Author: Hulak News

  • शीतल निवासमा तीन मन्त्रीकाे शपथ दृश्य: राष्ट्रियसभा अध्यक्ष उपस्थित, गएनन् सभामुख

    शीतल निवासमा तीन मन्त्रीकाे शपथ दृश्य: राष्ट्रियसभा अध्यक्ष उपस्थित, गएनन् सभामुख

    काठमाडाैं । नयाँ सरकारका तीन मन्त्रीले सोमबार शपथ ग्रहण गरेका छन् । भदौ २४ गतेको प्रदर्शनका क्रममा आगलागी भएर जलेको शीतल निवासको प्राङ्गणमै पाल टाँगेर शपथ समारोह आयोजना गरिएको थियो ।

    यसअघि प्रधानमन्त्री सुशीला कार्कीको शपथग्रहण भने निवासभित्रको सानो कोठामा गरिएको थियो ।

    राष्ट्रपति रामचन्द्र पौडेलले रामेश्वर खनाललाई अर्थमन्त्री, कुलमान घिसिङलाई ऊर्जामन्त्री तथा ओमप्रकाश अर्याललाई गृह तथा कानुन मन्त्री पदको शपथ दिलाए । घिसिङलाई ऊर्जासँगै शहरी विकास र भौतिक पूर्वाधार मन्त्रालय, अर्याललाई गृहसँगै कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

    सरकारमा वरीयताका आधारमा खनाललाई प्रधानमन्त्रीपछि दोस्रो स्थान दिइएको छ । त्यसपछिको वरीयतामा घिसिङ र अर्याल छन् । खनाल र घिसिङ प्रशासनिक पृष्ठभूमिबाट आएका हुन् भने अर्याल कानुन व्यवसायी हुन् । उनी काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहका कानूनी सल्लाहकार पनि रहेका छन् ।

    प्रधानमन्त्री कार्कीले पदभार समालेको तेस्रो दिन आइतबार राति तीन मन्त्री नियुक्त गरेकी थिइन् । जेन–जीको आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी ओलीले राजीनामा दिएपछि ६ महिनाभित्र निर्वाचन गराउने सहमतिसहित कार्की नयाँ सरकारको नेतृत्वमा आएकी हुन् । सरकारले फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन गर्ने घोषणा गरिसकेको छ ।

    शपथ समारोहमा राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल उपस्थित भए पनि विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे भने अनुपस्थित रहे । प्रतिनिधिसभा भदौ २७ गते विघटन भए पनि सभामुखको पद भने कायमै छ ।

  • भारत–पाकिस्तान ‘म्याच’: खेलाडीहरुबीच न ‘मन’ मिल्यो, न हात

    भारत–पाकिस्तान ‘म्याच’: खेलाडीहरुबीच न ‘मन’ मिल्यो, न हात

    पूजा परस्तिशको एक गजलको पंक्ति छ, ‘तेरे मेरे बीच रही अब पहले जैसी बात कहाँ’ (तिम्रो र मेरो बीचमा अब पहिले जस्तो कुरा कहाँ रह्यो र)। आइतबार एसिया कपमा भारत र पाकिस्तानबीच खेलिएको खेलमा यो पंक्ति पूर्ण रूपमा मेल खान्छ।

    किनभने, दुई देशबीचको यो पछिल्लो खेलमा न त कुनै रोमाञ्च देखियो, न त खेलाडीहरूबीच कुनै आत्मीयता। भारतले यो खेल सात विकेटले जित्यो, तर मैदानमा सबैभन्दा बढी पहलगाममा भएको हमलाको असर स्पष्ट रूपमा देखिन्थ्यो।

