Author: Hulak News

  • क्रिप्टोकरेन्सीमाथि प्रतिबन्ध लगाउने भारतकाे तयारी

    क्रिप्टोकरेन्सीमाथि प्रतिबन्ध लगाउने भारतकाे तयारी

    नयाँ दिल्ली । भारत सरकारले क्रिप्टोकरेन्सी अर्थात डिजिटल मुद्रामाथि प्रतिबन्ध लगाउने तयारी गरेको छ । सरकारले आगामी हिउँदे अधिवेशनमा एउटा विद्येयकमार्फत क्रिप्टोकरेन्सीमा प्रतिबन्ध लगाउन लागेको हो ।

    प्रतिबन्ध चर्चासँगै भारतीय बजारमा क्रिप्टोकरेन्सीको मूल्यमा गिरावट आएको छ । गत वर्षको सुरुमा नै सरकारले विधेयकको मस्यौदा तयार गरेको थियो ।

    भारतको केन्द्रीय बैंकले क्रिप्टोकरेन्सीप्रति नकरात्मक दृष्टिकोण राखेको विज्ञहरुले बताउँदै आएका छन् । केन्द्रीय बैंकले सन् २०१८ मा क्रिप्टोकरेन्सी कारोबारमा प्रतिबन्ध लगाएको थियो । गत वर्षको मार्चमा सर्वोच्च अदालतको एउटा फैसलाले प्रतिबन्ध उल्टाइदिएको थियो । एजेन्सी

     

  • ट्रककाे ठक्करबाट महिलाकाे मृत्यु, स्थानीयद्वारा राजमार्ग अवरुद्ध

    ट्रककाे ठक्करबाट महिलाकाे मृत्यु, स्थानीयद्वारा राजमार्ग अवरुद्ध

    धनगढी । कैलालीको लम्कीमा ना२ख ९३७० नम्बरको ट्रकले ठक्कर दिएर एक महिलाको मृत्यु भएपछि आक्रोसित बनेका स्थानीयले ट्रकमा आगजनी गरेका छन् । उनीहरूले पूर्व पश्चिम राजमार्ग पनि अवरुद्ध गरेका छन् ।

    जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरिक्षक विश्वराज अधिकारीका अनुसार स्थानीयको भिडलाई नियन्त्रणमा लिन प्रहरीले एक दर्जनबढी अश्रुग्यास प्रहार गरेकाे छ ।

    तर, पनि स्थिति शान्त बन्न सकेको छैन । अहिले सो स्थानमा सुरक्षाहरू परिचालन गरिएको छ । घटनापछि प्रहरीले ट्रक चालक नवलपासीका राजकुमार चौधरीलाई नियन्त्रणमा लिएकाे प्रहरी प्रमुख अधिकारीले बताए ।

  • राजेन्द्र लिङ्देनको पक्षमा रेखा थापा

    राजेन्द्र लिङ्देनको पक्षमा रेखा थापा

    काठमाडौं । कलाकार रेखा थापा कुन पार्टीमा आवद्ध छिन् भन्ने चासो बढिरहेका बेला उनी राप्रपामै रहेको संकेत दिएकी छन् । बिहीबार राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देनले उम्मेद्वारी घोषणा गरे ।

    जमलको एलोप्यागोडा होटेलमा भएको उम्मेदवारी घोषणा कार्यक्रममा सहभागी भएर रेखाले आफू लिङ्देनको पक्षमा रहेको सन्देश दिएकी छन् ।

    अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीलाई टक्कर दिँदै युवा नेताहरूको दरिलो समर्थनमा लिङ्देनले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् ।

    युवा नेतासहित धमलशमशेर राणासहित नेताहरूको समर्थन प्राप्त गरेको लिङ्देनलाई अभिनेत्री, निर्माता, निर्देशकसमेत रहेकी रेखाले पनि समर्थन जनाएकी हुन् । राप्रपाको महाधिवेशन १५–१७ मंसिरमा हुन लागिरहेकाे छ ।

  • कांग्रेस सभापतिमा उम्मेदवारी दिने विमलेन्द्र निधिको घोषणा ( घोषणापत्रसहित)

