Author: Hulak News

  • नेपाल विद्यार्थी संघले गर्‍यो संविधान रक्षा र विद्यार्थी सहिदको सम्झनामा सांकेतिक प्रदर्शन

    नेपाल विद्यार्थी संघले गर्‍यो संविधान रक्षा र विद्यार्थी सहिदको सम्झनामा सांकेतिक प्रदर्शन

    काठमाडौं । नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्यहरूले २३ र २४ गतेका आन्दोलनमा सहादत प्राप्त विद्यार्थीहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै र संविधानको सुरक्षाको माग गर्दै काठमाडौंका विभिन्न स्थानमा सांकेतिक विरोध प्रदर्शन गरेका छन्।

    उक्त विरोधका क्रममा उनीहरूले संसद भवनको पर्खालमा कलर स्प्रेमार्फत  ‘संविधान बचाऔं’ र ‘विद्यार्थी सहिदहरूको वीर सम्झना’ जस्ता सन्देश लेखेका छन्। विभिन्न चुनौतिहरुको सामना गरेर संसद भवनजस्तो उच्च सुरक्षा क्षेत्रभित्र पुगेर सन्देश लेखेको उनीहरुले बताए।

    साथै, उनीहरूले असनको आकाशे पुल, त्रिचन्द्र क्याम्पसको अगाडिको भित्ताहरू लगायत काठमाडौंका अन्य विभिन्न ठाउँहरुमा पनि यस्तै सन्देशहरू लेखेका छन् ।

    नेपाल विद्यार्थी संघका अनुसार, यो अभियानको उद्देश्य संविधानमाथि भइरहेका सम्भावित खतराहरूविरुद्ध आवाज उठाउने र विगतमा संविधान र प्रजातन्त्रको रक्षाका लागि ज्यान आहुति दिने विद्यार्थी सहिदहरूको स्मरण गर्नु रहेको उनीहरुले बताए ।

    संघका केन्द्रीय सदस्यहरू भन्छन्, ‘जेन जि पुस्ताका साथीहरू, तपाईंहरू भन्दा अघिल्लो पुस्ताले जुन संघर्ष गरेर यो संविधान ल्याए, अब यसको रक्षा तपाईंहरूको कर्तव्य हो। पछिल्लो पुस्ताले पनि संविधानको मूल्य र मर्म बुझ्न सकून् भन्ने उद्देश्यले हामीले यी सन्देशहरू सार्वजनिक स्थानमा लेखेका हौं।’

    यसअघि बिहीबार पनि नेपाल विद्यार्थी संघ सडकमै आएर संविधानको रक्षा गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेको थियो। तर त्यस क्रममा जेन जी युवाहरूले उनीहरूलाई लखेटेका थिए ।

     

  • सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा भइरहेको छ कारोबार ?

    सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा भइरहेको छ कारोबार ?

    काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार सार्वजनिक गरेको मूल्यसूची अनुसार छापावाल सुन तोलामा २ लाख १५ हजार ८०० रुपैयाँ पुगेको छ ।

    यसअघि बिहीबार छापावाल सुन तोलामा २ लाख १४ हजार ७०० रुपैयाँ कायम भएको थियो ।

    यस्तै, चाँदीको मूल्य पनि बढेको छ ।

    बिहीबार तोलामा २ हजार ५०५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर तोलामा २ हजार ५६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

  • शेखर गोल्छाको सकारात्मक सन्देशः नयाँ नेपालको सपना पूरा होस्

    शेखर गोल्छाको सकारात्मक सन्देशः नयाँ नेपालको सपना पूरा होस्

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष तथा प्रख्यात व्यवसायी शेखर गोल्छाले देशमा सकारात्मक परिवर्तनसहित नयाँ पुस्ताले देखेको नयाँ नेपालको सपना पूरा होस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