    यस पटक जब दुई देशका क्रिकेटरहरू मैदानमा आमनेसामने भए, तब न उनीहरूको ‘मन मिल्यो’, न त खेलको परम्परा कायम राख्न उनीहरूले हात मिलाए। जम्मू-कश्मीरको पहलगाममा गत अप्रिलमा भएको आतंकवादी हमलापछि भारत र पाकिस्तानबीचको तनाव चरम सीमामा पुगेको थियो। त्यसपछिको यो पहिलो अवसर थियो, जब दुवै देशका क्रिकेट टोलीहरू आमनेसामने भएका थिए।

    कप्तान सूर्यकुमार यादवले खेलपछि पहलगाम हमलाको उल्लेख गर्दै जितलाई भारतीय सेनाप्रति समर्पित गरे। उनले भने, ‘म केही समय लिन चाहन्छु। हामी पहलगाम हमलाका पीडितहरूको साथमा छौँ। हामी यो जित हाम्रो सेनालाई समर्पित गर्दछौँ, जसले हामीलाई सधैँ प्रेरित गरिरहन्छ।’

    यता, पाकिस्तान क्रिकेट टोलीका कप्तान सलमान अली आगाले प्रस्तुति समारोहका क्रममा अन्तर्वार्ता दिन अस्वीकार गरे।

    खेलाडीहरूले हात मिलाएनन्

    कप्तान सूर्यकुमार यादवले भारतीय पारीको १५औँ ओभरको पाँचौँ बलमा विजयी छक्का प्रहार गरेपछि उनी क्रिजमा रहेका शिवम दुबेसँग सिधै ड्रेसिङ रुमतिर लागे। सामान्यतया, क्रिकेट खेलमा जितपछि विपक्षी टोलीका खेलाडीहरूसँग हात मिलाउने परम्परा छ, तर उनीहरूले मैदानमा रहेका पाकिस्तानी खेलाडीहरूसँग हात मिलाएनन्।

    पाकिस्तानका खेलाडीहरू पनि भारतीय खेलाडीहरूसँग हात मिलाउन अघि सरेनन्। यहाँसम्म कि भारतीय टोलीका अन्य खेलाडीहरू पनि ड्रेसिङ रुममै बसे र खेल सकिएपछि मैदानमा आउन चाहेनन्।

    दुई देशबीचको तनावको असर टसको समयमा नै देखिएको थियो, जब भारतीय कप्तान सूर्यकुमार यादवले टस जितेपछि पाकिस्तानी कप्तान सलमान अली आगालाई बधाई दिन हातसमेत मिलाएनन्।

    विगतका अविस्मरणीय क्षणहरू

    यो दृश्य विगतका खेलहरूभन्दा बिल्कुलै फरक थियो, जहाँ खेलाडीहरूबीचको मित्रताले सधैँ चर्चा पाउने गर्थ्यो।

    सन् २०२३ को विश्वकप: पाकिस्तानको टोली भारत आउँदा भारतीय कप्तान रोहित शर्मा र तत्कालीन पाकिस्तानी कप्तान बाबर आजम खेलअघि हाँसो-ठट्टा गरिरहेको देखिएको थियो।

    सन् २०२३ को एसिया कप: भारतीय तीव्र बलर जसप्रित बुमराह बुबा बनेको केही दिनपछि नै प्रतियोगिता खेल्न पुगेका थिए। पाकिस्तानी बलर शाहिन शाह अफ्रिदीले बुमराहका लागि उपहार लिएर आएका थिए र बधाई दिएका थिए।

    सन् २०२२ को एसिया कप: विराट कोहलीले पाकिस्तानका तीव्र बलर हरिस रउफलाई आफ्नो हस्ताक्षरसहितको जर्सी उपहार दिएका थिए।

    सन् २०२२ मा बाबरको समर्थन: जब विराट कोहली खराब फर्मबाट गुज्रिरहेका थिए, तब बाबर आजमले उनको समर्थनमा ट्वीट गर्दै लेखेका थिए, ‘यो समय पनि बित्नेछ।’

