Author: Hulak News

  • काठमाडौँमा भोलिदेखि विद्यालय खुल्ने, पढाइ पर्सिबाट

    काठमाडौँमा भोलिदेखि विद्यालय खुल्ने, पढाइ पर्सिबाट

    काठमाडौँ महानगरपालिका अन्तर्गत सञ्चालित विद्यालय आइतबार देखि खुल्ने भएका छन् । महानगरको शिक्षा विभागले आज एक सूचना जारी गर्दै भोलिदेखि विद्यालयहरू खोल्न निर्देशन दिएको हो । भोलिदेखि विद्यालय खुलेपनि पठनपाठन भने सोमबारबाट मात्र हुने छ ।

    “सबै शिक्षक तथा कर्मचारीहरू मिति २०८२।०५।२९ गते आइतबारदेखि विद्यालयमा उपस्थित हुने, तर उक्त दिन विद्यार्थीलाई विद्यालयमा नबोलाउने,” महानगरको सूचनामा भनिएको छ ।

    महानगरले भोलि शिक्षक कर्मचारीहरूलाई विद्यालयमा उपस्थित हुन र विद्यालयको प्रशासनिक कार्यका साथै सरसफाइ सम्बद्ध कार्यहरू गर्न तथा कुनै प्रकारको क्षति देखिएमा महानगरमा विवरण उपलब्ध गराउन भनेको छ ।

    विद्यार्थीहरूका अभिभावकसँग सम्पर्क गरी अवस्था सामान्य नहुन्जेल आफ्ना बालबालिकालाई विद्यालय ल्याउन र लैजाने कार्य आफैँ गर्न अनुरोध समेत भनिएको छ । अभिभावकले आफ्नो बालबालिकाको ल्याउने र लैजाने गरी जिम्मा लिएमा र परिस्थिति सामान्य भएमा सोमबारदेखि विद्यालयमा ल्याई मनोसामाजिक परामर्शसँगै अध्ययन अध्यापन गराउन महानगरको निर्देशन छ ।

    अभिभावकले ल्याउने वा लैजाने अवस्था नभए भर्चुअल क्लासमार्फत सहजीकरण गर्न भनिएको छ ।

  • प्रधानमन्त्री कार्कीले भेटिन जेनजी आन्दोलनका घाइते

    प्रधानमन्त्री कार्कीले भेटिन जेनजी आन्दोलनका घाइते

    अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका घाइतेहरूलाई भेटेकी छिन् ।

    प्रधानमन्त्री कार्की शनिबार घाइतेहरूको स्वास्थ्य अवस्था बुझ्न सिभिल अस्पताल र ट्रमा सेन्टर  पुगेकी हुन्।

    उनले घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेकी छिन्।

    जेनजी आन्दोलनमा घाइते भएकामध्ये अझै पनि ३ सय बढीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

  • खुल्यो भाटभटेनी, १६ शाखाबाट सेवा सुरु

    खुल्यो भाटभटेनी, १६ शाखाबाट सेवा सुरु

    जेनजीका आन्दोलनका कारण तोडफोड र लुटपाटमा परेको भाटभटेनी सुपरमार्केट पुनः सञ्चालनमा आएको छ । शनिबार एक विज्ञप्ती जारी गर्दै भाटभटेनीले तोडफोड र आगजनीबाट जोगिएका शाखा पुनः सञ्चालनमा ल्याइएको जनाएको हो ।

    भाटभटेनीले जारी गरेको विज्ञप्तीमा भनिएको छ,  ‘हामी पुनः फर्किएका छौं, तपाईंले सधैं विश्वास गर्नुभएको माया, सेवा र प्रतिबद्धतासहित।’

    हाललाई भाटभटेनीका काठमाडौँ उपत्यकाभित्रको टोखा, सातदोबाटो, अनामनगर, सानागाउँ, त्रिपुरेश्वर, पाटन, कलंकी  राधेराधे र बालाजुको स्टोर खुला भएका छन । उपत्यकाबाहिरका हकमा नेपालगञ्ज, जनकपुर, बुटवल, वीरगञ्ज, धनगढी, इटहरी र भैरहवाका शाखा सञ्चालनमा आएका छन । यही भदौ २३ र २४ गतेको जेनजी आन्दोलनकाश दौरान देशभरिका  भाटभटेनी सुपरमार्केटमा तोडफोड र आगजनी गरिएको थियो ।

