Category: प्रविधि

प्रविधि

  • एक वर्षमा नेपालीले प्रयोग गरे ३८ अर्बभन्दा बढीको मोबाइल फोन

    एक वर्षमा नेपालीले प्रयोग गरे ३८ अर्बभन्दा बढीको मोबाइल फोन

    काठमाडौं । नेपालले एक वर्षमा ३८ अर्ब रुपैयाँभन्दा बढीको मोबाइल फोन विभिन्न देशबाट आयात गरेको छ ।

    गत आर्थिक वर्ष २०७८/७९ मा नेपालले उक्त रकम बराबरको मोबाइल फोन आयात गरेको हो ।

    भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ असार मसान्तसम्को अवधिमा नेपालले ३८ अर्ब ६ करोड ६९ लाख ८७ हजार रुपैयाँको मोबाइल फोन आयात गरेको छ ।

    उक्त मूल्यमा नेपालमा ५५ लाख ८६ हजार ५७८ वटा मोबाइल सेट भित्रिएको छ ।

    अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा नेपालले विभिन्न देशबाट ३६ अर्ब ९० करोड ४५ लाख ८४ हजार रुपैयाँको ७० लाख ३० हजार ३६६ वटा मोबाइल सेट आयात गरेको थियो ।

    नेपालमा सबैभन्दा बढी मोबाइल फोन चीन, भारत, बंगलादेश, युनाइटेड अरब इमिरेट्स (युएई), अमेरिका र भियतनामबाट आउने गरेका छन् । गत आर्थिक वर्ष चीनबाट मात्र नेपालमा २२ अर्ब ७७ करोड ९१ लाख ८९ हजार रुपैयाँको मोबाइल फोन भित्रिएको भन्सार विभागको तथ्याङ्कले देखाउँछ ।

  • अमेरिकाले गर्‍यो हाइपरसोनिक मिसाइल परीक्षण

    अमेरिकाले गर्‍यो हाइपरसोनिक मिसाइल परीक्षण

    न्युयोर्क । अमेरिकाले हाइपरसोनिक मिसाइलको सफलतापूर्वक परीक्षण गरेको छ ।

    ध्वनिको गतिभन्दा पाँच गुणा छिटो गतिमा प्रहार गर्न सकिने रेथियोन टेक्नोलोजी कर्प एयर–ब्रेथिङ हाइपरसोनिक मिसाइलको सफलतापूर्वक परीक्षण गरेको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जनाएको छ ।

    सन् २०१३ पछि उसको यो तेस्रो सफल परीक्षण हो । यसअघि जुन २९ मा पनि विभिन्न प्रकारका हाइपरसोनिक हतियारको परीक्षण असफल भएका थिए ।

  • सरकारले घटायो टेलिफोन, मोबाइल र इन्टरनेट सेवामा लगाएको सेवा शुल्क

    सरकारले घटायो टेलिफोन, मोबाइल र इन्टरनेट सेवामा लगाएको सेवा शुल्क

    काठमाडौं । सरकारले आजदेखि लागू हुने गरी टेलिफोन, मोबाइल र इन्टरनेट सेवामा लगाउँदै आएको सेवा शुल्क घटाएको छ । यसअघि १३ प्रतिशत कायम गरिएको दूरसञ्चार सेवा शुल्क आर्थिक ऐनमार्फत १० प्रतिशतमा झारिएको हो ।

    सरकारले दूरसञ्चार सेवा दस्तुरलाई १० प्रतिशतमा झार्दा सेवा प्रदायकहरुको महसुल दर पनि सामान्य घट्नेछ ।

    नेपाल टेलिकमले कम्पनीले उपलब्ध गराइरहेको प्याकेज बाहेकको साधारण महसुल दर (पे एज यु गो)अन्तर्गतका भ्वाइस र डाटा सेवा तथा पीएसटीएन, एडीएसएल र एफटीटीएच लगायतका सेवाको महशुलमा समेत लाग्दै आएको दस्तुरमा ३ प्रतिशत रकम स्वतः घट्ने जानकारी दिएको छ ।

    त्यस्तै, एनसेलले पनि साउन १ देखि लागू हुनेगरी दूरसञ्चार सेवा दस्तुर १० प्रतिशत कायम गरिने जानकारी दिएको छ । अन्य सेवा प्रदायकले समेत सरकारको नयाँ व्यवस्थाअनुसार दूरसञ्चार सेवा शुल्क घटाउने तयारी गरेका छन् ।

     

  • के चीनले चन्द्रमालाई आफ्नो क्षेत्र घोषणा गर्न सम्भव छ ?

