Author: Hulak News

  • सर्वाेच्चकाे फुलकाेर्ट बैठक, गोलाप्रथा प्रक्रियाबारे निर्णय हुने

    सर्वाेच्चकाे फुलकाेर्ट बैठक, गोलाप्रथा प्रक्रियाबारे निर्णय हुने

    काठमाडाैं । सर्वोच्च अदालतको फुलकोर्ट अर्थात पूर्ण बैठक बिहीबार बस्ने भएकाे छ । गोलाप्रथा प्रक्रियाबाट पेसी कहिलेदेखि तोक्ने भन्नेबारे निर्णय गर्न पूर्ण बैठक बस्न लागेको हो ।

    बिहीबारकाे बैठकले आउँदो बुधवारदेखि गोलाप्रथाबाट पेसी तोक्ने निर्णय गर्ने सम्भावना छ । सर्वोच्च अदालतका १९ न्यायाधीशले सर्वोच्च अदालतमा पूर्ण बैठक बस्नुअघि नेपाल बार एसाेसिएशनका प्रतिनिधिसँग आउँदा दिनमा कसरी अगाडि बढ्ने भन्नेबारेमा छलफल गर्ने तयारीसमेत गरेका छन् ।

    प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासहित सर्वोच्च अदालतका सम्पूर्ण न्यायाधीशको गएको २ गतेको पूर्ण बैठकले गोला प्रक्रियासहित नियमावली पास गर्ने निर्णय गरेको थियो । गोला प्रक्रियासहित नियमावली पास गर्ने निर्णय राजपत्रमा समेत प्रकाशित भइसकेको छ ।

    न्यायाधीशको आन्दोलनका कारण अदालतमा मुद्दाको चापअनुसार नियमितरुपमा सुनुवाइ हुन सकेको छैन ।

  • पाँचपाेखरी : एउटा कठिन यात्राको रोमाञ्चक अनुभुति

    पाँचपाेखरी : एउटा कठिन यात्राको रोमाञ्चक अनुभुति

    भदौको महिना । दिउँसो तीन बजेतिर चावहिलको एक रेष्टुरेन्टमा कफी पिइरहेको थिएँ । बाहिर झमझम पानी परिरहेको थियो । मोवाइलको घण्टी बज्यो । फोन गर्ने साथी थियो, कमल । फोन उठाएँ । फोन संवादमा एउटा यात्राको तय भयो, पाँचपोखरीको । को— को जाने ? मैले प्रश्न गरेँ । हामी तीन जना जाने । उसले योजना सुनायो, मैले अशोकलाई भनिसकेँ । तिमी म र अशोक । मात्र तीन जना ? मैले फेरि प्रश्न गरेँ । उसले भन्यो, अरु साथीहरुलाई पनि मैले सोधेँ तर उनीहरुले जाने इच्छा नै देखाएनन् । अब हामी तीन जना भए पनि जाने हो । उसले ढिपी गर्‍याे । मैले पनि सहमति जनाएँ ।

    अब कहिले जाने ? मेरो प्रश्नको उसले उत्तर दियो । अहिले नै हिँड्ने । उसको उत्तर सुनेर म छक्क परेँ । अहिले नै, बिना तयारी ? मेरो प्रश्नमा फेरि उसले भन्यो, अँ मैले अशोकलाई भनिसकेको छु । उ आउँदैछ हामी एकैछिनमा चावहिल आइपुग्छौँ, सबै तयारी गरेर छिटो निस्किहाल । उसले यति भनेपछि म रुममा गएँ । सबै तयारी गरेँ । दिउँसोको साढे तीन बजिसकेको थियो । हामी तीन जनाको चावहिलमा भेट भयो । एक्कासी योजना बनेकोले हामी फुरुङ्ग थियौँ । हामीसँग पाँचपोखरी जानका लागि बाटोको २ विकल्प थिए । एक धुलिखेल हुँदै मेलम्ची जाने । अर्को साँखु हुँदै मेलम्ची जाने । हामी चावहिलबाट धुलिखेल हुँदै मेलम्ची जाने निष्कर्षमा पुग्यौँ । हाम्रो यात्रा चुच्चेपाटीबाट मेलम्ची जाने अन्तिम गाडीमा तय भयो ।

    सिमसिम पानी परि रहेको नै थियो । अन्तिम गाडी भएकाले होेला गाडीमा खासै मानिसहरु थिएनन् । अन्तिमतिरका केही सिटहरु खाली नै थिए । गाडीमा लोक गीत ठूलो आवाजमा घन्किरहेको थियो । कोटेश्वर पुगेपछि गाडी केही समय रोकियो । अलि मानिसहरु थपिए ।