    सामाजिक सञ्जाल फेसबुकमा मार्फत उनले जेनजी आन्दोलनका क्रममा केहि व्यवसायीहरु माथि भएको वीभत्स आक्रमणबाट आफ्नो परिवार पनि प्रभावित भएको बताएका छन् । साथै उनले यस घटनाले आफू र आफ्नो परिवारलाई निरास वा विचलित तुल्याउन नसकेको स्पष्ट पारेका छन् ।

    गोल्छाले भने, ‘आजको सुनौलो विहानीसँगै देश सकारात्मक दिशातर्फ अघि बढोस्, लोकतन्त्र अझ सुदृढ होस् भन्ने कामना गर्दछु । हामी अझै सशक्त रूपमा रोजगारी सिर्जना गर्न र लगानी गर्न प्रतिवद्ध छौं ।’

    उनले अन्धकारपछि आउने उज्यालोले सबै नेपालीलाई सद्भाव र एकताको बल प्रदान गरोस् भन्ने शुभेच्छा पनि व्यक्त गरेका छन् ।

  • जेनजी युवाका माग सम्बोधन गरेर मात्र देश अगाडि बढ्छ – गगन थापा

    जेनजी युवाका माग सम्बोधन गरेर मात्र देश अगाडि बढ्छ – गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेनजी आन्दोलनकारीका माग सम्बोधन गरेर मात्र देशलाई अगाडि बढाउन सकिने बताएका छन् ।

    कांग्रेस कार्यकर्तालाई सम्बोधन गर्दै भिडियो सन्देश सार्वजनिक गरेका थापाले आन्दोलनमा उठेका मुद्दालाई सम्बोधन गर्ने गरी अन्तरिम सरकार गठन गर्नुपर्नेमा जोड दिए । उनले कांग्रेस त्यसका लागि आवश्यक वातावरण बनाउन तयार रहेको स्पष्ट पारे ।

    थापाले नयाँ बन्ने सरकार संविधानसँग जोडिएको र संविधानसम्मत हुनुपर्नेमा जोड दिँदै भने, ‘अब बन्ने सरकारले नयाँ चुनाव गराउँछ, पुनर्निर्माणको काम अघि बढाउँछ, तोडफोड र आगजनी घटनाको छानबिन गर्छ ।’

    उनले जेनजी युवाले उठाएका मागलाई सम्बोधन गर्ने सरकार बन्नुपर्ने भन्दै नागरिक सरकारमार्फत २०४६ पछिका सम्पत्तिको छानबिन, अख्तियारलगायत निकायमा योग्य व्यक्तिको नियुक्ति, र पारदर्शिता कायम गर्नुपर्ने बताए ।

    महामन्त्री थापाले आज साँझसम्म सरकार गठनबारे टुंगो लाग्ने विश्वास व्यक्त गर्दै राजनीतिको गति पुनः लयमा फर्किने आशा व्यक्त गरे ।

  • हर्क साम्पाङ भन्छन्- मलाई धेरै नगिज्याऊ !

    हर्क साम्पाङ भन्छन्- मलाई धेरै नगिज्याऊ !

    काठमाडौं । नयाँ सरकारको प्रधानमन्त्री दाबी गरिरहेका धरान उपमहानगरका मेयर हर्क साम्पाङ आफूलाई धेरै नगिज्याउन आग्रह गरेका छन् ।

    उनले विषम परिस्थितिमा भीरबाट खसेको गाडी जस्तै चकनाचूर भएको देश जिम्मा लिन्छु भनेर खुलेरै आउने आफू एक जना मात्रै सच्चा नेपाली भएको भन्दै आफूलाई धेरै नगिज्याउन आग्रह गरेका हुन् ।

    उनले भनेका छन् – धेरै मलाई नगिज्याऊ ! यो विषम परिस्थितिमा भीरबाट खसेको गाडी जस्तै चकनाचूर भएको देश जिम्मा लिन्छु भनेर खुलेरै आउने एक जना मात्रै सच्चा नेपाली हुँ म । तिम्ले मान नमान तर यो देशको अभिभावक हुँ म । घमण्डी भन या जे भन । मलाई गिज्याउने तिमेरुकै कारण यहाँ देश यस्तो बन्यो ।

