Category: अर्थ

अर्थ

  • विद्युत महसुल विवाद : प्रधानमन्त्री आश्वासन दिने, प्राधिकरण तर्साउने

    विद्युत महसुल विवाद : प्रधानमन्त्री आश्वासन दिने, प्राधिकरण तर्साउने

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड र ट्रंक लाइनको महशुल विवादको समाधान गर्न उच्च तहको आयोग बनाउने आश्वासन दिएको थाहा भएको छ।

    हिजो शुक्रबार उद्योगको लाइन काटेपछि आफूसँग भेट्न पुगेका ठूला उद्योगीहरूको गुनासो सुनिसकेपछि प्रधानमन्त्री दाहालले सर्बोच्च अदालतका पूर्व न्यायाधीशको नेतृत्वमा उच्च तहको आयोग बनाएर समस्या समाधान गर्ने आश्वासन दिएको नेपाल उद्योग वाणिज्य महासंघका एक उच्च पदाधिकारीले बताए।

    नेपाल विद्युत प्राधिकरणको नेतृत्वले भने महशुल विवादको समस्या समाधान गर्नेभन्दा पनि बल्झाउने व्यवहार गरेको भन्दै उद्योगी व्यवसायी क्रुध्द बनेका छन् । कार्यकारी निर्देशक कुलमान घिसिङले यथार्थ भन्दा पनि भावनात्मक कुरा गरेर उद्योगी व्यवसायी विरुध्द जनमत भड्काउने काम गरेको उनीहरुको भनाई छ ।

    घिसिङले प्रधानमन्त्रीको निर्देशनको हवाला दिएर लाइन काटेपछि ठूला उद्योगीहरूले प्रधानमन्त्रीसँग भेटेर गुनासो गरेका थिए ।

    उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा अर्घाखाँची सिमेन्टका सञ्चालक पशुपति मुरारका अनुसार , नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवाल सहितका उद्योगीहरूसँगको भेटमा प्रधानमन्त्रीले विवाद समाधान गर्ने आश्वासन दिए पनि उनीहरु नयाँ रणनीति बनाउन सक्रिय छन् । महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले विद्युत लाईन काटिएको बिषयमा आइतबार बसेर छलफल गर्ने सल्लाह भएको बताए ।

    उद्योगीहरूका अनुसार प्रधानमन्त्रीले लोडसेडिङपछि (२०७५ वैशाखपछि) र विद्युत महसुल निर्धारण आयोगले डेडिकेटेड र ट्रंक लाइनको प्रिमियम महसुल स्वीकृत गर्नुभन्दा अघिको अतिरिक्त बिजुलीको बिल तिर्नु नपर्ने आश्वासन दिएका छन् ।

    कानूनअनुसार नेपाल विद्युत प्राधिकरणले आफैं महसुल बढाउन नपाउने र प्राधिकरणले प्रस्ताव गरेको महसुललाई आयोगले स्वीकृत गरेपछि मात्रै लागू हुने स्पष्ट कानूनी व्यवस्था भएको प्रधानमन्त्रीले उद्योगीहरूसँग चर्चा गरेका थिए ।

    २०७२ माघदेखि २०७५ वैशाखसम्मको हकमा भने कानुनअनुसार महसुल लिइने भन्दै प्रधानमन्त्रीले सर्वोच्च अदालतका पूर्वन्यायाधीशको संयोजकत्वमा उच्च तहको आयोग मार्फत समस्याको समाधान गर्ने वचन दिएका छन् ।

    कसको कति बाँकी?

