Category: ब्रेकिंग न्युज

ब्रेकिंग न्युज

  • रविसहितका कैदीहरूलाई नख्खु कारागारले भन्यो– तत्काल आत्मसमर्पण गर

    रविसहितका कैदीहरूलाई नख्खु कारागारले भन्यो– तत्काल आत्मसमर्पण गर

    काठमाडौं । नख्खु कारागार प्रशासनले फरार भएका रवि लामिछानेसहितका सबै कैदीलाई तत्काल सम्पर्कमा आउन भनेको छ । आज एक सार्वजनिक अपिल जारी गर्दै कारागार प्रशासनले भदौ २४ गते फरार भएका सम्पूर्ण थुनुवा र बन्दीलाई अविलम्ब कारागार प्रशासनको सम्पर्कमा आउन भनेको हो ।

    प्रशासनले फरार अवस्थाको निरन्तरता रहँदा कानुनले तोकेको सजाय थप कडाइका साथ कार्यान्वयन हुने समेत चेतावनी दिएको छ । साथै, त्यस अवस्थामा भविष्यमा प्राप्त हुन सक्ने सुविधा, कानुनी अधिकार तथा सामाजिक पुनर्स्थापनाको पक्रियामा समेत गम्भीर प्रतिकुल असर पर्न सक्ने चेतावनी कारागार प्रशासनको छ ।

    कारागार प्रशासनले तत्काल सम्पर्कमा नआउने तथा आत्मसमर्पण नगर्ने बन्दीलाई कारागार ऐन २०७९ र अन्य प्रचलित कानुन बमोजिम कारबाही हुने समेत स्मरण गराएको छ ।

    गत भदौ २४ गते जेनजी प्रदर्शनका दौरान नख्खुसहित देशभरका कारागारबाट हजारौँ कैदीबन्दीहरु फरार भएका छन् । नख्खु जेलबाट रास्वपा सभापति रवि लामिछानेसहित १४ सय कैदी बन्दी बाहिरिएका थिए । नख्खु कारागार प्रशासनको यस सूचनासँगै अब उनी पनि पुन कारागार फर्किनुपर्ने भएको छ ।

    फरार पूर्व राज्यमन्त्री सञ्जय टकलासहित केहीलाई प्रहरीले काभ्रेको मंगलटारबाट पक्राउ गरेको छ ।

  • प्रधानमन्त्री बन्न तयार छु, तर संसद विघटन अनिवार्य छ : महावीर पुन (कुराकानीसहित)

    प्रधानमन्त्री बन्न तयार छु, तर संसद विघटन अनिवार्य छ : महावीर पुन (कुराकानीसहित)

    काठमाडाैं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा सामाजिक अभियन्ता महावीर पुनले आफू देशको प्रधानमन्त्री बन्न तयार रहेको तर मन्त्री पद भने स्वीकार नगर्ने स्पष्ट पारेका छन्। उनले हालको राजनीतिक संकट समाधानका लागि संसद विघटन अनिवार्य रहेको ठोकुवा समेत गरेका छन्।

    सामाजिक सञ्जाल तथा सार्वजनिक वृत्तमा प्रधानमन्त्रीका लागि आफ्नो नाम सिफारिस भइरहेको सन्दर्भमा हुलाक सञ्चारसँगको कुराकानीमा पुनले भने, ‘प्रधानमन्त्री बनाइदियो भने बन्ने हो के। अरु त बन्दैन, मन्त्री-सन्त्री केही बन्दैन।’ उनले प्रधानमन्त्री भए मात्रै देशका लागि बृहत् काम गर्न सकिने र सबैलाई मिलाएर लैजान सकिने तर मन्त्रीको भूमिका सीमित हुने भएकाले आफू उक्त पदमा नजाने प्रष्ट पारे।

    पुनले हाल देशमा देखिएको युवा आन्दोलन र राजनीतिक संकटको सम्पूर्ण दोष पुराना नेताहरूलाई दिएका छन्। उनले नेताहरूको भ्रष्टाचार, लोभ र पद नछोड्ने प्रवृत्तिका कारण देशमा विकृति मौलाएको बताए। ‘नेताहरू साह्रै भ्रष्टाचारी र लोभी पापी नभएको भए यो आन्दोलन सुरु हुनै थिएन,’ उनले भने, ‘नेताहरूले चाकडी प्रथालाई बढावा दिएकाले भ्रष्टाचार बढ्यो र त्यसैको परिणामस्वरूप आन्दोलन जन्मियो।’

