Author: Hulak News

  • यी महिला प्रधानमन्त्री जसले नियुक्त भएको १२ घन्टापछि दिइन् राजीनामा

    यी महिला प्रधानमन्त्री जसले नियुक्त भएको १२ घन्टापछि दिइन् राजीनामा

    स्वीडेनमा मगडलेना एन्डरसनले प्रधानमन्त्रीमा नियुक्त भएको १२ घन्टापछि राजीनामा दिएकी छिन् । सरकारमा सहभागी दुई मुख्य पार्टी गठबन्धनबाट अलग भएको घोषणा गरेपछि एन्डरसनले राजीनामा दिएकी हुन् । तर, केही घन्टाका लागि भए पनि उनी देशकै पहिलो महिला प्रधानमन्त्री बन्न भने सफल भएकी छिन् ।

    ‘गठबन्धमा विभाजन भएपछि पदबाट राजीनामा दिएकी हुँ,’ राजीनमापछि आयोजित पत्रकार सम्मेलनमा एन्डरसनले भनिन् । उनले आफ्नो पार्टी सोसल डेमोक्रयाटिकले आगामी चुनावमा बहुमत ल्याउने र त्यसपछि आफू पुनः प्रधानमन्त्री हुने विश्वास व्यक्त गरेकी छिन् । ५४ वर्षीया एन्डरसन यसअघि अर्थमन्त्री थिइन् ।

    स्वीडेनमा महिलालाई मतदान गर्ने अधिकार दिएको १०६ वर्षपछि बुधबार प्रधानमन्त्रीमा ५४ वर्षीय सोसल डेमोक्रयाट नेतृ एान्डरसन नियुक्त भएकी थिइन् । उनी नियुक्त भएपछि संसद्मा सांसद्हरूले खुसी मनाएका थिए ।

    संसद्का ३४९ सांसद्मध्ये १७४ ले उनको विपक्षमा मत हालेका थिए ।

    बजेटको विषयमा मतभेद भएपछि गठबन्धनमध्येका दुई राजनीतिक दल सेन्टर पार्टी र ग्रीन्स पार्टी सरकारबाट बाहिरिने घोषणा गरेका थिए । गठबन्धन साझेदार ग्रीन्स पार्टीले आफूले उग्र दक्षिणपन्थीसँग पहिलोपटक मस्यौदा गरिएको बजेट अस्वीकार गरेको जनाएको छ । एजेन्सी

  • महिला टी-२० विश्वकप एसिया छनोटमा कुवेतकाे सामना गर्दै नेपाल

    काठमाडाैं । पहिलो खेलमा हार र दोस्रो खेलमा जित निकालेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको तेस्रो खेलमा बिहीबार कुवेतको सामना गर्दैछ ।

    दुबईस्थित आईसीसी एकेडेमीको मैदानमा हुने खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरू हुनेछ । प्रतियोगितामा कुवेतविरुद्ध खेल्दै गर्दा नेपाल दोस्रो जितको खोजीमा हुनेछ । नेपाल कुवेतलाई सहज रूपमा हराउँदै नेट रनरेट बढाएर शीर्षस्थानमा पुग्ने दाउमा हुनेछ ।

    मंगलबार भएको दोस्रो खेलमा नेपालले भुटानलाई ८ विकेटले जितेको थियो । सोमबार भएको पहिलो खेलमा नेपाल हङकङसँग ६ विकेटले हार्‍यो ।

    कुवेत भने प्रतियोगितामा पहिलो जितको खोजीमा छ । कुवेत दुवै खेलमा पराजित हुँदै तालिकाको पुछारमा छ । पहिलो खेलमा भुटानसँग ४० रनले पराजित कुवेत दोस्रो खेलमा मलेसियासँग ८१ रनले पराजित भएको थियो ।

    तेस्रो खेलमा जित निकाल्दै नेपाल ग्लोबल छनोटको सम्भावना कायमै राख्न चाहन्छ । त्यसका लागि रुबिना क्षेत्रीको कप्तानीमा रहेको नेपाली टोली तयार छ । ६ टोली सहभागी प्रतियोगिताको शीर्ष टोली ग्लोबल छनोटमा स्थान बनाउनेछ ।

    यसअघि नेपालले अन्तिम पटक सन् २०१९ मा भएको खेलमा कुवतेलाई ३० रनले पराजित गरेको थियो ।

