Author: Hulak News

  • एमालेको १०औँ महाधिवेशन शुक्रबारदेखि, उद्घाटनमा पाँच लाख बढी सहभागी हुने

    एमालेको १०औँ महाधिवेशन शुक्रबारदेखि, उद्घाटनमा पाँच लाख बढी सहभागी हुने

    चितवन । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशन शुक्रबारदेखि चितवनको नारायणी नदी तटमा सुरु हुँदैछ । १२ मंसिरसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । महाधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी ओलीले मध्याह्न १२ बजे गर्ने कार्यक्रम छ ।

    एमाले विभाजन पश्चात पहिलो पटक महाधिवेशन हुन लागेको हो । महाधिवेशन मूल व्यवस्थापन समितिका सहसंयोजक सुरेन्द्र पाण्डेले उद्घाटन कार्यक्रमका लागि देशभरबाट उपस्थित हुने पाँच लाखभन्दा बढी सहभागी हुने बताए ।

    उद्घाटन कार्यक्रममा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालगायत सात पार्टीका प्रमुख नेता सहभागी हुने छन् । जसपाका अध्यक्ष उपेन्द्र यादव, लोसपाका अध्यक्ष महन्थ ठाकुर, राप्रपा अध्यक्ष कमल थापा, राजमोबाट चित्रबहादुर केसी र नेमकिपाका नेतासमेत सहभागी हुनेछन् ।

    महाधिवेशनका लागि भारत, बंगलादेश, श्रीलंका, कम्बोडियालगायत १५ देशका अतिथि र अन्य २५ देशबाट शुभकामना सन्देश प्राप्त भएको छ ।
    बन्दसत्र सौराहामा हुनेछ ।

    महाधिवेशनमा दुई हजार एक सय ७५ प्रतिनिधि र एक सय २९ पर्यवेक्षक सहभागी हुनेछन् । प्रतिनिधिमध्ये ६ सय २७ जना महिला र दुई सय नौजना दलित–उत्पीडित समूहबाट प्रतिनिधित्व हुनेछन् ।

  • सहिद स्मारक लिगमा शुक्रबारदेखि दोस्रो चरणका खेल, पहिलाे दिन २ खेल

    सहिद स्मारक लिगमा शुक्रबारदेखि दोस्रो चरणका खेल, पहिलाे दिन २ खेल

    काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगको दोस्रो चरणका खेल आज शुक्रबारबाट सुरु हुँदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना जारी लिगको दोस्रो चरणका खेल शुक्रबार सुरु भएर सोमबार समाप्त हुनेछ । एक चरणमा सात खेल हुनेछन् ।

    पहिलो दिन दुई खेल हुनेछन् । दिउँसो १ बजे सुरु हुने खेलमा नवप्रवेशी सातदोबाटो युथ क्लबले थ्रीस्टार क्लबविरुद्ध खेल्नेछ । साँझ पौने ५ बजे हुने दोस्रो खेलमा संकटा क्लबले फ्रेण्ड्स क्लबसँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ ।

    लिगमा सातदोबाटो पहिलो जितको खोजिमा छ । यसअघि सातदोबाटोले पहिलो खेलमा ललितपुर प्रतिद्वन्द्वी फ्रेण्ड्स क्लबसँग गोलरहित बराबरी खेलेको थियो ।

    रवि सिलवालको कप्तानीमा रहेको संकटाले पहिलो खेलमा हिमालयन शेर्पासँग १–१ गोलको बराबरी खेलेको थियो । यता, फ्रेण्ड्स समेत पहिलो जित निकाल्न चाहन्छ ।

    पहिलो चरणको अन्य खेलमा च्यासल युथ क्लब र एपीएफ फुटबल क्लब भिड्दा हिमालयन शेर्पा क्लब र मनाङ मर्स्याङ्दी क्लब आमुने सामुने हुनेछन् । तेस्रो दिनको एक मात्रै खेलमा जावलाखेल युथले नेपाल पुलिस क्लबविरुद्ध खेल्नेछ ।

    दोस्रो चरणको अन्तिम दिन दुई खेल हुनेछ । पहिलो खेलमा व्रिगेड व्बाइज क्लब र न्युरोड टिम एन आरटी आमुने सामुने हुँदा दोस्रो चरणको अन्तिम खेलमा साविक उपविजेता त्रिभुवन आर्मी फुटबल क्लबले साविक विजेता मछिन्द्र फुटबल क्लबको सामना गर्नेछ ।

  • देशभर चिसो बढ्यो, कस्ताे रहला आजकाे माैसम ?