    संकटको निकासका लागि सबै पक्ष मिलेर छलफल गर्नुपर्नेमा उनको जोड छ। ‘सबै मिलेर निकास खोज्नुपर्छ। एउटा राष्ट्रिय सरकार गठन गर्नुपर्‍यो,’ उनले भने। उनले आन्दोलनकारीहरूलाई समेत सामेल गराएर निष्कर्षमा पुग्नुपर्ने बताए।

    वर्तमान राजनीतिक विवादको जडका रूपमा रहेको संसदबारे पुनको धारणा स्पष्ट छ। ‘संसद विघटन गर्नैपर्छ,’ उनले भने । उनका अनुसार, पुरानो संविधान र संरचनाको आधारमा नयाँ समाधान खोज्न सकिँदैन। उनले विश्व इतिहासमा कुनै पनि क्रान्ति वा आन्दोलन विद्यमान कानुन र संरचनाको दायरामा रहेर सफल नभएको तर्क गरे।

    कुराकानीका क्रममा पुनले आफू किताब बेच्नका लागि ताप्लेजुङ जाँदै गरेको जानकारी पनि दिए।

  • संविधानभित्रबाटै निकास खोज्न सभामुख र राष्ट्रिय सभा अध्यक्षको आग्रह

    संविधानभित्रबाटै निकास खोज्न सभामुख र राष्ट्रिय सभा अध्यक्षको आग्रह

    सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले संविधानभित्रबाटै निकास दिन आग्रह गरेका छन् ।

    शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै दुवैले देशमा विद्यमान विषम परिस्थितिमा जनतामा निहित सार्वभौमसत्ता‚ नागरिक स्वतन्त्रता‚ भौगोलिक अखण्डता‚ राष्ट्रिय एकता र स्वाधीनतालाई शिरोपर गर्दै संवैधानिक प्रक्रियाबाटै निकास दिन राष्ट्रपति रामचन्द्र पौडेलले पहल गरिरहेको भन्दै विधिको शासन र संविधानवादबाट बाहिर जानुहुँदैन भन्नेमा आफूहरू दृढ रहेको उल्लेख गरेका हुन्।

    ‘विधिको शासन र संविधानवादबाट बाहिर जानु हुँदैन भन्नेमा हामी दृढ छौँ,’ उनीहरूले भनेका छन्।

    दुवै जनाले आन्दोलनरत पक्षका मागहरू सम्बोधन गर्दै अझ उन्नत, समृद्ध र बलियो लोकतन्त्रका लागि प्रतिबद्ध हुन सबैलाई अपिल समेत गरेका छन्।

  • जेनजी आन्दोलनमा देशभरका होटलहरुमा २५ अर्बको क्षति

    जेनजी आन्दोलनमा देशभरका होटलहरुमा २५ अर्बको क्षति

    गत सोमबार र मंगलबारको जेनजी आन्दोलनका क्रममा देशभरका होटलहरुमा करिब २५ अर्ब रुपैयाँ बराबरको क्षति पुगेको छ । होटल एसोसिएसन अफ नेपाल (हान) को प्रारम्भिक तथ्यांकअनुसार देशभरका कम्तीमा २५ वटा होटल, रिपोर्ट, लज र रेस्टुरेन्टमा सो मूल्य बराबरको क्षति पुगेको हो ।

    हानका अनुसार सबैभन्दा धेरै काठमाडौँ र पोखराका होटल व्यवसायमा क्षति पुगेको छ। त्यसपछि भैरहवा, बुटवल, धनगढी, झापा, दाङ, बर्दिबासलगायतका क्षेत्रका होटल व्यवसायहरूमा क्षति पुगेका छन् ।

    यसरी क्षति पुगेका होटलहरुमध्ये करिब ६० प्रतिशतले मात्र बीमाबाट आंशिक क्षतिपूर्ति पाउने सम्भावना रहेको छ। अन्यको हकमा भने क्षतिपूर्ति पाउने सम्भावना समेत नरहने अवस्था रहेको हानको भनाई छ ।