    कांग्रेस सभापतिमा उम्मेदवारी दिने विमलेन्द्र निधिको घोषणा ( घोषणापत्रसहित)

    काठमाडाैं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले पार्टीको १४औँ महाधिवेशनमा सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन् । बिहीबार काठमाडौंको थापागाउँस्थित बानेश्वर ब्यांक्वेटमा पत्रकार सम्मेलन गरी औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका हुन् ।

    उम्मेदवारी घोषणाका क्रममा उनले भने, ‘मैले नेपाली कांग्रेसको केन्द्रीय सभापति पदमा आफूलाई प्रस्तुत गरेको छु । परिवर्तित राजनीतिक प्रणालीको व्यवहारिक पक्षहरुलाई सार्थक गर्नुपर्ने विवेक र तर्कको कसीमा मेरो उम्मेदवारी रहेको स्पष्ट गर्न चाहन्छु ।’

    आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई बहुमतका साथ विजयी गराउने, कांग्रेसमा पुस्तान्तरण प्रक्रियालाई सहजीकरण गर्ने, संविधान संशोधनको विषय पार्टीको आधिकारिक निर्णय अनुसार कार्यान्वयन गराउने र गणतन्त्रलाई संस्थागत गर्ने उनले प्रतिबद्धता पनि जनाएका छन् ।

    यस्तो छ निधिको घोषणापत्र :

    आदरणीय महाधिवेशन र महासमितिका साथीहरू,

    हिमाल, पहाड, तराई–मधेसका विभिन्न जिल्लाबाट विविध धर्म, संवैचारिक रुपमा स्पष्ट काँग्रेस, गतिशील काँग्रेस, जनतासँग जोडिने काँग्रेस

    संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ र सार्थक पार्ने काँग्रेस

    नेपाली काँग्रेसको १४ औं महाधिवेशन

    पार्टीसुदृढीकरण र आगामी निर्वाचनमा काँग्रेसको बहुमतका लागि

    केन्द्रीय सभापति पदका उम्मेदवार विमलेन्द्र निधिको

    प्रतिबद्धता र योजनास्कृति र समुदायबाट समेत प्रतिनिधित्व गर्दै निर्वाचित भएर आउनु भएका तपाईंसम्पूर्ण महाधिवेशन प्रतिनिधि साथीहरू र महासमिति सदस्य साथीहरूलाई बधाई दिन्छु र जय नेपालको हृदयध्वनिले हार्दिक स्वागत गर्दछु । यस अवसरमा म नेपालको लोकतान्त्रिक विचारका प्रथम नेपाली भाष्यकार जननायक बीपी कोइराला, आन्दोलनको विशिष्ट क्षणमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुहुने सुवर्ण शमशेर, सूर्यप्रसाद उपाध्याय, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, लोकतान्त्रिक गणतन्त्र प्राप्तिको नेतृत्व गर्ने गिरिजाप्रसाद कोइराला र वर्तमान संविधान निर्माणको नेतृत्व गर्ने सुशील कोइरालासहित विभिन्न क्षेत्र र समुदायबाट अनेक कष्ट झेल्दै जीवन समर्पण गर्ने सम्पूर्ण लोकतान्त्रिक योद्धाहरूप्रति सम्मान प्रकट गर्दछु । अहिंसा, शान्ति,सामाजिक न्याय, समुदायका बीच सद्भाव र लोकतन्त्रको मार्गमा मलाई उत्प्रेरित गर्नु हुने मेरा पिताजी महेन्द्रनारायण निधिलाई यतिबेला सादर स्मरण गर्न चाहन्छु । नेपाली काँग्रेसको ७६ वर्षको कष्टकर यात्रामा जीवन उत्सर्ग गर्नुहुने महान् शहीदहरूप्रति म श्रद्धासुमन अर्पण गर्दछु ।

