Category: फिचर स्टोरी

फिचर स्टोरी

  • तस्बिरमा हेरौँ राजावादीले आगो लगाएर खण्डहर बनेको जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र

    तस्बिरमा हेरौँ राजावादीले आगो लगाएर खण्डहर बनेको जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र

    काठमाडौं । पूर्वराजाका समर्थकहरुले शुक्रबार गरेको प्रदर्शनमा काठमाडौँको जडीबुटीस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा आगजनी गरेपछि त्यहाँको अवस्था भयावह देखिएको छ ।
    चैत्र १५ गते शुक्रबार भएको प्रदर्शन र तोडफोडमा जडिबुटीका प्रशोधन कम्पनीसहित कम्पनीको पार्किङ्मा राखिएको चारवटा गाडी र दुईवटा दुईपांग्रे सवारी साधन पनि जलेर नष्ट भएको थियो ।
    तीनकुने क्षेत्रबाट तितरवितर भएका राजावादीहरुले त्यस वरपरका क्षेत्रमा सार्वजनिक तथा निजी सम्पत्ति तोडफोड, लुटपाट तथा आगजनी गरेका थिए । त्यसै क्रममा जडीबुटी कम्पनी पनि निशानामा परेको थियो ।
    आगो लगाइएका कारण इतिहास बोकेको भवनको अधिकांश भागमा क्षति पुगेको छ । कारखानाका सामानहरु जलेका छन् । काठमाडौँ उपत्यकाका ६ वटा दमकल चार घण्टासम्म खटिएर आगो नियन्त्रणमा ल्याएका थिए ।
    जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शुक्रबारको आगजनीबाट कुल १५ वटा सवारी साधनमा क्षति पुगेको छ जसमा सरकारी सवारी साधन नौं वटा र सरकारी÷निजी नखुलेको सवारी साधन ६ वटा रहेका छन् ।
    प्रदर्शनमा १४ स्थानमा आगजनी हुनुका साथै नौं वटा संस्था एवं कार्यालय तोडफोड र कोटेश्वरको भाटभटेनी सुपर मार्केट तोडफोड तथा लुटपाट भएको प्रहरीले गरेको अध्ययनले देखाएको छ ।

  • छुट्टाछुट्टै प्रदर्शनले काठमाडौंमा यातायात आवागमन अस्तव्यस्त (तस्बिरहरू)

    छुट्टाछुट्टै प्रदर्शनले काठमाडौंमा यातायात आवागमन अस्तव्यस्त (तस्बिरहरू)

    शुक्रबार काठमाडौंमा गणतन्त्रवादी र राजावादीले गर्ने छुट्टाछुट्टै र्‍याली, प्रदर्शन र सभाका कारण काठमाडौं उपत्यकाको यातायात प्रभावित भएकाे छ ।

    गणतन्त्र पक्षधर चार दलीय समाजवादी मोर्चा नेपालले काठमाडौंको भृकुटीमण्डपमा र व्यवस्था विरोधी राजावादीहरूले तीनकुनेमा सभासहितको शक्ति प्रदर्शन गर्दै छन् । त्यसअघि उनीहरुले उपत्यकाका विभिन्न स्थानबाट र्‍याली निकाल्ने तयारी गरेका छन्।

  • मुख्य सडकमै ठडियो समाजवादी मोर्चाको मञ्च, सवारी साधन डाइभर्ट (तस्बिरहरू)

    मुख्य सडकमै ठडियो समाजवादी मोर्चाको मञ्च, सवारी साधन डाइभर्ट (तस्बिरहरू)

    काठमाडौ । आज काठमाडौंको प्रदर्शनी मार्गमा समाजवादी मोर्चाले प्रदर्शन गर्ने तयारी गरेको छ।

    मोर्चाले पर्यटन बोर्ड सभागृह अगाडि मुख्य सडकमै मञ्च निर्माण गरेको छ, जसका कारण क्षेत्रीय सवारी साधन डाइभर्ट गरिएको छ। मोर्चामा आबद्ध प्रमुख दलहरुमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी विप्लव नेतृत्वको नेकपा रहेका छन्।

    त्यस्तै, आजै राजावादीहरूले तीनकुनेमा प्रदर्शन गर्ने भएका छन्। दुवै समूहको प्रदर्शनले काठमाडौं उपत्यकामा ट्राफिक व्यवस्थापनमा ठूलो चुनौती खडा गर्ने संभावना छ।

  • विश्व रंगमञ्च दिवस : नेपालमा दर्शकको रुची अनुसारका गुणस्तरीय नाटकको अभाव

    विश्व रंगमञ्च दिवस : नेपालमा दर्शकको रुची अनुसारका गुणस्तरीय नाटकको अभाव

    काठमाडौं । पछिल्लो समय नेपालमा रंगमञ्चको क्षेत्रमा सम्भावनासँगै चुनौती पनि बढिरहेको छ । चुनौतीसँगै रंगमञ्चको सङख्या बढेसँगै क्षेत्र भने फराकिलो बन्दै गएको छ । नाटकमा दर्शकहरुको रुची बढिरहेको छ । रंगकर्मीहरुको संघर्ष पनि निकै गर्व गर्न लायक छ ।रंगमन्चको संख्या बढ्नु र रंगकर्मीहरु यतातिर आकर्षित हुनु सकरात्मक देखिएपनि दर्शकहरुको रुची अनुसारको नाटक अझै बन्न नसकिरहेको स्वयम रंगकर्मीहरु नै पनि स्विकार्ने गर्छन् ।रंगमञ्चकर्मी सृजना अधिकारीले पछिल्लो समय नेपालमा रंगमञ्चको अवस्था सुदृढ हुँदै गएको भएतापनि गुणस्तरीय र फरक शैलीका नाटक भने दिन नसकेको स्वीकार्छिन् ।