    होटल व्यवसायमा भएको क्षतिबाट करिब २ हजार बढी कामदारहरूको रोजगारी गुमेको हानले जनाएको छ ।

  • ३६ पुग्यो जेन-जीको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या

    ३६ पुग्यो जेन-जीको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या

    काठमाडौं । जेन-जीको दुई दिने प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार बिहानसम्म सुरक्षाकर्मी र प्रदर्शनकारी गरी ३६ जनाको मृत्यु पुष्टि भएको छ । सबैभन्दा धेरै ट्रमा सेन्टरमा ८ जनाको मृत्यु भएको छ । यस्तै, सिभिल अस्पतालमा ६ जना, एभरेष्ट अस्पताल र फ्रन्टलाइन अस्पतालमा ३–३ जनाको मृत्यु भएको छ ।

    काठमाडौं मेडिकल कलेज सिनांमगल र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ २ जनाको मृत्यु भएको छ भने त्रिवि शिक्षण अस्पतालमा १ जनाको मृत्यु भएको छ । त्यस्तै उपत्यका बाहीर भेरी अस्पताल नेपालगञ्जमा ५, रामेछाप अस्पतालमा २, बिर्तासिटी र बी एण्ड सी अस्पतालमा झापामा १ १ जनाको मृत्यु भएको मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

    प्रदर्शनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारी गरी १ हजार ७ सय ६० जना घाइते भएका थिए । जसमध्ये १ हजार ३ सय ३० जना उपचारपछि डिस्चार्ज भइसकेका छन् भने ३ सय २१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

    मन्त्रालयका अनुसार ७२ जनालाई अस्पतालहरुले अन्यत्र रेफर गरेका छन् । सिभिल अस्पतालमा २१ जनाको शल्यक्रिया गरिएको छ भने राष्ट्रिय ट्रमा सेन्टरमा ११ जना, ग्राण्डी अस्पतालमा ९ जना, काठमाडौं मोडेल अस्पतालमा १ जना, किर्तिपुर बर्न अस्पतालमा ३ जना र नारयणी अस्पतालमा ३ जना गरी जम्मा ५० जना घाइतेको शल्यक्रिया गरिएको छ ।

    शल्यक्रिया गरिएका मध्ये ५ जनाको गम्भिर अवस्थामा ट्रमा सेण्टरको आइसियुमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

  • शेखर गोल्छाको सकारात्मक सन्देशः नयाँ नेपालको सपना पूरा होस्

    शेखर गोल्छाको सकारात्मक सन्देशः नयाँ नेपालको सपना पूरा होस्

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष तथा प्रख्यात व्यवसायी शेखर गोल्छाले देशमा सकारात्मक परिवर्तनसहित नयाँ पुस्ताले देखेको नयाँ नेपालको सपना पूरा होस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

    सामाजिक सञ्जाल फेसबुकमा मार्फत उनले जेनजी आन्दोलनका क्रममा केहि व्यवसायीहरु माथि भएको वीभत्स आक्रमणबाट आफ्नो परिवार पनि प्रभावित भएको बताएका छन् । साथै उनले यस घटनाले आफू र आफ्नो परिवारलाई निरास वा विचलित तुल्याउन नसकेको स्पष्ट पारेका छन् ।

    गोल्छाले भने, ‘आजको सुनौलो विहानीसँगै देश सकारात्मक दिशातर्फ अघि बढोस्, लोकतन्त्र अझ सुदृढ होस् भन्ने कामना गर्दछु । हामी अझै सशक्त रूपमा रोजगारी सिर्जना गर्न र लगानी गर्न प्रतिवद्ध छौं ।’

    उनले अन्धकारपछि आउने उज्यालोले सबै नेपालीलाई सद्भाव र एकताको बल प्रदान गरोस् भन्ने शुभेच्छा पनि व्यक्त गरेका छन् ।

  • जेनजी युवाका माग सम्बोधन गरेर मात्र देश अगाडि बढ्छ – गगन थापा

    जेनजी युवाका माग सम्बोधन गरेर मात्र देश अगाडि बढ्छ – गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेनजी आन्दोलनकारीका माग सम्बोधन गरेर मात्र देशलाई अगाडि बढाउन सकिने बताएका छन् ।