    के चीनले चन्द्रमालाई आफ्नो क्षेत्र घोषणा गर्न सम्भव छ ?

    न्युयोर्क । के चीनले साँच्चै चन्द्रमा कब्जा गर्न सम्भव छ ? वा उसले चन्द्रमालाई आफ्नै क्षेत्र घोषणा गर्छ ? नासाको आरोपले यस्तै संकेत गर्छ । नासाका प्रमुख बिल नेल्सनले एक अन्तर्वार्तामा चीनले कुनै दिन चन्द्रमामा अवतरण गर्न सक्ने बताएका थिए ।

    उनले बेइजिङले चन्द्रमालाई आफ्नो क्षेत्र घोषणा गर्न सक्ने दाबीसमेत गरे । नेल्सनका अनुसार सन् २०३५ सम्ममा चीनले आफ्नो चन्द्रमा स्टेसनको निर्माण पूरा गर्नेछ । त्यसपछि बेइजिङले धेरै चन्द्रयानहरू प्रक्षेपण गर्न सक्नेछ ।

    चीनले चन्द्रमामा अवतरण गर्ने योजना बनाएको छ । प्राकृतिक उपग्रह लिने बेइजिङको एजेन्डाको बारेमा अमेरिकी अन्तरिक्ष प्रशासन धेरै चिन्तित रहेको नासाका प्रमुखले स्वीकार गरेका छन् ।

    ‘हामी धेरै चिन्तित हुनुपर्दछ किनकी चीन चन्द्रमामा अवतरण गरिरहेको छ र उसले यो हाम्रो हो र तपाई बाहिर बस्नुहोस भन्दै छ’, नासा प्रशासक बिलले भने । नेल्सनले चीनको अन्तरिक्ष कार्यक्रम सैन्य कार्यक्रम रहेको दाबी गरे । चीनले अरूको विचार र प्रविधि चोरेको समेत उनले आरोप लगाए । जवाफमा चीनले सधैं बाह्य अन्तरिक्षमा राष्ट्रहरूको समुदाय निर्माण गर्न आह्वान गरेको बताउँछ । उसले नासाका प्रमुखको दावीलाई गैरजिम्मेवारपूर्ण भनेको छ ।

    हालैका वर्षहरूमा चीनले चन्द्रमा अन्वेषणमा ध्यान केन्द्रित गर्दै आफ्नो अन्तरिक्ष कार्यक्रमको गति बढाएको छ । चीनले सन् २०१३ मा कारिन्दारहित यान अवतरण गरायो । यस दशकको अन्त्यमा चन्द्रमामा अन्तरिक्ष यात्री पठाउन पर्याप्त शक्तिशाली रकेटहरू प्रक्षेपण गर्ने अपेक्षा गरेको छ ।

    चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले भने, ‘अमेरिकी नेसनल एयरोनटिक्स एन्ड स्पेस एडमिनिस्ट्रेसनका प्रमुखले तथ्यलाई बेवास्ता गरेको र चीनको बारेमा गैरजिम्मेवारीपूर्ण कुरा गरेको यो पहिलो पटक होइन । ’

    चीनले यो दशकपछि चन्द्रमाको दक्षिणी ध्रुवमा क्रुबिनाको मिसनको योजना बनाइरहेको छ ।

  • सञ्चालनमा आयाे साझा यातायातकाे बिजुली बस

    सञ्चालनमा आयाे साझा यातायातकाे बिजुली बस

    काठमाडाैं । साझा यातायातले बिहीबारदेखि नयाँ बिद्युतीय बस सञ्चालनमा ल्याएको छ ।

    चीनबाट पहिलो चरणमा ल्याइएका तीन वटा बिद्युतीय बस बिहीबारबाट सञ्चालमा आएका हुन् । साझाका संस्थापक अध्यक्ष विश्वबन्धु थापाले उक्त विद्युतीय बसको हरियो झण्डा देखाएर शुभारम्भ गरेका हुन् ।