    साँझ पर्नै लाग्दा हामी जिरोकिलो बाट मेलम्चीपतर्फ लागेका थियौँ । सिपाघाट पुगेपछि गाडी रोकियो । अगाडी पहिरो छ । गाडी यहाँबाट अगाडि जाँदैन । सहचालकले हामीलाई जानकारी गराए । अब हामी के गर्ने ? मेलम्ची गएर बस्ने हाम्रो योजना थियो ।

    गाडीमा मेलम्चीसम्म पुग्ने अरु पनि मानिसहरु थिए । उनीहरु अब हिँडेर नै मेलम्ची जाने भनिरहेका थिए । हामीले पनि हिँडेर नै मेलम्ची गएर बस्ने योजना बनायौँ । मेलम्चीका होटलहरु बेलुका कति बजेसम्म खुला होलान् ? हामीले मेलम्ची हिँड्न लागेका त्यहाँका स्थानीयसँग सोध्यौँ । उनीहरुले बस्ने व्यवस्था बेलुका भए पनि सहजै पाइने जानकारी गराए । त्यसपछि हामी मेलम्चीका लागि हिँड्न तयार भयौँ । सिपाघाटबाट पहिरो खसेको सडकको किनार किनारबाट मोबाइलको लाइटमा हाम्रो यात्रा सुरु भयो । नजिकै इन्द्रावती खोला सुसाइरहेको थियो । अलिअलि सिमसिमे पानी पनि परिरहेको थियो ।

    मेलम्ची पुग्दा राती १० बजेको थियो । बजार सुनसान भइसकेको । हामीले एक होटलको बोर्डमा लेखिएको मोबाइल नम्बरमा सम्पर्क गर्यौँ । होटलको ढोका खुल्यो । होटलको साहुनीले कोठा उपलब्ध भएको जानकारी दिइन् । हामीले खाना अर्डर गरेर हातमुख धुन थाल्यौँ । हाटलकी साहुनीले यति राति यहाँ आइपुग्नुको बारेमा जिज्ञासा राखिन् । हामीले सबै कुरा बेलिबिस्तार लगायौँ ।

    ……………

    भोलिपल्ट बिहान मेलम्चीबाट हाम्रो पाँचपोखरीको यात्रा सुरु भयो । मेलम्ची खोला तरेर इन्द्रावती खोलाको किनारै किनार । हरियाली फाँट । खोल्साहरुमा बगेका कलकल पानीको आवाज । हामी प्राकृतिक सुन्दरता नियाल्दै र गफिँदै अगाडि बढीरह्यौँ ।

    करिब तीन घण्टाको यात्रापछि हामी तिपेनी बजारमा पुग्यौँ । त्यहाँ चिया नास्ता गरेर केही खानेकुरा किनेर झोलामा बोकेर फेरि यात्रा गर्न थाल्यौँ । तिपेनीबाट हामी केही समयपछि हाँडीखोला पुग्यौँ । इन्द्रावतीको किनारको बाटो छोडेर हामी हाँडीखोला पछ्याउनु पर्ने रहेछ । हामी त्यतातिर लाग्यौँ तर हाँडी खोलासँगको सहयात्रा अलि केहीबेर मात्र रहेछ ।

    उकालो डाँडामा तीनैजना साथीहरु प्रतिस्पर्धात्मक रुपमा को पहिला पुग्ने भन्दै हिँड्ने गरिरहेका थियौँ । उकालो डाँडाहरु चढ्दा थकाइ त लाग्थ्यो तर पनि हामीले थकानभन्दा मनोरञ्जन बढी लिइरहेका थियौँ । बिहान १० बज्दा हामी धाप भन्ने ठाउँमा पुगेका थियौँ । हामीले त्यहाँ खाना खाने योजना बनाएका थियौँ । तर साथीहरु कसैलाई पनि भोक नलागेको जानकारी पछि हामीले भोताङ भन्ने स्थानमा गएर खाना खाने निधो गर्‍याैँ ।

    हामी फेरि निरन्तर उकालो लागिरह्यौँ । कतै मोटरबाटो त कतै गोरेटो बाटो हिँडिरहेका थियौँ । उकालो चढिरहेको बेलामा एउटा सानो पसलमा हामीले काँक्रो देख्यौँ । पसलमा एक जना वृद्ध आमा हुनुहुन्थ्यो । उकालो बाटो अलिअलि घाम पनि चर्केको थियो । एक जना साथीले सोधिहाल्यो । आमा यो काँक्रो बेच्न राखेको हो ? आमाले उत्तर दिनुभयो हो बाबू । उहाँले फेरि प्रश्न गर्नुभयो, बाबूहरु पाँचपोखरी हिड्नुभएको हो ? हामीले हो भनेपछि उहाँले हामीलाई बस्न आग्रह गर्दै भन्नुभयो, बस्नुस् न म नुन खुर्सानी पनि पिसिदिन्छु ।

