Category: प्रविधि

प्रविधि

  • मर्मतपछि मनकामना केबलकार ११ दिनपछि नियमित सञ्चालनमा

    मर्मतपछि मनकामना केबलकार ११ दिनपछि नियमित सञ्चालनमा

    गोरखा । मनकामना केबलकार आजदेखि पुनः सञ्चालनमा आएको छ । बिद्युत आपूर्तिमा भएको समस्याका कारण प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरसम्म पुग्ने केबलकार प्यानलबोर्डमा क्षति पुगेर बन्द भएको थियो । केबलकार ११ दिनपछि नियमित सञ्चालनमा आएको हो ।

    केबलकार निर्माता कम्पनी अष्ट्रियाको डोपलमेयर कम्पनीबाट प्राविधिकसहित सामान झिकाएर केबलकार मर्मत गरी सञ्चालनमा ल्याइएको सञ्चालक राजेशबाबु श्रेष्ठले जानकारी दिए। गए राति मर्मतको काम सम्पन्न भएकाले आज बिहानैदेखि केबलकार सञ्चालनमा ल्याइएको उनले बताए। विद्युत् आपूर्तिमा भएको गडबडीले क्षति पुगेको केबलकारको प्यानल बोर्ड नै परिवर्तन गर्नुपरेको श्रेष्ठले बताए ।

    सामान जडान गरेर परीक्षण गरेपछि केबलकार नियमित सञ्चालनमा आएको स्टेशन म्यानेजर उज्ज्वल शेरचनले सुनाए यहीँ पुस ११ गते प्यानल बोर्डमा आगलागी भएलगत्तै पुस १२ गते मङ्गलबारदेखि मनकामना केवलकार पूर्णरूपमा बन्द भएको थियो । बन्द भएको ११ दिनपछि केबलकार सञ्चालनमा आएपछि केबलकार चढेर मनकामना मन्दिर जाने भक्तजनको घुइँचो लागेको छ ।

  • इन्टरनेट जुनसुकै बेला रोकिन सक्छ : इन्टरनेट सेवा प्रदायक

    इन्टरनेट जुनसुकै बेला रोकिन सक्छ : इन्टरनेट सेवा प्रदायक

    काठमाडौं । जुनसुकै समयमा इन्टरनेट सेवा रोकिन सक्ने इन्टरनेट सेवा प्रदायकहरुले चेतावनी दिएका छन् ।

    इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान) ले सोमबार पत्रकार सम्‍मेलन गर्दै नेपाल विद्युत प्राधिकरणले पोल भाडामा मनोमानी गरेको भन्दै इन्टरनेट सेवा रोकिने चेतावनी दिएको हो ।

    पत्रकार सम्मेलनमा बोल्दै आइएसपानका अध्‍यक्ष सुधीर पराजुलीले भने, ‘विद्युत प्राधिकरणले मोनोपोली देखाए हामी इन्टरनेट हड्ताल गर्न पनि पछि पर्दैनौं । इन्टरनेट जुनसुकै बेला अवरुद्ध हुन सक्छ । हाम्रो तालाचाबी प्राधिकरणमा बुझाउँछौं ।’

    विद्युत प्राधिकरणले काठमाडौं, विराटनगर, इनरूवा, काँकरभिट्टा, गौरीगञ्ज, पोखरा, धरान, खोटाङ, सुर्खेत, कैलाली, बुटवल, टीकापुर, अत्तरिया, भैरहवा, डोटी, ललितपुर, धनकुटा, दुहवीमा इन्टरनेट सेवा प्रदायकहरुको तार काटिएको आइएसपानका अध्‍यक्ष पराजुलीले दाबी गरे ।

    उनले भने, ‘प्राधिकरणले कुनै समन्वयन नै नगरी इन्टरनेट फाइबर तार देशैगर काटिएको छ, यसले त प्राधिकरणको दादागरी भयो। हामी यो एकाधिकार कहिलेसम्म सहने अब सहन्नौ।’

    प्राधिकरणले भाडाकै निुहँमा पटक पटक इन्टरनेट सेवा प्रदायकहरुको डेटा सेन्टर, अपरेशनल पोइन्ट, इन्टरनेट सेवा प्रवाह गर्ने फाइबर, तार काटिदिएको भन्दै आइस्पानले आक्रोश व्यक्त गरेको छ ।