    विद्युतीय बस रत्नपार्क, ठमेल नयाँ बसपार्क हुँदै एअरपोर्टको रुट र लगनखेल, रत्नपार्क हुँदै बूढानीलकण्ठ रुटमा सञ्चालन भएको साझा यातायातले जानकारी दिएको छ ।

    साझाका तीन वटै बसमा चालक र परिचालक महिला छन् । अन्य ३७ वटा बस श्रावण महिनाभित्रै भित्राउने र दशैं अघि सेवा सुरु हुने बताइएको छ । साझा यातायाले बिद्युतीय बसको चार्जिङ स्टेसनका लागि सरकारले जग्गा उपलव्ध गराउने विश्वास व्यक्त गरेको छ ।

  • प्रचण्डले ट्वीटरमा ८ जनालाई मात्र गरेका छन् फलाे, सबै छोरी–नातिनी र अमेरिकी राजनीतिज्ञ

    प्रचण्डले ट्वीटरमा ८ जनालाई मात्र गरेका छन् फलाे, सबै छोरी–नातिनी र अमेरिकी राजनीतिज्ञ

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सञ्जाल ट्वीटरमा जम्मा ८ जनालाई मात्र फलो गरेका छन् ।

    उनले फलो गरेका ८ जना सबै कि त उनकै परिवारका सदस्य (छोरी र नातिनी) छन् कि अमेरिकी राजनीतिज्ञ ।

    प्रचण्डले फलो गरेकामध्ये तीन जना परिवारका सदस्य र बाँकी ५ जना अमेरिकी राजनीतिज्ञ छन् ।

    उनले छोरीहरु रेनु दाहाल र गंगा दाहाल र नातिनी सृष्टी दाहाल केसीलाई फलो गरेका छन् । यस्तै उनले फलो गरेका विदेशीमा अमेरिकी राष्ट्रपति जो बाइडेन, अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस, अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामा, अमेरिकी पूर्वराष्ट्रपति विल क्लिन्टन र अमेरिकी पूर्वविदेशमन्त्री हिलारी क्लिन्टन रहेका छन् ।

    माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी) का नेता माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा), नेपालका संघिय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई कसैलाई पनि ट्वीटरमा फलो गरेका छैनन् ।

    ट्वीटरमा उनको आधिकारिक ट्वीटर ह्याण्डिल ‘एटसीएमप्रचण्ड’ रहेको छ । ट्वीटरले भेरीफाइ गरेको उनले उक्त ह्याण्डिलबाट उनले आफ्नै पार्टीको कुनै एक नेतालाई पनि फलो गरेका छैनन् । यो समाचार तयार पार्दासम्म उनलाई ट्वीटरमा ३ लाख ६३ हजार ९१९ जनाले फलो गरेका छन् ।

  • ११ महिनामा ३८ अर्बभन्दा बढीको मोबाइल फोन भित्रियो नेपाल

    ११ महिनामा ३८ अर्बभन्दा बढीको मोबाइल फोन भित्रियो नेपाल

    काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो एघार महिनामा विभिन्न देशबाट नेपालमा ३८ अर्बभन्दा बढीको मोबाइल फोन भित्रिएको छ ।

    भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ जेठ मसान्तसम्मको अवधिमा उक्त मूल्य बराबरको मोबाइल फोन नेपाल भित्रिएको हो ।

    सो अवधिमा नेपालले कूल ३८ अर्ब ६ करोड ६९ लाख ८७ हजार रुपैयाँको मोबाइल फोन आयात गरेको विभागले जनाएको छ ।

    उक्त मूल्यमा ५५ लाख ८६ हजार ५७८ थान मोबाइल फोन नेपाल भित्रिएको विभागको तथ्याङ्कले देखाउँछ ।