    हामी काका्रे खाइसकेपछि आमालाई पैसा र धन्यवाद दिएर फेरि अगाडि बढ्यौँ । ती आमाले नै देखाइदिनुभएको बाटो हामी हिड्यौँ । निकै तल इन्द्रावती बगिरहेको देखिन्थ्यो । हामी प्रकृतिको हरियालीमा रम्दै कहिले बस्दै कहिले झोलामा बोकेका खानेकुरा खाँदै करिब २ बजेतिर भोताङ पुग्यौँ ।

    भोताङ पुगेर हामीले खाना खायौँ । हामी मेलम्चीदेखि बिहान हिँडेको भन्ने सुनेर होटलका साहु साहुनीले तपाइँहरु त धेरै हिँड्नुभएछ भन्ने प्रतिक्रिया दिनुभयो । खाना खाइसकेपछि हामी फेरि अगाडि बढ्यौँ । अलिअलि पानी पर्न लागेको थियो । छिम्ती भन्ने स्थानमा पुग्दा पानी ठूलै पर्न थाल्यो । रेनकोट ओढेर झोला बोकेर हामी निरन्तर हिँडिरह्यौँ । छिम्ती भन्ने ठाउँसम्म मोटरबाटो पुगेको रहेछ । त्यहाँबाट त पुरै उकालो सिँढी चढ्नुपर्ने ।

    केही विदेशी नागरिकसहित अरु केही मानिसहरु पनि यात्रा गरिरहेका थिए । हामी उनीहरुलाई उछिन्दै अघि बढ्यौँ । साउनको महिना भएकाले खोल्साहरु ठूला थिए । हामी केही स्थानीयहरुसँग कुरा गर्दै अघि बढ्यौँ । उकालो चढ्दै गर्दा बेलाबेला फोटो भिडियो पनि खिचिरहेका थियौँ । चाउचाउ, बिस्कुट र रेडबुल पनि हाम्रो यात्राको सारथी थियो ।

    भोताङबाट निस्कने बेलामा हामीलाई त्यहाँका स्थानीयले आज तपाइँहरुको बास देउराली भन्ने स्थानमा हुन्छ भनेका थिए । हामीले देउराली भन्ने स्थान कहाँ रहेछ भनेर खोजी गरेर हिँड्यौँ ।

    साँझ पर्न लागिसकेको थियो । देउराली भन्ने स्थानमा पुग्दा । एकजना दाइको होटल रहेछ देउरालीमा । हामीले त्यहाँ बसेर चिया खायौँ । दाइलाई त्यहाँको बसाइबारे सोधिखोजी गर्‍याैँ। तपाइँहरु कहाँबाट आउनुभएको ? दाइको प्रश्नको उत्तरमा हामीले भन्यौँ, बिहान मेलम्चीबाट हिँडेको । त्यसपछि उहाँले भन्नुभयो तपाइँहरु त आज टुप्पीडाँडा भन्ने स्थानसम्म पुग्नुहुन्छ यसरी नै हिँड्नुभयो भने त ।

    उहाँको कुरा सुनेपछि हामीले केही नसोची टुप्पी डाँडा गएर बस्ने निधो गरिहाल्यौँ । हामी चिया खाइसकेपछि त्यहाँबाट निस्कियौँ । जंगल थियो अलिअलि पानी पनि परिरहेको थियो । जुकाले टोक्न थालिहाल्यो । धेरै हिँडेकाले होला थकान महसुस भएर पाइला नै उचाल्न नसकिने भइसकेको थियो । पानीले भिजेका जुत्ता पनि गह्रौँ भएजस्तो अनुभुति हुन्थ्यो ।

    सूर्यको किरण विस्तारै पश्चिम दिशामा ढल्किसकेको थियो । नजिकै होटल तथा गोठहरु केही देखिएका थिएनन् । हामीलाई डर लाग्न थालिसकेको थियो । कतै टुप्पीडाँडा सम्म हामी पग्न नसक्ने पो हो कि ? हिँड्न पनि निकै गाह्रो भइसकेको थियो । हामी तीनैजना चिन्तित बन्यौँ । बाटोका छेवैमा बस्यौँ ।

    अलि तलबाट एउटा सानो भाइ डोकोमा केही सामान बोकेर माथितिर आइरहेको थियो । भाइ नजिकै आएपछि हामीले सोध्यौँ । भाइ कहाँसम्म जाने हो ?

    उसले उत्तर दियो, टुप्पी डाँडा ।

    हामीमा ऊर्जा थपियो । हामीले फेरि सोध्यौँ, टुप्पी डाँडा पुग्न अब कति समय लाग्छ ?