    इन्टरनेट सेवा प्रदायकहरुले विजुलीको पोल प्रयोग गरी आफ्नो सेवा दिँदै आएका छन् । त्यसबापत विद्युत प्राधिकरणलाई निश्चित शुल्क तिर्ने गरेका छन् । तर प्राधिकरण र इन्टरनेट सेवा प्रदायकबीच केही वर्षयता विवाद बढ्दो छ । प्राधिकरणले पोल भाडा बढाएको छ भने इन्टरनेट सेवा प्रदायकले समयमा बक्यौता नतिरेको भन्दै लाइन काटिदिने चेतावनी दिँदै आएको छ ।

  • तत्काललाई ‘फाइभजी’ परीक्षण स्थगित

    तत्काललाई ‘फाइभजी’ परीक्षण स्थगित

    काठमाडौं । नेपाल टेलिकमले पूर्वनिर्धारित तालिकाअनुसार आज १७ पुसदेखि सुरू हुने भनिएको ‘फाइभ-जी सेवा’को ट्रायल स्थगित भएको छ । टेलिकमले चलाउने प्रणाली अनुरुप फाइभजी चल्ने मोबइलको संख्या न्युन् देखिएपछि ट्रायल स्थगित भएको हो ।

    टेलिकमले फाइभ-जीको परीक्षणको लागि आन्तरिक रुपमा तयारी अन्तिम चरण्मा पुर्‍याएपनि केही प्राविधिक विषयका कारण फाइभ-जीको ट्रायक स्थगन भएको प्रवक्ता शोभन अधिकारीले जानकारी दिए ।
    ‘हामीले परीक्षण गर्न लागेको २६ सय मेगाहर्ज ब्यान्डविथको फ्रिक्वेन्सीमा चल्ने मोइबल डिभाइस नै ज्यादै न्युन संख्यामा भेटियो,’ उनले भने,’त्यसका कारण पनि हामीले परीक्षण केही पछि लगेका हौं ।’

    टेलिकमले १ जनवरीबाट फाइभ-जी परीक्षण गर्न भन्दै तयारी गर्दै आएको थियो । अब टेलिकमले थप तयारी गरेर फाइभ-जीको परीक्षणकाल सुरु गर्ने तयारी गरेको हो । परीक्षणका लागि टेलिकमले उपकरण, प्रविधि जडानसहित जनशक्तिलाई तालिमसहितका तयारीहरु सकाइसकेको छ ।

    सामान्य मोबाइल इन्टरनेटभन्दा द्रुत हुने फाइभजी इन्टरनेट औद्योगिक, सेवामूलक, नवप्रवर्तनात्मक र उच्च व्यवसायिक क्षेत्रमा प्रयोग हुने डाटा सुविधा हो ।
    फाइभ-जीको परीक्षणअघि टेलिकमले यसको व्यवसायिक प्रयोगको सम्भावनाबारे पनि थप अध्ययन र छलफल गर्नेछ ।

  • अमेरिकाका सबै संघीय सरकारका उपकरणमा टिकटक प्रतिबन्ध

    अमेरिकाका सबै संघीय सरकारका उपकरणमा टिकटक प्रतिबन्ध

    न्युयोर्क । टिकटकलाई ‘उच्च जोखिम’ सुरक्षा चिन्ताको रूपमा उद्धृत गर्दै चिनियाँ एपलाई अमेरिकाभरि सबै संघीय सरकारका उपकरणहरूमा प्रतिबन्ध लगाइएको छ । अपवादको रूपमा कानून प्रवर्तन र राष्ट्रिय सुरक्षा एजेन्सीहरूले यो एपलाई सुरक्षा अनुसन्धान उद्देश्यका लागि विशेष अवस्थामा प्रयोग गर्न सक्नेछन् ।

    यस निर्णयको अर्थ भनेको झन्डै ४० लाख सरकारी कर्मचारीहरूले टिकटकलाई अनिवार्य रूपमा मोबाइल उपकरणहरू र उनीहरूलाई जारी गरिएका अन्य ग्याजेटहरूबाट हटाउनु पर्ने हुन्छ । बाइडेनको भर्खरै हस्ताक्षर गरिएको १ दशमलब ७ ट्रिलियन खर्च बिलमा बाइटडान्सको स्वामित्वमा रहेको एपलाई निषेध गर्ने प्रावधान समावेश छ । सरकारको निर्णयको टिकटकका प्रवक्ताले विरोध गरेका छन् ।