    देशभर चिसो बढ्यो, कस्ताे रहला आजकाे माैसम ?

    काठमाडौं । देशभर चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न क्षेत्रमा बिहान र साँझ चिसो बढेको छ । तराईका कतिपय जिल्लामा तुवाँलो लाग्न थालेको छ ।

    महाशाखाका अनुसार शुक्रबार काठमाडौंमा न्यूनतम तापक्रम ८.२ डिग्री सेल्सियसमा झरेको छ, अधिकतम तापक्रम २० रहने आँकलन गरिएको छ । अधितम र न्यूनतम तापक्रमबीचको ग्याप घट्दै जाँदा चिसो झन बढ्छ ।

    जिरीको न्यूनतम तापक्रम २.७ डिग्री सेल्सियस रहेको छ, भने अधिकतम १६.६ पुग्ने आँकलन गरिएको छ । जुम्लाको न्यूनतम तापक्रम डिग्री सेल्सियस ३.६ र अधिकतम १६.७ रहने आँकलन गरिएकाे छ ।

    शुक्रबार प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका एक(दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

  • नेपाललाई अल्पविकसित देशबाट स्तरोन्नति गर्ने प्रस्ताव राष्ट्रसङ्घद्वारा अनुमोदन

    नेपाललाई अल्पविकसित देशबाट स्तरोन्नति गर्ने प्रस्ताव राष्ट्रसङ्घद्वारा अनुमोदन

    काठमाडाैं । नेपाललाई संयुक्त राष्ट्रसङ्घको महासभाले आगामी सन् २०२६ सम्ममा अल्पविकसित राष्ट्रबाट मध्यमस्तरको विकासशील राष्ट्रमा स्तरोन्नति गर्नेसम्बन्धी प्रस्तावलाई अनुमोदन गरेको छ ।

    उक्त प्रस्तावलाई अनुमोदनका लागि संयुक्त राष्ट्रसङ्घको आर्थिक तथा सामाजिक परिषद्ले महासभामा पेश गरेको थियो । संयुक्त राष्ट्रसङ्घका लागि नेपाली स्थायी नियोग प्रमुख अमृत राईले दिएकाे जानकारीअनुसार नेपालको स्तरोन्नतिसम्बन्धी प्रस्तावलाई पाँच वर्षको तयारी अवधिसहित राष्ट्रसङ्घले बुधबार अनुमोदन गरेको हो ।

    उक्त अवसरलाई सम्बोधन गर्दै राईले नेपालले आगामी पाँच वर्षभित्र अर्थतन्त्रको संरचनागत परिवर्तनका लागि आफ्ना तर्फबाट सम्पूर्ण प्रक्रिया पूरा गर्न प्रतिबद्ध रहेको बताएका थिए । उनले भने ‘नेपाल सरकारले स्तरोन्नतिसम्बन्धी रणनीति तर्जुमा समेत गरिसकेको छ, अब पाँच वर्षभित्र अर्थतन्त्रको संरचना तयार पारेर अन्तर्राष्ट्रिय समुदायमा देशको छवि उँचो बनाउने अवसर हो ।’

    राईले नेपाल स्तरोन्नतिका लागि गरेको मेहेनतलाई कार्यान्वयन तहमा पुर्‍याउन पाउँदा खुसी लागेको प्रतिक्रिया दिए । उनले भने ‘सन् २०२६ पछि थपिन सक्ने चुनौतीलाई सम्बोधन गर्नसमेत हामीहरूले आग्रह गरेका छौँ, यसमा विकास साझेदार संस्थाहरुसँग छलफल गरेर एउटा निर्णयमा पुग्ने नै छौँ ।’

    नेपालले सन् २०१५ र २०१८ मा पनि स्तरोन्नतिको मापदण्ड पूरा गरेको थियो तर तत्कालीन अवस्थामा भूकम्पका कारणले अर्थतन्त्रले गम्भीर चुनौतीको सामना गर्नुपरेको भन्दै यो प्रस्तावसम्बन्धी कार्यलाई नेपालले पछि सारेको थियो ।