    कांग्रेस कार्यकर्तालाई सम्बोधन गर्दै भिडियो सन्देश सार्वजनिक गरेका थापाले आन्दोलनमा उठेका मुद्दालाई सम्बोधन गर्ने गरी अन्तरिम सरकार गठन गर्नुपर्नेमा जोड दिए । उनले कांग्रेस त्यसका लागि आवश्यक वातावरण बनाउन तयार रहेको स्पष्ट पारे ।

    थापाले नयाँ बन्ने सरकार संविधानसँग जोडिएको र संविधानसम्मत हुनुपर्नेमा जोड दिँदै भने, ‘अब बन्ने सरकारले नयाँ चुनाव गराउँछ, पुनर्निर्माणको काम अघि बढाउँछ, तोडफोड र आगजनी घटनाको छानबिन गर्छ ।’

    उनले जेनजी युवाले उठाएका मागलाई सम्बोधन गर्ने सरकार बन्नुपर्ने भन्दै नागरिक सरकारमार्फत २०४६ पछिका सम्पत्तिको छानबिन, अख्तियारलगायत निकायमा योग्य व्यक्तिको नियुक्ति, र पारदर्शिता कायम गर्नुपर्ने बताए ।

    महामन्त्री थापाले आज साँझसम्म सरकार गठनबारे टुंगो लाग्ने विश्वास व्यक्त गर्दै राजनीतिको गति पुनः लयमा फर्किने आशा व्यक्त गरे ।

  • सर्वोच्च अदालतको सेवा आइतबारदेखि सञ्चालनमा आउने

    सर्वोच्च अदालतको सेवा आइतबारदेखि सञ्चालनमा आउने

    काठमाडाैं । जेन-जी पुस्ताको आन्दोलनका क्रममा आगजनीमा परेको सर्वोच्च अदालतले आइतबारदेखि सेवा सञ्चालन गर्ने भएको छ ।

    बिहीबार बसेको सर्वोच्च अदालतको आकस्मिक पूर्ण बैठकले यही भदौ २९ गते आइतबारदेखि बन्दी प्रत्यक्षीकरणका निवेदनको दर्ता तथा नियमित सुनुवाइ गर्ने निर्णय गरेको हो ।

    आगजनी र हिंसात्मक गतिविधिबाट अदालतका भवन, सवारीसाधन, उपकरण र नागरिकका महत्त्वपूर्ण दस्तावेज तथा नेपालको न्यायिक इतिहाससँग सम्बन्धित कागजातहरू पनि करिब नष्ट भएकाे प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले बताएका छन् ।

    साथै, मिसिल कागजात र भौतिक स्रोत–साधनको संरक्षणमा सहयोग गर्ने न्यायाधीश, कर्मचारी, वकिल, विद्यार्थी, सुरक्षाकर्मी र सर्वसाधारणप्रति सर्वोच्च अदालतले आभार प्रकट गरेको छ ।

  • अर्थतन्त्र ५ वर्षपछि धकेलियो, नयाँबाट आशा छ : व्यवसायी राजेन्द्र मल्ल

    अर्थतन्त्र ५ वर्षपछि धकेलियो, नयाँबाट आशा छ : व्यवसायी राजेन्द्र मल्ल

    जेनजी आन्दाेलनका क्रममा निजी क्षेत्रमाथि भएको आक्रमण, त्यसको पृष्ठभूमि र यसले अर्थतन्त्र तथा व्यवसायिक माहोलमा पारेको प्रभावबारे विनोद आचार्यले नेपाल चेम्बर अफ कमर्शका पूर्वअध्यक्ष राजेन्द्र मल्लसँग गरेको विशेष संवाद–

    जेनजी आन्दोलनका क्रममा निजी क्षेत्रमा पनि आक्रमण भयो, आन्दोलनको उद्देश्य भने व्यवसायी वा व्यापारिक संरचनामा क्षति पुर्याउने थिएन भनेर उनीहरूले भनेका छन्। तर विभिन्न ठाउँमा क्षति पुगेको छ। यसलाई निजी क्षेत्रको सदस्यको रूपमा तपाईंले कसरी हेर्नुभएको छ?