    सुपरमार्केटले आगामी दिनहरूमा अझ उज्यालो र शान्त वातावरणतर्फ अघि बढ्ने विश्वास व्यक्त गर्दै उपभोक्तालाई नजिकका शाखाबाट खरिद गर्न भनेको छ । भाटभटेनीले आफू केवल पसल मात्र नभई ग्राहकको परिवार भएको उल्लेख गर्दै धैर्य, समर्थन र विश्वासका लागि ग्राहकलाई धन्यवाद ज्ञापन समेत गरेको छ।

    देशभर भाटभटेनी सुपरस्टोरका २८ वटा शाखा छन् ।

  • कुलमान भन्छन्: मन्त्री बन्ने प्रस्ताव आएको छैन

    कुलमान भन्छन्: मन्त्री बन्ने प्रस्ताव आएको छैन

    नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी प्रमुख कुलमान घिसिङले आफूलाई मन्त्री बन्न प्रस्ताव नआएको बताएका छन् । हुलाक सञ्चारसँगको कुराकानीका क्रममा घिसिङले हालसम्म जेनजी वा अन्य कुनै पक्षबाट मन्त्री बन्नका लागि प्रस्ताव नगरेको बताएका हुन् ।

    घिसिङले भने, “बाहिरतिर मन्त्रीका रूपमा मेरो नाम पनि चर्चा भइरहेको सुनेको छु, तर हालसम्म कसैले पनि मलाई मन्त्रीका रूपमा प्रस्ताव गरेको छैन ।”

    पछिल्लो समय जेनजीको एक समूहले घिसिङलाई प्रधानमन्त्री बनाउन लबिङ गर्दै आएको थियो । तर जेनजीले अन्तरिम सरकारको प्रधानमन्त्रीका रूपमा सुशीला कार्कीको नाममा सहमति गर्यो । फलस्वरूप, शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्दै शपथ समेत गराएका छन् ।

    कार्कीले शपथ लिएपछि उनको मन्त्रिपरिषद्मा मन्त्री बन्ने पात्रहरूको खोजी सुरु भएको छ । संविधानले सङ्घीय मन्त्रिपरिषद् प्रधानमन्त्रीसहित बढीमा २५ सदस्य हुने व्यवस्था गरेको छ । कार्कीले राज्यमन्त्रीसहित अधिकतम २४ जनालाई मन्त्री बनाउन पाउने छिन् । तर कार्कीले सम्भवतः त्योभन्दा सानो मन्त्रिपरिषद् गठन गर्नेछिन् ।

    विषम परिस्थितिमा सेवा प्रवाह, शान्ति सुव्यवस्था कायम गर्दै निर्वाचन गराउन सक्ने, मन्दीमाझको अर्थतन्त्रलाई गति प्रदान गर्न सक्ने, नियमित बिजुली आपूर्तिमा भइरहेको समस्या हल गर्न सक्ने जस्ता मन्त्री अहिलको आवश्यकता हो । यही आवश्यकताका माझ मन्त्री बनाइनुपर्ने व्यक्तिका रूपमा घिसिङको चर्चा सुरु भएको हो । धेरैले उनलाई उर्जामन्त्रीका रूपमा देख्न चाहेका छन् । प्राधिकरणमा हुँदा लोडसेडिङ अन्त्य गराएकै कारण घिसिङ उर्जामन्त्री बन्नुपर्ने धेरैको माग छ । केहीले भने उनले जुनसुकै मन्त्रालय हाँक्न सक्ने तर्क गरिरहेका छन् । यी तर्क र चर्चाका माझ घिसिङले भने आफूलाई मन्त्रीको प्रस्ताव नआइसकेको बताएका हुन् ।

    “मन्त्रीको प्रस्ताव आएको खण्डमा जिम्मेवारी सम्हाल्न तयार हुनुहुन्छ?” भन्ने हुलाक सञ्चारको पूरक प्रश्नमा घिसिङले भने, “त्यसबारे सोचिसकेको छैन, प्रस्ताव आएपछि बिचार गर्छु ।”

  • जेनजी आन्दोलनपछि कांग्रेसलाई नयाँ बाटोतर्फ लैजाने शेखर कोइरालाको संकल्प

    जेनजी आन्दोलनपछि कांग्रेसलाई नयाँ बाटोतर्फ लैजाने शेखर कोइरालाको संकल्प

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालको पछिल्लो राजनीतिक परिस्थितिबारे आफ्नो धारणा सार्वजनिक गर्दै ‘जेनजी’ आन्दोलनको युवा ऊर्जा र चेतनाको कारण दुई ठूला राष्ट्रिय दल सत्ताबाट बाहिरिन बाध्य भएको बताएका छन् ।

