काठमाडौं। सरकारले राइड सेयरिङसम्बन्धी नियमावलीको विरोधमा उत्रिएका यातायात व्यवसायीहरूसँग वार्ता गर्न समिति गठन गरेको छ।
गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङसम्बन्धी नियमावलीको विरोधमा देशभर सार्वजनिक यातायात सेवा ठप्प पारिएपछि गृह मन्त्रालयको पहलमा सरोकारवाला निकायहरूसँग आज बैठक बसेको थियो। बैठकमा गृहमन्त्री रमेश लेखकसहित सम्बन्धित पक्षहरूको सहभागिता रहेको थियो।
छलफलपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता समिति गठन गरिएको गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले जानकारी दिए।
समिति सरकारका तर्फबाट आठ जना र यातायात व्यवसायी तथा मजदुरका तर्फबाट चार जना सदस्य रहने गरी गठन गरिएको छ। समितिले यातायात व्यवसायीहरूका माग र सरकारबीच सहमति जुटाउने प्रयास गर्ने बताइएको छ।