Category: प्रविधि

प्रविधि

  • साइबर सुरक्षाबारे अभिमुखीकरण कार्यक्रम आयाेजना

    साइबर सुरक्षाबारे अभिमुखीकरण कार्यक्रम आयाेजना

    बाग्लुङ । पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोगका कारण प्रतिदिन बढ्दै गएका साइबर अपराधसम्बन्धी घटनाको न्यूनीकरणका लागि ग्रामीण क्षेत्रसम्म नै जनचेतना जगाउने कार्यक्रम सुरु गरिएको छ ।

    सुनौलो नेपाल अनलाइन र नेपाल दूरसञ्चार प्राधिकरणको सहयोगमा बरेङ गाउँपालिकामा साइबर अपराध र साइबर सुरक्षासम्बन्धी यस्तै एकदिने सचेतनामूलक अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो ।

    सामाजिक सञ्जालको बढी प्रयोग गर्ने समूहलाई लक्षित गरी सञ्चालित सो कार्यक्रममा पालिकाका जनप्रतिनिधि, कर्मचारी, विद्यार्थी, शिक्षक गरी दुई सयभन्दा बढीको सहभागिता थियो ।

    उक्त कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य डिल्लीराम सुवेदीले इन्टरनेटको जमानामा हुर्के बढेका बालबालिका, पढ्दै गरेका विद्यार्थीलगायत अभिभावकले साइबर सुरक्षामा विशेष ध्यान दिनुपर्ने बताए ।

    ‘साइबर असुरक्षाको जोखिम हाम्रा बालबालिकामा बढी परेको छ’, उनले भने ‘जोखिम कम गर्ने एउटै उपाय सचेतना हो ।’ कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल, नेपाल दुरसञ्चार प्राधिकरणका निर्देशक दिपेश आचार्य, बरेङ गाउँपालिकाका अध्यक्ष कृष्ण शर्मा, जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रमुख (प्रहरी उपरीक्षक) योगेन्द्रकुमार खड्का लगायतले साइबर सुरक्षा र साइबर अपराधका बारेमा सहभागीलाई जानकारी गराएका थिए ।

    कार्यक्रमको अध्यक्षता सुनौलो नेपालका अध्यक्ष मोहराज पौडेल, स्वागत बरेङ गाउँपालिकाकाका प्रमुख प्रशासकीय अधिकृत जित बहादुर राना त्यसैगरी संचालन बरेङ गाउँपालिकाका शिक्षा शाखा प्रमुख सूर्य चालिसेले गरेका थिए ।

  • ‘क्यान इन्फोटेक’ आज सकिँदै

    ‘क्यान इन्फोटेक’ आज सकिँदै

    काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) को २८औँ संस्करण आज सकिँदै छ । २४ माघदेखि सुरु भएको ‘इन्फोडेभलपर्स क्यान इन्फोटेक’ मेला आज माघ २९ गते समापन हुन लागेको हो । भृकुटीमण्डपमा जारी यस संस्करणमा नेपालमै विकास भएका विज्ञान तथा सूचना प्रविधिसँग सम्बन्धित उत्पादन र सेवालाई विशेष प्राथमिकताका साथ प्रदर्शनीमा राखिएको छ ।

    साथै, विभिन्न कलेजका विद्यार्थीले तयार पारेका परियोजनालाई पनि स्थान दिइएको छ । प्रदर्शनी हेर्न आउने अधिकांश अवलोनकर्ताले स्वदेशी सीप र उत्पादनसहितको प्रविधिको प्रशंसा गरेका छन् ।

    प्रदर्शनीमा ३१ ओटा स्टार्टअप राखिएका छन् । यसअन्तर्गत यार्सा टेक, इट फिट, सजिलो मर्मत सेवा, मोनालटेक, भक्सक्रो, स्मार्ट हाजिर, बगभी, रमाइलो गेम्स, सफ्टवेयर स्टोर, क्युरा हेल्थ, चिम्पभाइनलगायतका स्टार्टअप टिमले तयार पारेका नवीनतम् उत्पादन एवं सेवामा विद्यार्थीदेखि व्यवसायी र लगानीकर्ताले चासो देखाएका आयोजकले जनाएको छ ।

  • क्यान इन्फोटेकमा अवलोकनकर्ताको भीड

    क्यान इन्फोटेकमा अवलोकनकर्ताको भीड

    काठमाडाैं । सूचना प्रविधिसम्बन्धी जानकारी दिने उद्देश्यले काठमाडौंको भृकुटीमण्डपमा मङ्लबारदेखि आयोजना गरिएको सूचना प्रविधि मेला (क्यान इन्फोटेक)मा अवलोकनकर्ताको भीड लागेको छ ।