    निजी क्षेत्रको हिसाबले हेर्दा, जुनसुकै उद्योग वा व्यवसाय ऐन–नियमअनुसार सरकारलाई कर–राजस्व तिरेर अनुशासित ढंगले सञ्चालन भइरहेको हुन्छ। त्यस्तो व्यक्तित्व वा संस्थामाथि अनाहकमा आक्रमण गर्ने, सम्पत्ति ध्वस्त गर्ने काम हुनु हुँदैन। हाल भएको घटनामा जेन-जी युवाहरूको तर्फबाट नभएको स्पष्टीकरण आएको छ, तर बीचमा घुसपैठ भई निजी क्षेत्र मात्र होइन, सिंहदरबारदेखि राष्ट्रपतिको कार्यालयसम्मका संवेदनशील पूर्वाधारमा समेत क्षति पुर्याइएको छ।

    टेन्टेटिभ हिसाबले कति क्षति भएको होला भन्ने अनुमान छ?

    देशभर खर्बौँ रुपैयाँबराबरको क्षति भएको छ। यो हाम्रो वार्षिक विकास बजेटले पनि तीन–चार वर्षसम्म धान्न नसक्ने स्तरको हो। यसले देशलाई ठूलो आर्थिक क्षति पुर्याएको छ, र जहाँसम्म लाग्छ, मुलुक कम्तीमा पाँच वर्ष पछाडि धकेलिएको छ।

    यो आन्दोलनले ठूलो उथलपुथल ल्यायो। यसलाई निजी क्षेत्रले कसरी बुझिरहेको छ?

    पुराना नेताहरू सत्तामा बसिराख्ने, नेतृत्व हस्तान्तरण नगर्ने प्रवृत्तिका कारण युवामा असन्तुष्टि बढेको हो। ‘हाम्रो दिन कहिले आउला?’ भन्ने सोचले युवाहरू निराश बने। काम नपाएर विदेशिनुपर्ने बाध्यता, फैलिएको भ्रष्टाचार, परिवारवाद—यी सबैले आक्रोश थपेका छन्। यही कारण असन्तुष्टि अन्ततः हिंसामा परिणत भयो।

    वर्तमान परिस्थितिमा निजी क्षेत्रले देखेको निकास के हो?

    अब एउटा चुस्त–दुरुस्त सरकार बन्नुपर्छ। ढिलासुस्ती गर्ने, ‘पछाडि गरौँला’ भन्ने प्रवृत्ति अन्त्य गर्नुपर्छ। सरकारी सेवा समयसीमा तोकेर उपलब्ध गरिनुपर्छ, जसले गर्दा नागरिकले समयमा न्याय र सेवा पाएको अनुभूति गर्न सकून्।

    नयाँ सरकारले निजी क्षेत्रलाई मनोबल दिन के–के कदम चाल्नुपर्छ?

    जुनसुकै सरकार आए पनि निजी क्षेत्र ऐन, नियम मानेर राजस्व तिरेर व्यवसाय गर्छ। तर पटक–पटक अनावश्यक ऐन नियम थपेर अवरोध सिर्जना गर्नु हुँदैन। स्पष्ट पाँच वा दश वर्षे भिजनसहितको नीति ल्याउनुपर्छ। प्राकृतिक स्रोत–साधनको सदुपयोग गरेर उत्पादन, प्रवर्द्धन र निर्यात बढाउने, र विदेश गएका युवालाई स्वदेशमै रोजगारी दिने वातावरण बनाउन सकियो भने मुलुक अगाडि बढ्छ।

  • संवैधानिक दायरामा रहेर मुलुकलाई निकास दिन हर प्रयास गरिरहेको छु : राष्ट्रपति

    संवैधानिक दायरामा रहेर मुलुकलाई निकास दिन हर प्रयास गरिरहेको छु : राष्ट्रपति

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक दायरामा रहेर मुलुकलाई निकास दिन आफू हर प्रयास गरिरहेको बताएका छन्।

    बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेलले मुलुकमा लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ भनेर विचार, विमर्श र हरप्रयास गरिरहेको उल्लेख गरेका हुन्।