    शनिबार विज्ञप्ति जारी गर्दै उनले भदौ २३ र २४ गतेको घटनापछि उदाएको नयाँ सरकारले आम नागरिकको भरोसा जित्ने विश्वास व्यक्त गर्दै डा. कोइरालाले यसलाई सतर्कतापूर्वक हेर्नुपर्ने बताएका छन् ।

    यद्यपि, उनले भदौ २४ गतेको आन्दोलनको क्रममा भएको लुटपाट, आगजनी र तोडफोडको कडा निन्दा गरेका छन् । विशेषगरी, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा भएको आक्रमण र उहाँकी पत्नीमाथि भएको हातपातलाई उनले ‘जघन्य अपराध’ को संज्ञा दिएका छन् ।

    उनले एकपटक पुनः लोकतान्त्रिक इतिहासका योद्धा, नेता र शहिदहरुलाई सम्झेर कांग्रेसले भावी दिनमा आफ्नो भूमिका तय गर्नुपर्ने बताएका हुनु । विज्ञप्तिमार्फत उनले भने, ‘हामी चुक्यौं, हामीले समयको पदचाप बुझ्न सकेनौं । त्यसकै परिणाम दुई ठूला दल सत्ता बाहिरिन बाध्य भए । अब हामी युवाको चाहना र समाजको भावनालाई आत्मसात गर्दै शक्तिशाली राष्ट्र निर्माणमा समर्पित हुनेछौं ।’ नेताले नेपाली कांग्रेसका पुराना नेता विपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाको संघर्ष र बलिदानलाई स्मरण गर्दै लोकतान्त्रिक समाजवादलाई पुनः सशक्त बनाउने प्रण पनि गरे ।

    विशेषगरी भाद्र २४ गते जेनजी आन्दोलनको क्रममा आगजनीमा परेको विराटनगरस्थित ऐतिहासिक कोइराला निवासबारे उनले भावुक हुँदै भने, ‘कोइराला निवासको भौतिक संरचना खरानी हुन सक्छ, तर विपी विचार जलाउन सकिँदैन । कोइराला निवासको खरानीबीचबाट कांग्रेसको नवनिर्माणमा जुट्नेछौं ।’

    उनले दशैंपछि देशव्यापी बहस, छलफल र संगठनात्मक नविकरणको अभियान लिएर पार्टीभित्र नयाँ विचार, नेतृत्व र संगठन निर्माणमा लाग्ने घोषणा गर्दै पार्टीलाई ‘जनताको केन्द्रमा बस्ने कांग्रेस’ बनाउने संकल्प व्यक्त गरेका छन् ।

  • काठमाडौंमा कर्फ्यू तथा निषेधाज्ञा हट्यो, निषेधित क्षेत्र सम्बन्धी आदेश कायमै

    काठमाडौंमा कर्फ्यू तथा निषेधाज्ञा हट्यो, निषेधित क्षेत्र सम्बन्धी आदेश कायमै

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लामा लगाएको कर्फ्यू तथा निषेधाज्ञा हटाएको छ ।

    शनिबार एक सूचना जारी गर्दै जिल्लामा लगाएको कर्फ्यू तथा निषेधाज्ञा हटाए पनि निषेधित क्षेत्र सम्बन्धी आदेश भने कायमै रहेको जानकारी दिएको हो ।

    सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ता मुक्तिराम रिजालले गत २६ गतेको प्रमुख जिल्ला अधिकारी छवि रिजालको आदेश कायमै रहेको जानकारी दिए ।

    ‘यस जिल्लाको पछिल्लो सुरक्षा अवस्थाको विश्लेषणको आधारमा जिल्लामा लगाइएको कर्फ्यू तर, सुरक्षा तथा निषेधाज्ञा मिति २०८२/०५/२८ गते देखि हटाइएको छ,’ विज्ञप्तिका लेखिएको छ,‘संवेदनशीलताको आधारमा मिति २०८२/०४/२६ गतेको प्रमुख जिल्ला अधिकारीको आदेश अनुसार विभिन्न स्थानमा तोकिएको निषेधित क्षेत्र सम्बन्धी आदेश भने कायमै रहेको व्यहोरा सबैको जानकारीको लागि अनुरोध छ,’ सूचनामा उल्लेख गरिएको छ ।

  • मन्त्री बन्न लागेको हल्लाबारे सुमनाले दिइन् स्पष्टीकरण

    मन्त्री बन्न लागेको हल्लाबारे सुमनाले दिइन् स्पष्टीकरण

    काठमाडाैं । रास्वपा नेतृ तथा पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी नहुने बताएकी छन् । भिडिओ सन्देश जारी गर्दै आफू मन्त्री बन्न लागेको भनी चलाइएका हल्लाको खण्डन गरेकी हुन् ।