    प्राधिकरणको दाबी अनुसार ६१ उद्योगबाट साँवा, ब्याज र जरिवानासहित २२ अर्ब २४ करोड रुपैयाँ तिर्नुपर्ने बक्यौता छ ।

    प्राधिकरणले बक्यौता महसुल नतिरेको भन्दै अहिलेसम्म प्राधिकरणले नौवटा ठूला उद्योगको लाइन काटिसकेको छ । जगदम्बा स्टिल्स, रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, सर्वोत्तम सिमेन्ट, लक्ष्मी स्टिल, त्रिवेणी स्पिनिङ मिल्स, अशोक स्टिल र सोनापुर मिनरल्स एन्ड आयल उद्योग छन् ।

    कार्यकारी निर्देशक घिसिङले बिहीबार पत्रकार सम्मेलन गरेर आफूसँग लाइन काट्ने मात्रै अन्तिम विकल्प भएको बताएका थिए ।

    उनले थप उद्योगहरूको पनि क्रमशः लाइन काट्दै जाने बताएका थिए । घिसिङले पनि २०७५ पछि विद्युत नियमन आयोगले महसुलको विषय नटुङ्ग्याएको कारणले पुरानै मूल्य लिनु परेको तर्क गरेका थिए ।

    प्राधिकरणले पनि विगतको बक्यौतालाई तीन समय खण्डमा विभाजन गरेको छ । जस अनुसार २०७२ साउनदेखि पुससम्मको ९७ करोड रूपैयाँको बक्यौता छ।

    २०७२ माघदेखि २०७५ वैशाख मसान्तसम्म ६ अर्ब बक्यौता छ । २०७५ जेठदेखि २०७७ जेठ मसान्तसम्म ८ अर्ब तीन लाख बक्यौता छ । यो रकममा जरिबाना र ब्याज सहित २२ अर्ब २४ करोड रूपैयाँ बढी बक्यौता पूगेको प्राधिकरणको विवरणमा देखिन्छ ।

    प्राधिकरणका अनुसार बाबा जुट मिल्सको ५ करोड ६१ लाख ४९ हजार, निगाले सिमेन्टको १४ करोड २० लाख ८४ हजार रुपैयाँ, त्रिवेणी सिन्थेटिकको १५ करोड ६५ लाख ५७ हजा रुपैयाँ, हिमाल आइरन एण्ड स्टिलको ८ करोड १२ लाख ७३ हजार रुपैयाँ बक्यौता छ ।

    जगदम्बा इन्टरप्राइजेजको ४७ करोड ९८ लाख २८ हजार, हामा आइरनको ११ करोड ५५ लाख ४६ हजार रुपैयाँ, एभरेस्ट पेपर मिल्सको २१ करोड ३५ लाख ७७ हजार रुपैयाँ बक्यौता असुल गर्न बाँकी छ ।

    कसमस सिमेन्टको ३५ करोड ८१ लाख ९४ हजार रुपैयाँ, शुभश्री अग्नि सिमेन्टको ३८ करोड लाख ३४ हजार, जगदम्बा सिन्थेटिकको ४७ करोड ५३ लाख ४१ हजार रुपैयाँ, घराना फुड्सको ५ करोड ९२ लाख ९ हजार रुपैयाँ, सिद्धार्थ पेट प्लास्टको ५ करोड २३ लाख ८२ हजार रुपैयाँ र बुटवल सिमेन्टको ३२ करोड ९७ लाख ८३ हजार रुपैयाँ बक्यौता रहेको प्राधिकरणले जनाएको छ ।

  • अरुण तेस्रो र अपर अरुण जलविद्युत आयोजनाले नेपाल र भारत दुवै देशलाई समान लाभ : एसजेवीएन

    अरुण तेस्रो र अपर अरुण जलविद्युत आयोजनाले नेपाल र भारत दुवै देशलाई समान लाभ : एसजेवीएन

    काठमाडाैं । नेपालमा अरुण तेस्रो र अपर अरुण जलविद्युत आयोजना बनाइरहेको भारत सरकारको एसजेवीएन लिमिटेडले ९ सय मेगावाटको अरुण तेस्रो र १ हजार ६१ मेगावाटको अपर अरुण जलविद्युत आयोजना संचालन भए नेपाल भारत दुबै देशलाई समान लाभ हुने जनाएको छ ।