    सन् २०२१ को टी-२० विश्वकप: विश्वकपमा पाकिस्तानले भारतलाई पहिलो पटक हराउँदाको क्षण। हारका बाबजुद, तत्कालीन कप्तान विराट कोहलीले पाकिस्तानी क्रिकेटर मोहम्मद रिजवानलाई न्यानो अँगालो हालेर जितको बधाई दिएका थिए। त्यो तस्बिरले दुवै देशका क्रिकेट प्रेमीहरूको मन जितेको थियो।

    तर, यस पटकको खेलमा देखिएको चिसोपनले भारत-पाकिस्तान क्रिकेटमा राजनीतिक तनावको गहिरो प्रभावलाई उजागर गरेको छ।

    – भारतीय सञ्चारमाध्यमको सहयोगमा

  • नवनियुक्त मन्त्रीहरूले लिए शपथ

    नवनियुक्त मन्त्रीहरूले लिए शपथ

    काठमाडौं । नवनियुक्त तीन मन्त्रीहरुले शपथ ग्रहण गरेका छन् ।

    अन्तरिम सरकारको मन्त्रीमा नियुक्त भएसँगै पूर्वअर्थसचिव रामेश्वर खनाल, नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी अधिकृत कुलमान घिसिङ र अधिवक्ता ओमप्रकाश अर्यालले शपथ ग्रहण गरेका हुन् ।

    राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले तीनै जनालाई शपथ गराएका हुन् ।

    शपथ ग्रहणसँगै घिसिङलाई ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ भने ओमप्रकाश अर्याललाई गृह मन्त्रालय र कानुन मन्त्रालयको दिइएको छ ।

    यसैगरी रामेश्वर खनाललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

  • प्रधानमन्त्री कार्कीलाई नारायणकाजी श्रेष्ठका ६ सुझाव : घोषित मितिमा निर्वाचन गराउन दबाब

    प्रधानमन्त्री कार्कीलाई नारायणकाजी श्रेष्ठका ६ सुझाव : घोषित मितिमा निर्वाचन गराउन दबाब

    काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नवनिर्वाचित प्रधानमन्त्री सुशीला कार्कीलाई ६ बुँदामा सुझाव दिएका छन्।

    सोमबार सामाजिक संजालमार्फत उनले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्न सुझाएका छन्। सरकार असफल भयो र घोषित मितिमा निर्वाचन सम्पन्न हुन सकेन भने देश भयावह सङ्कटमा धकेलिने पनि उनले बताएका छन्।

    पहिलो बुँदामा श्रेष्ठले छिटो राजनीतिक दलहरु भन्दा बाहिरका स्वतन्त्र,निष्ठावान, देशभक्त, स्वच्छ एवं क्षमतावान व्यक्तिहरूलाई मन्त्री नियुक्त गरेर मन्त्रिपरिषद्लाई पूर्णता सुझाव दिएका छन्।

    सम्माननीय प्रधानमन्त्रीज्यू ,

    तपाईं प्रधानमन्त्री नियुक्त हुनु भएपछि देखि नै मैले तपाईंलाई फोन मार्फत बधाई, शुभकामना र केही सुझावहरू दिन खोजेको थिएँ। तपाईंको फोन सम्पर्क हुन सकेन। तपाईंको नियमित सम्पर्कमा तपाईंसँगै रहने व्यक्तिहरू मार्फत गरिएको प्रयत्न पनि सफल हुन सकेन। मैले बधाई र शुभकामना यस अघि नै सार्वजनिक गरिसकेको छु। तर तपाईंलाई फोन सम्पर्क गरेर नै केही सुझावहरू दिने प्रयत्न असफल भएपछि यस सामाजिक सञ्जालको माध्यम मार्फत केही महत्वपूर्ण सुझावहरू दिन चाहान्छु।

    एक, तपाईंले छिटो राजनीतिक दलहरु भन्दा बाहिरका स्वतन्त्र, निष्ठावान, देशभक्त, स्वच्छ एवं क्षमतावान व्यक्तिहरूलाई मन्त्री नियुक्त गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिनुहोस्।