    उनी शीतल निवासमा प्रधानमन्त्री सुशीला कार्कीको सपथग्रहणमा उपस्थित भएपछि यस्तो अनुमान लगाएर चर्चा भएका थिए । भ्रममा कोही पनि नपर्न भन्दै उनले नयाँ सरकारमा मन्त्री नबन्ने बताएकी छन् ।

    सामाजिक सञ्जालमा उनले लेखेकी छन्–

    म अन्तरिम मन्त्रीमण्डलमा जान लागेको हैन । मेरो यस सरकारप्रति पूर्ण समर्थन छ। यो सरकारलाई असफल हुने सहुलित छैन, पृष्ठभूमिमा बसेर यो सरकारलाई सफल गराउन मेरो अनुभव, सञ्जाल र समय दिनेछु, तर कुनै मन्त्रीको पद भने लिने छैन ।

    हरेक आन्दोलन पछि जसको विरुद्ध आन्दोलन भएको हो त्यही पुरानो शक्तिसँग लसपस हुँदा आन्दोलनको मर्म प्रदुषित भएको छ । यसपालिको आन्दोलनमा म त्यस्तो प्रदुषणको कारक बन्दिन, यसको उपलब्धि संस्थागत गर्न दिलो ज्यान दिएर काम गर्छु ।

    सत्ता होइन, सेवा गर्ने!
    कुर्सी होइन, कर्म गर्ने!
    नाम होइन, काम गर्ने!

  • हट्यो काठमाडौँको निषेधाज्ञा र कर्फ्यु, जनजीवन सामान्य बन्दै

    हट्यो काठमाडौँको निषेधाज्ञा र कर्फ्यु, जनजीवन सामान्य बन्दै

    काठमाडौँमा लाग्दै आएको निषेधाज्ञा र कर्फ्यु आजबाट हटेको छ । काठमाडौँ जिल्ला सुरक्षा समितिले निषेधाज्ञा र कर्फ्यु  हटाउने निर्णय गरेको हो ।

    निषेधाज्ञा र कर्फ्यु हटेसँगै काठमाडौँको जनजीवन सामान्य हुँदै गएको छ । बिहानैबाट काठमाडौँमा सर्वसाधारणको चहलपहल बढेको छ ।

    जेनजी आन्दोलनपछि नेपाली सेनाले दिउसोमा निषेधाज्ञा र रातिको समयमा कर्फ्यु लगाउँदै आएको थियो । तर शुक्रबार साँझ अन्तरिम प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त भएर शपथ लिएसँगै निषेधाज्ञा र कर्फ्यु हटेको हो ।

    निषेधाज्ञा र कर्फ्यु हटे पनि महत्त्वपूर्ण स्थानमा तोकिएको निषेधित क्षेत्र भने कायम रहेको बताइएको छ ।

  • रेकर्ड ब्रेकर सुशीला कार्की: प्रथम महिला प्रधानन्यायाधीशदेखि प्रथम महिला प्रधानमन्त्रीसम्म

    रेकर्ड ब्रेकर सुशीला कार्की: प्रथम महिला प्रधानन्यायाधीशदेखि प्रथम महिला प्रधानमन्त्रीसम्म

    नेपालकी पहिलो महिला प्रधानन्यायाधीश सुशीला कार्कीको जन्म २००९ जेठ २५ गते शङ्करपुर–३, विराटनगरमा भएको हो।

    कार्कीले २०२८ मा महेन्द्र मोरङ कलेज, विराटनगरबाट बिए र २०३१ मा बनारस हिन्दु विश्वविद्यालयबाट राजनीति शास्त्रमा एमए गरेकी छिन्। २०३४ सालमा त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक गरेपछि कानुनी क्षेत्रमा प्रवेश गरिन्।

    २०३५ सालदेखि कार्कीले अधिवक्ता भएर काम सुरु गरेकी थिइन्। उनले २०४२ देखि २०४६ सम्म महेन्द्र बहुमुखी क्याम्पस, धरानमा अध्यापनसमेत गरिन्।

    २०४५ देखि २०४७ सम्म कार्की कोसी अञ्चल बारको अध्यक्षको जिम्मेवारी लिँदै २०५९ देखि २०६१ सालसम्म विराटनगर पुनरावेदन बारको अध्यक्ष बनिन्। २०६१ पुस ५ गते वरिष्ठ अधिवक्ता बनिन ।