    भारतको हिमाचल प्रदेशस्थित नाथपा झाकडी जल विधुत आयोजनाका कार्यकारी निर्देशक मनोज कुमारले अरुण तेस्रो र अपर अरुणबाट उत्पादन भए नेपाललाई तत्काल चाहिने बिद्युतको माग पुरा भएर उसले भारत र बंगलादेशलाई बेच्न सक्ने बताएका हुन् । उनले नेपालको अधिकतम माग २५ सय मेगावाट प्रयोग गरेर बाँकी रहेको बिद्युत भारत र बंगलादेशलाई बेच्न सक्ने बताएका हुन् ।

    नेपालमा भारतको सहयोगमा एसजेवीएनले संखुवासभामा अरुण तेस्रो जल विद्युत आयोजना निर्माण गरिरहेको छ । निर्माणमा पछिल्लो समय देखिएको जग्गा मुअब्जा समस्यालाई तत्काल समाधान गर्न पहल गर्नुपर्ने पनि कार्यकारी निर्देशक कुमारले बताए ।

    उनले हिमाचल प्रदेशको झाकडी ग्रामस्थिति सतलुज नदिमा एसजेबीएन लिमिटेडले बनाइरहेको भारतकै सबैभन्दा ठुलो १५०० सय मेगावाटको नाथपा झाकडी जल विधुत स्टेसनको स्थलगत अवलोकनकाक्रममा यस्तो बताएका हुन् । अवलोकनमा नेपालबाट भारत गएका मैत्रीपूर्ण अध्ययन टोलीसमेत सहभागी थियो ।

    भारतमा जल विद्युत आयोजनाहरुको अध्ययनका लागि सर्वदलीय टोलीले अवलोकन भ्रमण गरेको हो । टोलीमा नेपाली कांग्रेसबाट अनिल रुङगटा र नयनसिंह महर, नेकपा एमालेबाट सुनिता बराल र सूर्य पाठक, नेकपा माओवादी केन्द्रबाट रेणु चन्द र अजयशंकर नायर, नेकपा समाजवादीबाट गोमा विष्ट, जसपाबाट रामआशिष यादव र जनमतबाट दिपक शाहलगायत टोलीमा सहभागी थिए ।

    अवलोकन भ्रमणमा कार्यकारी निर्देशक मनोज कुमारले नेपालबाट भारत गएका मैत्रीपूर्ण अध्ययन टोलीका नेताहरूलाई सम्मान गरेका थिए ।

    भारतले सतलुज नदिमा मात्रै ६ वटा जल विद्युत योजना निर्माण गर्न सफल भएको छ । कार्यकारी निर्देशक कुमारका अनुसार सतलुज नदिका विभिन्न स्थानमा करचव वांचु जल विधुत स्टेसन १२ सय मेगावाट ,नाथपा झाकडी १५ सय मेगावाट , रामपुर जल विद्युत स्टेसन ४ सय १२ मेगावाट ,कोलडैम तत्तापानी जल विद्युत स्टेसन ८ सय मेगावाट संचालन भइसकेको छ । यस्तै लुहरी जल विद्युत स्टेसन २ सय १० मेगावाट र सुन्नी जल विधुत स्टेसन ३ सय ८२ मेगावाट सहितका आयोजना एकवर्ष भित्रमा संचालन हुने उनले बताए ।

    हिम नदि, पहाडी नदि गरि ६ हजार नदि रहेको देश नेपाल जलमा ब्रजिल पछि विश्वकै दोस्रो धनि देशको रुपमा रहेको छ। ती ठुला र साना नदिहरुबाट ५० हजार मेगावाट भन्दा बढि विधुत उत्पादन गरि नेपाल विद्युत बिक्री गरेर मात्रै समृद्ध देश बन्न सक्ने प्रबल सम्भावना रहेको उर्जा जानकारहरु बताउँछन् ।