    आफ्नो विगतलाई फर्केर हेर्दा मैले १३–१४ वर्षको किशोर वयदेखि नै नेपालको लोकतान्त्रिक आन्दोलनमा करीव ५३ वर्ष सक्रियतापूर्वक व्यतित गरिसकेको छु । लोकतन्त्र प्राप्तिकालागि विगतका संघर्षपूर्ण कठिन दिनमा अनेक सहकर्मीहरूसँगै मैले जेलनेलको लामो शृंखला अनुभव गरेको छु । विगतको पृष्ठभूमि र नेतृत्वदायी अनुभवको यस चरणमा मैले नेपाली काँग्रेसको केन्द्रीय सभापति पदमा आफूलाई प्रस्तुत गरेको छु । परिवर्तित राजनीतिक प्रणालीको व्यवहारिक पक्षहरूलाई सार्थक गर्नुपर्ने विवेक र तर्कको कसीमा मेरो यो उम्मेदवारी रहेको समेत स्पष्ट गर्न चाहन्छु ।

    मैले सभापति पदमा उम्मेदवारी प्रस्तुत गर्दै गर्दा केही निश्चित परिकल्पना, ध्येय र उद्देश्यसहित कार्ययोजना र पार्टीभित्रको आवश्यक सुधार समेतलाई केन्द्रविन्दुमा राखेको छु ।

    परिकल्पना

    नेपाली काँग्रेसलाई देशको एकमात्र सुसंगठित, सुव्यवस्थित र सक्षम लोकतान्त्रिक पार्टीको रुपमा देशभित्र र अन्तर्राष्ट्रिय स्तरमा पुनस्र्थापित गराउने, भ्रातृ तथा शुभेच्छुक संस्थाहरू र जनसम्पर्क समितिलाई व्यवस्थित, मर्यादित, समयानुकूल, विधिसम्मत, संगठित र सशक्त बनाउँदै देश र जनताको सेवामा सक्रिय बनाउने र तीनवटै तहको आगामी निर्वाचनमा नेपाली काँग्रेसलाई बहुमतका साथ विजयी गराउने ।

    नेपाली काँग्रेसमा रुपान्तरण,पुस्तान्तरण र पुस्ताहस्तान्तरण प्रकृयालाईसहजीकरण गर्ने ।

    नयाँ पुस्तालाई वर्तमान राजनीतिक प्रणाली र नेपाली काँग्रेसप्रति आकर्षित गर्दै सक्रिय रूपमा सहभागी गराउने ।

    देशको भौगोलिक विविधताअनुरूप हिमाल, पहाड, तराई–मधेश, पश्चिमदेखि पूर्वका सबै जनतालाई भावनात्मक रूपमा जोड्ने ।

    जातीय, सांस्कृतिक र धार्मिक विविधतायुक्त समाजभित्रका महिला, दलित, आदिवासी–जनजाति, मधेशी, मुस्लिम, थारू, खसआर्य, अल्पसंख्यक, अपाङ्गता भएका, पिछडिएका क्षेत्र तथा तेस्रोलिङ्गीलगायत सबैलाई सम्मानका साथ नेपाली काँग्रेसमा सक्रिय गराउने र समुदायका बीच थप सद्भाव कायम गर्ने ।

    सुन्दर फूलवारी जस्तो विविधतापूर्ण समाजले अवलम्वन गर्दै आएको भाषा, साहित्य, कला, संस्कृति, धर्म र सम्पदाको संरक्षण गर्न नेपाली काँग्रेसका सम्पूर्ण तहगत समितिहरू र सदस्यहरूलाई सक्रिय बनाउने ।

    भ्रातृ तथा शुभेच्छुक संस्थाहरू र नेपाली जनसम्पर्क समितिलाई व्यवस्थित, मर्यादित, समयानुकूल, विधिसम्मत, संगठित र सशक्त बनाउदै देश र जनताको सेवामा विशेष सक्रिय गराई वर्तमान राजनीतिक परिवर्तनलाई सबल एवं सफल गराउने ।

    विदेशको रोजगारीमाश्रम खर्च गरिरहेका, अध्ययनको आकांक्षाले विदेशमा पुगेका र विभिन्न कारणबाट विदेशमा रहेका सबै क्षेत्रर वर्गका नेपालीहरूको हित संरक्षणमा पार्टीले उचित पहल गर्ने र गरिरहने ।

    हिमाल, पहाड, तराई–मधेसमा वसोवास गर्ने किसान र श्रमजीवी, विभेदमा परेका र सीमान्तकृत नागरिकको दुःखको साथी नेपाली काँग्रेसलाई बनाउने र उनीहरूको हितप्रबद्र्धनमा सिंगो पार्टीपंक्तिलाई परिचालन गर्ने ।