    मेलामा एकसय ५० भन्दा बढी स्टलमा ल्यापटप, डेस्कटप कम्युटर, माउस, किबोर्ड, तथा टेलिभिजन सेटलगायतका सामाग्री अवलोकन गर्नेको बढी भीड लागेको आयोजकले जनाएको छ ।

    ‘एस्टर क्लीक’ नामक डेटिङ एपको स्टलमा सबैभन्दा बढी युवायुवतीको भीड लागेको छ । ७ फेब्रअरी अर्थात् रोज डे को अवसर पारेर लन्च गरिएको उक्त नेपाली अनलाइन डेटिङ एप १३ जना नेपाली सफ्टवयर इञ्जिनीयरहरुले तयार पारेका हुन् ।

    कन्सेप्ट डेभलपर विजयराज ढुङ्गेललगायत टिममा दीपेश न्यौपाने, जीवन कटुवाल तथा अन्य सफ्टवेयर इञ्जिनीयर रहेका टिमका सफ्टवेयर इञ्जिनीयर दिपेश न्यौपानेले जानकारी दिए ।

    मेलामा पूजापाठको स्टलमा धार्मिक कार्यमा चाहिने गाईको गोबर, रातोमाटो, गाईको घ्यूलगायतका सामग्री राखिएको ‘पूजापाठ’ एपका उत्तम खनालले बताए । उनले भने, ‘हामीले भक्तजनलाई सहज होस भनेर पूजापाठ एप बनाएका छौँ, धार्मिक तथा पितृकार्य कसरी गर्ने र के के सामग्री चाहिन्छ भन्ने बारेमा पूजापाठ एप डाउनलोड गरेर जानकारी पाउनुहुन्छ ।’ उनका अनुसार वास्तु तथा ज्योतिषसम्बन्धी ज्ञान पाउन सकिन्छ ।

    मानिसको जीवनलाई प्रविधिसँग जोड्दै नयाँ प्रविधिको बारेमा जानकारी दिने तथा व्यापार गर्ने उद्देश्यले क्यान इन्फोटेक मेला सुरु गरिएको आयोजकले जनाएको छ । प्रविधिमा भएको परिवर्तन तथा यससँग सम्बन्धित अन्य जानकारी एउटै स्थानबाट प्राप्त गर्न सकिने हुँदा मेला प्रभावकारी भएको कम्प्युटर एशोसिएशन अफ नेपाल (क्यान) का अध्यक्ष रञ्जित पोद्धारले बताए ।

    ‘ठूला ठूला कम्पनीले छ महिनादेखि एक वर्षमा हार्डवयर तथा सफ्टवयर प्रविधिमा परिवर्तन गरिरहेका हुन्छन् । यसलाई एकै ठाउँमा हेर्न सकिने भएकाले मेला आयोजना गरिएको हो’, उनले भने ।

    मेलामा कम्प्युटर तथा कम्प्युटर सम्बन्धित सामान, नेपाल टेलिकम, सिजी कम्पनी, कलेज, बैंक तथा वित्तीय संस्थामा प्रयोग हुने प्रविधिका सामान, किताब, छालाका सामान, गमला घर, इलेक्टिकल बाइक, स्टेसनरीलगायत व्यापारिक सामाग्री बिक्रीका लागि राखिएका छन् ।

  • एनएमबि बैंकले ल्यायो इन्स्टा बाइ सेवा

    एनएमबि बैंकले ल्यायो इन्स्टा बाइ सेवा

    काठमाडाैं । एनएमबि बैंकले आफ्नो नयाँ क्रेडिट कार्ड किस्ता सुविधा – इन्स्टा बाइ लन्च गरेको छ । यो नयाँ सुविधाले ग्राहकहरूलाई आफ्नो क्रेडिट कार्ड खरिदहरूलाई व्यवस्थित मासिक भुक्तानीहरूमा विभाजन गर्ने सुविधा प्रदान गर्नेछ ।

    यस सुविधाको साथ, ग्राहकहरूले आफ्नो खरिदहरू बराबर मासिक किस्ताहरूमा भुक्तान गर्न छनौट गर्न सक्नेछन त्यो पनि न्युनतम ब्याजदरमा । इन्स्टा बाइ मार्फत, अस्पतालको बिल, होटलको बिल, रेस्टुरेन्टको बिल र यस्तै, अन्य सेवाहरूको भुक्तानी पनि EMI मा रूपान्तरण गर्न सकिन्छ ।

    यो सुविधा ठूला खरिदहरूको लागि वा लामो अवधिमा आफ्नो खरिदहरूको लागत फैलाउन चाहने ग्राहकहरूको लागि उत्कृष्ट विकल्प हो ।