  • सर्वोच्च अदालतको सेवा आइतबारदेखि सञ्चालनमा आउने

    सर्वोच्च अदालतको सेवा आइतबारदेखि सञ्चालनमा आउने

    काठमाडाैं । जेन-जी पुस्ताको आन्दोलनका क्रममा आगजनीमा परेको सर्वोच्च अदालतले आइतबारदेखि सेवा सञ्चालन गर्ने भएको छ ।

    बिहीबार बसेको सर्वोच्च अदालतको आकस्मिक पूर्ण बैठकले यही भदौ २९ गते आइतबारदेखि बन्दी प्रत्यक्षीकरणका निवेदनको दर्ता तथा नियमित सुनुवाइ गर्ने निर्णय गरेको हो ।

    आगजनी र हिंसात्मक गतिविधिबाट अदालतका भवन, सवारीसाधन, उपकरण र नागरिकका महत्त्वपूर्ण दस्तावेज तथा नेपालको न्यायिक इतिहाससँग सम्बन्धित कागजातहरू पनि करिब नष्ट भएकाे प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले बताएका छन् ।

    साथै, मिसिल कागजात र भौतिक स्रोत–साधनको संरक्षणमा सहयोग गर्ने न्यायाधीश, कर्मचारी, वकिल, विद्यार्थी, सुरक्षाकर्मी र सर्वसाधारणप्रति सर्वोच्च अदालतले आभार प्रकट गरेको छ ।

  • अर्थतन्त्र ५ वर्षपछि धकेलियो, नयाँबाट आशा छ : व्यवसायी राजेन्द्र मल्ल

    अर्थतन्त्र ५ वर्षपछि धकेलियो, नयाँबाट आशा छ : व्यवसायी राजेन्द्र मल्ल

    जेनजी आन्दाेलनका क्रममा निजी क्षेत्रमाथि भएको आक्रमण, त्यसको पृष्ठभूमि र यसले अर्थतन्त्र तथा व्यवसायिक माहोलमा पारेको प्रभावबारे विनोद आचार्यले नेपाल चेम्बर अफ कमर्शका पूर्वअध्यक्ष राजेन्द्र मल्लसँग गरेको विशेष संवाद–

    जेनजी आन्दोलनका क्रममा निजी क्षेत्रमा पनि आक्रमण भयो, आन्दोलनको उद्देश्य भने व्यवसायी वा व्यापारिक संरचनामा क्षति पुर्याउने थिएन भनेर उनीहरूले भनेका छन्। तर विभिन्न ठाउँमा क्षति पुगेको छ। यसलाई निजी क्षेत्रको सदस्यको रूपमा तपाईंले कसरी हेर्नुभएको छ?

    निजी क्षेत्रको हिसाबले हेर्दा, जुनसुकै उद्योग वा व्यवसाय ऐन–नियमअनुसार सरकारलाई कर–राजस्व तिरेर अनुशासित ढंगले सञ्चालन भइरहेको हुन्छ। त्यस्तो व्यक्तित्व वा संस्थामाथि अनाहकमा आक्रमण गर्ने, सम्पत्ति ध्वस्त गर्ने काम हुनु हुँदैन। हाल भएको घटनामा जेन-जी युवाहरूको तर्फबाट नभएको स्पष्टीकरण आएको छ, तर बीचमा घुसपैठ भई निजी क्षेत्र मात्र होइन, सिंहदरबारदेखि राष्ट्रपतिको कार्यालयसम्मका संवेदनशील पूर्वाधारमा समेत क्षति पुर्याइएको छ।

    टेन्टेटिभ हिसाबले कति क्षति भएको होला भन्ने अनुमान छ?

    देशभर खर्बौँ रुपैयाँबराबरको क्षति भएको छ। यो हाम्रो वार्षिक विकास बजेटले पनि तीन–चार वर्षसम्म धान्न नसक्ने स्तरको हो। यसले देशलाई ठूलो आर्थिक क्षति पुर्याएको छ, र जहाँसम्म लाग्छ, मुलुक कम्तीमा पाँच वर्ष पछाडि धकेलिएको छ।

    यो आन्दोलनले ठूलो उथलपुथल ल्यायो। यसलाई निजी क्षेत्रले कसरी बुझिरहेको छ?