    यता बिहीबार एकै समयमा मलेसियाले हङकङसँग खेल्नेछ । प्रतियोगिताको चौथो खेलमा नेपालले शुक्रबार मलेसियाविरुद्ध र पाँचौँ खेलमा आइतबार संयुक्त अरब ईमिरेट्स (यूएई)विरुद्ध खेल्नेछ ।

    जारी प्रतियोगितामा दुई खेलमा दुई नै जित निकालेको यूएई चार अंकसहित शीर्ष स्थानमा छ । नेपाल, मलेसिया, हङकङ र भुटानको समान चार अंक रहँदा नेट रनरेटका आधारमा क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौँ स्थानमा छन् । बिनाअंक कुवेत पुछारमा छ ।

  • रियल मड्रिड र इन्टर मिलान नक आउट चरणमा

    रियल मड्रिड र इन्टर मिलान नक आउट चरणमा

    काठमाडौंं । स्पेनिस क्लब रियल मड्रिड र इटाली क्लब इन्टर मिलन समूह ‘डी’ बाट एक खेल बाँकी रहँदै यूईएफए च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेका छन् ।

    बिहीबार राति भएको खेलमा रियलले मोल्दोभाको एफसी सेरिफमाथि ३-० को सहज जित निकाल्यो । रियललाई अन्तिम १६ मा पुर्‍याउन सेरिफविरुद्ध डेभिड अलाबा, टोनी क्रुस र करिम बेन्जेमाले १/१ गोल गरे ।

    समूह ‘डी’ कै अर्काे खेलमा इटालीयन सिरी ए क्लब इन्टर मिलानले युक्रेनी क्लब साख्तर डोनेस्कलाई २–० ले पराजित गरेकाे छ । इन्टरको जितमा दुबै गोल इडेन जेकोले गरेका थिए ।

    जितसँगै समूह ‘डी’ मा रियल ५ खेलबाट १२ अंक जोडेर शीर्ष स्थानमा छ । १० अंक जोडेको मिलन दोस्रो स्थानमा छ । पराजित सेरिफको ६ अंक रहँदा पुछारको साख्तर डोनेस्कसँग १ अंक रह्यो ।

    यस खेलको समूह विजेता र उपविजेता भने अन्तिम खेलबाटमात्रै निर्णय हुनेछ । पराजित सेरिफ र साख्तर भने समूह चरणबाटै बाहिरिए ।

  • सिटी समूह विजेता, पीएसजी पराजित

    सिटी समूह विजेता, पीएसजी पराजित

    काठमाडौं । स्टार खेलाडीले भरिएको पेरिस सेण्ट जर्मेनलाई पराजित गर्दै म्यानचेष्टर सिटी यूईएफए च्याम्पियन्स लिगको समूह ‘ए’ को विजेताको रुपमा नकआउट चरणमा स्थान पक्का गरेको छ ।

    बुधबार राति सिटीले घरेलु मैदान एतिहादमा पिएसजीलाई २–१ गोल अन्तरले पराजित गरेको हो । खेलमा तीनै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।

    भ्रमणकारी टोली पिएसजीका केलियन एमबाप्पेले खेलको ५०औँ मिनेटमा टोलीको लागि अग्रता लिएका थिए । तर रहिम स्टर्लिङले खेलको ६३ मिनेटमा बराबरी गोल गरे भने ग्रावियल जेसुसले ७६ मिनेटमा २–१ को अग्रता बनाए ।

    स्पेनिस क्लब रियम मड्रिडबाट पेरिस झरेका सर्जियो रामोस सिटीविरुद्ध टोलीमा समावेश भएपनि डेब्यु भने गर्न पाएनन् । सिटीविरुद्ध पिएसजीले लियोनल मेस्सी, नेयमार र एमबाप्पेको जोडीलाई अग्रपंक्तिको जिम्मेवारी दिएपनि सफल भएनन् ।

    यस समूहबाट सिटी समूह विजेताको रुपमा अन्तिम १६ मा स्थान बनाउँदा पिएसजी उपविजेताको रुपमा नक आउट चरणमा स्थान बनायो ।

    समुह ए को अर्को खेलमा आरबी लाइपजिगले क्लब ब्रुगलाई ५–० ले पराजित गर्‍याे । जितसँगै सिटीले ५ खेलमा १२ अंक जोड्दै शीर्षस्थान कब्जा गर्‍याे । पिएसजी समान खेलमा ८ अंकसहित दोस्रो स्थानमा छ । लाइपजित र ब्रुगको समान ४ अंक रहेको छ ।