    नेपाल विधुत प्राधिकरण अन्तर्गत ४५६ मेगावाटको तामाकोसी जल विद्युत आयोजना, १०६ मेगावाटको कुलेखानी, १२ मेगावाटको बुढी गण्डकी जल ,१४४ मेगावाटको कालीगण्डकी गरि साना ठुला विभिन्न नदिहरुमा १ दर्जनभन्दा बढी जल आयोजनाबाट वर्षाको मौसम करिब २३ सय मेगावाट र जाडोको समय १२ देखि १३ सय मेगावाट विद्युत उत्पादन गरि रहेको सुर्यनारायण मंडलले जानकारी दिएका छन् ।

    नेपाल विद्युत प्राधिकरणले अध्ययन गरि प्रस्तावित गरेको १०६१ मेगावाटको अपर अरुण, ८११ मेगावाटको उत्तर गंगा,६३५ मेगावाटको दुधकोशी जल ,२१० मेगावाटको चयनपुर सेती सहितका जल विद्युत आयोजनाहरु निर्माण गर्न ठोस कदम चालेमा देश विद्युतमा आत्म निर्भर भइ समृद्धिको बाटोमा अघि बढ्ने जानकारहरुको भनाइ छ ।

    भुटानले भारत सरकारको सहयोगमा ३३६ मेगावाट को चुखासहित ४ वटा आयोजना संचालन गरि भारतसंग विद्युत बिक्री गरेर जिडिपी बढाएको छ । भुटानले भारतको सहयोगमा अतिरिक्त जल विद्युत आयोजनाहरु निर्माण गरि १० हजार मेगावाट विद्युत भारतलाई बेच्ने लक्ष्य राखेको छ।

  • १३ सयले घट्यो सुनको भाउ , कतिमा हुँदैछ किनबेच ?

    १३ सयले घट्यो सुनको भाउ , कतिमा हुँदैछ किनबेच ?

    काठमाडौं । साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ ।

    अघिल्लो दिन अर्थात् बिहीबार सुनको मूल्यले नयाँ रेकर्ड राख्न सफल भएको थियो । उक्त दिन सुन प्रतितोला १ लाख २२ हजार रूपैयाँ पुगेको थियो । सुनको यो मूल्य हालसम्मकै उच्च हो ।

    शुक्रबार भने सुन अघिल्लो दिनको तुलनामा प्रतितोला १ हजार ३ सय रूपैयाँ घटेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २० हजार ७ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २० हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

    बिहीबार छापावाल सुन प्रतितोला १ लाख २२ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २१ हजार ४ सय रूपैयाँमा कारोबार भएको थियो ।

    त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ ।

    बिहीबार प्रतितोला १ हजार ४ सय ९० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार १ हजार ४ सय ५५ रूपैयाँमा किनबेच भइरहेको छ ।

    यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३५ रूपैयाँ घटेको हो ।

  • विद्युत कटौती बक्यौता असुलीको अन्तिम उपाय : कुलमान घिसिङ (भिडिओसहित)

    विद्युत कटौती बक्यौता असुलीको अन्तिम उपाय : कुलमान घिसिङ (भिडिओसहित)

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत महसुल असुल गर्ने अन्तिम उपायको रुपमा उद्योगका विद्युत कटौती गरेको बताएका छन् ।

    उद्योगले प्रयोग गरेका ट्रंक र डेडिकेटेड लाइनको महसुल विवादबारे प्राधिकरणमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले अन्तिम चरणमा आएर लाइन काट्न बाध्य भएको प्रष्टीकरण दिए । प्राधिकरणले प्रधानमन्त्री पुष्पकमल दाहालसमेतको सहमतिमा भन्दै ९ वटा उद्योगको विद्युत लाइन काटेको छ । घिसिङले महसुल असुलीका लागि प्राधिकरण पछि नहटी क्रमिक रुपले लाइन काट्दै जाने बताए ।