    नेपालमा सबैभन्दा बढी मोबाइल फोन चीन, भारत, भियतनाम, युनाइटेड अरब इमिरेट्स (युएई), अमेरिका र बंगलादेशबाट आउने गरेको छ ।

    पछिल्लो ११ महिनामा चीनबाट २२ अर्ब ७७ करोड ९१ लाख ८९ हजार रुपैयाँ, भारतबाट १२ अर्ब ७८ करोड ७५ लाख १७ हजार रुपैयाँ, भियतनामबाट १ अर्ब ६७ करोड १६ लाख २८ हजार र युएईबाट २७ करोड ८१ लाख ६४ हजार रुपैयाँको मोबाइल फोन नेपाल भित्रिएको छ ।

     

  • युट्युबमा अब नयाँ फिचर, अपलोड भइसकेको भिडिओ सम्पादन गर्न मिल्ने

    युट्युबमा अब नयाँ फिचर, अपलोड भइसकेको भिडिओ सम्पादन गर्न मिल्ने

    काठमाडाैं । युट्युबले प्रयोगकर्ताहरूको सहजीकरणका लागि नयाँ फिचर थपेको छ । युट्युबले अपलोड गरिसकेको भिडिओ सम्पादन गर्न मिल्ने ‘करेक्सन’ फिचर सार्वजनिक गरेको हो ।

    अमेरिकी प्रविधि वेबसाइट द भर्जका अनुसार यो नयाँ फिचरको प्रयोगमा प्रयोगकर्ताहरूले अपलोड गरिसकेको भिडिओलाई डिलिट नगरी त्यसमा कुनै गल्ती भए सम्पादन गर्न सक्नेछन् ।

    यसभन्दा अघि युट्युबमा एकपटक अपलोड भएको भिडिओ सम्पादन गर्न मिल्दैनथ्यो । भिडिओमा केही गल्ती भएमा प्रयोगकर्ताले आफ्नो भिडिओ डिलिट गरेर, गल्ती सम्पादन गरेर पुनः अपलोड गर्नुपर्ने हुन्थ्यो ।

    यसो गर्दा प्रयोगकर्ताहरूको लाइक र कमेन्टहरू गुम्थ्यो । अथवा भिडिओ डिलिट नगरी भिडिओमा भएको गल्तीलाई त्यसको डिस्क्रिप्सनमा लेख्न सकिन्थ्यो । यसो हुँदा पनि प्रायः अन्य स्रोताले ख्याल गरिरहेका हुँदैनन् ।

    युट्युबको नयाँ फिचरमा भने अब भिडिओ डिलिट नगरी त्यसैमा सम्पादन गर्न सकिन्छ । अर्थात्, पोस्ट भइसकेको भिडिओको गल्ती सच्याउन सकिन्छ । द भर्जका अनुसार भिडिओमा सच्चाइएको कुरालाई भिडिओको छेउमा हुने ‘इन्फोकार्ड’ बक्समा देखाइनेछ ।

  • अन्तरिक्षबाट मिथेन ग्यास चुहावट देखिएको दावी

    अन्तरिक्षबाट मिथेन ग्यास चुहावट देखिएको दावी

    काठमाडाैं । वैज्ञानिकहरूले पहिलो पटक समुद्रबाट चुहिएको शक्तिशाली ग्रीनहाउस ग्यास मिथेनको पत्ता लगाउन स्याटेलाइट डाटाको प्रयोग भएको एक अध्ययनले देखाएको छ ।

    उक्त अनुसन्धानको निष्कर्षमा तेल तथा ग्यास उद्योगबाट पहिले अदृश्य मिथेनका लप्का पत्ता लागेको बताइएको छ ।

    अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईइए) का अनुसार सन् २०२० मा विश्वव्यापी रूपमा जीवावशेष इन्धनको परिचालनले लगभग एक करोड २० लाख टन वार्मिङ ग्यास उत्सर्जन भएको थियो । यो मानव गतिविधिबाट हुने मिथेन उत्सर्जनको झन्डै एक तिहाइ भाग हो ।