    विगतमा भएका अनेक क्रुर हिंसाको मारमा परेका, आज पनि हिंसाबाट अन्यायमा परेका, वेपत्ता भएका वा पारिएका, अनगिन्ती नेपालीका परिवारको आँशु रोकिएको छैन । न्यायका लागि निरन्तर करुण क्रन्दन सुनिरहेको अवस्था छ । ती करुण पुकारलाई सुन्न राज्यलाई नेपाली काँग्रेसले बाध्यपार्ने क्षमताको विकास गर्ने ।

    ध्येय

    उपरोक्त परिकल्पनालाई साकार गराउन निम्न ध्येयहरू समयवद्ध प्रक्रिया अपनाई ५ बर्षको समयावधिभित्र पूरा गर्ने प्रतिबद्धता गर्दछु ।

    नेपाली काँग्रेसको केन्द्रीय सचिवालय र पुस्तकालयलाई व्यवस्थित गरी आन्तरिक कर्मचारी प्रशासनलाई समयोचित सुधार गर्ने ।

    प्रदेश, जिल्ला, क्षेत्र र पालिकाका पार्टी सचिवालय सञ्चालनलाई चुस्त, दुरुस्त गराउने र नियमित सम्पर्क र सम्वाद तथा सूचना आदानप्रदान गर्ने वातावरण निर्माण गर्ने ।

    लोकतान्त्रिक आन्दोलनका शहीद र नेपाली काँग्रेसमा रहेर योगदान गर्नुभएका अग्रजहरूको सम्मान र स्वदेशप्रेमको भावना वृद्धि गर्न विद्यालयहरूमा लोकतन्त्र ज्ञान परीक्षा र नेपाल ज्ञान परीक्षा सञ्चालन गर्ने र विभिन्न खेलकूद, साहित्यिक कार्यक्रम, विद्यालय, स्वास्थ्यशाला, बाटो आदिको नामाकरण गरी स्मृतिसम्मानलाई चिरस्थायी राख्ने ।

    समकालीन साथीहरूको संरक्षण र नयाँ पुस्ताको नेतृत्व विकास तथा प्रवद्र्धनका साथ काँग्रेसलाई गतिशील र व्यवस्थित पार्टीको रूपमा विकसित गर्ने ।

    लोकतान्त्रिक आन्दोलनका शहीद परिवार, घाइते र विस्थापित हुनुभएका नेपाली काँग्रेसका साथीहरूलाई उचित सम्मान र सहयोग प्रदान गर्ने ।

    नेपाली काँग्रेसका सदस्य साथीहरूलाई उद्यमशील, कर्मशील, आत्मनिर्भर र स्वरोजगार बनाउन चरणबद्ध कार्ययोजनाहरू बनाउने ।

    विदेशमा पसिना चुहाउन विवश युवाहरूलाई स्वदेशमा नै रोजगार सृजना गर्न समयबद्ध योजनाहरू बनाउने ।

    पार्टीका सदस्यहरूमा पठन संस्कृतिको विकास गर्न वडा तहदेखि जिल्ला तहमा समेत काँग्रेस पुस्तकालय स्थापना गरी पार्टी साहित्य अध्ययनलाई सम्पूर्ण तहमा अनिवार्य गराउने ।

    नेपाली काँग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानलाई संस्थागत विकास गरी अनुसन्धानलाई महत्व दिंदै सूचना प्रविधिको प्रयोग समेतलाई समावेश गरी वडा तहसम्म प्रशिक्षण गर्ने र अनुशासित, इमानदार सदस्यहरूलाई प्रोत्साहित गर्ने ।

    नेपाली काँग्रेसको सभापतिका रूपमा पार्टीको आर्थिक पारदर्शिता र सुशासनलाई पूर्ण पालना गर्ने र गराउने ।

    पार्टीभित्र विकसित गुट–उपगुटको अवस्थालाई उचित व्यवस्थापन गरी सबै साथीहरूलाई ऐक्यबद्ध रूपमा पार्टीको लक्ष्यउन्मुख गराउने ।

    विशेषगरी युवाहरूलाई आत्मसम्मानकासाथ पार्टीमा सक्रिय हुने र रहने वातावरण विकास गर्ने ।