    दुई, तपाईंले सम्पूर्ण ध्यान मुलुकमा शन्ति सुब्यवस्था स्थापना गर्न र मुख्यतः घोषित मितिमा स्वतन्त्र एवं निष्पक्ष निर्वाचन गर्नेमा केन्द्रित गर्नुहोस्।

    तीन, भाद्र २३ गते र भाद्र २४ गतेको घटनाको निष्पक्ष छानविन गरी दोशीहरुमाथी कारवाही गर्नुस्।

    चार, ध्वंस गरिएका संरचनाहरुको पुनःनिर्माणको काम सम्भव भएसम्म अघि बढाउने प्रक्रिया शुरुवात गरियोस्।

    पाँच, भ्रष्टाचार विरुद्ध हाम्रो सरकारले थालेका कारवाही हरुलाई निरन्तरता दिँदै सुशासनको अभियान अघि बढाइयोस्।

    छ, प्रतिनिधिसभा नरहेको अवस्थामा संघीय संसदको भूमिका राष्ट्रिय सभाले खेल्ने भएकाले संसदको आवश्यक भूमिका राष्ट्रिय सभामार्फत गर्न ध्यान दिइयोस्।

    सम्माननीय प्रधानमन्त्रीज्यू, तपाईं लोकरिझ्याईका अन्य छिटफुट काममा होइन, उपरोक्त कार्यहरूमा, त्यसमा पनि मुख्यतः घोषित मितिमै निर्वाचन सम्पन्न गर्न सम्पूर्ण ध्यान केन्द्रित गर्नुहोस्। तपाईंको सरकार असफल भयो र घोषित मितिमा निर्वाचन सम्पन्न हुन सकेन भने देश भयावह सङ्कटमा धकेलिनेछ। अरु सबैले पनि यस प्रति सचेत हुँदै घोषित मितिमा निर्वाचन सम्पन्न गर्न सरकारलाई सहयोग गराैँ।

     

  • वेस्ट इन्डिजविरूद्ध खेल्ने नेपाली टोली घोषणा, आदिल आलमको पुनरागमन

    वेस्ट इन्डिजविरूद्ध खेल्ने नेपाली टोली घोषणा, आदिल आलमको पुनरागमन

    काठमाडाैं । नेपाल क्रिकेट संघ (क्यान) ले संयुक्त अरब इमिरेट्स (युएई) मा आयोजना हुने युनिटी कप टी-२० अन्तर्राष्ट्रिय सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ। वेस्ट इन्डिजविरुद्ध हुने ऐतिहासिक सिरिजका लागि क्यानले रोहित कुमार पौडेलको कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा गरेको हो।

    क्यानले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै टोलीको घोषणा गरेको हो। टोलीको उपकप्तानमा दीपेन्द्र सिंह ऐरीलाई जिम्मेवारी दिइएको छ।

    सन् २०२४ सेप्टेम्बर २७ देखि ३० सम्म चल्ने यस सिरिजलाई नेपाली क्रिकेटको लागि एक महत्त्वपूर्ण अवसरको रूपमा हेरिएको छ। विश्व क्रिकेटको पावरहाउस मानिने वेस्ट इन्डिजसँगको प्रतिस्पर्धाले नेपाली खेलाडीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने र अनुभव बटुल्ने राम्रो मौका प्रदान गर्नेछ।

    घोषित टोलीमा कप्तान पौडेल र उपकप्तान ऐरीसँगै कुशल भुर्तेल, कुशल मल्ल, आसिफ सेख जस्ता अनुभवी ब्याट्सम्यानहरू समावेश छन्। त्यसैगरी, तीव्र गतिको बलिङ आक्रमण सम्हाल्न करण के सी, सोमपाल कामी र गुलशन झा छन् भने स्पिनतर्फ सन्दीप लामिछाने र ललित नारायण राजवंशीले जिम्मेवारी पाएका छन्।