    नाटकमा वहस र अन्तरक्रिया एकदमै आवश्यक रहेको भन्दै त्यसो गरेमात्र आउने दिनहरुमा रंगमञ्चको क्षेत्रमा काम गर्न सहज हुने उनको विश्वास छ ।उनले भनिन्, ‘यतिबेला नेपाली रंगमञ्चको अवस्था सामान्य छ । पहिलेको तुलनामा अहिले धेरै रंगमञ्चहरु खुलेका छन् । कलाकारहरुको संख्यापनि बढ्दो छ तर क्वालिटी अलि दिन नसकेको हो कि जस्तो लाग्छ । एउटै जनरलका फिल्महरु पनि बनिरहेको हुन्थ्यो कुनै समय त्यस्तै अहिले नाटकमा पनि एउटै जनरलको नाटकहरु मन्चन भइरहेको हो कि जस्तो लाग्छ । त्यसैले सुधार गर्नुपर्ने विषयमा वहस जरुरी भइसकेको छ ।’त्यस्तै पछिल्लो समय नाटकमा नै बसेर जीविकोपार्जन गर्न कठिन भएको कारण नाटकबाट उदाएका कलाकारहरु फिल्म क्षेत्रमा लाग्ने र नाटकमा नफर्कने समस्या बढिरहेको सुनिन्छ । तर यसमा रंगमञ्चकर्मी अधिकारी भने विमति राख्छिन्।

    उनले भनिन्, ‘यसमा म चाँही सहमत छैन् । नाटकक्षेत्रमा जीविकोपार्जन गर्न पैसा नै छैन भन्नुहुन्छ कतिजनाले यस्तो कुरा हामीले पहिल्यैदेखि सुन्दै आइरहेका छौं । हाम्रो सिनियरहरुले त्यही नै भन्नुहुन्थ्यो । त्यसलाई स्वीकार गरेर आएका हौं । मैले काम गरेको १८ वर्ष जति भयो, आजसम्म पनि छु । पैसा नभएर त होइन नि । यति धेरै रंगमञ्चहरु खुलिरहेको छ, बिना पैसा त खुल्दैनन् । पैसा छैन भन्दाभन्दै बिना पैसा कसले काम गर्छ त,’ उनले भनिन्, ‘त्यसमा परिधिहरु फरक छन होला माध्यमहरु फरक छन् होला तर पैसा छ । अहिलेको अवस्था चाँही कसरी अगाडि लैजाने पैसा अनुसारको काम कसरी दिने भन्ने नै हो । म सर्भाइभ भइरहेको छु भनेपछि पैसा त छ नि । कुन तहको डिमान्ड गर्ने भन्ने चाहीं आफैंमा निर्भर गर्ने कुरा हो । सामान्य जीवन बिताउनको लागि सबैलाई पुगिरहेको छ ।’उनले अहिले रंगमञ्चमा आउने कलाकारले रंगमञ्चलाई फिल्ममा जाने खुड्किलोको रुपमा मात्र लिएको भन्दै यस्तो गर्नु गलत भएको बताइन् । राम्रो मेहेनत गरेर काम गरेको खण्डमा माथि पुग्छौं । त्यतिकै चमत्कार हुँदैन भन्ने कुराको हेक्का सबै कलाकारमा हुनुपर्ने उनको भनाई छ ।यसमा थप्दै उनले भनिन्, ‘नाटकमा नै फोकस गरेर काम गरौ न भन्ने टीमवर्कमा काम गर्ने भनेर आउनुहुन्थ्यो भने अहिले चाँही रंगमञ्च फिल्ममा जाने खुड्किलो मात्र भएको छ । खुड्किलो मात्र होइन राम्रो मेहेनत गरेर अभिनय देखाउन सकियो भने रंगमन्चबाटै चमत्कार गर्न सकिन्छ ।’

    उनले नेपाली सिनेमा क्षेत्रमा नाटकबाट गएका कलाकारहरुको सशक्त भूमिका रहेको भन्दै भनिन्, ‘अहिले फिल्म क्षेत्रमा पढेर बुझेर नै जाने क्रम बढेको छ । नाटकबाट जानुभएको कलाकारहरुले फिल्ममा राम्रो गरिराख्नुभएको छ । आफ्नो स्थान बनाइराख्नुभएको छ ।’त्यस्तै, तपाई फिल्म र नाटक कुनमा बढि सन्तुष्ट हुनुहुन्छ भन्ने प्रश्नमा उनले भनिन्,‘नाटक भनेपछि रगतमा नै बसेको छ । आनन्द महशुस गरिन्छ । कलाकार भएर सबै काम गर्नुपर्यो । नाटकमा चाँही फ्लोमा बग्न पाइन्छ । आफ्नो हिसाबले काम गर्न पाइन्छ । फिल्ममा अलिकति टेक्निकल पनि काम गर्नुपर्छ । दुवैमा सन्तुष्ट छु ।’रंगमञ्च सम्भावना भएको क्षेत्र भएकाले मार्केटिङ गर्न सकियो भने अझ धेरै राम्रो हुने उनको बुझाई छ ।‘रंगमञ्च सम्भावना नभएको क्षेत्र होइन । नाटकमा बुझ्ने पढ्ने सिक्ने सबै प्याकेजको रुपमा पाइन्छ । जीवन बुझ्नका लागि नाटक चाहिन्छ । फिल्ममा जान प्रयोग गरिरहेको पनि छन् । मार्केटिङ गर्न सकियो भने अझ धेरै राम्रो हुने सम्भावित क्षेत्र हो ।’सँधै एउटै खालको नाटक भएको गुनासो आइरहेका बेला नयाँ शैलीका नाटकहरु ल्याउनु चुनौती रहेको उनले बताइन् । नाटकमा पहिलेको जस्तो हेर्न आउनेको माहोल नभएको भन्दै यसमा सबै रंगमञ्चकर्मीहरुले सोच्ने समय आएको उनको ठम्याई छ ।

    उनले भनिन्, ‘डिलिङ कसरी गर्ने भन्ने कुरा नै चुनौतीको रुपमा छ । नाटकहरु कस्तो तरिकाले ल्याउन सकिन्छ, सँधै एउटै खालको नाटक गर्ने कि नगर्ने अब कसरी जाने त्यो अहिले नाटकको क्षेत्रमा खड्किएको कुरा हो । हिजोआज अग्रजहरु देख्न पाइँदैन् । पहिला पहिला कलेजहरु सबै उर्लिएर आउनुहुन्थ्यो नाटक हेर्न अहिले माहोल छैन् । त्यो हामीले दिन नसकेको हो, यसमा कसरी पार गर्ने सबै रंगमञ्चकर्मीहरुले सोच्ने विषय हो, समय पनि आएको छ ।’उनले देशमा सरकार नै स्थिर नरहेको अवस्थामा सरकारबाट कुनै सहयोगको अपेक्षा राख्नु नै गलत हुने धारणा पनि राखिन् ।यस्तै, कलाकार तथा रङ्गमञ्चकर्मी प्रमोद अग्रहरी दिल्लीमा गएर नाटक सम्बन्धी पढेपछि २००७ बाट रङ्गमञ्चको यात्रा सुरु गरेको बताएका छन् ।उनले आफ्नो नाटकको यात्रा सुनाउदैँ गर्दा पहिलाको नाटक र रङ्गमञ्च शुद्ध हुने गरेको भन्दै पछिल्लो समय यो क्षेत्र व्यापारिकणको चपेटामा परेको उल्लेख गरे ।साथै डाइरेक्सन र नाटकको लागि तीनचार महिनाको बुझाईले नपुग्ने त्यसको लागि एकदमै ठूलो तपस्या गर्नुपर्ने भन्दै अहिलेको नयाँ पुस्तामा त्यो कुराको कमि देखिएको पनि उनको भनाइ छ ।