    राष्ट्रसङ्घले विभिन्न मापदण्डका आधारमा तयार पार्ने अल्पविकसित देशहरुको सूचीमा नेपाल सन् १९७१ मा सूचीकृत भएको थियो । पचास वर्षपछि नेपालले विश्वमानचित्रमा आफूलाई विकासशील देशको सूचीमा सूचीकृत गर्न सफल हुनु नेपालका लागि एक महत्वपूर्ण अवसर हो ।

  • थप ३०८ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु

    थप ३०८ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा ३०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार १०४ पीसीआर परीक्षणमा २८१ जना र १८०५ एन्टिजेन परीक्षणमा २७ जना गरी २९८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

    यही अवधिमा कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या २९८ रहेको छ भने संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमित संख्या ७ हजार ३४९ रहेको छ ।

    मन्त्रालयका अनुसार हाल ६ हजार ९६१ जना होम आइसोलेसनमा रहेका छन् भने ३८८ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये १९७ जना आईसीयू र ४१ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

  • बेलायतमा कोरोनाका कूल सङ्क्रमित संख्या करिब एक करोड

    बेलायतमा कोरोनाका कूल सङ्क्रमित संख्या करिब एक करोड

    एजेन्सी । बेलायतमा कोरोना भाइरस सङ्क्रमितको संख्या करिब एक करोड पुगेको छ । बुधबार एकै दिनमा ४३ हजार ६७६ जना सङ्क्रमित भएपछि कूल सङ्क्रमितको संख्या ९९ लाख ७४ हजार ८४३ पुगेको जनाइएको छ । यहाँका स्वास्थ्य अधिकारीले जनाएअनुसार अहिले दैनिक कम्तीमा पनि ४० हजार जनामा यो भाइरसको सङ्क्रमण भेटिने गरेकोे छ ।

    यहाँ बुधबार ४३ हजार ६७६ जना थप व्यक्ति सङ्क्रमित भएका समाचारमा उल्लेख छ । बेलायतमा एक लाख ४४ हजार २८६ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् ।

    बेलायतमा बुधबार मात्र १४९ जना कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । योसँगै बेलायतमा अहिलेसम्म कोरोनाका कारण करिब एक लाख ४४ हजार २८६ जनाको मृत्यु भएको छ । बेलायतमा कोरोना भाइरसबाट सङ्क्रमित भएकामध्ये आठ हजार जनाभन्दा बढी अझै पनि अस्पतालमै उपचाररत रहेका छन् ।

    यहाँका १२ वर्षमाथिका झन्डै ८८ प्रतिशत मानिसले कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा लगाएका छन् । त्यसैगरी करिब ८० प्रतिशतले दुवै मात्रा खोप लगाएका पनि स्वास्थ्य मन्त्रालयलको तथ्याङ्कमा उल्लेख छ । २७ प्रतिशत भन्दा बढीले तेस्रो डोज खोप पनि लगाएको समाचारमा जनाइएको छ ।

    पछिल्ला केही दिनमा यहाँ सङ्क्रमण झन् बढेको पाइएको सरकारी अधिकारीले बताएका छन् । सरकारी प्रयासका बाबजुत यहाँ सङ्क्रमित हुनेको दरमा कमी नआएको स्वास्थ्य अधिकारीलाई उद्धृत गरी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

  • लोकतन्त्र र समृद्धिका लागि एमाले महाधिवेशन : देश बनाउने सपनामा एकाकार गराउन सुझाव

    लोकतन्त्र र समृद्धिका लागि एमाले महाधिवेशन : देश बनाउने सपनामा एकाकार गराउन सुझाव

    काठमाडौं । सरकारको नेतृत्वकर्ताबाट प्रमुख प्रतिपक्षी दल बने पनि मुलुकको लोकतान्त्रिक आन्दोलनको एक सहयात्री नेकपा (एमाले) राष्ट्रिय राजनीतिको केन्द्र बिन्दुमै छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय सङ्कल्पमा अडिग एमाले हालै बनेको पाँचदलीय गठबन्धन र दोस्रो पटकको प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सर्वाेच्च अदालतको फैसलाबाट तरङ्गित छ । यहीबीचमा एमालेले आवधिकरुपमा राष्ट्रिय महाधिवेशन आयोजना गरेर कार्यकर्ता पङ्क्तिलाई पुनः सुदृढ र व्यवस्थित गर्ने उद्घोष गरेको छ ।