    पुराना नेताहरू सत्तामा बसिराख्ने, नेतृत्व हस्तान्तरण नगर्ने प्रवृत्तिका कारण युवामा असन्तुष्टि बढेको हो। ‘हाम्रो दिन कहिले आउला?’ भन्ने सोचले युवाहरू निराश बने। काम नपाएर विदेशिनुपर्ने बाध्यता, फैलिएको भ्रष्टाचार, परिवारवाद—यी सबैले आक्रोश थपेका छन्। यही कारण असन्तुष्टि अन्ततः हिंसामा परिणत भयो।

    वर्तमान परिस्थितिमा निजी क्षेत्रले देखेको निकास के हो?

    अब एउटा चुस्त–दुरुस्त सरकार बन्नुपर्छ। ढिलासुस्ती गर्ने, ‘पछाडि गरौँला’ भन्ने प्रवृत्ति अन्त्य गर्नुपर्छ। सरकारी सेवा समयसीमा तोकेर उपलब्ध गरिनुपर्छ, जसले गर्दा नागरिकले समयमा न्याय र सेवा पाएको अनुभूति गर्न सकून्।

    नयाँ सरकारले निजी क्षेत्रलाई मनोबल दिन के–के कदम चाल्नुपर्छ?

    जुनसुकै सरकार आए पनि निजी क्षेत्र ऐन, नियम मानेर राजस्व तिरेर व्यवसाय गर्छ। तर पटक–पटक अनावश्यक ऐन नियम थपेर अवरोध सिर्जना गर्नु हुँदैन। स्पष्ट पाँच वा दश वर्षे भिजनसहितको नीति ल्याउनुपर्छ। प्राकृतिक स्रोत–साधनको सदुपयोग गरेर उत्पादन, प्रवर्द्धन र निर्यात बढाउने, र विदेश गएका युवालाई स्वदेशमै रोजगारी दिने वातावरण बनाउन सकियो भने मुलुक अगाडि बढ्छ।

  • संवैधानिक दायरामा रहेर मुलुकलाई निकास दिन हर प्रयास गरिरहेको छु : राष्ट्रपति

    संवैधानिक दायरामा रहेर मुलुकलाई निकास दिन हर प्रयास गरिरहेको छु : राष्ट्रपति

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक दायरामा रहेर मुलुकलाई निकास दिन आफू हर प्रयास गरिरहेको बताएका छन्।

    बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेलले मुलुकमा लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ भनेर विचार, विमर्श र हरप्रयास गरिरहेको उल्लेख गरेका हुन्।

  • आर्मी हेडक्वार्टरअघि जेन–जीबीच नै कुटाकुट ! छुट्टाछुट्टै नाम अघि सार्दा लफडा

    आर्मी हेडक्वार्टरअघि जेन–जीबीच नै कुटाकुट ! छुट्टाछुट्टै नाम अघि सार्दा लफडा

    काठमाडाैं । सैनिक मुख्यालय जंङ्गी अड्डाअघि जेनजी बीचनै झगडा भएको छ । उनीहरूबीच कसलाई प्रधानमन्त्री बनाउने भन्ने विषयमा सहमति हुन नसक्दा झडप भएको हो ।

    अन्तरिम मन्त्रिपरिषद्को नेतृत्व लिने विषयमा समूहसमूहले छुट्टाछुट्टै नाम अघि सार्दा उनीहरूबीच नै लफडा भएको छ । विवाद बढ्दै गएपछि एक समूहले अर्को समूहकाहरूलाई खेदाइखेदाइ कुटिरहेका छन् ।

    यसैगरी, काठमाडाैंको सुन्धारामा पनि धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङका समर्थक र जेनजीबीच झडप भएको छ। प्रधानमन्त्री को बनाउने भन्ने विषयलाई लिएर प्रदर्शनमा उत्रिएका दुई फरक-फरक समूहबीच विवाद बढेपछि झडपमा परिणत भएको हो।