    ‘पछिल्लो समय जुन नाटकहरु भइरहेका छन् ति स्तरीय नभएजस्तो लाग्छ । म आफै नाटकहरु हेर्न गएको छैन् । यसको कारण अहिले सिक्दै गरेकाहरुकोे कामले डाइरेक्सन तीनचार महिनामा बुझ्न सक्दैनन् । त्यसका लागि एकदमै ठूलो तपस्या नै गर्नुपर्छ,’ उनले थपे ‘पहिला एकदमै शुद्ध काम हुन्थ्यो जस्तो लाग्थ्यो तर अहिले व्यापारीरकण बढि भयो जस्तो लाग्छ । देखावटी बढि नै भयो ।’नाटक घर र रङ्गमञ्च भन्ने वित्तिकै विद्रोह गर्ने ठाँउ हो, जहाँ समाज र आफ्नो रुपान्तरण हुन्छ तर यसलाई व्यापारीकरण गरिएको पनि उनको गुनासो रहेको छ ।यस्तै, उनले घर बनाउनको लागि सबैभन्दा महत्वपूर्ण कुरा जग भएको भन्दै अभिनयको जग नाटकघर र रङ्गमञ्चबिना कुनै सिनेमा र कलाकार बन्न नसक्ने बताए ।उनले भने, ‘अहिलेको सन्दर्भमा फिल्म क्षेत्रमा रङ्गमञ्चबाट गएका कलाकारहरु पनि धेरै मात्रामा छन् । मेरो लागि नाटकघर भनेको बाँच्न सिकाउने ठाँउ हो जस्तो लाग्छ । किनभने घर बलियो बनाउनको लागि जग बलियो हुनुपर्छ रङ्गमञ्च भनेको जग हो त्यो बिना हामीले सिनेमामा पनि काम गर्न सक्दैनौ । यसको साथै यस सम्बन्धीको पढाइ पनि एकदमै जरुरी हुन्छ । म रङ्गमञ्च र फिल्म दुवैमा रमाउने मान्छे हो ।’यस क्षेत्रमा राज्यको ध्यान नगएकोतर्फ पनि उनले दुख व्यक्त गरे । यस क्षेत्रमा राज्यले जति ध्यान दिनुपर्ने थियो त्यो हिसाबको नभएको उनको बुझाई रहेको छ ।उनले भने, ‘राज्यबिना हामी केही होइनौं, न सिनेमामा केही हुन्छ न नाटकघरहरुमा केही हुन्छ । त्यसकारण यसका लागि राज्यले सजिलो वातावरण भने बनाइदिनुपर्छ । नेपाली सिनेमा र रङ्गमञ्चहरुका लागि सरकारी निकायबाट केही कामहरु गर्नुपर्छ जस्तो लाग्छ ।’उनले रङ्गमञ्च दिवसको अवसरमा सबै रङ्गमञ्चकर्मीहरुलाई एकमुष्ट रुपमा शुभकामना पनि दिएका छन् ।

  • यौन व्यवसायबारे चर्को वहस : व्यवस्थित गर्ने कि बन्देज ?

    यौन व्यवसायबारे चर्को वहस : व्यवस्थित गर्ने कि बन्देज ?

    काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले चैत्र ३ गते बसेको प्रतिनिधिसभा बैठकमा यौन व्यवसाय खुलागरी पर्यटन प्रवद्र्धन गर्नुपर्ने भनी एक सनसनीपूर्ण अभिव्यक्ति दिए ।
    उनले यसअघि प्रमुख सचेतक नहुँदै पनि यस्तै धारणा राखेर विवादित पनि भइसकेका थिए ।उनले भनेका थिए,‘धार्मिक पर्यटकले पैसा खर्च गर्दैनन् । पैसा खर्च गर्ने भनेको मनोरञ्जन क्षेत्रमा आउने पर्यटकले नै हो, यौन व्यवसायलाई खुला गरौँ । यसबाट धेरै विदेशी पर्यटक आउँछन् । यसले मुलुकको आर्थिक संमृद्धिका लागि योगदान पुग्छ ।’

    घिमिरेले दिएका अभिव्यक्तिमा महिला नेतृहरूले आपत्ति जनाउदै कारबाहीको माग समेत गरे ।यसै क्रममा नेकपा माओवादी केन्द्रकी सांसद दुर्गा राईले घिमिरेको अभिव्यक्तिले समाजलाई अराजकतातिर पुर्याउने भन्दै उक्त भनाइलाई रेकर्डबाट हटाउनका लागि रुलिङको माग नै गरिन् ।उनले भनिन्,‘हिजो सत्ता पक्षका माननीयज्यूले यौैन व्यवसायलाई कानुन बनाइ मान्यता दिएर पर्यटकलाई आकर्षण गरी अर्थपार्जन गरौं भन्ने कुरा दोस्रो पटक यस संसदमा उठाउनु आपत्तिजनक कुरा हो । यस्तो चिन्तनको घोर भत्र्सना गर्दछु । यस्तो विचारले अनुशासित र मर्यादित रुपमा रहेको समाजलाई अराजकतातिर पुर्याउँछ । त्यसैले यो भनाइलाई रेकर्डबाट हटाउनको लागि रुलिङको माग गर्दछु ।’यता, घिमिरे आफ्नो अभिव्यक्तिलाई लिएर चौतर्फी आलोचना भएपछि उनलाई पार्टी नेतृत्वले स्पष्टीकरण नै सोध्न बाध्य भयो । हुनत, देशको विकासका लागि कानुनी व्यवस्था गरेर यौन व्यवसाय खुला गर्नुपर्ने आवाज यसअघि पनि उठ्दै आइरहेको छ ।