    केवल दलीय स्वार्थकेन्द्रित राजनीतिक छिनाझप्टीलाई गौण बनाई मुलुकको सार्वभौमिक अखण्डताको संरक्षण गर्दै राष्ट्रिय एकता अझ सुदृढ गर्नु, जनजीविकालाई सहज तुल्याउँदै आर्थिक वृद्धिका साथ स्वतन्त्र अर्थतन्त्रको दिशामा उन्मुख हुनु, एक दशकभित्रै मध्यम आय भएको राष्ट्रमा परिणत गर्नु र समाजवादको दिशामा उन्मुख हुनु जस्ता राष्ट्रिय लक्ष्य हासिल गर्नका लागि अन्य राजनीतिक दल र सरकारसँगसँगै कसरी अगाडि बढ्ला भन्ने चासोका बीच संसद्को ठूलो दल एमालेको हुन लागेको महाधिवेशनप्रति मुलुकको ध्यान गएको छ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को विभाजनपछि साविकका एमाले र नेकपा(माओवादी केन्द्र) एक्लाएक्लै हिँडेको र एमालेबाट पनि एक समूह चोइटिएका अवस्थामा हुन लागेको अधिवेशनले आगामी दिनमा एकीकृत वामपन्थी आन्दोलन, मुलुकको लोकतान्त्रिकीकरण र गणतन्त्रको सुदृढीकरणमा दिने योगदानबारे सबैले चासो दिनु स्वाभाविक छ ।

    अहङ्कार त्याग्न आग्रह

    साहित्यकार एवं वामपन्थी बुद्धिजीवी डा ईश्वरचन्द्र ज्ञवाली वाम एकता भएकामा जनता खुशी भएको तर विभाजनले जनतामा पीडा र निराशा दिएकाले वामपन्थी राजनीतिक दलहरूको विभाजन देशका हितमा नरहेको स्पष्ट गरे । ‘तथापि सबै वामपन्थी दल संसद्वादमा गएपछि अब विचारमा धेरै मतभेद छैन । समस्या खासगरी नेताहरुको व्यक्तिगत महत्वाकाङ्क्षा र स्वार्थ हो । यसलाई त्यागेर फेरि पनि जनचाहनाबमोजिम एकतामा जानुपर्छ । महाधिवेशनले एमालेले नेतृत्वमा रहेको अहङ्कार परित्याग गर्नुपर्छ । देश बनाउने सपनामा यसले सबैलाई एकाकार गराउन पहल गर्नुपर्छ’, उनले भने ।

    गत असोजमा सम्पन्न प्रथम विधान महाधिवेशबाट पारित नयाँ विधानबमोजिम २२५ सदस्यीय केन्द्रीय कमिटीमा नेतृत्व चयनका लागि यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा एमालेको महाधिवेशन हुँदैछ । ‘दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकतालाई पराजित गरौंँ, जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौँ’ भन्ने मूल नारा लिएको एमालेको यस महाधिवेशनलाई राजनीतिक क्षेत्रमा महत्वका साथ हेरिएको छ । आगामी नेतृत्वले राष्ट्रिय राजनीतिमा कस्तो प्रभाव पार्ला भन्ने उत्सुकता समग्र सञ्चारमाध्यम, सर्वसाधारण, बौद्धिक वर्ग र राजनीतिक दल र तिनका शीर्ष नेतामा छ । सङ्घीय संसद्को ठूलो र प्रमुख प्रतिपक्षी दल एमाले विधान संशोधन गरेर मुलुकमा नयाँ संविधान जारी भएपछि राष्ट्रिय महाधिवेशन आयोजना गर्ने पहिलो राजनीतिक दल देखिएको छ । झण्डै तेइस सय प्रतिनिधिको सहभागिता हुने महाधिवेशनपछि एमाले राष्ट्रिय राजनीतिमा अझ प्रभावकारी र सशक्त हुने यसका शीर्ष नेताहरूले बताउँदै आएका छन् । यस महाधिवेशनले पार्टीभित्रको लोकतान्त्रिकीकरणलाई थप प्रगाढ बनाउने विश्वास पनि गरिएको छ ।