    टोलीमा लोकेस बम, आदिल आलम, सन्दीप जोरा, आरिफ सेख, नन्दन यादव र साहब आलमले पनि स्थान बनाएका छन्।

    युनिटी कपका लागि घोषित नेपाली टोली:
    १. रोहित कुमार पौडेल (कप्तान)
    २. दीपेन्द्र सिंह ऐरी (उपकप्तान)
    ३. कुशल भुर्तेल
    ४. लोकेस बम
    ५. कुशल मल्ल
    ६. आसिफ सेख
    ७. आदिल आलम
    ८. करण के सी
    ९. नन्दन यादव
    १०. सन्दीप लामिछाने
    ११. सन्दीप जोरा
    १२. आरिफ सेख
    १३. ललित नारायण राजवंशी
    १४. गुलशन झा
    १५. सोमपाल कामी
    १६. साहब आलम

  • लुटिएका सामान फिर्ता गर्न अख्तियारको आग्रह

    लुटिएका सामान फिर्ता गर्न अख्तियारको आग्रह

    काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विभिन्न कार्यालयबाट लुटपाट भएका सामान फिर्ता गर्न आग्रह गरेको छ । आयोगले सूचना निकालेर इटहरी, हेटौंडा, पोखरा, बुटवललगायत कार्यालयमा तोडफोड र आगजनी गरेर लुटपाट भएका उपकरणहरू फिर्ता गर्न आग्रह गरेको हो ।

    कसैले सामान फेला पारेमा काठमाडौंको हकमा प्रहरी वृत्त मालिगाउँ र अरू ठाउँको हकमा सम्बन्धित जिल्लाका प्रहरी कार्यालयहरूमा बुझाउन भनिएको छ । चोरी र लुटपाटमा संलग्नमाथि सीसीटीभी फुटेजमार्फत पहिचान गर्ने काम भइरहेको आयोगले जनाएको छ ।

    जेनजीको प्रदर्शनमा चारपाङ्ग्रे र दुईपाङ्ग्रे गाडी, टीभी, कम्प्युटर, माइक्रो ओभन, विभिन्न साइजका हार्ड डिस्क, स्क्यानर, क्यामरा, आइप्याड, मोबाइल, ल्यापटप, हिटर, पङ्खालगायत उपकरणहरू चोरी भएको आयोगले जनाएको छ ।

  • सविता भण्डारी महान्यायाधिवक्ता नियुक्त, बनिन् पहिलो महिला महान्यायाधिवक्ता

    सविता भण्डारी महान्यायाधिवक्ता नियुक्त, बनिन् पहिलो महिला महान्यायाधिवक्ता

    वरिष्ठ अधिवक्ता सविता भण्डारी महान्यायाधिवक्ता नियुक्त भएकी छन्। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ अधिवक्ता भण्डारीलाई महान्यायाधिवक्ता नियुक्त गरेका हुन्।

    योसँगै भण्डारी नेपालको पहिलो महिला महान्यायाधिवक्ता समेत बनेकी छिन् ।

    यसअघि राष्ट्रपति पौडेलले आजै निवर्तमान महान्यायाधिवक्ता केशव बडालको राजीनामा स्वीकृत गरेका थिए। राष्ट्रपति कार्यालयले महान्यायाधिवक्ताको कार्यालयलाई बडालले राजीनामा दिएको ब्यहोरा जानकारी समेत गराएको थियो । बडालले भदौ २४ देखि लागू हुने गरी पदबाट राजीनामा दिएका हुन् । उनलाई निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्ता नियुक्त गरेका थिए ।

    बडालको राजीनामा स्वकृत भएसँगै भण्डारी महान्यायाधिवक्ता बनेकी हुन् ।

  • रास्वपा छोड्ने हल्लाबीच तोशिमाले भनिन्– अफवाह नफैलाउनुहोस्

    रास्वपा छोड्ने हल्लाबीच तोशिमाले भनिन्– अफवाह नफैलाउनुहोस्

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ तथा पूर्वस्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले आफू पार्टी छोड्ने हल्ला पूर्णतः असत्य भएको स्पष्ट पारेकी छिन् ।