    सम्पूर्ण तहका साथीहरूको र सबै तहका कार्यक्रमहरूको अभिलेखीकरण र मूल्याङ्कन गरी नेपाली काँग्रेसभित्र अन्याय हुन नदिन र विभेदको अन्त्य गरी बन्धुत्वपूर्ण संस्कृति विकास गर्ने ।

    राष्ट्रियता, लोकतन्त्र, समाजवाद, गणतन्त्र, संघीयता, समावेशिता, मिश्रित निर्वाचन प्रणाली, धर्मनिरपेक्षता, अहिंसा र शान्तिका आधारभूत मान्यतासहित बनेको संविधान र राजनीतिक प्रणालीलाई जनताको हित एवं चाहनाअनुसार सफल कार्यान्वयन गर्न र आम रुपमा सुशासनको विशेष अनुभूति गराउन पार्टीलाई परिचालित गर्ने ।

    संविधान संशोधनको विषय पार्टीको आधिकारिक निर्णय अनुसार कार्यान्वयन गराउने ।

    उद्देश्य

    उपरोक्त ध्येय प्राप्त गर्न पाँच बर्षभित्र प्राप्त गर्ने संरचनागत सुधारका उद्देश्य ।

    पार्टीभित्र नेतृत्व विकास,रुपान्तरण, पुस्ताहस्तान्तरण र पुस्तान्तरणलाई सहज बनाउन पार्टीका कुनै पनि एउटै तहमा वा पदमा दुई पटक भन्दा बढी निर्वाचित वा मनोनित नहुने व्यबस्था गर्न पार्टीको विधान संशोधन गर्ने ।

    नेपाली काँग्रेसले आफ्नो स्थापनाकालदेखि नै नेपाली समाजलाई समतामूलक लोकतान्त्रिक समाजमा रुपान्तरण गर्ने घोषित उद्देश्यको कार्यान्वयनका लागि वडा, पालिका, प्रदेश र केन्द्रीय स्तरमा नै समाज रुपान्तरण सम्बन्धी उपयुक्त कार्यक्रमहरू तर्जुमा गरी संचालन गर्ने, गराउने ।

    पार्टीका जिल्ला सभापतिहरूको १२–१३ जेठ, २०७७ मा नुवाकोटको ककनीमा सम्पन्नभेलाले पार्टी सुदृढीकरणका लागि सिफारिस गरेका संपूर्ण सुझावहरूलाई विधानमा समेत सुधार गरी पार्टीमा लागू गर्ने ।

    पार्टीका वडा, पालिका तथा प्रदेश स्तरमा उदाहरणीय र लोकप्रिय कार्यक्रम संचालन गरेका पार्टीका निर्वाचित जनप्रतिनिधिहरूको पार्टीबाट यथोचित मूल्यांकन गर्ने संस्थागत परिपाटी सुरु गर्ने ।

    पार्टीका सवै तहका निर्वाचित जनप्रतिनिधिहरूलाई लक्षित गरी योजना तर्जुमा तथा कार्यान्वयन, सुशासन, सहकारिता, समन्वय तथा पार्टीका विविध बिषयहरू बारे नियमित रुपमा प्रशिक्षण शिबिरहरू संचालन गर्ने र सहकारी अभियानलाई तीव्रगराउदै पार्टीका सदस्यहरूलाई अभियानमा उत्प्रेरित गर्ने ।

    पार्टीले के कस्ता नीति तथा कार्यक्रमहरू केन्द्रीय, प्रादेशिक तथा स्थानीय स्तरमा संचालन गर्दा उपयुक्त हुन्छ सोको निर्धारण, कार्यान्वयन, अनुगमन र मूल्यांकनको कार्य नियमित गर्ने केन्द्रीय संयन्त्रको व्यवस्था गर्ने ।

    देशको भूराजनीतिक यथार्थता तथा आवश्यकतालाई मध्यनजर गर्दै पार्टीले छिमेकी मित्रराष्ट्रहरू भारत र चीनसँगको सम्बन्धलाई थप मजवुत बनाउने र नेपालको विकास तथा लोकतान्त्रिक प्रक्रियामा सहयोगी अन्य मित्रमित्रराष्ट्रहरूसँगको सम्बन्ध सुमधुर गराउने ।