    यो सुविधा प्रयोग गर्न, ग्राहकहरूले केवल बैंकको वेबसाइटमा लगइन गरि, प्रडक्ट एण्ड सर्भिसेस मा क्लिक गरी वैकल्पिक डेलिभरी च्यानल अन्तर्गत इन्स्टा बाइ चयन गरी आफ्नो खरिदको भुक्तानी गर्न चाहेको कुल महिनाको संख्या सहित विवरणहरू भर्नुपर्ने हुन्छ । यो नयाँ फिचरले ग्राहकहरुलाई आफ्नो क्रेडिट कार्ड अनुभवमा अमूल्य सेवा थप्पिने विश्वास बैंकले लिएको छ ।

    एनएमबि बैंक विगत २६ वर्षदेखि अनवरत रुपमा बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत पत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो । बैंकले दि फिनान्सियल टाइम्स, लण्डनको द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी बैंक अफ दि इयर एसिया २०२१’ उपाधीबाट सम्मानित भएको बैंक हो ।

    एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी बैंक अफ दि इयर नेपाल प्राप्त गरि सकेकको छ ।

    एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरुमार्फत् उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

  • यी दुई विश्विद्यालयका आंगिक क्याम्पसमा अब नि: शुल्क इन्टरनेट

    यी दुई विश्विद्यालयका आंगिक क्याम्पसमा अब नि: शुल्क इन्टरनेट

    काठमाडौं । अब त्रिभुवन विश्वविद्यालय तथा नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गतका आंगिक र सामुदायिक क्याम्पसहरूमा निःशुल्क रुपमा इन्टरनेट उपलब्ध हुने भएको छ । यी क्याम्पसहरूमा ब्रोडब्याण्ड इन्टरनेट पुर्‍याउनका लागि नेपाल दूरसञ्चार प्राधिकरण र सम्बन्धित विश्वविद्यालयबिच आइतबार सम्झौता भएको हो ।

    उक्त समझदारी पत्रमा नेपाल दूरसञ्चार प्राधिकरणका तर्फबाट अध्यक्ष पुरुषोत्तम खनाल तथा त्रिभुवन विश्वविद्यालयको तर्फबाट रजिष्ट्रार प्रा।डा। पेशल दाहाल र नेपाल संस्कृत विश्वविद्यालयको तर्फबाट रजिष्ट्रार माधव अधिकारीले हस्ताक्षर गरेका छन् ।

    सम्झौता अनुसार ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी त्रिभुवन विश्वविद्यालय तथा नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गतका आंगिक र सामुदायिक क्याम्पसहरूमा ब्रोडब्याण्ड इन्टरनेट पुर्‍याइने प्राधिकरणले जानकारी दिएको छ ।

    प्राधिकरण अनुसार यो परियोजना अन्तर्गत दुई वर्षसम्मका लागि उक्त स्थानमा निःशुल्क इन्टरनेट उपलब्ध हुनेछ । भने, दुई वर्ष पश्चात् भने सम्बन्धित क्याम्पसहरू आफैले सेवा प्रदायकबाट प्राधिकरणले तोकेको मूल्यमा इन्टरनेट खरिद गर्नुपर्ने जनाइएको छ । यसले प्रविधिको प्रयोग मार्फत विश्वविद्यालयबाट प्रवाह भइरहेको शैक्षिक कार्य थप व्यवस्थित हुने र वैकल्पिक सिकाइमा पनि टेवा पुग्ने विश्वास लिइएको छ ।

  • क्यान इन्फोटेक मेला माघ २४ देखि २९ गतेसम्म

    क्यान इन्फोटेक मेला माघ २४ देखि २९ गतेसम्म

    काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले २८ औं संस्करणको क्यान इन्फोटेक मेला सञ्चालन गर्ने भएको छ । आगामी माघ २४ गतेदेखि २९ सम्म काठमाडौंको भृकुटीमण्डपमा २८ औं संस्करणको क्यान इन्फोटेक मेला सञ्चालन हुँदैछ ।

    सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा विकास भएका नयाँ प्रविधि प्रदर्शन गर्ने उद्देश्य रहेको उक्त मेलामार्फत अवलोकनकर्ताले विकसित नयाँ प्रविधिको बारेमा जानकारी लिनसक्ने महासंघका अध्यक्ष रणजीत कुमार पोद्दारले जानकारी दिए । साथै अहिलेको मेलामा नेपालभित्रै विकास हुँदै झण्डै दुई दर्जन स्टार्टअप प्रविधिहरु पनि पदर्शनमा रहने उनको भनाइ छ । उनले भने, ‘नेपालीहरुले के–के बनाए, के–के बनाउन मिल्छ र भोलिको दिनमा के–के बनाउन सकिन्छ भन्ने विषय पनि मेलाबाट देख्न सकिन्छ ।’