    यहीँ अलि माथि हो । उसले शेर्पा लवजमा उत्तर दियो ।

    हामी नजिकै उसले डोको बिसायो । हामी पनि टुप्पी डाँडामा बस्ने हो आज भनेर हिँडेका हिँड्नै सकिएन हामीले भन्यौँ । हाम्रो कुरा सुनेपछि उसले भन्यो माथि मेरो दाइको होटल छ त्यहीँ बस्ने भए म कुरा गर्दिन्छु । हामीले भन्यौँ त्यसो भए हामी सँगै जाऔँ हामी त्यहीँ बस्छौँ ।

    भाइ डोको बोकेर अघि लाग्यो हामी उसलाई पछ्याउँदै हिँड्न लाग्यौँ ।

    हामीले सोध्यौँ भाइले डोकामा के बोकेको ?

    उसले आफ्नै लवजमा उत्तर दियो, भेर बोकेको ।

    के हो ? भेर भनेको हामीले बुझेनौँ ।

    भेर हो के भेर उसले फेरि भन्यो । हामी अलमलमा पर्‍याैँ ।

    फेरि उ बोल्यो भेर था छैन तपाइँहरुलाई बोत्तलको भेर ।

    डोको नजिक पुगेर हामीले हेर्‍याैँ । भाइले वियर बोकेको रहेछ ।

    हामी मज्जाले हास्यौँ । उसले वियर भन्न खोजेको रहेछ । उसको लवजमा हामीले भेर सुन्यौँ ।

    भाइले अब पुग्नै लागियो भनेको बाटो हामीले एक घण्टा हिँडिसकेका थियौँ । रात पर्न लागिसकेको थियो । तर अझै कति हिँड्नुपर्ने हो हामीलाई थाहा थिएन । हामीले अब कति समय लाग्छ भनेर सोध्दा भाइले हामीलाई आइपुग्न लाग्यो भन्ने मात्र उत्तर दिन्थ्यो ।

    झमक्क साँझ परेपछि हामी टुप्पी डाँडामा पुग्यौँ । टुप्पी डाँडामा बास बस्नेहरु धेरै रहेछन् । हामीले निथ्रुक्क भिजेको ज्यान आगोमा सेकायौँ । त्यसपछि ज्यान तताउन तातो पानी पनि पियौँ । होटलमा २ जना दाइहरु थिए । सँगै आएको भाइले बोलेको सुनेर हामी हाँस्थ्यौ । शेर्पा लवजमा बोलेका उसका कुरा हामी नबुझेर पटक पटक सोध्थ्यौँ । हामी मेलम्चीदेखि हिँडेर आएको भनेको सुन्दा होटलमा बास बसेका मानिसहरु छक्क परे । खाना खाएर हामी सुत्यौँ । रातभरी पानी परिरहेको थियो । बिहानीपख पानी पर्न रोकिएछ । हामी बिहान चिया पिएर फेरि गन्तव्यतर्फ लाग्यौँ ।

    ……………..

    भोलिपल्ट बिहान खासै हिँड्न सकिएन । पाँचपोखरी जाने र आउनेका लर्को चलिरहेको थियो । थकानको बाबजुद पनि हामीलाई उत्सुकताको वजनले उचालिरहेको थियो । हामी फर्किरहेका मानिसहरुलाई सोधिरहन्थ्यौँ पाँचपोखरी पुग्न कति समय लाग्छ ? उनीहरुको उत्तरले हामी कहिले निराश हुन्थ्यौँ । कहिले उत्साहित हुन्थ्यौँ ।

    हिजो हामी सबैलाई उछिन्दै अघि हिँडेका थियौँ । आज हामीलाई अरुले पछाडि छोडेर हिँडिरहेका थिए । नाक ठोक्किएला जस्तो उकालो बाटो पुरै चट्टानै चट्टानले बनेको थियो ।

    चट्टानका बीचमा देखिएको खुल्ला चौर, खोल्सामा बगेका सफा पानी प्रकृतिको अनुपम छटाले फेरि थकान भुलाएर हामलिाई ऊर्जा दिन्थ्यो । हामीले बाटो छेउमा भएका चट्टानहरुमा बसेर खाजा खाएर निरन्तर उकाली लागिरह्यौँ ।

    करिब १० घण्टाको तीव्र हिँडाइपछि हामी प्रकृतिको सुन्दर नगरी पाँचपोखरी पुग्यौँ । चारै तिर अग्ला चट्टानको बीचमा पाँचपोखरी मुस्कुराइरहेको थियो । पोखरीमा टल्किएका पानी अनि त्यहाँ फुलेका झारहरुले हाम्रो स्वागत गरिरहे जस्तो लाग्थ्यो । पाँचपोखरी सम्म पुग्नका लागि बाटोमा भएका सबै कठिन एकैछिनमा भुल्यौँ ।