    ‘हामी निराश छौं कि कंग्रेसले सरकारी उपकरणहरूमा टिकटकलाई प्रतिबन्ध लगाउने कदम चालेको छ । प्रशासनलाई यसको राष्ट्रिय सुरक्षा समीक्षाको निष्कर्षमा पुग्न प्रोत्साहित गर्नुको सट्टा यो राजनीतिक इशाराले राष्ट्रिय सुरक्षा हितलाई अगाडि बढाउन केही गर्दैन’, टिकटकका प्रवक्ता ब्रुक ओबरवेटरले भने ।

  • विदेशबाट उपहारमा मोबाइल ल्याउँदा यसअघिकै व्यवस्था कायम

    विदेशबाट उपहारमा मोबाइल ल्याउँदा यसअघिकै व्यवस्था कायम

    काठमाडौं । सरकारले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)को पूर्ण कार्यान्वयन तत्कालका लागि स्थगित गरेको छ ।

    विदेशबाट फर्किने नेपालीले ल्याउने मोबाइलको व्यवस्थाबारे अन्योल भएपछि तत्कालका लागि उक्त सिस्टमको कार्यान्वयन स्थगित गरिएको हो ।

    विदेशबाट ल्याइएका मोबाइल दर्ता गर्नैपर्ने व्यवस्थालाई अनिवार्य नगरिएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएकाे छ ।

    चौतर्फी विरोध भएपछि सरकारले विदेशबाट उपहारमा मोबाइल ल्याउँदा भन्सार विन्दुमा प्रज्ञापनपत्र लिनुपर्ने व्यवस्था पनि तत्कालका लागि स्थगित गरेको छ ।

    विदेशबाट आउनेहरुले आफ्नो प्रयोगमा रहेको एउटा मोबाइल स्वघोषणा गरेर निःशुल्क प्रज्ञापनपत्र लिने र दोस्रो मोबाइलको भन्सार शुल्क तिरेर मात्रै प्रज्ञापनपत्र लिने व्यवस्था कार्यान्वयन नगरिएको त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जनाएकाे हाे ।

  • प्रधानमन्त्री दाहालले दिए तत्काल एमडीएमएस लागू नगर्न निर्देशन

    प्रधानमन्त्री दाहालले दिए तत्काल एमडीएमएस लागू नगर्न निर्देशन

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काललाई मोबाइल डिभाइस म्यानेजमेन्ट सिष्टम (एमडीएमएस) लागू नगर्न निर्देशन दिएका छन् ।

    यसअघि आजदेखि एमडीएमएस लागू गर्ने तयारी गरिएको थियो ।

    भन्सार विभाग र नेपाल दूरसञ्चार प्राधिकरसमक्ष प्रधानमन्त्री स्वयंले ‘तयारी पूरा गरेर अलि पछि लागू गरौं’ भन्ने निर्देशन दिएपछि यो प्रणाली स्थगित गरिएको स्रोतले बताएकाे छ ।

    प्रधानमन्त्रीको निर्देशनपछि यो प्रणाली लागू हुने मिति अनिश्चित बनेको छ ।

    मोबाइल दर्ता गर्नुपर्ने व्यवस्थाले विदेशबाट फर्कने नागरिकले थप सास्ती पाउने भन्दै यसको चर्को आलोचना भएको थियो । अर्थमन्त्री र प्रधानमन्त्री दुवैको छलफलपछि यो प्रणाली हालका लागि स्थगित भएकाे स्राेतकाे दाबी छ ।

  • क्याप्टेन थापा र जापान वायु सेवा संघका महानिर्देशकबीच भेट

    क्याप्टेन थापा र जापान वायु सेवा संघका महानिर्देशकबीच भेट

    काठमाडाैं । वायु सेवा सञ्‍चालक संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापा र जापानका वायुसेवा संघका महानिर्देशक ओत्सुका हिरोशीबीच भेट भएको छ ।

    जापानको राजधानी टोक्योकाे शिवास्थित वायुसेवा संघको कार्यालयमा बुधबार बिहान क्याप्टेन थापा र हिरोशीबीच भेटवार्ता भएको हो ।

    भेटका क्रममा नेपाल र जापानका वायुसेवा संघबीच आपसी सहयोग र सहकार्य गर्ने विषयमा छलफल भएको बताइएकाे छ । सो क्रममा थापा र हिरोशीले दुवै मुलुकको हितका लागि सहकार्य गर्ने विषयमा प्रतिबद्धता जनाएका छन् ।