    प्रतिनिधि सभाकी सांसद चन्दा चौधरीले ३१ भदौको संघीय संसद्मा भनिन्, गण्डकी प्रदेशको मुख्यमन्त्री रहँदा पृथ्वीसुब्बा गुरुङले ‘रेडलाइट एरिया खोल्नुपर्छ’ भनेर सार्वजनिक अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिलाई लिएर तत्कालित प्रतिनिधि सभाकी सांसद चन्दा चौधरी गुरुङको राजीनामा नै माग गरेकी थिइन् ।तर गुरुङले यौन धन्दाको व्यवस्थापन गर्न चारवटा उपाय सुझाउँदै भनेका थिए–यौन धन्दालाई पूर्ण रूपमा बन्देज गर्ने, अपराधीकरण गर्ने, नियमन गर्ने र रेडलाइट एरिया तोक्ने।’ यिनै उपायबाट विश्वमा यौन धन्दा नियन्त्रणको अभ्यास भएको उनको दाबी थियो ।यसअघि तत्कालीन कानुनमन्त्रीसमेत रहेका शेरबहादुर तामाङले संसद्मा ‘बंगलादेशमा पढ्न गएका नेपाली छात्राहरूले यौन व्यवसाय गरेको’ भन्नेबारे अभिव्यक्ति दिँदा मन्त्री पद नै गुमाएका थिए । तर कानुनको अभावमा यौन धन्दा व्यवस्थित नभएको र पूर्ण नियन्त्रणमा समेत आउन सकेको छैन् ।यद्यपी, यौन पेशालाई लिएर विभिन्न कोणबाट वहस भइरहेको छ । कतिपयले यस्तो पेशालाई नियन्त्रण र बन्देज गर्नुपर्ने आवाज उठाएका छन् भने कतिपयले यौन श्रमिकहरुको विषयलाई मानव अधिकारको दृष्टिकोणमा आवाज उठाइरहेका छन् ।यौन पेशामा संलग्न यौनिक तथा लैङ्गिक अल्पसंख्य समूदायका व्यक्तिहरुको अधिकारका लागि क्रियाशील अधिकारकर्मीहरुले संविधानको धारा १८, धारा ३४ र धारा ४२ मा भएको प्रावधानहरुलाई लिएर सेक्स वर्करहरुलाई पनि सुरक्षित, स्थिर र सम्मानपूर्ण बाँच्न पाउने अधिकार हुनुपर्ने पक्षमा आवाज उठाइरहेका छन् ।

    यौन श्रमिकहरुको न्यायको लागि काम गर्ने संस्था मायाको संसारकी संस्थापक सुनिता लामाले नेपालमा यौन श्रमिकहरुको अवस्था दयनीय रहेकाले उनीहरुले पनि आफ्नो योग्यता अनुसार बाँच्न पाउनुपर्ने बताइन् ।उनले यौन श्रम र श्रमिकलाई राज्यले अपराधीकरण गरेको र त्यसलाई निरअपराधीकरण गर्नुपर्ने बताइन् । यौन व्यवसायलाई व्यवस्थित गर्नुपर्ने सांसदहरुको आवाजलाई सम्मान गनुपर्ने उनको धारणा छ ।‘नेपाल सरकारको तथ्याङमा यौन श्रमिक महिलाहरु ८६ हजार छ । यौन श्रम हो, व्यवसाय होइन् । नेपालमा यौन श्रमिकहरुको अवस्था दयनीय छ । माननीयज्यूहरुले उठाएको कुरा गलत भन्न मिल्दैन । कुरा सहि हो । नेपालको कानूनले यसलाई अपराधीकरण गरिरहेको छ । यसलाई निरअपराधीकरण गर्नुपर्छ । स्वइच्छाले काम गर्ने नीति बनाउनुपर्छ । यौन श्रमिकको रुपमा काम गरिरहँदा शोषणमा पनि परेका हुन्छन् । यहाँ जति सजिलो देखिन्छ त्यति सजिलो छैन । यसलाई व्यवस्थापन गर्न पोलिसी बन्नुपर्छ,’ उनले भनिन् ।उनले यौन पेशा रहरले नभइ बाध्यात्मक परिस्थितिले अवलम्वन गरेको भन्दै यौन श्रमिकहरुको हकका लागि वैधानिक भन्दा पनि नीति बनाउनुपर्ने बताइन् ।यस्तै, यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको अधिकारका पक्षमा वकालत गर्दै आएका अधिवक्ता सुजन पन्तले यौन श्रमिकको अधिकार सुनिश्चित गर्नुपर्ने अवस्थामा राजनीतिकीकरण गरिनु दुर्भाग्यपूर्ण भएको बताए ।‘यहाँ एउटा वर्ग छ, जो चाहीं पिडामा छ । जसको अधिकार चाहीं राज्यले सुनिश्चित गर्नुपर्ने अवस्थामा यसलाई राजनीतिक गरेर खाने विषय बनाउनु अत्यन्तै दुर्भाग्यपूर्ण छ,’ उनले भने ।‘राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रमार्फत नेपाल सरकारले तथ्याङ निकाल्छ । जसअनुसार करीब एक लाख यौन श्रमिक रहेका छन् । उनीहरु समस्या विकराल छ यसलाई व्यवस्थापन गनुपर्ने समयमा संसदमा उठ्यो । अव पोजिटिभ आउला भनेको दबाइयो ।’ उनले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले यौन पेशालाई मर्यादित काम भनेर परिभाषित गरको पनि बताए ।यता, प्रहरीले यौन धन्दामा संलग्नलाई पक्राउ गरेर प्रायः मानव बेचबिखनविरुद्धको अपराधअन्तर्गत मुद्दा चलाउने गरेकाले मानव अधिकार हनन् भएको अधिकारकर्मीहरुको भनाइ छ । मुलुकी संहितामा पनि स्पष्ट व्यवस्था र परिभाषा नभएकाले अपराध अन्तर्गत मुद्दा चलाइने गरेको छ । यौन धन्दाका विषयमा स्पष्ट कानून अभाव छ ।
    कानुन व्यवसायी पन्तले नेपालमा यौन व्यवसाय बारे कानुनी मौनता रहेको, यौन व्यवसाय वैध छ कि अवैध छ भन्ने बारे आ–आफ्नै धारणा रहेको बताए । कानूनमा स्पष्टता नहुँदा नेपालमा यौन व्यवसाय बैधानिक हो कि भनेर अनुमान पनि लगाउन सकिने उनको जिकिर छ ।