    वास्तवमा भन्ने हो भने हामी धार्मिक आस्थाभन्दा पनि प्राकृतिक सुन्दरता नियाल्ननका लागि यो यात्रामा निस्किएका थियौँ । पाँचपोखरीको मौसम छिनमै खुल्थ्यो । छिनमै कुहिरो लाग्थ्यो । हामी खुलेको बेलामा तस्बिर खिच्न व्यस्त हुन्थ्यौँ । कहिले माथि डाँडामा त कहिले ती सुन्दर पोखरीका किनारमा हामी रमाइरह्यौँ । लामो समय बस्न मन लागिरहे पनि हामी फेरि बस्नका लागि सकेसम्म हिजो बसेको होटलमा नै पुग्न पाए सजिलो हुन्थ्यो भन्ने अपेक्षाका साथ फर्किने तयारीमा लाग्यौँ ।

    पाँचपोखरमिा स्नान पनि गर्यौँ । मन्दिरको पूजाआजा सकेर हामी फेरि फर्किने तयारमिा लाग्यौँ । बेलाबेलामा पानी पथ्र्यो । बेलाबेलामा मौसम राम्रो हुन्थ्यो । रुप फेरिरहने यहाँको मौसम पनि बडो गजबको थियो ।

    उकालो बाटो हिँड्न गाह्रो भए पनि ओरालो बाटोमा हाम्रो हिँडाइ पुनः तीव्र भयो । फेरि हामी पाँचपोखरी यात्रामा जाँदा पाएको कष्ट सम्झदै आरालो ओर्लिन थाल्यौँ । हाम्रो योजना थियो । हिजो बास बसेको ठाउँमा नै आज पनि बास बस्ने । तर समयले नेटो काटिसकेको थियो । त्यही पनि हिम्मतका साथ हामी अघि बढिरह्यौँ ।

    हामी पुनः त्यही स्थानमा बास बस्न आइपुग्न सफल भयौँ । तर हिँडाइ धेरै भएकाले होला गोडा सुनिन थालेका थिए । हामीले भोलिपल्ट आरामले जाने निधो गर्यौँ र बेलुकाको खाना खाएर सुत्यौँ ।

    ………….

    भोलिपल्ट बिहान उठ्दा गोडा झन् धेरै सुन्निएका थिए । बिहान उठेर हिँड्न सकिएन । विस्तारै ८ बजेतिर हामी निस्कियौँ । जाने बेलामा उकालो हिँडेको स्मरण गर्दै चिप्लो बाटोमा ओराली लाग्दा झन् आनन्द र मज्जा आइरहेको थियो । खोँचहरुमा बसेको कुहिरो बिहान आकाशतर्फ उडिरहेका दृश्यले मन रोमाञ्चित हुन्थ्यो ।

    बाटोमा बनाइएका छाप्रा र गोठहरुमा निर्माण गरिएका चिया पसलहरुमा चिया पिउँदै हामी विस्तारै ओराली लाग्यौँ । खाना खाने समयका छिम्ती आइपुगेका थियौँ । बिहानको खाना खाएपछि हामी झन् हिँड्नै नसक्ने भइसकेका थियौँ । हिँड्न गाह्रो भइरहेको यस्तो अवस्थामा हामीले स्थानीय होटलमा छिम्तीबाट सवारीसाधनमा हाँडीखोलासम्म फर्कन पाइन्छ भन्ने जानकारी पायौँ । यसले हामीलाई थप ऊर्जा मिल्यो । त्यसपछि हामी हतारहतार सवारी साधन पाइने भनेको ठाउँमा पुग्यौँ । गाडीमा जान पाइने भएपछि साथीहरु पनि फुरुंग परेका थिए ।

    हाँडिखोलासम्म जानका लागि एउटा ट्रक बसेको रहेछ । हामीले त्यहाँ पुगेपछि थाहा पायौँ । ट्रकमा अन्य पनि धेरै मानिसहरु थिए । हामीले ट्रक नै चढेर भए पनि जाने निधो गर्‍याैँ । हामलिाई हिँड्न साह्रै गाह्रो भइरहेको थियो । त्यसपछि हामी ट्रक चढ्यौँ । लगभग १५ किलोमिटर जति दूरीको ट्रक भाडा ५ सय रुपैयाँ प्रतिव्यक्ति तोकिएको रहेछ । हामीले खुशीसाथ भाडा पनि दियौँ । त्यसपछि हामी फेरि मेलम्चीका लागि हिड्न थाल्यौँ ।

    खुट्टा सुन्निएर म हिँड्न नसक्ने भइसकेको थिएँ । साथीहरु पनि विस्तारै हिँडिरहेका थिए । बेलाबेलामा उनीहरुलाई पछ्याउँदै कहिले अगाडि त कहिले पछाडि लागेर म मेलम्चीसम्म आइपुगेँ । त्यसपछि मेलम्ची पुलमा बसेर हामी तीनै जनाले जाँदादेखि आउँदासम्मका तस्बिर हेर्न थाल्यौँ । मेलम्ची र इन्द्रावतीको दोभान नजिक हामी पिपलको छहारीमा धेरै समय बस्यौँ । दिन ढल्किँदै थियो । त्यसपछि हामी मेलम्ची बजारतर्फ ओर्लियौँ ।