    कार्यक्रममा एनआरएन जापानका सल्लाहाकार सन्तोष पौडेल र सिम्रिक भेन्चर्सका ग्रुप सीईओ सनत न्यौपानेलगायतकाे उपस्थिति थियो ।

  • एलन मस्कले ट्विटरको सीईओको पद छोड्न सक्ने, गरे यस्ताे ट्वीट

    एलन मस्कले ट्विटरको सीईओको पद छोड्न सक्ने, गरे यस्ताे ट्वीट

    काठमाडाैं । ट्विटरका नयाँ सीईओ एलन मस्कले ट्विटरको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदबाट राजीनामा दिन लागेको बताएका छन् ।

    उनले ट्विट गर्दै भनेका छन्, ‘यस कामका लागि मूर्ख भेट्ने बित्तिकै म सीईओ पदबाट राजीनामा दिनेछु । त्यसपछि म सफ्टवेयर र सर्भर टोलीसँग मात्र काम गर्नेछु ।’

    यसअघि एलन मस्कले ट्विटरको सीईओ पद छाड्ने कि नछोड्ने भनेर ट्वीटरमा पोल गरेका थिए । उनले नतिजा जे आए पनि स्वीकार गर्नेसमेत लेखेका थिए । यस मतगणनामा ५७.५ प्रतिशतले पद छाड्ने पक्षमा र ४२.५ प्रतिशतले विरोध गरेका थिए ।

    एलन मस्कले ट्विटर खरिद गरेदेखि, उनले ल्याएका परिवर्तनहरूको लागि उनको आलोचना भइरहेको छ । एलन मस्क टेस्ला र स्पेस एक्सका पनि मालिक हुन् ।

  • ‘अरुको नामको मोबाइल नम्बर प्रयोग गर्दा समस्या आउँछ’

    ‘अरुको नामको मोबाइल नम्बर प्रयोग गर्दा समस्या आउँछ’

    काठमाडाैं । नेपाल टेलिकमले अरुको नामको मोबाइल नम्बर प्रयोग गर्दा मोबाइल बैंकिङको दुरुपयोग भइ अनधिकृत व्यक्तिले रकम लिने गरेकाले सचेत रहन आग्रह गरेको छ ।

    सामाजिक सञ्जालको दुरुपयोग भएर अनेक कानुनी झमेला पर्ने भएकाले पनि सचेत हुन टेलिकमले आग्रह गरेको हो ।

    टेलिकमका प्रवक्ता शोभन अधिकारीले आज विज्ञप्ति जारी गरी राष्ट्रिय परिचयपत्र, नागरिक एप, बैंकिङ सेवा तथा सामाजिक सञ्जाललगायत विभिन्न डिजिटल गतिविधिमा मोबाइल नम्बरको प्रयोग गर्नुपर्ने अवस्था देखिएको विज्ञप्तिमा उल्लेख छ ।

    मोबाइल नम्बर प्रयोगकर्ता ग्राहक स्वयंको नाममा दर्ता भएको खण्डमा मात्र मोबाइल बंैकिङलगायत सुविधा सुरक्षितसाथ प्रयोग गर्न सकिने टेलिकमको भनाइ छ । ‘टेलिकम ग्राहकवर्गमा आफ्नै नाममा दर्ता मोबाइल नम्बर प्रयोग गर्न तथा सिमकार्ड हराएको/बिग्रिएमा आफू स्वयं उपस्थित भई प्राप्त गर्न अनुरोध गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

    ग्राहकको सुरक्षामा विशेष ध्यान दिँदै सहजै सेवा उपलब्ध गराउनका लागि नयाँ सिमकार्ड लिँदा वा सिमकार्ड परिवर्तन गर्दा मापदण्ड कार्यान्वयनमा ल्याइएको टेलिकमले जनाएको छ ।

    नयाँ सिमकार्ड लिनका लागि ग्राहकले आवेदन फाराममा आवश्यक विवरण स्पष्टरुपमा भरेको तथा ग्राहकको नाम, ठेगाना, परिचयपत्र जारी भएको जिल्ला र मिति तथा आधिकारिक परिचयपत्र एवं सम्पर्क नम्बर स्पष्ट रुपमा लेख्नुपर्ने जनाइएको छ ।

    स्वयं उपस्थित हुने ग्राहकलाई मात्र सिमकार्ड उपलब्ध गराइने छ र परिचयपत्रको प्रतिलिपिलाई सक्कल परिचयपत्रको नाम, बुबाको नाम, परिचयपत्र नम्बर र जारी भएको मिति र जिल्लाका आधारमा रुजु गरिने भएको छ ।