    उनले भने, ‘हाम्रा प्रयासहरु अब विद्युत लाइन नकाटीकन सम्भव छैन भन्ने भएपछि अन्तिम चरणमा आएर हामी लाइन काट्न बाध्य भएका हौं । हामीले ९ वटा उद्योगको लाइन काटेका छौं । करिब ६१ वटा उद्योगको महसुल उठाउन बाँकी छ । अब क्रमिक रुपले हामी काट्दै जान्छौ । यो विद्युत प्राधिकरणको सम्पूर्ण पदाधिकारीहरुले गरेको निर्णय पालन गर्दै जान लागेको हो । अब यो मैले रोकेर पनि रोकिँदैन ।’

    प्राधिकरणले ठुला उद्योगको लाइन काट्न सुरु गरेपछि निजी क्षेत्रले विरोध गरिरहेको छ । उद्योगीहरुले ट्रंक र डेडिकेटेड लाइनको बिल देखाउन चुनौती दिएका छन् । यस विषयमा घिसिङले बक्यौताका सबै विवरण देखाउन तयार रहेको बताए । उनले पत्रकार सम्मेलनमा विद्युत प्राधिकरणअन्तर्गत आवश्यक डाटाहरु उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।

    उनले भने, ‘आजबाट जुन विवाद भइरहेको छ, त्यसको हकमा तपाईहरु कसैले कुनै पनि डाटा विद्युत प्राधिकरणअन्तर्गत माग्नु भयो भने उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दछु । डाटा लुकाएको भन्ने विषय उठ्ने गरेको हुनाले मैले यति भनेको हो ।’

    उनले यसको सम्बन्धमा २०७० सालमा ऊर्जा मन्त्रालयले गठन गरेको समितिको प्रतिवेदनले पनि प्रष्ट्याएको बताए । मुलुकमा लोडसेडिङ भइरहेका बेला उद्योग प्रतिष्ठानहरुले विद्युत पाएको प्रमाणित तथ्य रहेको पनि उनले बताएका छन् ।

    उद्योगी व्यवसायीहरुले महसुल बुझाउन अस्वीकार गरेपछि विद्युत प्राधिकरण, विद्युत वितरण विनियमावली, २०७८ विनियम ३१ तथा विद्युत महसुल संकलन विनियमावली, २०७८ को विनियम १० बमोजिम पुस ६ गतेबाट लाइन काट्न सुरु गरेको उनले बताए ।
    ‘बिगतमा सर्वसाधारण उपभोक्ताले दैनिक १७/१८ घण्टासम्मको लोडसेडिङ व्यहोरिरहेका बेला २ सय ३९ औद्योगिक, व्यापारिक र गैर व्यापारिक ग्राहकले डेडिकेटेड फिडर तथा ट्रंक लाइनमार्फत २० घण्टाभन्दा बढी विद्युत उपभोग गरिरहेका थिए,’ उनले भने, ‘२ सय ३९ ग्राहकमध्ये १ सय ७८ उपभोक्ताले डेडिकेटेड तथा ट्रंकलाइन बापतको प्रिमियमसहितको विद्युत महसुल समयमै प्राधिकरणलाई भुक्तानी गरिसकेका छन् ।’

    डेडिकेटेड तथा ट्रंकलाइनबाट विद्युत उपभोग गरेका ६१ वटा उपभोक्ताहरुको गत मंसिर मसान्तसम्म कुल बक्यौता रकम २२ अर्ब २४ करोड रुपैयाँ रहेको जानकारी पत्रकार सम्मेलनमा दिइयो । यसमध्ये करिब १२ अर्ब ५० करोड रुपैयाँ बराबरको बक्यौता हालै लाइन बिच्छेद गरिएका ९ वटा ठूला उद्योगहरुको छ । बक्यौता रहेका अन्य उद्योगहरुको लाइन क्रमशः विच्छेद गर्दै जाने रणनीतिमा प्राधिकरण रहेको उनले बताए ।