     

  •  ‘अञ्जिला’: एक भावुक यात्रा, संघर्ष र सन्देशको प्रस्तुति

     ‘अञ्जिला’: एक भावुक यात्रा, संघर्ष र सन्देशको प्रस्तुति

    काठमाडौं । निर्देशक मिलन चाम्सको फिल्म ‘अञ्जिला’ ले नेपाली सिनेमा जगतमा चर्चा र संवेदनशीलताको नयाँ मापदण्ड स्थापित गरेको छ । फिल्म एक सत्यकथामा आधारित छ र नेपाली महिला फुटबलकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवन संघर्षलाई पर्दामा उतारिएको छ । बायोपिकले दर्शकलाई एक भावुक अनुभव प्रदान गरेको छ, जसले समाजमा संघर्ष र सपना पूरा गर्ने महत्त्वपूर्ण सन्देश पुर्याएको छ ।

    फिल्मको कथा एक साधारण गाउँकी किशोरीको हो, जसले फुटबल खेलाडी बन्ने सपना पालेकी छ । तर, त्यो सपनाको यात्रा त्यति सजिलो भने छैन् । बाल्यकालमै बाबु र आमाबाट टाढिएकी एञ्जिला आफ्ना सपनाहरूको पछाडि लाग्ने क्रममा धेरै संघर्ष र चुनौतीहरूको सामना गर्छिन् ।

    एञ्जिलाको आमा, बाबु, र कान्छा बुबा चन्द्र साहुको अभिनयले फिल्मलाई अझ बलियो बनाएको छ । फिल्मको टोन भावनात्मक छ र प्रमुख रूपमा पारिवारिक सम्बन्ध र संघर्षको चित्रण गरिएको छ ।

    चलचित्र ‘अञ्जिला’ हेर्दै गर्दा शुरुको दृष्यहरुले हसाउँछ । त्यसपछि विस्तारै सन्नटा छाउँदै जान्छ । अनि हलमा रहेका दर्शकबाट साक्कसुक्क आवाज आउन थाल्छ । त्यो क्रम लगभग फिल्म अवधिभर नै चलिरह्यो । फिल्म सकिएपछि बाहिर निस्कने क्रममा पनि दर्शकहरुको आँखा रसिलो देखिन्थ्यो ।

    हुन त कोमल मन भएका दर्शकहरु साधारण भावनात्मक दृश्य वा संवाद सुन्दा र हेर्दा पनि रुने गर्छन् । तर चलचित्र ‘अञ्जिला’ मा त्यति सहजका दृश्य र कथाहरु छैनन् । रुवाउने नै छन् । चलचित्रमा ‘अञ्जिला’ को आमाको भूमिका निर्वाह गरेकी सृजना सुब्बाको सम्वादहरुले दर्शकहरुले आँशु बगेको पत्तै पाउँदैनन् । अनि ‘अञ्जिला’को सफलताको क्षणमा पनि दर्शकहरु एकाएक आँसु बग्छ ।

    आखिर कथा कस्तो छ ?

    राष्ट्रिय महिला फुटबल टिमकी क्याप्टेन एन्जिला तुम्बापो सुब्बाको वास्तविक जीवन कथामा आधारित चलचित्र निर्माण भएको हो । इलामको एउटा गाउँबाट गरेको संघर्षको कथा नै चलचित्रको मुख्य कथाबस्तु हो । गाउँमा जन्मिएकी एन्जिलाको संघर्षमय जीवन कथालाई चलचित्रमा रोचक ढंगले प्रस्तुत् गरिएको छ ।

    जुराप(मोच्चा)को फुटबल खेल्ने एन्जिलाको तिब्र चाहनाले नै उनलाई संघर्षको सिडी हिड्न सिकायो । जस्तोसुकै परिस्थितिमा पनि उनी फुटबल खेल्न तत्पर रहिन्, संघर्ष गर्न छोडिनन् । एन्जिलाको ईच्छामा उनका बुबा बाधक भएतापनि उनकी आमाले प्राण भर्छिन् । आफ्नो कठिन परिस्थितिहरुलाई पन्छाएर पनि सन्तानको रहर पूरा गर्न आमा मरिमेटेर लागिन् ।

    चलचित्रका निर्देशक मिलन चाम्स्ले आमाको ममता, आवेगहरुलाई सरल ढंगले प्रस्तुत् गरिदिएका छन् । लोग्नेबाट हेपिएकी स्वास्नीले लालाबाला हुर्काउँदा आईपर्ने समस्याहरु पनि चित्रण गरिएको छ । जुन समस्या एन्जिलाको खेलाडी बन्ने समस्याको बाधक थियो ।

    फिल्मको उत्कृष्ट पक्ष

    असली पात्रको अभिनयः फिल्मको विशेषता भनेको एन्जिलाले वास्तविक जीवनमा खेलेको फुटबल यात्रा दर्शकलाई प्रस्तुत गर्नका लागि, उनले स्वंय अभिनय गरेको छ । यसले फिल्मको वास्तविकतामा गहिरो प्रभाव पुर्याएको छ । दर्शकलाई एन्जिलाको वास्तविक संघर्ष र भावनासँगै जोड्न सघाउँछ ।

    सशक्त सन्देशः ‘जस्तोसुकै बाधा आओस्, सपना पुरा गर्ने प्रयत्न छाड्न हुन्न’ भन्ने सन्देश फिल्मका मुख्य अंशको रूपमा रहेको छ । यो सन्देश सन्तान र आमाको सम्बन्ध, संघर्ष र बलिदानको महत्वलाई बलियो बनाउँछ ।

    ‘अञ्जिला’ले न केवल एक फुटबल खेलाडीको संघर्षको कथा सुनाउँछ, तर पारिवारिक सम्बन्धको जटिलतासम्मलाई उजागर गर्छ । विशेषगरी, आमाको बलिदान र सहयोग, र बाबुको भावनात्मक सम्बन्धलाई पर्दामा उत्कृष्ट तरिकाले प्रस्तुत गरिएको छ ।