    यसपटक नेपाली इनोभेसन, प्रतिभा र स्टार्टअपलाई विशेष स्थान दिने कोशिष गरिएको आयोजकले जनाएको छ । आयोजकले मेला सञ्चालनको लागि अन्तिम तयारी गरिरहेको अध्यक्ष पोदारले बताए । उनका अनुसार मेलामा रहने सम्पूर्ण स्टल बुकिङ भइसकेको छ भने निर्माण गर्ने काम पनि भइरहेको छ । यसपटकको मेलामा केही अन्तर्राष्ट्रिय व्यवसायीहरुले पनि स्टलमार्फत प्रत्यक्ष सहभागिता जनाउने उनले बताए ।

    मेलामा अवलोकन गर्न आउनेहरुको लागि आयोजकले टिकटको व्यवस्था गरेको छ । त्यसको लागि पे वेल सँग महासंघले सहकार्य गरेको छ । ‘हामीले साधारण टिकटको लागि एक सय र विद्यार्थीहरुका लागि ५० रुपैयाँ लिने व्यवस्था गरेका छौं, तर पे वेलबाट टिकट काटेमा २५ रुपैयाँमा टिकट काट्न सकिन्छ’, अध्यक्ष पोद्दारले भने । उनका अनुसार मेलाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मार्फत गर्ने गरी आयोजकले तयारी गरेको छ ।
    ३ देखि ४ लाख दर्शकले मेलाको अबलोकन गर्नसक्ने आयोजकले अनुमान गरेको छ । ‘इन्फोडेभलपर्स क्यान इन्फोटेक २०२३ इन विद एससीटी’ नाम रहेको मेलासँग सूचना, सञ्चार तथा प्रविधिसँग जोडिएका धेरै क्षेत्रले सहकार्य गरेका छन् । जसमा डिसहोम फाइबरनेट, नेपाल टेलिकम, हुवावे, एसपावर, डिजिकम, अनसिक्का, पे वेल, आइएमई जनरल इन्स्योरेन्स लगायतका निजी क्षेत्र र सरकारी क्षेत्रका निकायहरु समेत रहेका छन् ।

    क्यान महासंघले सन् १९९५ देखि इन्फोटेक मेलाको आयोजना गर्दै आएको छ । सूचना तथा सञ्चार प्रविधिसँग सम्बन्धित सामग्री तथा प्रविधिहरुको पदर्शन हुने यो मेला मुलुककै ठूलो प्रदर्शनीको रुपमा रहने गरेको छ । प्रदर्शनीको माध्यमबाट अवलोकनकर्ताहरुले एकैठाउँबाट विकसित सूचना प्रविधिको विषयमा जानकारी लिनसक्ने र खरिद गर्न सक्ने अवसर प्राप्त गर्छन् । त्यस्तै, व्यवसायीहरुले एकअर्कासँगबाट अनुभव आदानप्रदान गर्ने र थप व्यवसाय गर्ने अवसरको रुपमा लिने गरेका छन् । महासंघले फागुन महिनाको शुरुवातसँगै प्रदेशहरुस्तरमा पनि मेला आयोजना गर्ने तालिका तय गरेको छ ।

  • नेपाल एयरलाइन्सको टिकट अब अनलाइनबाट

    नेपाल एयरलाइन्सको टिकट अब अनलाइनबाट

    काठमाडाैं । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले आन्तरिक उडानको टिकटलाई पूर्ण रूपमा अनलाइन प्रणालीमा जोडेको छ।

    एयरलाइन्सले यात्रुको सहजताका लागि इ–सेवाबाट अनलाइन टिकट लिने पाउने व्यवस्था गरेको हो।

    एयरलाइन्सले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै अनलाइनमार्फत टिकट लिन सकिने बताएको हो।

    एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानका लागि निगमको वेबसाइटमार्फत अन्तर्राष्ट्रिय कार्डबाट टिकट लिन सक्ने जनाएको छ।

    त्यस्तै, निगमले दुर्गम/विकट क्षेत्रका जनतालाई आन्तरिक उडान सेवा प्रवाहको प्राथमिकतामा राख्दै पर्यटकीय क्षेत्र लक्षित सेवा विस्तारको तयारी समेत गरेको बताएको छ।

    केही साताअघि संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले निगमको टिकट वितरणलाई अनलाइन बनाउन निर्देशन दिएका थिए।

    मन्त्री किरातीको निर्देशनपछि निगमले यो व्यवस्थालाई कार्यान्वयनमा ल्याएको हो।

  • अब मोबाइल हराउँदा प्रहरी कार्यालय जानु नपर्ने

    अब मोबाइल हराउँदा प्रहरी कार्यालय जानु नपर्ने

    काठमाडौं । अब मोबाइल चोरी हुँदा वा हराउँदा प्रहरी कार्यालय धाउनु नपर्ने भएको छ । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले सञ्चालन गरिरहेको ईआईआर प्रणालीमा नयाँ सुविधा थप गर्न लागेको छ ।