    पटक–पटकको ताकेतामा पनि छुट महसुल तिर्न नआएपछि प्राधिकरणले २०७६ चैत ५ गते विराटनगरबाट केही उद्योगहरुको विद्युत लाइन विच्छेद गर्न सुरु गरेको थियो । तर, तत्कालीन मन्त्रिपरिषद्को २०७६ पुस २१ गतेको निर्णय बमोजिम ऊर्जा, जलस्रोत तथा सिंचाइ, अर्थ, उद्योग मन्त्री र सोही मन्त्रालयका सचिवहरुको बैठकले कोरोना भाइरसको कारण समग्र उद्योग व्यवसायमा परेको प्रभावलाई समेत ध्यानमा राखी डेडिकेटेड तथा ट्रक महसुल सम्बन्धी विवाद भएका उद्योगहरुको सम्बन्धमा थप निर्णय नहुन्जेल विद्युत लाइन नकाट्ने र उद्योगहरुलाई साबिक बमोजिम नै सेवा नियमित गराउन विद्युत प्राधिकरणलाई लेखी पठाउने भन्ने निर्णय प्राप्त भएपछि लाइन पुनः जोडिएको थियो ।

    विगतमा डेडिकेटेड फिडर एवम् ट्रंक लाइनबाट विद्युत उपभोग गरेका तर त्यसबापतको महसुल नतिरेका ग्राहकहरूको विद्युत् आपूर्ति विच्छेद गरिएपछि सार्वजनिक रूपमा भइरहेका टिका टिप्पणीलाई विद्युत् प्राधिकरण जवाफ दिएको छ । पत्रकार सम्मेलनमार्फत प्राधिकरणले बक्यौता असुलीमा अझ सशक्त भएर जाने उद्घोष गरेको छ ।

  • रोयल इन्फिल्डले ल्यायो ३५० सीसीको मिटिओर बाइक

    रोयल इन्फिल्डले ल्यायो ३५० सीसीको मिटिओर बाइक

    काठमाडौं । रोयल इन्फिल्डले नेपाली बजारमा मिटिओर ३५० सीसीका तीन नयाँ मोटरसाइकल पुनः सार्वजनिक गरेको छ ।रोयल इनफिल्डका बाइकको नेपालका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रालिले काठमाडौंको नक्सालस्थित शोरुममा बुधबार मिटिओर फायरबल, मिटिओर स्टेलर र मिटिओर सुपरनोभा सार्वजनिक गरेको हो ।

    जे प्लेटफर्ममा निर्मित यी मोटरसाइकलमा ३४९ सीसी सिंगल सिलिन्डर, फ्युल इन्जेक्टेड फोर स्ट्रोक, एयर–आयल कुल्ड रहेको कम्पनीले जनाएको छ । उक्त इन्जिनले अधिकतम ६१०० आरपीएममा २०.२ ब्रेकर्स पावर र ४००० आरपीएममा २७ एनएमको टर्क जेनेरेट गर्ने र डुअल डिस्कब्रेक दिने जानकारी कम्पनीले दिएको छ ।

    १५ लिटर फ्युल ट्यांक क्षमताका यी मोटरसाइकलले प्रति लिटर औसत ४० किलोमिटर माइलेज दिने पनि जनाइएको छ ।कम्पनीले मिटिओर फायरबलको मूल्य ५ लाख ५० हजार, मिटिओर स्टेलरको ५ लाख ५५ हजार र मिटिओर सुपरनोभाको मूल्य ५ लाख ६५ हजार तोकेको छ । कम्पनीले बिक्रीका लागि सबै भेरियन्टको बुकिङ समेत खुला गरिएको जनाएको छ ।

  • बढ्यो सुनको मूल्य,कतिमा हुँदैछ काराेबार ?

    बढ्यो सुनको मूल्य,कतिमा हुँदैछ काराेबार ?

    काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो कारोबारको दिन सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको छ ।

    छापावाल सुन प्रतितोला १ लाख १९ हजार ९०० रुपैयाँ र तेजाबी सुन १ लाख १९ हजार ३५० रुपैयाँमा कारोबार भइरहेकाे महासंघले जनाएकाे छ ।

    शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १९ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख १९ हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार ४ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

     

  • अर्थतन्त्रका सूचकहरु सुधार हुँदै गएका छन्ः प्रधानमन्त्री

    अर्थतन्त्रका सूचकहरु सुधार हुँदै गएका छन्ः प्रधानमन्त्री

    विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको अर्थतन्त्रका सूचकहरु बिस्तारै सुधार हुँदै गएको बताएका छन् ।

    विराटनगरमा मोरङ व्यापार संघले आयोजना गरेको ट्रेड एक्सपोको उद्घाटन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।

    अर्थतन्त्रका कतिपय सूचकहरु आशलाग्दो रुपमा सुधार हुँदै गएको उल्लेख गर्दै उनले तर पनि अर्थतन्त्रमा दबाब भने कायमै रहेको बताए ।

    ‘कतिपय कुराहरुमा सुधार आइरहेको छ’ प्रधानमन्त्री दाहालले भने, ‘तर अझै पनि अर्थतन्त्रमा पक्कै दबाब छ । यसमा अझै हामीले केही गर्न बाँकी छ ।’

    पछिल्लो समय नेपालमा पर्यटन आगमन बढेको उल्लेख गर्दै यो निकै सकारात्मक पक्ष भएको प्रधानमन्त्रीले बताए ।

    अबका दिनमा नेपालमा केही छैन र केही हुँदैन भन्ने मानसिकताबाट उठेर सबैले आफ्नो ठाउँबाट काम गर्नुपर्ने अवस्था रहेको उनले उल्लेख गरे ।

    ‘नेपालीहरु विदेशिने क्रम बढिरहेको छ । घटेको छैन । यसलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्नेमा गम्भीर छलफल गरी नीति निर्माणमा ध्यान दिनुपर्ने छ’ प्रधानमन्त्रीले भने ।

    नेपालको अवस्थाप्रति धेरै नै नकारात्मक भावना हुने खाले प्रचार र निरासाजनक कुरा भइरहेको भन्दै उनले यसमा असन्तुष्टि जनाए ।

    उनले भने, ‘नेपाल खत्तम छ । कोही ठिक छैन । सबै नेता र पार्टी भ्रष्ट भए । नेपालमा बस्न हुँदैन भन्ने भाष्य निर्माण गर्ने प्रयास भइरहेको छ’ उनले भने, ‘यसो गरिनु दुर्भाग्यपूर्ण हो । हामीले सकेसम्म के गर्न सकिन्छ गरिरहेका छौं ।’

    यसैगरी, राजश्व छली र चुहावटलाई नियन्त्रण गर्नेमा पनि सरकारले आवश्यक पहलकदमी गर्ने भन्दै प्रधानमन्त्रीले उद्योगी–व्यवसायीले अघि सारेका समस्याहरु समाधान गर्न सरकार गम्भीर रहेको बताए ।

    प्रधानमन्त्री दाहालले विराटनगर कटहरी कार्गो रेल सञ्चालन नियमित गर्न सरकारले आवश्यक प्रक्रिया अगाडि बढाउने जानकारी पनि दिए ।

    कोशी प्रदेशका प्रमुख धार्मिक स्थलहरुलाई धार्मिक पर्यटनको केन्द्र बनाउन सरकारले आवश्यक काम गर्ने उनको भनाइ छ ।

  • राष्ट्र बैंकले माग्याे विभिन्न पदमा ६७ जना

    राष्ट्र बैंकले माग्याे विभिन्न पदमा ६७ जना

    काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न पदमा ६७ जनाका लागि आवेदन खुलाएको छ । सहायक द्वितियदेखि अधिकृत तृतियसम्मका लागि आवेदन माग गरेको हो ।