    त्यसको ४ वर्षपछि उनले न्यायधिशका रूपमा सर्वोच्च प्रवेश गर्ने अवसर पाइन । उनी २०६५ माघ ९ गते सर्वोच्च अदालतको अस्थायी न्यायाधीशमा नियुक्त भइन्। त्यसपछि उनी २०६७ मङ्सिर २ गते सर्वोच्च अदालतको स्थायी न्यायाधीश बन्न पुगिन्। त्यसको ६ वर्षपछि अर्थात् २०७३ को असारमा उनी प्रधानन्यायाधीश बनिन जसले उनलाई नेपालको पहिलो महिला प्रधानन्यायाधीश का रूपमा स्थापित गरायो ।

    कार्कीले २०७३ साल असार २७ गतेदेखि २०७४ जेठ २४ गतेसम्म, अर्थात् ११ महिना प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालिन। प्रधानन्यायाधीशका रूपमा उनले न्यायपालिकामा भ्रष्टाचारविरुद्ध शून्य सहिष्णुताको नीति अँगालेकी थिइन् । तत्कालीन समयमा दलका नेताहरूसँगै प्रशासन र अन्य क्षेत्रमा एक किसिमको आतङ्कै मच्चाइरहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको मुद्दा समेत उनैले ब्युँताइदिएकी थिइन् । मुद्दा ब्युँताइदिने उनको फैसलाकै कारण पछि गएर लोकमान त्यस पदका लागि अयोग्य ठहरिए । उनको कार्यकालमा सर्वोच्चले धेरै भ्रष्टाचारको मुद्दामाथि फैसला गरेको थियो । साथै, महिला सशक्तीकरणको क्षेत्रमा समेत पनि उनले ऐतिहासिक फैसलाहरू गरेकी छिन् ।

    तर प्रधानन्यायाधीशका रूपमा उनको बहिर्गमन भने सुखद रहेन । उनलाई नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धन सरकारले महाअभियोग दर्ता गरायो । जसले उनी निलम्बनमा परिन । त्यसविरुद्ध सर्वोच्च अदालतमै परेको मुद्दामा तत्कालीन न्यायधिश चोलेन्द्र शमशेर जबराको इजलासले महाअभियोग विरुद्धमा फैसला गरेपछि उनी सर्वोच्चमा फर्किन तर मुद्दा भने हेरिनन् ।

    उनै कार्की १० वर्षपछि अन्तरिम सरकारको प्रमुखको जिम्मेवारीमा पुगेकी छिन् । योसँगै नेपालको पहिलो महिला प्रधानमन्त्रीका रूपमा कार्कीले इतिहासमा आफ्नो नाम दर्ज गरेकी छिन् । कानुनी पृष्ठभूमि, राजनीतिक सुझबुझ र परिपक्वताका कारण उनको नाममा जेनजीसहित सेना र राष्ट्रपति सहमत भएका छन् । प्रधानमन्त्रीका रूपमा कार्कीसँग मुख्य गरी जेनजी आन्दोलन सम्बन्धी घटनाको छानबिन, आन्दोलनमा ज्यान गुमाएका परिवारलाई राहतसँगै भ्रष्टाचारका ठुला काण्डमाथि छानबिन र आम निर्वाचन गराउनु मुख्य जिम्मेवारी रहने छन् ।

  • प्रतिनिधिसभा विघटन गर्ने सहमति, प्रधानमन्त्रीमा सुशीला कार्कीको आजै शपथ

    प्रतिनिधिसभा विघटन गर्ने सहमति, प्रधानमन्त्रीमा सुशीला कार्कीको आजै शपथ

    शीतल निवासमा प्रतिनिधिसभा विघटन र सुशीला कार्कीलाई प्रधानमन्त्री बन्ने सहमति जुटेको छ । शीतल निवासमा राष्ट्रपति, जेनजी समूहका प्रतिनिधि र सुशीला कार्कीसहितका बिचमा जारी वार्तामा उक्त सहमति जुटेको हो ।

    राष्ट्रपति कार्यालय स्रोतका अनुसार कार्कीलाई आजै राति ८:४५ मा शपथ खुवाउने तयारी छ । त्यसका लागि प्रधानमन्त्री नियुक्त गर्ने नियुक्ति पत्र लेखनसँगै प्रतिनिधिसभा विघटनको निर्णयको मस्यौदा लेखनको कार्य भइरहेको छ ।

    राष्ट्रपति पौडेल पहिले प्रधानमन्त्री नियुक्ति र त्यसपछि बन्ने मन्त्रिपरिषद्को सिफारिसमा मात्रै प्रतिनिधिसभा विघटन गर्ने अडानबाट पछि हटेपछि आजको सहमति भएको हो ।