  • युट्युबले अब भिडिओको ‘डिस्लाइक’ संख्या प्राइभेट बनाउने

    युट्युबले अब भिडिओको ‘डिस्लाइक’ संख्या प्राइभेट बनाउने

    काठमाडौं । युट्युबले भिडिओको ‘डिस्लाइक’ संख्यालाई प्राइभेट बनाउने भएको छ । हाल युट्युबमा अपलोड गरेका सबै भिडिओको लाइक र डिस्लाइक सबै संख्या सार्वजनिक रूपमा नै देखिने गरेको छ ।

    गुगलको स्वामित्वमा रहेको युट्युबले डिस्लाइकको अप्सन नै नहटाउने तर संख्या भने प्राइभेट गर्ने घोषणा गरेको हो । प्रयोकर्ताले डिस्लाइक गर्दा गुगलको रिकम्मेन्डेसन एल्गोरिदमलाई जानकारी हुन्छ । त्यसैले डिस्लाइक नै गर्ने विकल्प भने नहटाउने भएको हो ।

    यो एक अध्ययनको नतिजापछि लिइएको निर्णय हो । त्यो अध्ययन गत वर्ष भएको थियो । डिस्लाइकको संख्या नदेखाएपछि कसैले नियोजित रूपमा लाइकभन्दा डिस्लाइक धेरै बनाउका लागि नियोजित रूपमा क्याम्पेनिङ गर्न पाउने छैनन् ।

    युट्युबले गरेको अध्ययनबाट भिडिओमा भएको डिस्लाइकको संख्या नदेखाइएको भिडिओमा तुलनात्मकरूपमा अन्य भिडिओमा भन्दा कम डिस्लाइक आएको थियो । यसबाट नियोजित रूपमा हुने डिस्लाइक कम हुने युट्युबको विश्वास छ ।

    यद्यपि, युट्युब स्टुडियोको ड्यासबोर्डमा गएर भने कन्टेन्ट क्रिएटरले डिस्लाइक संख्या हेर्न मिल्नेछ ।

  • घाँटी रेटिएको अवस्थामा भेटियो ८० वर्षका वृद्धको शव

    घाँटी रेटिएको अवस्थामा भेटियो ८० वर्षका वृद्धको शव

    सप्तरी । छिन्नमस्ता गाउँपालिका–६ खुदीबखारीस्थित एक फूलबारीमा सोही स्थानका ८० वर्षीय मिश्रिलाल मण्डलको हत्या भएको छ ।

    धारिलो हतियारले घाँटी रेटिएको अवस्थामा फेला परेको मण्डलको शव बुधबार अबेर राति सदरमुकाम राजविराज ल्याइएको छ । आवश्यक अध्ययन, अनुसन्धानपश्चात शव परीक्षणका लागि गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको र आज परीक्षण हुने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।

    छिन्नमस्ता–६ खुदीबखारीमा रहेको छिन्नमस्ता सडकखण्डको झौखराही नामक फूलबारीमा बुधबार अपराह्न शव फेला परेको थियो । घाँटी रेटिएको अवस्थामा शव फेला परेपछि प्रनाउ काफ्ले नेतृत्वको टोली घटनास्थल पुगेर अनुसन्धान गरेको छ ।

    घटनास्थलमा पुगेको प्रहरी टोलीले धारिलो हतियार प्रहार गरी घाँटी रेटेको देखिएको जनाएको छ । हत्या प्रकरणको सूक्ष्म अनुसन्धान भइरहेको जनाउँदै आवश्यक परे प्राविधिकसहितको विज्ञ टोली मगाइने उनले बताए ।

  • पक्राउ पर्नबाट बच्न आफ्नै मृत्यु दर्ता !

    पक्राउ पर्नबाट बच्न आफ्नै मृत्यु दर्ता !

    सुनसरी । अदालतबाट दोषी ठहरिएका एक फरार आरोपीले आफ्नो मृत्यु दर्ता प्रमाणपत्र बनाएर घरमा बसेको फेला परेको छ । सुनसरीको साविक चाँदबेला -१ (हाल इनरुवा ७) का डाँका मुद्दामा फरार प्रतिवादी अजित मियाँले आफ्नो मृत्यु प्रमाणपत्र बनाएर १० वर्ष घरमै बसोबास गरेको खुलेको हो ।

    मियाँलाई प्रहरीले गएकाे सोमबार घर नजिकैबाट दिउँसो पक्राउ गरेको हो । तत्कालीन भादगाउँ सिनवारी-६ (हाल रामधुनी- ५) बस्ने जैयस कुमार साहको घरमा १७ भदाै २०६८ राति डाँका डकैतीमा तीन जनाको संलग्नता रहेको खुलेको थियो । अन्य दुई जनालाई प्रहरीले तत्काल पक्राउ गर्न सफल भए पनि मियाँ फरार थिए ।