    संविधानमा उल्लेख भएका तर कार्यान्वयन हुन नसकेका नेपाल प्रहरी र निजामती सेवासम्बन्धी प्रदेशको अधिकार स्थापित गर्न तथा भाषा आयोगले सिफारिस गरेअनुसार सम्बन्धित प्रदेशहरूमा सरकारी कामकाजको भाषाको रुपमा कार्यान्वयन गराउने ।

    पार्टीले सोसलिष्ट इन्टरनेशनलसहित समान विचारधारा र नेपालको हित चाहने विभिन्न देशका राजनीतिक दलहरूसँग मैत्रीपूर्ण सम्बन्ध विकास गर्ने ।

    अन्य सुधारहरू

    पार्टीको केन्द्रदेखि प्रदेश, जिल्ला र स्थानीय निकायसम्म जनताका पीरमर्का सुनी, बुझी यथाशीघ्र सम्बन्धित निकायमा पुर्याउन जय नेपाल गुनासो सेवा प्रारम्भ गर्ने ।

    पार्टीका पुराना नेता तथा कार्यकर्ताहरूलाई आ–आफ्ना गाउँठाउँमा उनीहरूकै रुची र सहभागितामा उपयुक्त कार्यक्रमहरू संचालन गर्ने । यसका लागि पार्टीका स्थानीय, जिल्ला र प्रदेश इकाईहरूलाई परिचालन गर्ने ।

    वायुप्रदूषण घटाउन, पर्यावरणको संरक्षण गर्न, आफ्नो परिवार र समाजलाई शिक्षा, स्वास्थ्य र सरसफाईमा उत्प्रेरित गर्न पार्टीका सदस्यहरूमार्फत सक्रिय सामाजिक अभियान चलाउने र जलवायु सम्बन्धी अन्तराष्ट्रिय महासन्धीलाई कार्यान्वयन गर्न सभापतिको हैसियतले मेरो यसमा पूर्ण सहयोग र समर्थन रहने छ ।

    आजको संसारमा सूचना र संचारको महत्वपूर्ण योगदान रहेको छ । म यसवेला तमाम संचारकर्मी मित्रहरूले मलाई दिनु भएको स्नेह र सहयोगकालागि कृतज्ञता प्रकट गर्दछु । नेपाली काँग्रेस पार्टीका तर्फबाट संचार क्षेत्रको विकास र संचारकर्मीको वृत्तिविकासमा विशेष पहल गर्नेछु ।

    समग्रमा नेपाली काँग्रेसमा स्वभाव, आचरण र व्यवहारमा सुधार गरीजनतासँग काँग्रेस र काँग्रेससँग जनता व्यावहारिक रूपमा सिद्ध गर्ने ।

    रूख चिन्हसँग मतदातालाई र चारतारे झण्डासँग जनतालाई जोड्ने ।

    उल्लिखित प्रतिबद्धतालाई सार्थक गराउन नै मेरो उमेदवारीको अभिष्ट रहेको छ । मैले मेरो उमेरको करीव ५३ वर्ष स्वस्फूर्तरुपमा नेपालको लोकतान्त्रिक आन्दोलनमा व्यतित गरेको छु । नेपाली काँग्रेस जस्तो गौरवशाली पार्टीको यस ऐतिहासिक १४औं महाधिवेशनमा हिमाल, पहाड, तराई–मधेस, पूर्वपश्चिमबाट अनेक कठिनाई झेल्दै सहभागी पार्टीका अग्रज, समकालीन र नवीन युवापुस्ताका साथीहरूले म माथि पूर्ण बिश्वास गर्नुहुने छ, रविवेकपूर्ण र तर्कपूर्ण मूल्यांकनका आधारमा सभापतिपदमा मलाई मतदान गरी विजयी गराउनु हुनेछ भन्ने बिश्वास गरेको छु । धन्यवाद ।

    ९ मंसिर २०७८ जयनेपाल ।

  • प्रतिताेला सयले घट्यो सुनको मूल्य, कतिमा भइरहेकाे छ काराेबार ?