    यसपछि मोबाइल सेट हराउँदा सेवाग्राही प्रहरीकहाँ जानु पर्दैन । नयाँ सुविधा अनुसार हराएको मोबाइल सम्बन्धी अनलाइन आवेदन पर्नासाथ त्यसको जानकारी प्रहरीलाई पुग्नेछ ।

    यसअघि प्रहरी कार्यालयमा निवेदन दर्ता गराएपछि मात्रै प्राधिकरणाको ईआईआर प्रणालीमा आवेदन दिन मिल्थ्यो । अब प्राधिकरणको मोबाइल लस्ट ट्याक एप्लिकसेनमा आवेदन दिएपछि यसको सूचना प्रहरी प्रधान कार्यालयलाई पनि पुग्ने र प्रहरीले सम्बन्धित शाखा र युनिटलाई यसबारे खबर प्रवाह गर्नेछ ।
    प्राधिकरण स्रोतका अनुसार यो सुविधा चाँडै लागू हुनेछ ।

  • च्याटजिपिटी के हाे, यसलाई किन गुगलको लागि खतरा भनिन्छ ?

    च्याटजिपिटी के हाे, यसलाई किन गुगलको लागि खतरा भनिन्छ ?

    ३० नोभेम्बरमा जब विश्व कतारमा भइरहेको फुटबल विश्व कपको आनन्द लिइरहेको थियो तब विश्वमा च्याटजिपिटी नामको एउटा आर्टिफिसियल टुलले डेब्यु गर्‍यो ।

    यो नयाँ सिस्टमले यस्तो सामग्री लेख्न सक्छ जुन निकै सटिक हुन्छ र मानिसले लेखेको झैँ भान हुन्छ । यो नयाँ टुल गुगलका लागि खतरा बनेर उदाइरहेको छ र स्थिति यस्तो निम्तिसकेको छ कि जिमेलका संस्थापक पलसम्मले केही समय अघि दुई वर्षमा यो टुलले गुगललाई बरबाद गर्न सक्छ भनेका थिए ।

    हाल यस कार्यक्रममा केही कमीकमजोरीहरू देख्न सकिन्छ तर समयसँगै यो उपकरण अझ स्मार्ट हुँदै जानेछ । यसलाई मन पराउनेहरूले यसको प्रशंसाको पुल बाँधिरहेका छन्, तर केही मानिसहरूलाई यो नयाँ उपकरणको डर पनि छ ।

    यदि तपाईँले इन्टरनेटमा च्याटजिपिटीको समीक्षाहरू पढ्नुभयो भने, तपाईँले ‘खतरा’ शब्द बारम्बार उल्लेख गरिएको पाउनुहुनेछ । धेरै मानिसहरू विश्वास गर्छन् कि यो प्रोग्रामले मानव मस्तिष्कको द्रुत रूपमा कपी गरिरहेको छ ।

    अमेरिकी अखबार न्युयोर्क टाइम्समा हालै प्रकाशित एउटा लेखमा यस कार्यक्रमले सिकाइ, शिक्षा, डिजिटल सुरक्षा, काम र लोकतन्त्रमासमेत यसले प्रभाव पार्ने सम्भावना व्यक्त गरिएको छ ।

    अखबारले लेखेको छ – पहिला कुनै पनि धारणा एक व्यक्तिको हुन्थ्यो त्यो अब एक आर्टिफिसियल रोबोटद्वारा लेखिएको तर्क हुनसक्छ ।

    च्याटजिपिटी भनेको के हो ?

    च्याटजिपिटी वास्तवमा एक च्याटबट हो जसले तपाईँलाई धेरै प्रकारका प्रश्नहरूको लिखित र लगभग सही जवाफ दिन सक्छ । यो च्याटबटले तपाईंको व्यक्तिगत समस्याहरूमा पनि सल्लाह दिनसक्छ ।

    यसमार्फत सामग्री सिर्जना गर्ने सम्भावनाहरू अपार छन् ।

    उदाहरणका लागि, यसले तपाईँलाई एउटा जटिल तर स्वादिष्ट रेसिपीको व्याख्या गर्न सक्छ र तुरुन्तै त्यही रेसिपीको नयाँ संस्करण पनि सिर्जना गर्न सक्छ । यसले तपाईँलाई जागिर खोज्न मद्दत गर्न सक्छ । तपाईँलाई कविता, शैक्षिक कागजपत्र र विशेष साथीका लागि पत्र लेख्न पनि मद्दत गर्न सक्छ ।