    एमालेले विधान महाधिवेशनबाट पार्टीको राजनीतिक प्रतिवेदन, सङ्गठनात्मक प्रस्ताव र विधान सर्वसम्मतरुपमा पारित भएपछि अब हुने दशौँ महाधिवेशनमार्फत नयाँ नेतृत्व चयनलाई मुख्य कार्यसूची बनाएको छ । नेपाली समाजको संरचनामा आएको परिवर्तन तथा राजनीतिक क्रान्तिबाट आएको परिवर्तनसँगै एमालेले आफ्नो कार्यदिशा तथा कार्यभारलाई नयाँ उचाइमा विकास गर्दै आएको छ । जननेता मदनकुमार भण्डारीबाट अघि सारिएको मौलिक कार्यक्रम ‘जनताको बहुदलीय जनवाद’(जबज)लाई सुदृढ गर्दै समाजवादको दिशामा अघि बढ्नु नेपाली क्रान्तिको कार्यदिशा भएको एमालेको विधान महाधिवेशनबाट पारित राजनीतिक प्रतिवेदनले स्पष्ट गरेको छ । एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवाली नेपालको कम्युनिष्ट आन्दोलनमा दक्षिणपन्थी अवसरवादले ठूलो क्षति पु¥याउँदै आएको जनाउँदै कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाललाई एउटा महाधिवेशनसमेत हुन नपाउँदै विस्थापन गरिएपछि र पहिलो महाधिवेशनबाट निर्वाचित महासचिव मनमोहन अधिकारी अस्वस्थ हुँदा डा केशरजङ्ग रायमाझीले नेतृत्व लिएपछि दक्षिणपन्थी अवसरवादले सङ्गठित स्वरुप ग्रहण गरेको बताउनुहुन्छ । डा रायमाझीले विसं २०१७ मा शासनसत्ता आफ्नो हातमा लिने तत्कालीन राजा महेन्द्रको कदमलाई समर्थन गरेका थिए ।

    जनताको अधिकार प्राप्तिका लागि सञ्चालित लोकतान्त्रिक आन्दोलन, सशस्त्र युद्ध र शान्ति वार्ताका जगमा स्थापित लोकतान्त्रिक गणतन्त्रपछि निर्मित नेपालको संविधानले लिएका लक्ष्य हासिल गर्न कम्युनिष्ट पार्टीहरुले टुटफुटको अवस्थाबाट पाठ सिकेर एकताका यात्रा पनि सञ्चालन नगरेका होइनन् । विसं २०७५ जेठ ३ मा एमाले र नेकपा (माओवादी केन्द्र) दुई पार्टी एकीकरण गरेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन भयो । त्यसअघि यी पार्टीले २०७४ सालमा प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा बनाएको वाम गठबन्धनलाई सुविधानजनक जनमत प्राप्त भइसकेको थियो ।

    नेपाली जनताले जनताको स्थिरता र समृद्धिका सपना पूरा गर्ने कामलाई तीव्रता दिँदै र राष्ट्र बलियो बन्दै थियो, राष्ट्रिय स्वाभिमान उँचो हुँदै थियो । राजनीतिक स्थायित्वको जगमा लोकतन्त्र परिणाममुखी र जनताको जीवनसँग जोडिँदै थियो । वामपन्थी शक्तिहरू सुदृढ भएको, उनीहरूले राज्यको नेतृत्व गरिरहेको र उनीहरूको अगुवाइमा मुलुकमा सामाजिक–आर्थिक रुपान्तरण र समृद्धिको अभियानले नयाँ गति लिएको कुरा केही शक्तिलाई पाच्य भइरहेको थिएन । एमाले सचिव ज्ञवालीको भनाइ छ, तर जनताको अभिमतबाट सरकारमा आएको र लोकतान्त्रिक मूल्यअनुसार सञ्चालन भइरहेको पार्टी र सरकारमाथि प्रत्यक्ष हमला गर्न उनीहरूलाई सम्भव थिएन । त्यसैले उनीहरूले आन्दोलनलाई कमजोर गर्न आन्दोलनभित्रैका पात्रहरूको खोजी गरे । यस क्रममा पार्टीभित्र उत्पन्न दक्षिणपन्थी अवसरवादले आन्दोलनलाई कमजोर पार्ने प्रतिक्रियावादीको योजनालाई टेवा पुर्‍यायो । पछिल्लो समय प्रतिनिधिसभाको विघटन र पार्टीभित्रको अन्तरविरोधका कारण एमालेबाट वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेताहरू अलग भई नेकपा (एकीकृत समाजवादी) दर्ता गरेपछि कम्युनिष्ट नेताहरूबीच आरोपप्रत्यारोपको क्रम दोहोरिएको छ ।