  • बायर्नलाई ८ अंकको अग्रता, बार्सिलोना बराबरीमा

    बायर्नलाई ८ अंकको अग्रता, बार्सिलोना बराबरीमा

    काठमाडौं । ड्यनामो केईभलाई पराजित गर्दै जर्मन बुण्डेसलिगा क्लब बायर्न म्युनिखले युईएफए च्याम्पियन्स लिगको समूह ‘इ’ मा ८ अंकको अग्रता बनाएको छ ।

    मंगलबार राति भएको खेलमा बायर्नले ड्यानामो केइभलाई २–१ गोलले परातिज गरेको हो ।

    राति नै भएको खेलमा स्पेनिस क्लब बार्सिलोना बेन्फिकासँग गोलरहित बराबरीमा रोकिएपछि बायर्नले समूहमा ८ अंकको अग्रता लिएको हो । बायर्नले यसअघि नै प्रतियागिताको नकआउट चरणमा स्थान बनाइसकेको छ ।

    बार्सिलोनाले भने अन्तिम खेलबाट नै अन्तिम १६ को स्थान बनाउने छ । अन्तिम खेलमा बार्सिलोनाले बायर्नको सामना गर्नेछ । बेन्फिका र ड्यनामो भिड्नेछन् । यस खेल बराबर भए अथवा बार्सिलोना आफ्नो खेलमा विजयी भए अन्तिम १६ मा स्थान बनाउनेछ ।

    मंगलबार भएको खेलमा भ्रमणकारी टोली बायर्नलाई जिताउन रोबर्ट लेवाण्डोस्की र किङस्ले कोम्यानले समान १/१ गोल गरे । केइभको लागि डेनिस गार्मन्सले १ सान्त्वना गोल गरे ।

    पहिलाे पटक पूर्वखेलाडी जाभि हर्नाण्डेजको प्रशिक्षणमा च्याम्पियन्स लिग खेलेको बार्सिलोना बेन्फिकासँग गोलरहित बराबरीमा रोकियो । जितले बार्सिलोना नक आउट चरणमा स्थान बनाउने थियो । बराबरीसँग उसले अर्काे खेल कुर्नपर्ने भएको छ ।

    समूह ‘इ’ मा बायर्नको ५ खेलबाट १५ अंक छ । बार्सिलोनाको ७ अंक रहँदा बेन्फिकाको ५ अंक रहेको छ । पुछारमारहेका केईभको १ अंक छ ।

  • यी स्थानमा वर्षा र हिमपातकाे सम्भावना

    यी स्थानमा वर्षा र हिमपातकाे सम्भावना

    काठमाडौं । नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । बुधबार बिहान पहाडी भूभागमा आंशिक बदली छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा छ ।

    दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी क्षेत्रका एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

    राति देशका पहाडी भूभागमा बदली रहनेछ । बिहीबार प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा हल्का वर्षाको आँकलन गरिएको छ ।

  • संशोधनबिना एमसीसी पारित गर्नुपर्छ : प्रचण्ड

    संशोधनबिना एमसीसी पारित गर्नुपर्छ : प्रचण्ड

    कैलाली । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोगसम्बन्धी प्रस्ताव मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्नुपर्ने बताएका छन् ।

    पार्टीको कार्यक्रममा सहभागि हुन बुधबार धनगढी आइपुगेका प्रचण्डले सुरुमा गरिएको एमसीसीको सम्झौतालाई पारित गर्नुपर्ने बताएका हुन् ।

    आफू प्रधानमन्त्री हुँदा २९ भदौ २०७४ मा अमेरिकामा नेपालका तर्फबाट तत्कालीन अर्थमन्त्री तथा कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले र एमसीसीका तर्फबाट कार्यवाहक सीईओ जोनाथन नाशबीच भएको एमसीसीको सम्झौता नै पारित गर्नुपर्ने प्रचण्डले बताएका हुन् ।

    ‘सुरुमा संसदबाट पारित गर्नुपर्ने गरी एमसीसी सम्झौता भएको थिएन’, प्रचण्डले भने, ‘पछि ओली सरकारले त्यसलाई परिमार्जित गरेर संसदबाट पास गर्नुपर्ने नीति ल्याएपछि विवाद बढेको छ, त्यसैले सुरुको सम्झौतामा फर्केर पास गर्नुपर्छ ।’

    अमेरिकी सहयोग नेपालले लिँदै आएको र एमसीसी पनि स्वीकार्नु पर्ने बताएका उनले अमेरिकी सहयोग नलिने नेपालको नीति पनि नरहेको स्पष्ट पारे ।