    हालै सुमना श्रेष्ठले रास्वपा परित्याग गरेको घोषणापछि कार्की पनि पार्टी छोड्न लागेकी भन्ने चर्चाले तातो बनिरहेका बेला उनले आइतबार सामाजिक सञ्जालमार्फत ती आरोपको खण्डन गरेकी हुन् ।

    फेसबुकमा कार्कीले भनिन्, ‘तोसिमाले पार्टी छोड्यो भनेर भन्न भ्याइसकेछन् । कम्तीमा मलाई त सोध्नोस् । देश अहिले गम्भीर अवस्थामा छ, यसलाई कसरी सुधार गर्न सकिन्छ भन्नेमा ध्यान दिनुहोस्, अफवाह नफैलाउनुहोस् ।’

    उनले वर्तमान परिस्थिति मानसिक र भावनात्मक रूपमा विक्षिप्त र शून्य अवस्थामा पुगेको भन्दै सञ्चार माध्यमलाई जिम्मेवार भएर खबर सम्प्रेषण गर्न आग्रह गरेकी छिन् ।

  • सुदन गुरुङकाे पत्रकार सम्मेलनमा हंगामा, झण्डै कुटाकुट !

    सुदन गुरुङकाे पत्रकार सम्मेलनमा हंगामा, झण्डै कुटाकुट !

    काठमाडौं । जेनजी अभियन्ता सुधन गुरुङले रिपोर्टर्स क्लवमा गरेको पत्रकार सम्मेलनमा हंगामा भएको छ ।

    गुरुङको अभिव्यक्तिप्रति असन्तुष्टि जनाएर केही पत्रकार र अभियन्ताहरु खनिएपछि झण्डै हात हालाहालको स्थिति भएको हो ।

    मृतकको परिवारसँग बसेर सुधनले मिडियासँग साक्षत्कार गरिरहेका थिए । पत्रकारले सोधेका प्रश्नहरुको उत्तर दिइरहेका थिए ।

    पत्रकार सम्मेलनमा गुरुङले राष्ट्रपति कार्यालयमा वार्ता चल्दाको वृत्तान्त सुनाउने क्रममा उनले आफूहरूको माग पूरा नभए यो सरकार पनि ढाल्ने चेतावनी दिए ।

    यसैक्रममा पत्रकारहरूले गुरुङमाथि जिज्ञासा गरे । त्यही क्रममा गुरुङले पत्रकारमाथि नै धम्कीपूर्ण भाषा प्रयोग गरेपछि पत्रकार सम्मेलनमा भाँडभैलो भएको हो ।

  • सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण र अत्यावश्यकबाहेकका सेवा बन्द

    सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण र अत्यावश्यकबाहेकका सेवा बन्द

    सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण र अत्यावश्यकबाहेकका सबै सेवा बन्द भएको छ। सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले आइतबार एक सूचना जारी गर्दै सेवा बन्द भएको जानकारी दिएका हुन् ।

    जेन–जीको आन्दोलनका क्रममा प्रदर्शनकारीहरुले भदौ २४ गते सर्वोच्च अदालतमा समेत आगजनी, तोडफोड र लुटपाट गरेका थिए । जसले गर्दा अदालतको अधिकांश भौतिक संरचना, इजलासहरू, अभिलेख मिसिल र सूचना प्रविधि प्रणाली ध्वस्त भएको छ । यही कारण बन्दी प्रत्यक्षीकरण र अत्यावश्यकबाहेकका सबै सेवा प्रवाह गर्न नसकिने सर्वोच्चले भनेको हो ।

    साथै, सर्वोच्चले नियमित सेवा प्रवाहको अर्को सूचना जारी नभएसम्म म्याद हदम्याद र तारेख नगुज्रने समेत स्पष्ट पारेको छ ।