    उनीहरू तीनै जनालाई जिल्ला अदालतले ११ असार २०७५मा जनही ६ वर्ष कैद र ९९ हजार रुपैयाँ जरिवाना फैसला गरेको थियो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सञ्जय सिंह थापाका अनुसार मियाँले आफ्नो मृत्यु दर्ता प्रमाणपत्र समेत बनाएका कारण पक्राउ गर्न ढिलाइ भएको जानकारी दिए ।

    उनले २७ पुस २०७४ मा आफ्नो मृत्यु भएको भनी स्थानीय पञ्जिकाधिकारीको कार्यालयबाट मृत्यु दर्ता प्रमाणपत्र बनाएका थिए । प्रहरीले उनलाई पटक पटक पक्राउ गर्न प्रयास गर्दा उनले अजितको मृत्यु भइसकेको भन्दै आफूलाई अजितको भाइ अजिजको रूपमा चिनाउँदै आएका थिए । घटनाका पीडित र अर्का अभियुक्त लुचाई शर्मा खत्वेले उनी नै अजित भएको सनाखत गरेपछि मात्र पक्राउ गर्न सफल भएको प्रहरी उपरीक्षक थापाले जानकारी दिए ।

  • कोभिडबाट मार्चसम्म युरोप र एशियामा थप ७ लाखको मृत्यु हुने डब्लूएचओको चेतावनी

    कोभिडबाट मार्चसम्म युरोप र एशियामा थप ७ लाखको मृत्यु हुने डब्लूएचओको चेतावनी

    जेनेभा । कोभिड १९ बाट युरोप र एसियामा मार्चसम्म थप सात लाख मानिसको मृत्यु हुने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चेतावनी दिएको छ । सन् २०२२ को २२ मार्चसम्म ४९ देशका अस्पतालका आइसीयू बेड कोभिडका विरामीले भरिने डब्लूएचओले चेतावनी दिएको छ । कोभिडका कारण अहिलेसम्म युरोपमा १५ लाखभन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।

    पछिल्लो समयमा युरोपमा कोभिड संक्रमण पुनः तीव्र देखिएको छ । कोभिडकै कारण अस्ट्रियामा लकडाउन गरिएको छ भने युरोपका अन्य देशहरुले प्रतिबन्धात्मक उपायहरु लागु गरेका छन् ।

    सरकारले लगाएका प्रतिबन्धात्मक व्यवस्थाको विभिन्न देशमा विरोध भइरहेको छ । आंशिक लकडाउन जारी भएपछि नेदरल्यान्ड्समा हिंसात्मक प्रदर्शन भएका छन् ।

    फ्रान्स, जर्मनी, ग्रीसलगायतका केही देशले आफ्ना नागरिकलाई बुस्टर डोज दिने तयारी गरिरहेका छन् ।

    युरोपमा ठूलो संख्यामा मानिसको मृत्युको मुख्य कारण कोभिड भएको डब्लूएचओले ठहर गरेको छ ।

    युरोपमा कोभिडबाट दैनिक मृत्यु हुनेको संख्या अहिले चार हजार २०० नाघेको डब्लूचएओले जनाएको छ । रसियामा कोभिडबाट दैनिक १२ सय जनाको मृत्यु हुने गरेको छ ।

    अझै पनि युरोपको ठूलो जनसंख्याले खोप नलगाएको र डेल्टा भेरियन्टका कारण कोभिडबाट ज्यान जोगाउनेको संख्या बढ्दो छ ।

    डब्लूएचओका युरोप निर्देशक डा. हान्स क्लुग्ले खोप नलगाएका व्यक्तिलाई तत्काल खोप लगाउन आग्रह गरेका छन् । –एजेन्सी

  • राप्रपामा राजेन्द्र लिङ्देन अध्यक्ष, धवलशमशेर महामन्त्री !

    राप्रपामा राजेन्द्र लिङ्देन अध्यक्ष, धवलशमशेर महामन्त्री !

    काठमाडौं । राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देनसहितको उम्मेदवारी घोषणा गरिने भएकाे छ । बिहीबार लिङ्देनले अध्यक्षमा उम्मेदवारीमा घोषणा गरेका हुन् ।

    उनको प्यानलबाट महामन्त्रीमा धवलशमशेर राणाको उम्मेदवारी घोषणा गरिन लागिएको छ । ‘बिहीबार अध्यक्षमा राजेन्द्र लिङ्देन र महामन्त्रीमा धवलशमशेर राणाको उम्मेदवारी घोषणा हुन लागेको छ’, राप्रपाका युवा नेता अधिवक्ता सुजित केसीले भने, ‘बाँकी पदमा पछि घोषणा गरिनेछ ।’