    च्याटजिपिटीलेतपाईंका सबै प्रश्नहरूको सेकेन्ड भरमा जवाफ दिने गर्छ । उदाहरणका लागि, तपाईँले यो च्याटबोटलाई आर्टिफिसियल इन्टेलिजेन्सको विषयमा सेक्सपियरको शैलीमा कविता लेख्न भन्नुहुन्छ ।

    केही पलमै तपाईँले यो कविता तयार पाउनुहुनेछ । कविताको स्तरमा बहस हुन सक्ला तर त्यो लेख्ने गतिमा हुन सक्दैन ।

    च्याटजिपिटी लगभग १०० भाषामा उपलब्ध छ तर यो अङ्ग्रेजीमा सबैभन्दा सटीक छ ।

    यो प्रणालीलाई ओपनएआई नामको कम्पनीले सन् २०१५ मा साम अल्टम्यान र एलन मस्कले विकसित गरेका थिए । एलोन मस्क सन् २०१८ मा यसबाट अलग भएका थिए ।

    लन्च भएको पाँच दिनभित्रै च्याटजिपिटीको एक मिलियन प्रयोगकर्ताहरू भएका थिए । प्रयोगकर्ताहरूसँग च्याटबटको प्रश्न र उत्तरको प्रयोग, यो प्रोग्रामलाई उत्कृष्ट बनाउनका लागि गरिन्छ ।

    ओपनएआईले यो च्याटबटको प्रयोग सबैका लागि निःशुल्क हुने र परीक्षण र अनुसन्धानका क्रममा सबैका लागि उपलब्ध हुने बताएको छ ।

    कम्पनीको यो बयानसँगै मानिसहरूले भविष्यमा ओपनएआईले च्याटजिपिटी प्रयोग गर्दा पैसा लिन थाल्ने अनुमान गर्न थालेका छन् ।

    परीक्षण र अनुसन्धानका क्रममा सफ्टवेयरले कहिलेकाहीँ गलत र भ्रामक सूचना दिन सक्ने कम्पनीले जनाएको छ । कम्पनीले च्याटबटको डाटा हिस्ट्री २०२१ सम्म मात्र सीमित रहेको बताएको छ ।

    गुगलको एकाधिकारलाई चुनौती ?

    धेरैले यसलाई इन्टरनेटमा जानकारी सङ्कलन गर्ने गुगलको एकाधिकारका लागि चुनौती भनेका छन्, तर यो प्रणालीले अझै गम्भीर गल्ती गरिरहेको छ ।

    यस्तै च्याटबोटलाई सोधिएको थियो कि अहिलेसम्म कति भारतीयले ओस्कर अवार्ड जितेका छन् ? यसको जवाफमा च्याटबटले लेख्यो –सन् २०२१ सम्म भानु अथय्या ओस्कार जित्ने एक मात्र भारतीय हुन् ।

    तर धेरै भारतीयहरूले ओस्कर अवार्ड जितेका छन् ।

    यस्ता एआई प्रोग्रामहरूले धेरै डाटा भण्डारण गर्छन् । च्याटजिपिटीको फोकस शब्दहरू र संवादात्मक शैलीमा प्रतिक्रिया दिनेमा छ । यो च्याटबटले वाक्य लेख्ने उत्तम तरिका अनुमान गर्न एल्गोरिदमहरू प्रयोग गर्दछ ।

    यसलाई लार्ज ल्याङ्गुएज मोडेल (एलएएम) पनि भनिन्छ ।

    साओ पाउलो युनिभर्सिटीका प्रोफेसर अल्भारो मचाडो डायस एक न्युरो वैज्ञानिक हुन् । यस्तो च्याटबट निर्माण गर्दा धेरै साधारण प्रश्न सोधिने उनीहरू बताउँछन् । कतिले सिलिन्डर के हो भनेर सोधिरहेका हुन्छन् ।

    त्यसपछि प्राविधिकले यस प्रश्नको विस्तृत जवाफ दिन्छन् ।

    ‘त्यसपछि पनि, यदि च्याटबटको जवाफले अर्थ राख्दैन भने, सही जवाफ प्रणालीमा फिड गरिन्छ । यो धेरै प्रश्नहरू सँग गरिन्छ ।’

    च्याटजिपिटीले हुबहु मानिसजस्तै बोल्न सिक्छ ।

    मचाडो डायस भन्छन् – यो भाषाहरू बुझ्नमा निपुण भएकाले यसलाई विशेष बनाएको छ ।

    इन्जिनियरहरूले यसलाई स्मार्ट बनाउन दिनरात काम गरिरहेका छन् ।

    प्रोफेसर डायस भन्छन्, ‘वास्तवमा इन्जिनियरहरूले एल्गोरिदमले दिएका जवाफहरू परीक्षण गर्छन् र प्रोग्रामलाई फिडब्याक दिँदै यसलाई सुधार गर्ने प्रयास गर्छन् । तपाईंको प्रश्नको जवाफ एउटा टेक्स्ट फर्मेटमा हुन्छ र ती निकै गम्भीर हुन्छन् ।’