    कसैले सुशीला कार्की, कसैले कुलमान, कसैले बालेन त कसैले हर्क साम्पाङको नाम लिइरहेका छन् ।

    जेनजीका नाममा फरक समूहको फरक वक्तव्यले उनीहरूको आन्दोलनबाट उत्पन्न राजनीतिक शून्यता लम्बिएको छ ।

  • अस्थिर राजनीतिक परिस्थितिप्रति एमाले चिन्तित, निष्पक्ष छानबिन र संवादको माग

    अस्थिर राजनीतिक परिस्थितिप्रति एमाले चिन्तित, निष्पक्ष छानबिन र संवादको माग

    काठमाडौं । मुलुकमा उत्पन्न असामान्य राजनीतिक परिस्थितिप्रति नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले गहिरो चिन्ता व्यक्त गर्दै यस संकटको लोकतान्त्रिक र संवैधानिक माध्यमबाट निकास खोज्न आग्रह गरेको छ ।

    पार्टीको केन्द्रीय सचिवालयद्वारा जारी वक्तव्यमा हालैका हिंसात्मक घटनाक्रम, जनधनको क्षति र सुरक्षाको कमजोर अवस्थाप्रति गम्भीर ध्यानाकर्षण गराइएको छ ।

    एमालेका महासचिव शंकर पोखरेलले जारी गरेको वक्तव्यमा भदौ २३ गते न्भल–श् युवाहरूले सामाजिक सञ्जालको स्वतन्त्रता, भ्रष्टाचारविरुद्ध आवाज उठाउँदै गरेको प्रदर्शनप्रति सहानुभूति प्रकट गर्दै उक्त दिन भएको जनधनको क्षतिबाट पार्टी स्तब्ध भएको उल्लेख छ । प्रदर्शनका क्रममा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली र घाइतेप्रति शीघ्र स्वास्थ्यलाभको कामना गर्दै पार्टीले घटनाको निष्पक्ष छानबिन र दोषी उपर कडा कारबाहीको माग गरेको छ ।

    भोलिपल्ट, भदौ २४ गते, देशभर फैलिएको हिंसा, आगजनी, तोडफोड र लुटपाटप्रति चिन्ता व्यक्त गर्दै पार्टीले संविधानिक निकाय, संसद, ऐतिहासिक सिंहदरबार, सर्वोच्च अदालत, विमानस्थल लगायतका संरचनामा भएको क्षतिलाई राष्ट्रका लागि गम्भीर धक्का भनेको छ । पार्टीका अनुसार, १३ हजारभन्दा बढी कैदी जेलबाट भाग्नुले शान्ति सुरक्षामा थप चुनौती सिर्जना गरेको छ ।

    राज्य संयन्त्रको कमजोरीप्रति पनि प्रश्न उठाउँदै, पार्टीले यति ठूलो विनाशको सामना गर्न सुरक्षाका निकायहरू किन प्रभावकारी हुन सकेनन् भन्दै प्रश्न गरेको छ । साथै, प्रदर्शनका आयोजकहरूले आफूहरूको प्रदर्शन शान्तिपूर्ण रहेको स्पष्ट पारिसकेकाले विध्वंसका घटनामा उनीहरूको संलग्नता नरहेको दाबी गरेका छन् । पार्टीले यसको सत्यतथ्य बाहिर ल्याउन यथार्थ छानबिनको माग गरेको छ ।

    प्रधानमन्त्रीको राजीनामापछि उत्पन्न सत्ता रिक्तताबारे नेकपा (एमाले) ले संविधानसम्मत् र लोकतान्त्रिक विधिबाट समाधान खोजिनुपर्ने स्पष्ट पारेको छ । साथै, सुशासन, नातावाद अन्त्य, तीव्र विकास र रोजगारी सिर्जनासहित युवापुस्ताको आवाज सम्बोधन गर्न राष्ट्रपतिलाई पहलकदमी लिन आग्रह गरिएको छ ।