    सुदृढ एकतामा जोड

    एमालेका सचिव योगेशकुमार भट्टराई सङ्गठनात्मक क्षेत्रमा देखापरेका अराजकता तथा दक्षिणपन्थी अवसरवादविरुद्ध निर्णायक विजय प्राप्त गरी जबजका मार्गदर्शनमा समाजवादको आधार निर्माण गर्नु तथा पार्टीलाई वैचारिक तथा सङ्गठनात्मक रुपमा थप एकताबद्ध बनाउनु दशौँ महाधिवेशनको सङ्कल्प हुने बताउँछन् । पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख भट्टराईले मुलुकको देशभक्त, प्रगतिशील, अग्रगामी तथा क्रान्तिकारी शक्ति हुनाको नाताले एमालेले यथास्थितिवादी, दक्षिणपन्थी तथा फुटपरस्त अवसरवादीको चौतर्फी हमलाबाट आज आफूलाई बचाएर ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न फेरि सरकारको नेतृत्व लिनुपर्ने अपरिहार्य भएको बताउँछन् । ‘पार्टीका सामु रहेका चुनौतीलाई परास्त गर्दै इतिहासले सुम्पिएका राष्ट्रिय कार्यभार पूरा गर्न एमालेको सुदृढ एकता पहिलो र अनिवार्य शर्त हो । महाधिवेशनका प्रतिनिधि छनोटका क्रममा आम पार्टी सदस्यले देखाएको समझदारी यसको सुखद सङ्केत हो’, भट्टराईको बुझाइ छ, ‘हामी पार्टीका सम्पूर्ण सदस्यप्रति यस कार्यका लागि हार्दिक धन्यवाद ज्ञापन गर्दछौंँ । अब अझ उन्नतस्तरको एकता निर्माणको काम नेतृत्वको काँधमा आएको छ । एमालेका लागि एकता, एकता र अझ सुढृढ एकतामार्फत पार्टीव्यापी रुपमा कमरेडली सम्बन्धलाई कसिलो बनाउनु बाहेक अर्को विकल्प छैन ।’

    वाम–विश्लेषक प्रा. डा. बद्रीविशाल पोखरेल एमालेलाई विकृति र विसङ्गतिबाट मुक्त गर्दै माक्र्सवाद र जबजको मार्गदर्शनमा सञ्चालन गर्न नेताहरूको सांस्कृतिक रुपान्तरण (व्यवहार परिवर्तन) हुनुपर्ने बताउँदै एमालेमा महाधिवेशन प्रतिनिधिको मनोनयनका क्रममा विसङ्गतिका नमूनायुक्त पात्रहरू देखिएको टिप्पणी गर्छन् । उनले नीतिहरूमा एकरुपता आएका स्थितिमा र एक शक्तिले हात अघि सार्दा अर्काे शक्तिले पनि हात अघि सारेमा वा दुवै हात भएमा मात्रै ताली बज्ने वा कम्युनिष्ट पार्टीहरूबीच पुनः तालमेल एवं एकता हुन सक्ने बताउँदै स्वार्थका आधारमा एकता भएमा पुनः टिक्न नसक्ने ठोकुवा गरे ।

    नेकपा स्थापनादेखि एमालेको दशौँ महाधिवेशनसम्म

    स्थापना : विसं २००६ वैशाख १० गते
    संस्थापक नेता– पुष्पलाल

    पहिलो महाधिवेशन
    विसं २०१० माघ १० –२० गते
    पाटन, ललितपुर र काठमाडौंँ
    महामन्त्री– मनमोहन अधिकारी