    च्याटजिपिटीलाई गल्तीहरू स्वीकार गर्न पनि तालिम दिइएको छ । यो प्रोग्रामले गलत धारणा सच्याउँछ र अप्रासङ्गिक प्रश्नहरूलाई अस्वीकार गर्दछ ।

    के यो रचनात्मकताको लागि खतरा हो ?

    शब्द र वाक्यमा भर पर्ने कामहरूमा खतराको घण्टी बज्न थालेको छ ।

    जस्तै पत्रकारिता । यदि प्रणालीमा अझै सुधार भयो भने पत्रकारको जागिर कम हुनेछ र सम्भवतः एउटा यस्तो समय आउन सक्छ जब उनीहरूलाई कामदारको आवश्यकता नै पर्नेछैन किनभने हरेक लेख च्याटबटले लेखिदिनेछ ।

    च्याटजिपिटीको कोड लेख्ने क्षमताले अर्को क्षेत्रमा प्रश्न खडा गर्न सक्छ । र त्यो क्षेत्र हो – कम्प्युटर प्रोग्रामिङ ।

    तर सबैभन्दा बढी चिन्ताको विषय भनेको शिक्षा हो ।

    न्यु योर्कका विद्यार्थीहरूलाई च्याटजिपिटीमार्फत आफ्नो असाइनमेन्टहरू गर्न यति लालायित थिए सहर भरिका सबै विद्यालयहरू र सार्वजनिक उपकरणहरूमा तुरुन्तै यसमाथि प्रतिबन्ध लगाइयो ।

    ओपनएआईले आफ्नो च्याटबट मार्फत् उत्पन्न हुने सामग्रीलाई फरक पहिचान दिने प्रयास पनि गरिरहेको छ । यस्ता एल्गोरिदमहरु छन् जसले सटिक तरिकाले भन्न सक्छन् कि टेक्स्ट च्याटबटले लेखेका हो कि कुनै व्यक्तिले ।

    च्याटबटबाट कपी गर्ने, आफ्नो गृहकार्य र असाइनमेन्टमा पोस्ट गर्नेबाहेक पनि यस्ता थुप्रै डर छन् जसका कारण शिक्षा क्षेत्रमा डर छ ।

    उदाहरणका लागि, यदि एक विद्यार्थीलाई एक जटिल निबन्ध लेख्न दिइएको छ भने,

    साओ पाउलो युनिभर्सिटीका प्रोफेसर डायस भन्छन्, ‘विचारहरूको यान्त्रीकरणको बारेमा म चिन्तित छु । यो विश्वलाई बुझ्ने तरिकालाई उल्ट्याउने जस्तै हो ।’

    ‘यो आधुनिक इतिहासमा माइन्डसेटको परिवर्तनको सबैभन्दा महत्त्वपूर्ण घटना हुनेछ । यहाँ के कुरा पनि याद गर्नुपर्छ कि मानव मस्तिष्क तीव्र रूपमा खुम्चिरहेको छ । यसको एउटा प्रमुख कारण प्रविधिको विकास हो ।’

    आधा मानिस र आधा मेसिन

    आर्टिफिसियल इन्टेलिजेन्स : फ्रम जिरो टु मेटाभर्स पुस्तककी लेखिका र पोन्टिफिकल क्याथोलिक युनिभर्सिटी अफ रियो ग्रान्डे डो सुलकी प्राध्यापक मार्था गेब्रिएलले परिवर्तनशील समयसँगै हामीले छिटो छिटो परिवर्तन हुर्नुपर्ने धारणा राख्छिन् ।

    मार्था गेब्रियल भन्छिन्, ‘मुख्य भिन्नता यो हो कि अब उत्तरले फरक पर्दैन, प्रश्नहरू महत्त्वपूर्ण भइसकेका छन् । तपाईँले सही प्रश्नहरू कसरी सोध्ने भनेर जान्नुपर्छ र यसका लागि तपाईंको दिमागले सोच्न र मेहनत गर्नुपर्छ ।’

    फेडरल युनिभर्सिटी अफ ब्राजिलका अनुसन्धानकर्ता युरी लिमा भन्छन् कि नयाँ प्रविधिले विद्यार्थीहरूलाई साइबोर्ग (आधा मानव र आधा मेसिन) बनाउनेछ ।