    अध्यक्षमा उम्मेदवारी दिन लागेका लिङ्देन प्रदेशमा बलियो देखिएका छन् । सात प्रदेशमध्ये तीनमा लिङ्देन समूहबाट अध्यक्षमा निर्वाचित भएका छन् भने दुईवटा प्रदेशमा कमल थापा र एक प्रदेशमा पशुपतिशमशेर राणा पक्षधर अध्यक्षमा निर्वाचित हुँदा र लुम्बिनी प्रदेशका अध्यक्ष प्रदीप उदय कुन समूहका हुन् भन्ने खुलिसकेको छैन । यद्यपि, उनले लिङ्देनलाई समर्थन गर्न सक्ने राप्रपाका एक नेताले बताए ।

    लिङ्देन पक्षधरले प्रदेश २, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश अध्यक्षमा निर्वाचित भएका छन् । प्रदेश १ र बाग्मती प्रदेशमा कमल थापा समूहबाट अध्यक्षमा निर्वाचित हुँदा कर्णाली प्रदेशमा पशुपति पक्षधर अध्यक्षमा निर्वाचित भएका हुन् ।

    पछिल्लो समय थापा, राणा र प्रकाशचन्द्र लोहनीप्रति असन्तुष्ट युवा समूहले लिङ्देनलाई समर्थन जनाएका छन् । यो समूहले पुरानै व्यक्ति राप्रपाको नेतृत्वमा दोहोरिए पार्टीको अस्तित्व संकटमा पर्न सक्ने आंकलन गरेका छन् ।

    राप्रपाको महाधिवेशन १५–१७ मंसिरमा हुँदै छ ।

  • आईएसआई कश्मीरले दियाे भाजपा नेता गाैतम गम्भीरलाई हत्याकाे धम्की

    आईएसआई कश्मीरले दियाे भाजपा नेता गाैतम गम्भीरलाई हत्याकाे धम्की

    काठमाडाैं । आईएसआई कश्मीरले भारतीय जनता पार्टी (भाजपा) का नेता गौतम गम्भीरलाई हत्या गर्ने धम्की दिएको छ । पूर्वक्रिकेटरसमेत रहेका गौतमलाई कश्मीरमा सशस्त्र द्धन्द्ध मच्चाइरहेका आइएसआइका लडाकुले हत्या गर्ने धम्की दिएको सुरक्षा अधिकारीहरुले पुष्टि गरेका छन् ।

    गौतमलाई सो समूहले मंगलबार राती एउटा इमेल पठाएर परिवार र उनलाई हत्या गर्ने चेतावनी दिएको थियो ।

    धम्कीपछि उनले त्यसबारे सुरक्षाकर्मीलाई जानाकारी गराएका थिए । प्रहरीले उनको नयाँ दिल्लीस्थित निवासमा सुरक्षा सर्तकता कडा पारिएको छ । ४० वर्षीय गौतम भाजपाका केन्द्रीय सदस्य हुन् । उनी सन् २०१९ मा सम्पन्न लोक सभा निर्वाचनमा भाजपाका तर्फबाट निर्वाचित भएका थिए ।

    आफूलाई राष्ट्रवादीको छवि बनाएका गौतम कश्मीरको अतिवादी गतिविधिको प्रखर आलोचक हुन् । दिल्ली प्रहरीका उपकमिसनर श्वेता चौहानले भनिन्, ‘गौतमाथि अतिवादीले दिएको धम्कीबारे हामीले अनुसन्धान गरिरहेका छौँ । उनको निवासमा सुरक्षकर्मी परिचालन गरेका छौँ ।’

    – भारतीय सञ्चारमाध्यमकाे सहयाेगमा ।

  • फेरियाे साइबर सेनाको नाम, अब साइबर सर्कल

    फेरियाे साइबर सेनाको नाम, अब साइबर सर्कल

    काठमाडौं । साइबर सेनाको नाम फेरेर एमाले अध्यक्ष केपी शर्मा ओलीले साइबर सर्कल घोषणा गरेका छन् । युवा संगठनअन्तर्गत रहेको साइबर सेनाको नाम परिवर्तन गरिएको हो ।

    एमाले युवा नेता महेश बस्नेतको प्रस्तावमा ‘साइबर सेना’को नाम परिवर्तन गरिएको बताइएको छ । सेना शब्दले द्वन्द्व र हिंसाको अर्थ दिएकाले नाम परिवर्तन गरेर गरिएको एमाले अध्यक्ष ओलीले बताएका छन् ।

    युवा संघ नेपालको २०७८ माघ २५ र २६ गते बसेको बैठकले साइबर सेना गठन गर्ने निर्णय गरेको थियो ।

  • यस्ताे रहनेछ आजको मौसम

    यस्ताे रहनेछ आजको मौसम

    काठमाडौं । बिहीबार मुलुकका उच्च पहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

    बिहीबार राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आँशिक बदली रहनेछ । शुक्रबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाकाे बुलेटिनमा उल्लेख छ ।