा उनले नेपालमा मात्र नभई भारतमा पनि सच्चिनु पर्ने उनकाे भनाइ छ ।

‘दक्षिण भारतीय फिल्म ‘आदिपुरूष’ मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द जबसम्म नेपालमा मात्र नभई भारतमा पनि सच्चिँदैन तबसम्म काठमाडौं महानगरपालिकाभित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन’, उनले भनेका छन् ।

उनले फिल्ममा शब्द सच्याउनका लागि ३ दिनको समय समेत दिएकोसमेत बताएका छन् ।

यसअघि ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवादमा आपत्ति जनाएर नेपाली सेन्सर बोर्डले फिल्मलाई जाँचपासको प्रमाणपत्र दिन अस्वीकार गरेको थियाे । उक्त संवाद नहटाएसम्म फिल्मलाई सेन्सर पासको प्रमाणपत्र नदिने निर्णय पनि बोर्डले गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिलकुमार दत्तको नेतृत्वमा बिहीबार अपरान्ह फिल्मको सेन्सर कार्य भएको थियो ।

सेन्सरपछिको निर्णयपत्रमा भनिएको छ, ‘चलचित्रमा जानकीलाई भारतीय बेटीको रुपमा प्रस्तुत भएको डायलगमा भारतीय शब्दलाई अनिवार्य रुपमा आवाजरहित (बीप) गर्न लगाई सो पश्चात मात्र चलचित्र जाँच प्रमाणपत्र दिने गरी सार्वजनिक प्रदर्शनको लागि अनुमति दिने निर्णय गरियो ।’