    आज एक सूचना सार्वजनिक गर्दै विभिन्न प्रशासनिक तथा प्राविधिक पदमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्नुपर्ने भएको आवेदन माग गरिएको जनाएको छ ।

    राष्ट्र बैंकले प्रशासन तर्फ ५० र प्राविधिक तर्फ १७ जनाका लागि दरखास्त आव्हान गरेको छ ।

    योग्यता पुगेका इच्छुक व्यक्तिहरुले तोकिएको दस्तुर तिरेर पुस २६ गते भित्र दरखास्त दिन सक्नेछन् । दोब्बर दस्तुर तिरेर भने माघ ४ गते भित्र आवेदन दिन पाउने व्यवस्था मिलाएको राष्ट्र बैंकले जनाएको छ ।

    नेपाल राष्ट्र बैंकको वेभसाइटमा गएर अनलाइनबाट आवेदन भर्न पाइने व्यवस्था बैंकले गरेको छ ।

  • घोराही सिमेन्टले आफ्ना लगानीकर्तालाई १५ प्रतिशत बोनस दिने

    घोराही सिमेन्टले आफ्ना लगानीकर्तालाई १५ प्रतिशत बोनस दिने

    काठमाडौ । प्रिमियम मूल्यमा सेयर जारी गरेको घोराही सिमेन्टले आफ्ना लगानीकर्तालाई १५ प्रतिशत बोनस दिने भएको छ ।

    घोराहीले चुक्ता पुँजीको १५ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने जनाएको हाे ।

    घोराही सिमेन्टले यो लाभांश प्रस्तावसहित पुस २८ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा होटल पौवा दाङ जिल्ला घोराही उप महानगरपालिका वडा नं १५ मा बिहान ९ बजे सुरु हुनेछ । सभाले लाभांश प्रस्ताव पारित गर्ने छ ।

    कम्पनीले पुस १६ ते बुक क्लोज गर्दैछ । घोराहीको पछिल्लो सेयर मूल्य ५ सय ७५ रुपैयाँ प्रतिकित्ता रहेको छ । घोराहीले अंकित मूल्य १०० मा ३३५ रुपैयाँ प्रिमियम थप गरेर साधारण सेयर बिक्री गरेको थियो । यस हिसाबले ४ सय ३५ रुपैयाँ प्रतिकित्तामा सेयर किनेको लगानीकर्ताले प्रतिसेयर मूल्य केही बढेको देखिन्छ ।

    घोराहीले गत वर्ष ५ करोड ३४ लाख १७ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष ४ अर्ब ८० करोड रुपैयाँको व्यापार गरेको यस कम्पनीले गत वर्ष भने ४ अर्ब ६२ करोड रुपैयाँको व्यापार गरेको थियो ।

    यसको अन्य आम्दानी पनि २४ करोड १ लाख रुपैयाँबाट घटेर १७ करोड ३८ लाख रुपैयाँ कायम भएको छ । हाल घोराहीको चुक्ता पुँजी ३ अर्ब ९७ करोड १९ लाख रुपैयाँ रहेको छ ।

  • बढ्यो सुन–चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच ?

    बढ्यो सुन–चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच ?

    काठमाडौं । साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ ।

    अघिल्लो दिन अर्थात् बिहीबार स्थिर रहेको सुनको भाउ आज प्रतितोला आठ सय रूपैयाँ बढेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १९ हजार ८ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १९ हजार २ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।

    बिहीबार छापावाल सुन प्रतितोला १ लाख १९ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १८ हजार ४ सय ५० रूपैयाँमा कारोबार भएको थियो ।

    त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ ।

    बिहीबार प्रतितोला १ हजार ४ सय ८० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार १ हजार ४ सय ८५ रूपैयाँमा किनबेच भइरहेको छ ।
    यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रूपैयाँ बढेको हो ।