    युरी लिमा भन्छिन्, ‘यो नयाँ प्रविधिले शिक्षकहरूलाई पनि यसको सही प्रयोग गर्न सिकाउनु पर्छ ।’

    यो त भयो शिक्षा र विद्यार्थीको कुरा । तर यहाँ अर्को ठुलो चिन्ता छ । त्यो हो मानिसको रचनात्मकता र सामग्री बनाउने कुरा ।

    यो सिस्टम उपलब्ध भएको दस दिन भित्र, सान फ्रान्सिस्को डिजाइनरले दुई दिनमा बच्चाहरूको सचित्र पुस्तक तयार गरेका थिए ।

    डिजाइनरले च्याटजिपिटीबाहेक, मीडजर्नी नामक कार्यक्रमबाट पनि मद्दत लिएका थिए जसमार्फत फोटोहरू सङ्कलन गरिएको थियो ।

    प्रोफेसर मचाडो डायस भन्छन् कि रचनात्मकताका लागि असाधारण प्रतिभा चाहिन्छ, तर एल्गोरिदमको मद्दतले सिर्जना गरिएका चीजहरूले मानिसको रचनात्मक हुने प्रवृत्तिलाई कम गर्नेछ ।

    -बीबीसी हिन्दीबाट

  • फोटोनको १४ र १७ सिटर इलेक्ट्रिक भ्यान काठमाडौँमा

    फोटोनको १४ र १७ सिटर इलेक्ट्रिक भ्यान काठमाडौँमा

    काठमाडौं । फोटन मोटर्सले १४ र १७ सिट क्षमता भएको सवारी साधन ल्याएको छ । मोटर्सले आइतबार काठमाडौंमा १४ र १७ सिटर दिगो यातायात लन्च गरेको हो ।

    एमएडब्ल्यू वृद्धी कमर्सियल भेइकल्स प्रा.लिले फोटोन मोटर्स इलेक्ट्रिक घोषणा गर्न लागेको हो । १४ र १७ सिट भएको यात्रुवाहक भ्यानले सहरमा व्यवसाय गर्न र यातायातको लागत–र पर्यावरण–मैत्री विकल्पहरू प्रदान गर्दछ ।

    फोटन ईभि भ्यानले युरोपेली सम्पूर्ण प्रकारका वाहन स्वीकृति प्रमाणपत्र प्राप्त गरेको छ ।

    टियूभि रेइन्ल्यान्ड एक प्रसिद्ध परीक्षण, निरीक्षण, र प्रमाणीकरण संगठन हो । जुन संगठन जर्मनीमा छ । जो डब्ल्युभिटिए को लागि नामित प्राविधिक सेवा प्रदायक पनि हो।

    कम्पनीका अनुसार फोटन इलेक्ट्रिक प्यासेन्जर भ्यानको ब्याट्री क्षमता ५०.२३ किलोवाट र एकल चार्जमा २ सय ३५ किमी सम्मको दायरा रहेको छ । ८५ किलोवाट पावर र २ सय ९० एनएम टर्क रहेको भ्यानलाई घरमा चार्ज गर्न सकिन्छ।

    यी भ्यानहरू सहज र पहुँचयोग्य रहेको कम्पनीले जनाएको छ । शैक्षिक संस्था, होटल, रुटका लागि उपयुक्त, दैनिक यातायातका लागि प्रयोग, यात्रा, भ्रमण, र अन्य संगठनहरू जसले वातावरण मैत्री यातायातलाई प्राथमिकता दिन्छ।

    दिगो यातायात र कार्बन उत्सर्जन घटाउने एमएडब्ल्यू वृद्धी कमर्सियल भेइकल्स प्रा.लिले प्रतिबद्धता जनाएको छ । सन् २०३० सम्ममा शत प्रतिशत विद्युतीय गतिशीलता हासिल गर्ने नेपाल सरकारको लक्ष्य पूरा गर्न यसले सघाउने छ ।

    ‘फोटन मोटर्सको विद्युतीय यात्रु भ्यान काठमाडौंमा ल्याउन पाउँदा हामी हर्षित छौं’ एमएडब्ल्यू वृद्धी कमर्सियल भेइकल्स प्रा.लि का सीईओले भने ।
    उनले भने, ‘यी सवारी साधनहरू भरपर्दो र कुशल यात्रा, सहरमा उत्सर्जन घटाउने र वातावरण संरक्षण गर्न डिजाइन गरिएको हो । हामी विश्वस्त छौं कि र हाम्रा ग्राहकहरूले नेपालमा राम्रोसँग स्वागत गर्नेछन् ।’

    फोटन मोटर्सको विद्युतीय यात्रु भ्यानहरू खरिद र परीक्षण ड्राइभको लागि काठमाडौमा उपलब्ध छन् ।