    प्रतिताेला सयले घट्यो सुनको मूल्य, कतिमा भइरहेकाे छ काराेबार ?

    काठमाडौं । साताको पाँचौँ दिन बिहीबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम भएकोमा बिहीबार १०० रुपैयाँले घटेर प्रतितोला ९१ हजार ७०० रुपैयाँ कायम भएको हो ।

    बिहीबार छापावाल सुन प्रति १० ग्राम ७८ हजार ६२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार २०० रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७८ हजार १९० रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।

    बिहीबार चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला एक हजार २३० रुपैयाँ कायम भएको छ । बुधबार चाँदी प्रतितोला एक हजार २२५ रुपैयाँ कायम भएको थियो । त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार ५४ रुपैयाँ ५० पैसा कायम भएको महसंघले जनाएको छ ।

  • सामलिङ्ग पावर कम्पनीको सेयर नेप्सेमा सूचीकृत

    सामलिङ्ग पावर कम्पनीको सेयर नेप्सेमा सूचीकृत

    काठमाडौं । सामलिङ्ग पावर कम्पनीको सेयर नेपाल स्टक एक्चेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । बुधबार कम्पनीको ५० लाख कित्ता सेयर नेप्सेमा सूचीकरण भएको हो ।

    बिहीबारबाट यसको सेयर कारोबार पनि खुला हुनेछ । कम्पनीले सर्वसाधारणमा वितरण गरेको सात लाख ३० हजार कित्ता, आयोजना प्रभावित बासिन्दाहरूका लागि निष्काशन गरेको पाँच लाख कित्ता र संस्थापकहरूले लगानी गरेको ३७ लाख ७० हजार कित्ता गरी ५० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

    नेप्सेले कम्पनीको पहिलो सेयर कारोबारको लागि न्युनतम ९८ रुपैयाँ ७७ पैसा देखि २९६ रुपैयाँ ३१ पैसा ओपनिङ्ग रेन्ज तोकिएको छ । त्यसअनुसार कम्पनीको सेयर बिहीबारबाट कारोबारमा आउनेछ । कम्पनीले ४-८ कात्तिकसम्म सात लाख ३० हजार कित्ता साधारण सेयर निष्कासन गरेको थियो ।

  • यस्ताे छ विहीबारका लागि ताेकिएकाे विदेशी मुद्राको विनिमय दर

    यस्ताे छ विहीबारका लागि ताेकिएकाे विदेशी मुद्राको विनिमय दर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११८ रुपैयाँ ७४ पैसा र बिक्री दर ११९ रुपैयाँ ३४ पैसा कायम गरेको छ ।

    युरोपियन यूरो एकको खरिद दर १३३ रुपैयाँ ०८ पैसा र बिक्री दर १३३ रुपैयाँ ७५ पैसा रहेको छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५८ रुपैयाँ ५५ पैसा र बिक्री दर १५९ रुपैयाँ ३५ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १२६ रुपैयाँ ८७ पैसा र बिक्री दर १२७ रुपैयाँ ५१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ७० पैसा र बिक्री दर ८६ रुपैयाँ १३ पैसा रहेको छ । क्यानेडियन डलर एकको खरिद दर ९३ रुपैयाँ ६४ पैसा रहेको छ भने बिक्री दर ९४ रुपैयाँ ११ पैसा रहेको छ ।

    जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ३३ पैसा र बिक्री दर १० रुपैयाँ ३८ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ५९ पैसा र बिक्री दर १८ रुपैयाँ ६८ पैसा रहेको छ राष्ट्र बैंकले जनाएको छ ।

    साउदी अरबियन रियाल आज एकको खरिर दर ३१ रुपैयाँ ६५ पैसा र बिक्री दर ३१ रुपैयाँ ८१ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ ६१ पैसा र बिक्री दर ३२ रुपैयाँ ७८ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ । त्यस्तै, मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ २१ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ३५ पैसा छ ।