    कमजोरीहरू र चुनौतीहरू

    फिल्ममा केही कमजोरीहरू पनि छन् । पहिलो हाफको गति अपेक्षाकृत कमजोर छ र चरित्रहरूको पृष्ठभूमि स्थापित गर्नमा निर्देशकलाई अलमल परेको देखिन्छ । यद्यपि, दोस्रो हाफमा फिल्म रोचक र भावनात्मक बनिदिन्छ, जहाँ एञ्जिलाको संघर्ष र फुटबलर बन्ने यात्रा थप प्रष्ट र गहिरो बनाउँछ ।

    पटकथा भनेको एक महत्वपूर्ण पक्ष हो, जहाँ फिल्मका संघर्षको यात्रा अपूरो देखिन्छ । फुटबल खेलाडी बन्ने क्रममा एञ्जिलाको यात्रा अधिक विस्तारपूर्वक प्रस्तुत हुन सकेको छैन् । भारतीय बायोपिक ‘मेरिकोम’ जस्तै, ‘अञ्जिला’मा पनि खेलाडीको संघर्ष र प्रशिक्षकसँगको सम्बन्धको गहिराइमा कमी छ ।

    कलाकारहरूको प्रदर्शन

    दयाहाङ राई र सृजना सुब्बाको अभिनयले फिल्मलाई वास्तविकता दिएको छ । दयाहाङले चन्द्र साहुको पात्रलाई जीवन्त बनाएका छन् भने सृजनाले अञ्जिलाको आमाको भूमिका प्रगाढ र बलियो तरिकाले निभाएकी छन् ।
    एन्जिला तुम्बापो सुब्बाको अभिनय यद्यपि नौलो थियो, तर उनको भूमिका पर्दामा साँचिकै साँचो र सजीव लाग्यो । उनीसँगको सम्बन्ध दर्शकले गहिरो रूपमा बुझ्न पाएका छन् ।

    काठमाडौंको संघर्ष

    एन्जिलाका सानुबुबाले फुटबल खेल्न नदिने भएपछि आमाको सहयोगमा उनी भागेर काठमाडौं जान्छिन् । त्यहाँ पुगेर निरन्तर संघर्ष गर्छिन् । संघर्ष गर्दैगर्दा पनि गोल रक्षकको रुपमा एपीएफमा आवद्ध हुन एन्जिलालाई त्यती सहज भएन ।
    काठमाडौं आएर आफन्तकोमा बसेकी एन्जिलालाई त्यहाँ पनि गाउँकै शैलीमा हेपिन्छिन् । उनलाई फुटबलमा नभएर घरको भाडा, कपडा धुने र सरसफाई गर्ने काममा व्यस्त बनाइयो । यसरी सबै कुराबाट हार मानेर एन्जिला राति रुने गर्थिन् । तर उनले हार नमानेर आफन्तको घर छाडेर सडक किनारको बास बस्न बाध्य भइन् ।

    यसरी कठिन समय पार गरेर गोल रक्षकको रुपमा एपीएफमा आवद्ध हुन्छिन् । त्यसपछि राष्ट्रिय टिमको क्याप्टेन बन्छिन् । उनलाई गाउँमा ठूलो सम्मानका साथ स्वागत गरिन्छ । विभिन्न पुरस्कारले पुरस्कृत हुन्छिन् । कथा सकिन्छ । कथाको सार यिनै हुन् । यिनै विषयबस्तुलाई चलचित्रका निर्देशक मिलन चाम्स्ले एन्जिलाको वास्तविक संघर्षमय जीवनलाई जस्ताको तस्तै उतारिदिएको छ ।

    चलचित्र आमदर्शकले सोचे भन्दा अत्यन्तै रोचक बनेको छ । सम्वादहरु चोटिला छन् । चलचित्रका पात्रहरुको अभिनय बेजोड छ । फुटबल खेलाडी एन्जिलाको भूमिकामा अत्यन्तै सरल छ । आमाको भूमिका निर्वाह गरेकी सृजना सुब्बाको भूमिका जीवन्त रहेको छ । बुबाको भूमिकामा माओत्से गुरुङ र साना बाको भूमिकामा दयाहाङ राई अभिनय उत्कृष्ट छ ।

    निष्कर्ष

    समग्रमा, ‘अञ्जिला’ एकदमै भावुक र प्रेरणादायक फिल्म हो । जसले दर्शकलाई विचार र संवेदनामा पुर्याउँछ । फिल्मका कमजोरीहरूको बावजुद यसको भावनात्मक प्रभाव र निर्देशनले धेरै दर्शकहरूलाई छोएको छ । फिल्म नेपाली सिनेमा क्षेत्रमा बायोपिक विधामा एक कदम अघि बढेर प्रस्तुत गरिएको एक सफल प्रयास हो, जहाँ साँचो कथाले दर्शकलाई मनको गहिराइसम्म पुग्न सक्षम बनाएको छ ।

    चलचित्रले एन्जिलाको जीवन संघर्षबाट समस्याबाट भागेर हैन जुधेर समाधान खोज्नुपर्छ । एउटा लक्ष्यसहित गरिएको संघर्षले मानिसलाई सफलताको विन्दुमा एक दिन पुर्याउँछ भन्ने सन्देश दिएको छ ।

  • युवतीसँग इन्गेजमेन्ट गरेका पीटरलाई बेहुली बन्ने रहर

    युवतीसँग इन्गेजमेन्ट गरेका पीटरलाई बेहुली बन्ने रहर

    काठमाडौं । आफ्नो लैङ्गिक पहिचान कसले गर्ने–समाज, विज्ञान वा आफैंले ? प्रश्न जटिल छ तर प्राकृतिक रुपमा वा आत्म सम्मानका लागि आफ्नो पहिचान आफैं गर्न हाम्रो समाज स्वतन्त्र मानिन्छ । व्यक्तिगत रुची, आत्मसन्तुष्टि वा स्वभावले मानिसलाई एकाएक बदलिदिन्छ । कुनैबेलाका ‘अनुज’ अर्थात ‘अशोक राई’ ‘पीटर’ मा रुपान्तरित हुँदाको कथा निकै रोचक छ ।

    उनको नागरिकतामा नाम अनुज थियो, घरमा बोलाउने नाम अशोक । तर हिजोआज उनी पीटर राईबाट चर्चित छन् । पहिचानको लडाईका क्रममा उनको नाम बदलिएको छ । उनी हुन् ट्रान्सजेन्डर महिला । जन्म पुरुष तर अहिले महिलाको स्वरुप, घर परिवार र समाजसँग नभएर सुरुदेखि आफैंसँग जुधेर आफ्नो पहिचान बदलेका हुन् ।