    अमेरिकासँग ७५ वर्षदेखि सम्बन्ध रहेको र त्यसबीचमा सबै सहयोग नेपालले लिँदै आएको स्मरण गराउँदै प्रचण्डले एमसीसी पनि स्वीकारेर सदनबाट पारित गर्नुपर्ने बताएका हुन् ।

    ‘तर, संसदबाट पारित गर्ने भन्दै ओली नेतृत्वको सरकारले एमसीसीका केही जटिल बँुदा थपेको छ । सुरको सम्झौता विवादित थिएन । त्यसैले सुरुवाती सम्झौतामा फर्केर सो योजना पास गर्नुपर्दछ’, उनले भने ।

  • राखेप पूर्वउपाध्यक्ष टेण्डी शेर्पाको निधन

    राखेप पूर्वउपाध्यक्ष टेण्डी शेर्पाको निधन

    काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्वउपाध्यक्ष लामा टेण्डी शेर्पाको ५१ वर्षको उमेरमा निधन भएको छ ।

    नेपाल बास्केटबल संघका पूर्वअध्यक्षसमेत रहेका शेर्पाको बुधबार बिहान ३ बजे निधन भएको नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापाले जानकारी दिए । उनी मोटर न्युरोन डिजिजबाट ग्रसित थिए ।

    अमृत साइन्स क्याम्पसका पूर्वस्ववियु सभापतिसमेत रहेका शेर्पा नेपाल ओलम्पिक कमिटी र नेपाल खेलकुद महासंघका पूर्वमहासचिव पनि हुन् ।

  • तीनै तहको चुनाव एकैपटक हुनसक्छ : प्रचण्ड

    तीनै तहको चुनाव एकैपटक हुनसक्छ : प्रचण्ड

    धनगढी । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीनै तहको निर्वाचन एकैपटक गर्ने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल भएको बताएका छन् ।

    बुधबार धनगढी विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले तीनै तहको निर्वाचन एकैपटक गर्नुपर्ने आवाज बलियो रुपमा उठ्न थालेपछि प्रधानमन्त्री देउवासँग छलफल गरिएको बताएका हुन् । ‘प्रधानमन्त्रीज्यू पनि त्यस विषयमा सकारात्मक हुनुहुन्छ,’ अध्यक्ष प्रचण्डले भने,‘सबै तहसँग छलफल गरेर उपयुक्त निष्कर्षमा पुगिने छ,’ उनले भने । पटकपटक चुनाव गर्दा राज्यलाई खर्च भार पनि बढी हुने र जनतालाई पनि दिक्क लाग्ने हुँदा सबै चुनाव एकैपटक गर्नुपर्ने माग आउन थालेको उनले बताए ।

    प्रचण्डले सर्वोच्च अदालतमा देखिएको समस्या छिट्टै समाधान हुने बताए । अदालतभित्र देखिएको समस्या आन्तरिक रुपमै समाधान हुनुपर्ने बताउँदै उनले त्यसो नभएमा एक दुई दिनमा पाँच दलीय गठबन्धनले एक स्टेपमाथि गएर अर्को निर्णय गर्ने बताए ।

  • गुल्मीमा एकैपटक ८० हजारलाई काेभिडविरुद्धकाे खोप

    गुल्मीमा एकैपटक ८० हजारलाई काेभिडविरुद्धकाे खोप

    गुल्मी । गुल्मीमा एकैपटक ८० हजार नागरिकलाई काेभिड-१९ विरुद्धकाे खोप लगाउन सुरु गरिएको छ । जिल्लामा अहिलेसम्म करिब साढे ६२ हजारले खोप लगाएका छन् ।

    तर, मंगलबारबाट १८ वर्ष माथिका नागिरकलाई पुग्नेगरी खाेप लगाउन सुरु भएकाे प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए । मंगलबारबाट जिल्लाका १२ वटै स्थानीय तहका सबै स्वास्थ्य सस्थाबाट खोप अभियान सञ्चालन भइरहेको छ ।

    जिल्ला आएकाे ८० हजारमध्ये ७९ हजार ६ सय डोज खोप १२ वटै स्थानीय तहमा पठाइएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख पशुपति आचार्यले जानकारी दिए । यो खोप १८ वर्ष भन्दा माथि र तीन महिनाको गर्भ नाघेका महिलालाई परिचय पत्रको आधारमा दिइने व्यवस्था मिलाइएको आचार्यले बताए । खोप अभियान बिहीबारसम्म चल्ने स्वास्थ्य कार्यालयले जनाएको छ ।