    वातावरण विज्ञान तथा प्रविधिसम्बन्धी ‘इन्भारन्मेन्ट साइन्स एण्ड टेक्नोलोजी लेटर्स’ पत्रिकामा सार्वजनिक हालै गरिएको नयाँ अध्ययनले मेक्सिकोको खाडीमा रहेको तेल तथा ग्यास उत्पादन केन्द्रबाट आएको हरित गृह ग्यासको लप्का पत्ता लगाएको हो जहाँ डिसेम्बर महिनाको १७ दिनको अवधिमा करिब ४० हजार टन ग्याँस उत्पादन भएको थियो ।

    दक्षिणी मेक्सिकोको क्याम्पेचे नजिकै रहेको यो प्लेटफर्म देशकै सबैभन्दा ठूलो तेल उत्पादन गर्ने क्षेत्रहरूमध्ये एक हो ।

    भ्यालेन्सिया पोलिटेक्निक विश्वविद्यालयका प्राध्यापक लुइस गुआनटरले यससम्बन्धमा सार्वजनिक एक भनाइमा उल्लेख गरिएको छ, ‘हाम्रो अध्ययनको निश्कर्षले भूउपग्रहहरूले समुद्रको आधारभूत संरचनाबाट मिथेन ग्यासका लप्का कसरी पत्ता लगाउन सक्छन् भन्ने कुरा देखाउँछ ।’

    ‘यसले एउटा प्लेटफर्महरूबाट औद्योगिक उत्सर्जनको व्यवस्थित अनुगमन गर्ने ढोका खोल्छ ।’

    गत केही वर्षमा जमिनमाथि मिथेन चुहावट पत्ता लाग्ने भूउपग्रह आधारित तरिकाहरू द्रुत गतिमा विकास भएका छन् । यसले नियामक निकाय तथा उद्योगबारे असहजता सिर्जना गर्ने जानकारी दिएको छ ।

    समुद्रको तेल तथा ग्यासको परिचालनबाट चुहावट हुने विश्वव्यापी उत्पादनको लगभग ३० प्रतिशत उत्सर्जनबारे समान प्रविधिको अभाव हुँदै आएको छ ।

  • क्यालिफोर्नियाको मरूभूमिमा अमेरिकी मरिन कोरको विमान दुर्घटना

    क्यालिफोर्नियाको मरूभूमिमा अमेरिकी मरिन कोरको विमान दुर्घटना

    काठमाडौं । अमेरिकाको क्यालिफोर्निया राज्यमा लडाकु विमान दुर्घटनामा परेको छ । अमेरिकी फौजको मरिन कोरमा तैनाथ भी २२ ओस्प्रे लडाकु विमान दक्षिणी क्यालिफोर्नियाको मरूभूमिमा दुर्घटनाग्रस्त भएको हो ।

    उक्त विमानमा कुनै आणविक सामग्री भने नभएको बताइएको छ ।

    प्रवक्ताका अनुसार दुर्घटनामा कुनै हताहतीको पुष्टि भने भएको छैन । यद्यपि स्थानीय समाचार माध्यमहरूले मरिन कोर विमानमा सवार कम्तीमा चार जनाको मृत्यु भएको बताएका छन् ।

    क्यालिफोर्नियाको सान डिएगो सहरबाट बाहिर रहेको तेस्रो मरिन एयरक्राफ्ट विङको एउटा विमान मेक्सिकोको सीमाबाट करिब ३० माइल उत्तरमा रहेको राजमार्ग ७८ र ग्लामिस सहर नजिकै दुर्घटनाग्रस्त भएको नौसेना वायु सेवा सुविधा एल सेन्ट्रोले समेत आफ्नो फेसबुक पेजमा पुष्टि गरेको छ ।

    यसअघि सो विमानमा आणविक सामग्री भएको हुनसक्ने चिन्ता उत्पन्न भएको थियो तर मरिन कोरले पछि प्रतिक्रिया दिदै सो अनुमानलाई खारेज गरेको विज्ञप्तिमा जनाइएको छ ।