    दोस्रो महाधिवेशन
    विसं २०१४ जेठ १५ – २५ गते
    दरबारमार्गस्थित फोहरादरबार, काठमाडौँ
    महासचिव– डा. केशरजङ्ग रायमाझी

    तेस्रो महाधिवेशन
    विसं २०१९ वैशाख ४ –१५
    महासचिव– तुल्सीलाल अमात्य

    चौथो महाधिवेशन
    विसं २०४६ भदौ ९ – १४ गतेसम्म, सिरहाको
    विष्णुपुरकट्टी, सर्रे अम्बास
    नेकपा(एमाले)को आयोजना
    महासचिव– मदनकुमार भण्डारी

    पाँचौंँ महाधिवेशन
    विसं २०४९ माघ १४ – २० गते
    दशरथ रङ्गशाला–कमलादी, काठमाडौँ
    मूल नारा–‘जडसूत्रवाद र विसर्जनवादको विरोध गरौंँ,
    मार्क्सवादकाे सिर्जनात्मक प्रयोग र विकास गरौंँ
    अध्यक्ष– मनमोहन अधिकारी, महासचिव– मदनकुमार भण्डारी

    छैटौँ महाधिवेशन
    विसं २०५४ माघ १२ – १८ गते, नेपालगञ्ज, बाँके
    मूलनारा–‘विकृति र विसङ्गतिका विरुद्ध सङघर्ष गरौँ,
    विचारधारात्मकरुपमा पार्टीलाई एकताबद्ध पारौँ
    अध्यक्ष– मनमोहन अधिकारी, महासचिव–माधवकुमार नेपाल

    साताैँ महाधिवेशन
    विसं २०५९ माघ १८ – २२ गते, जनकपुर, धनुषा
    मूल नारा– ‘प्रजातन्त्र, शान्ति र समग्र विकास,
    प्रतिगमनविरुद्ध अग्रगामी निकास !’
    महासचिव–माधवकुमार नेपाल ।

    आठौंँ महाधिवेशन
    विसं २०६५ फागुृन ५– १४, बुटवल, रुपन्देही
    मूल नारा– ‘‘यथास्थिति, अराजकता र विखण्डनका विरुद्ध आठौँ महाधिवेशन, राष्ट्रिय एकता, सामाजिक रूपान्तरण र लोकतान्त्रिक गणतन्त्रका लागि नयाँ संविधान !’
    अध्यक्ष – झलनाथ खनाल, महासचिव– ईश्वर पोखरेल

    नवौंँ महाधिवेशन
    विसं २०७१ असार १९ – साउन १ गते, भृकुटीमण्डप, काठमाडौंँ
    मूल नारा– ‘शान्तिपूर्ण जनक्रान्तिका उपलब्धिहरूलाई संस्थागत गरौंँ, जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समृद्ध नेपाल निर्माण गरौँ !’
    अध्यक्ष– केपी शर्मा ओली, महासचिव– ईश्वर पोखरेल

    प्रथम विधान महाधिवेशन
    विसं २०७८ असोज १५ – १७, गोदावरी, ललितपुर
    नीति, सङ्गठन र विधानसम्बन्धी दस्तावेज पारित
    मूल नारा–‘दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकतालाई परास्त गरौँ, जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौंँ !’

    दशाैँ महाधिवेशन
    विसं २०७८ मङ्सिर १० – १२ गते, नारायणगढ र सौराहा, चितवन
    मूल नारा– ‘दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकतालाई परास्त गराँैं, जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गराैँ !’ –रासस

  • चलचित्र ‘टुल्की’ले पायाे प्रदर्शनको अनुमति

    चलचित्र ‘टुल्की’ले पायाे प्रदर्शनको अनुमति

    डाेल्पा । हिमाली जिल्ला डोल्पामा खिचिएको चलचित्र ‘टुल्की’ले प्रदर्शनको अनुमति पाएको छ । हिमाली क्षेत्रमा प्रचलित बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ले बुधबार केन्द्रीय चलचित्र जाँच समितिबाट प्रदर्शनको अनुमति पाएको हो ।