    छोराको अंग लिएर जन्मिए पनि स्वभाव र हाउभाउ छोरीको जस्तो भएकाले उनी सानैबाट परिवारमा फरक नै थिए। खोटाङमा जन्मिएर काठमाडौंमा उच्च शिक्षा अध्ययनका क्रममा उनले लैङ्गिक पहिचान बदल्न निकै ठूलो संघर्ष गर्नपर्यो ।

    ‘म परिवारको जेठो सन्तान, जन्मिंदा छोराको अंग लिएर जन्मिए पनि आफूलाई सानैदेखि छोरीको स्वभावमा उतार्थें, फुटबल भन्दा भाडाँकुटी खेल्ने रहर, छोरीकै पहिरन मन पराउँने, बाल्यकाल अलिअलि याद छ,’ ३७ वर्ष अघिको आफ्नो वाल्याअवस्था सम्झँदै अहिले आफूलाई पीटर भन्न रुचाउँने उनले सुनाइन्, ‘टीनएज हुँदै गएपछि फुपुहरु मलाई अशोक धेरै केटीसँग संगत गरेर केटी जस्तै भयो भन्नुहुन्थ्यो,’उनले अघि भने,‘जब बाल्यकालबाट म टीनएजमा लागें, सायद ११ वर्ष जतिको थिएँ होला, अरु केटाहरु देख्दा जीउ सिरिङ्ग हुन्थ्यो, त्यसरी नै बाल्यकाल बित्यो।’

    काठमाडौंको धुम्बाराहीमा रहेको नीलहिरा समाजको केन्द्रीय कार्यालयमा भेटिएका उनले २०२१ मा मात्रै आफूले आफू के हुँ भन्ने जानकारी पाएको बताइन्।

    ‘अहिले म यो स्वरुपमा छु, यसै आज पीटर बनेको होइन, अंग एउटा तर चाहना अर्को हुँदा पहिले त आफैंसँग लडें । त्यसपछि समाज र परिवारसँग । धेरै समय म कोहुँ भन्ने मलाई नै थाहा भएन, यहाँ (नील हिरा समाज २०१२ तिर) आएपछि मात्रै म को हुँ भन्ने थाहा पाएँ, आफ्नो अंग र चाहनाको वास्तविकता बुझेँ,’ उनले सुनाइन्।

    शिक्षित परिवारमा जन्मिएका त्यसबेलाका अनुजको स्कूले नाम अनुज राई र घरको नाम अशोक थियो। घरमा अशोक भनेर बोलाउने, स्कूलमा उनका साथीहरु पनि उनलाई कहिले अनुज त कहिले अशोक भन्ने गर्थे। फुपु र बहिनीहरुका बिचमा हुर्किएका उनलाई स्कूलमा आफ्नै बाबा ममीसमेत पढाउने भएकाले असहज भएन।

    ‘म त फुपुहरुका बिचमा हुर्किएँ, बहिनी र भाईहरु पनि थिए, स्कूलमा बाबा प्रिन्सिपल र ममी पनि स्कुल पढाउने भएकाले मलाई सानोमा त असहज भएन, साथीभाईहरुले मलाई हेप्नै सक्दैनथे, हेड सर को छोरा म,’ विगत सम्झँदै हाँसोसहित उनले भनिन्। स्कूले जीवन (प्लसटु)सकेपछि त्यतिबेलाका अनुजलाई परिवारले काठमाडौंमा पढाउने निधो गर्यो। आफू भन्दा कान्छी बहिनी र भाईहरुकोसमेत रेखदेख उनको काँधमा आयो। काठमाडौंमा उनी अभिभावकीय जिम्मेवारीमा बाँधिए।

    ‘मलाई घरमा पनि विभेद् थिएन, हामी एकदमै नियममा हुर्किएका थियौं, स्कुल जानेदेखि, खाना खाने र बेलुकी टीभी हेर्नसम्म रुल्स थियो।’ उनले पारिवारिक अवस्थासँगै आफूलाई जोड्दै लगिन्,‘बाबा शिक्षक भएकाले एउटै मात्रै कन्सेप्ट थियो पढ्नु पर्छ, मलाई स्कूल सकिएपछि बाबा ममीले स्नातक पढाउन काठमाडौं राख्नुभयो, मेरो जिम्मेवारी त्यसपछि थपियो।’

    त्यतिबेलासम्म अहिलेकी पीटर अनुज नै थिए । काठमाडौंमा कलेज जीवन थियो। भर्खरै कलेज पढ्न थालेकाले उत्साह पनि, नयाँ जोश पनि। त्यसबेलाका अनुज कलेज र बानेश्वरको डेरा आउजाउ गर्न थाले। कलेजमा साथी बने। साथीका साथीहरुसँग पनि चिनजान भयो। उनले अगाडि भनिन्, ‘त्यो बेला कलेजमा सबैका ब्वाइफ्रेण्ड थिए, म चाँही केटा भएर केटा नै मन पराउन थालेँ, मलाई त्यस बेलादेखि केटाहरुप्रति आकर्षण बढ्दै गएको थियो, स्वभाव महिलाको जस्तो भए पनि त्यो बेला म केटै थिएँ, केटा भएर केटा नै मन पराउन थालेछु ।’

    पीटरले त्यसपछि फेरि खोटाङ रहँदाका प्रसंगमा आफूलाई खुलाइन्, ‘त्यसबेला भूमिका श्रेष्ठले टीभीमा कार्यक्रम चलाउनुहुन्थ्यो, त्यो कार्यक्रम म लुकीलुकी हेर्थेँ, भुमिकालाई देख्दा मान्छे चाँही कति राम्री स्वर चाँही केटाको जस्तो भन्ने लाग्थ्यो, त्यही क्रममा म पढ्दै गर्दा काठमाडौं आएँ,’ उनको कथा फेरी काठमाडौंतर्फ नै मोडियो।

    ‘काठमाडौं आएपछि मैले भाईबहिनीलाई पढाउनुपर्ने थियो, म अभिभावककै रुपमा बस्नुपर्ने भयो, त्यो समय मैले आफूलाई टाइम दिन भ्याइन, व्याच्लर्सको पढाइ सकें।’ उनले भन्दै गइन् ‘त्यही दौरानमा मैंले मास्टर्स पढ्न सुरु गरेँ, त्यो बेलासम्म पनि मैले म आफूलाई के हुँ भनेर चिन्न पाइन, त्यो समय नै मलाई प्राप्त भएन,’ उनी यसरी २०१५ अघि तिरै फर्किइन्।