    सिमकार्ड बिग्रेर, हराएर वा अन्य कारणले सिमकार्ड परिवर्तन गर्नुपर्ने अवस्थामा ग्राहक स्वयं उपस्थित भएमा सिमकार्ड परिवर्तनको फाराम पूर्णरुपमा भरेको/नभरेको जाँचपश्चात् ग्राहकको परिचयपत्रको सक्कल र नक्कललगायतका विभिन्न कागजात रुजु गरी सिमकार्ड उपलब्ध हुनेछ ।

    ग्राहक स्वयं उपस्थित नभई अर्को व्यक्तिको नाममा दर्ता रहेको सिमकार्ड लिन आएको अवस्थामा ग्राहक स्वयं उपस्थित हुन नसक्ने कारणसहित ग्राहकको मञ्जुरीनामा र सक्कल परिचयपत्रका आधारमा सिम लिन आउने व्यक्तिको सक्कल परिचयपत्र देखाइ सोको प्रतिलिपि रीतपूर्वक भरिएको फारामसाथ संलग्न गर्नुपर्छ । कागजात रुजु सम्पन्न भएपछि सिमकार्ड परिवर्तन हुन्छ ।

    सिम लिने ग्राहकभन्दा फरक ग्राहकको विवरण दर्ता रहेको अवस्थामा प्रयोगकर्ता र दर्ता रहेको ग्राहकको मोबाइल नम्बर अद्यावधिक गरी लिने र दिने व्यक्ति आ–आफ्नो नागरिकताको सक्कल वा अन्य आधिकारिक परिचयपत्रको सक्कल र तिनका प्रतिलिपिसहित स्वयं उपस्थित भई निवेदन दिन सकिने व्यवस्था रहेको छ ।

    ग्राहक अशक्त भएमा निजको मञ्जुरिनामा पत्र र परिचयपत्रको सक्कल तथा प्रतिलिपि, लिन आउने व्यक्तिको सक्कल परिचयपत्रसहित उपस्थित भएमा तथा कुनै ग्राहकको मृत्यु भएमा नाता प्रमाणित गर्ने कागजात र मृत्यु प्रमाणपत्रसहित हकवाला नातेदार सक्कल कागजात तथा परिचयपत्रसहित उपस्थित भएमा सिमकार्ड उपलब्ध हुने व्यवस्था गरिएको छ ।

    वास्तविक प्रयोगकर्ताभन्दा फरक ग्राहकको विवरण भएको अवस्थामा सिम लिने ग्राहकको कबुलियतनामा पत्र र परिचयपत्रका साथमा ग्राहक आवेदन फाराम भरेपछि थप पुष्ट्याई गरी सिमकार्ड परिवर्तन गर्न सकिने टेलिकमले जनाएको छ ।

  • अब अमेरिकाकाे सरकारी डिभाइसमा टिकटक नचल्ने !

    अब अमेरिकाकाे सरकारी डिभाइसमा टिकटक नचल्ने !

    काठमाडाैं । अमेरिकाको माथिल्लो सदन सिनेटले चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको एप टिकटकलाई सरकारी डिभाइसमा प्रतिबन्ध लगाउने प्रस्ताव पारित गरेको छ ।

    बुधबार सिनेटले ध्वनि मत गरेर उक्त प्रस्ताव पारित गरेको समाचार पत्र द गार्डियनले उल्लेख गरेकाे छ ।

    उक्त प्रस्तावमा अमेरिकाका संघीय कर्मचारीहरूले सरकारी डिभाइस प्रयोग गरेर टिकटक प्रयोग गर्न नपाउने उल्लेख छ ।

    राष्ट्रपति जो बाइडेनले प्रमाणीकरण गर्नुअघि उक्त प्रस्ताव तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले पारित गर्नुपर्छ ।

    चिनियाँ कम्पनीको स्वामित्व भएकाले टिकटकबाट प्रयोगकर्ताको विवरणहरू बेइजिङ पुग्ने र त्यसले अमेरिकाको राष्ट्रिय सुरक्षामा खतरा हुन सक्ने भन्दै अमेरिकामा टिकटकलाई प्रतिबन्ध लगाउनु पर्ने आवाज उठिरहेको छ ।

    अमेरिकी राज्यहरू नर्थ डाकोटा, इओवालगायतले यसअघि नै टिकटकमाथि प्रतिबन्ध लगाइसकेका छन् ।