  • फ्रान्सका सबै बयस्कलाई कोभिडको बुस्टर डोज

    फ्रान्सका सबै बयस्कलाई कोभिडको बुस्टर डोज

    पेरिस । फ्रान्स सरकारले सबै बयस्कहरुलाई कोभिड १९ को बुस्टर डोज दिने तयारी गरेको छ । यसबारेमा सरकारले बिहीबार औपाचारिक रुपमा घोषणा गर्दैछ । देशमा कोभिड संक्रमण तीब्र बढेपछि सरकारले सबै बयस्कलाई बुस्टर डोज दिने तयारी गरेको हो । त्यस्तै, संक्रमण न्यून गर्न केही प्रतिबन्धात्मक व्यवस्थासमेत घोषणा गरिएको छ ।

    राष्ट्रपति इम्यानुअल म्याँक्रो नेतृत्वको सरकारले बुधबार सामाजिक दूरी कायम गर्न र सबैलाई मास्क लगाउन निर्देशन दिएको थियो । सरकारले फेरि लकडाउन लगाउने तयारीमा भने नगरेको जनाइन्छ ।
    रेस्टुराँ, क्याफे, सिनेमा हल, म्युजियम, खेल मैदान जस्ता धेरै भिड हुने स्थानमा बुस्टर डोज लगाएका व्यक्तिलाई मात्र प्रवेशका लागि अनुमति दिने सरकारको तयारी छ ।

    फ्रान्समा बुधबार ३२ हजार कोभिडका नयाँ संक्रमित भेटिएका थिए ।

    पछिल्लो समयमा युरोपेली देशहरुमा कोभिड संक्रमण तीब्र बढिरहेको छ । संक्रमण बढेपछि यसै सातादेखि अस्ट्रियाले तीन साताका लागि देशव्यापी लकडाउन घोषणा गरेको छ । एजेन्सी

  • महाधिवेशनमा सहभागी हुन ओली चितवन पुगे

    महाधिवेशनमा सहभागी हुन ओली चितवन पुगे

    चितवन । पार्टीको १०औँ महाधिवेशनमा सहभागी हुन एमाले अध्यक्ष केपी शर्मा ओली शुक्रबार दिउँसो चितवन आइपुगेका छन् । शुक्रबारबाट सुरू हुने महाधिवेशनमा सहभागी हुन ओली चितवन आइपुगेका हुन् ।

    उनीसँगै ओलीपत्नी राधिका शाक्य, सुवास नेम्वाङ, गोकर्ण विष्टसहितका नेता चितवन आइपुगेका छन् । बुद्ध एयरको विमानस्थलबाट भरतपुर अवतरण गरेका ओली सिधै सौराहा गएका छन् ।

    उनी सौराहामै व्यवस्था गरिएको छ । शुक्रबार नारायणी नदी किनारमा उद्घाटन कार्यक्रम हुनेछ भने बन्द सत्र सौराहामा हुनेछ । ओली सौराहामै बस्ने भएका हुन् । एमालेको १०औँ महाधिवेशन १०–१२ मंसिरमा हुनेछ ।

  • कुवेतविरुद्ध नेपालकाे सहज जित

    काठमाडौं । कुवेतलाई ९ विकेटले पराजित गर्दै नेपालले आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटमा दोस्रो जित निकालेको छ । बिहीबार दुबईमा कुवेतलाई ९ विकेटले पराजित गर्दै नेपालले लगातार दोस्रो जित हात पारेको हो ।

    जितसँगै नेपालले ग्लोबल छनोटको सम्भावना कायमै राखेको छ । नेपाल ४ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ ।

    जितका लागि कुवेतले दिएको २८ रनको लक्ष्य नेपालले ३ ओभर ३ बलमा १ विकेट गुमाएर पूरा गर्‍याे । नेपालको जितमा इन्दु बर्माले १३ कप्तान रुविना क्षेत्रीले १२ रन जोडिन् । कुवेतका लागि एकमात्र विकेट मारिया जस्वीले हात पारिन् ।

    यसअघि टस जितेर ब्याटिङ गरेको कुवेत १५ ओभर ४ बलमा अलआउट हुँदै २७ रनमा समेटिएको थियो । कुवेतका लागि प्रियादा मुरालीले सर्वाधिक १० रन जोड्दा अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

    कुवेतलाई सस्तैमा समेट्न संगीता राई र कप्तान रुविना क्षेत्रीले समान तीन-तीन विकेट हात पारे । नेपाल पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजय हुँदा दोस्रो खेलमा भुटानलाई ८ विकेटले पराजित गरेको थियो ।