    समितिका पदाधिकारीले हेरेपछि प्रमाणपत्र प्रदान गरेको चलचित्र निर्माता शेखर लामाले जानकारी दिए । ‘द पाल्म ग्रुप प्रालि’को ब्यानरमा निर्माण गरिएको उक्त चलचित्रमा हिमाली भेगमा प्रचलित बहुपति प्रथालाई देखाइएको छ । एक ब्राम्हण बस्तीमा जन्मेकी ‘टुल्की’ले प्रेमविवाह गरेर उपल्लो डोल्पा जाँदा संस्कारका नाममा भोग्नुपरेको कहालीलाग्दो पीडालाई सो चलचित्रमा उतारिएको छ ।

    चलचित्रको निर्देशन तथा छायाँङ्कन देवजङ्ग थापाले गरेका छन् । चलचित्रमा लगानी शेखर लामा र आरपी कर्माचार्यको रहेको छ । सो चलचित्रको कथा लक्ष्मण सुनारले लेखेका हुन् । चलचित्रमा शिशिर वाङ्देल, स्वस्तिमा कार्की, सोफिया लिम्बू, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, भक्तसिंह कठायत, रत्नप्रसाद न्यौपानेलगायत कलाकारको अभिनय रहेको छ ।

    करिब चार वर्षको अध्ययनपछि निर्माण गरिएको उक्त चलचित्र विभिन्न देशमा प्रदर्शन गरिसकेपछि मात्र नेपालमा देखाइने लामाको भनाइ छ । अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा समेत सो चलचित्र प्रदर्शन गरिने बताइएको छ ।

  • मंसिर १५ देखि गोलाप्रथा लागु गर्ने सर्वाेच्च अदालतको निर्णय

    मंसिर १५ देखि गोलाप्रथा लागु गर्ने सर्वाेच्च अदालतको निर्णय

    काठमाडौं । सर्वाेच्च अदालतले यही १५ मंसिरबाट गोलाप्रथाबाट मुद्दाको पेसी तोक्ने निर्णय गरेको छ । फुलकोर्टको बिहीबार बसेको बैठकले १५ मंसिरबाट गोलाप्रथाबाट मुद्दाको पेसी तोक्ने निर्णय गरेको हो ।

    गोलाप्रथासम्बन्धी नियमावली सोमबार राजपत्रमा प्रकाशित भएपछि बिहीबार फुलकोर्ट बैठक बसेर त्यसलाई कार्यान्वयन गर्ने गरी १५ मंसिरबाट लागु गर्ने निर्णय गरेको हो ।

    गोलाप्रथाबाट पेसी तोक्न प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा राजी भएपछि १९ जना न्यायाधीश इजलासमा फर्किएका थिए ।

    नेपाल बार एसोसीएसनको जबराको राजीनामा माग्दै भएको आन्दोलनमा ऐक्यबद्धता जनाएर न्यायाधीशहरूले इजलास बहिस्कार गरेका थिए । तर, गोलाप्रथा लागु गर्ने भएपछि न्यायाधीश इजलास फर्किए पनि बार भने आन्दोलनमै छ ।

  • ‘प्रेम गीत ३’ फागुन १३ मा रिलिज हुने

    ‘प्रेम गीत ३’ फागुन १३ मा रिलिज हुने

    काठमाडाैं । चर्चामा रहेको नेपाली चलचित्र ‘प्रेम गीत ३’ आगामी फागुन १३ मा रिलिज हुने भएको छ । फिल्मका निर्देशक/ निर्माता सन्तोष सेनले सामाजिक सञ्जालमार्फत् फिल्मको रिलिज डेट सार्वजनिक गरेका हुन् ।

    दुई वर्षअघि चैत २८ मा रिलिज गर्ने घोषणा गरिएको यो फिल्मको प्रदर्शन कोरोना महामारीका कारण रोकिएको थियो ।

    प्रदीप खड्का, क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको फिल्ममा सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी वर्देवालगायतका कलाकारको पनि अभिनय छ ।

    फिल्मको कथासमेत लेखेका छेतेन गुरुङको केही समयअघि निधन भएको थियो । ठूलो लगानीमा निर्माण भएको ‘प्रेम गीत ३’ भारतमा ४ करोड रुपैयाँमा बिक्री गरिएको दाबी छ ।