    आफैंलाई आफू के हुँ भन्ने जानकारी नभएको अवस्थाबाट आफैंसँग संघर्ष गर्नु परेको उनको कथाले फेरी उनलाई भावुक बनायो। हाल आफूलाई पीटरको नाम दिएकी उनले आफूलाई पुरुषबाट मनदेखि आएको महिलाको आफ्नो पहिचानमा उतार्न पाइला पाइलामा संघर्ष गर्नु परेको सुनाइन्।

    ‘जब मेरो बहिनीको विवाह भयो, भाईहरु बाहिर गए (भाईहरुको पेशा उनकै आग्रहमा गोप्य राखिएको), त्यसपछि म एक्लो हुन थालें, त्यो एक्लोपनले मलाई को मनपर्छ ? मेरो चाहना के हो ? भन्ने थाहापाउन लागें, मेरो पहिलेदेखि नै फुपु र दिदीहरुसँग संगत थियो, केटाहरु दाजुभाईहरुसँग मेरो संगत भएन नै, उनीहरु मसँग साथीजस्तो पहिले देखि नै थिएनन्।’

    त्यसपछि उनलाई आफ्नो पहिचान खोज्नुपर्छ भन्ने लाग्न थाल्यो। समाजसँग कसरी खुल्ने भन्ने उनलाई डर पस्यो। ‘हामी घर बनाएर इमाडोल सर्यौ, त्यसै समयदेखि मलाई माया, आकर्षण र प्रेमका कुरा अलिबढी थाहा हुन लाग्यो, त्यसबेला म केटाको स्वरुपमा भए पनि केटी हुन चाहन्छु भन्ने लाग्दै गयो, तर मलाई कसरी खुल्ने भन्नेमा गाह्रो हुन लाग्यो,’ उनले भावुक हुँदै भनिन्।

    रुप एउटा चाहना अर्कै। चाहना अनुसार आफूलाई कसरी उतार्ने ? पीटरलाई चिन्ता बढ्यो। त्यस समय भर्खरै फेसबुक आएको थियो। फेसबुकबारे त्यसबेलासम्मका अनुजलाई जानकारी भयो। आफूलाई केटी बनाउन उनले फेसबुकको साहारा लिए। फेसबुकमा फेक आइडी खोले र साथी बनाएर च्याट सुरु गरे।
    ‘त्यतिबेला फेसबुकमा फेक आइडी बनाउने चलन धेरै थियो, मिग थ्रीमा ब्याइज लभ ब्वाइज भन्ने ग्रुप पनि हुन्थ्यो, त्यहाँ गएर म बोल्थे, फेक फेसबुक बनाएर बोल्न त्यहीबाट सिकें, म त ब्याचलर पास गरिसकेको मान्छे, मास्टर्स पढ्दै थिएँ, एक जनासँग आफन्तमार्फत विवाहको कुरा आयो,’ उनले दंग पर्दै भनिन्।

    घरमा जेठो सन्तानका रुपमा जन्मिएको त्यसबखतको अनुजलाई विवाहको कुरा आउनु पनि अचम्म लागेन। तर विवाह गर्ने कुरामा भने उनको मन नै मानेन। ‘बाहिर रहेका आफन्तमार्फत एउटी महिलासँग इन्गेजमेन्ट गरिदिनुभयो, बाबा ममीले नभनी नै मैले आफन्तकै सल्लाहमा इन्गेजमेन्ट त गरेँ, तर उनी भएको ठाउँसम्म म आफैं जान सकिन, उनी यता नआउने म उता नजाने भएकाले विवाह रोकियो,’ उनले त्यसबखतको प्रसंग सुनाउँदै भनिन्।

    मनले आफ्नो वास्तविक पहिचानको खोजी गरिरहेका उनलाई बहुतै ठीक भए जस्तो लागेछ। ‘त्यसबेला मैले एक दुई जना गे साथी बनाइसकेको थिएँ, उहाँहरु विवाहित नै हुनुहुन्थ्यो, उहाँहरुको सुझाव मलाई विवाह गर्नु पर्छ भन्ने थियो,’ उनले भनिन्।

    समय फेरिंदै थियो, इन्टरनेटले फड्को मार्दै गयो । अनुजले त्यसबेला चाइनाका एक जना व्यक्ति इन्टरनेटमार्फत नै भेटे। ‘पीटर’ नामका ती चाइनीजसँग उनको सम्वन्ध झाँगियो। अनुजको नजिकको साथी ती चाइनिज व्यक्ति पीटर भए।

    ‘मेरो चाइनाको पीटर भन्ने एक जना साथीसँग चिनजान भयो, उसँग म इन्टरनेटमार्फत एकदमै धेरै बोल्थे, उसँग मेरो लभ नै परे जस्तै भयो, म उसलाई एकदमै मन पराउँथे, उसँग बोल्न कुरा गर्न थालेपछि आफैंलाई के हुन्थ्यो के,’ उनले आफ्नो अनुभवबारे खुलाइन्।

    उनले ती चाइनिज पीटरलाई गरेको मायाले कुनै सीमा नै बाँकी राखेन। तपाई साथी जस्तै भएर सबै कुरा आज गर्दैछु उनले आफ्ना प्रेम कथा खोल्दै भनिन्, ‘उ नेपाल नआउने म चाइना जान नसक्ने, उसँग इन्टरनेटबाटै लभ पर्यो, भेट्न पाइन, तर आफ्नो फस्टलभको नाम नै मैले आफ्नो नाम राख्दिएँ, त्यसबेलादेखि म अशोक, अनुजहुँदै पीटर भएँ,’ उनले आफू स्कूलको अनुज, घरको अशोक र पीटर भएपछिको अवस्था र प्रेमबारे खुलाउँदै भनिन्,‘अनी म पीटर भएँ।’

    त्यसपछि आफूले फेरि पहिले जस्तै फेक आइडी चलाउँदै गएको उनले बताइन्। त्यही क्रममा आफूले एकजना केटा साथी भेटेको र आफू केटीका रुपमा उनीसँग भेट्न तयार भएको भन्दै उनले त्यस पललाई आँखामा उतार्दै भनिन्, ‘मैले फेरि फेक आइडी नै चलाउँदै गएँ, एक जना केटा साथी भेट भयो, वसन्तपुरमा उसँग डेट जाने कुरा भयो, मलाई खुसी पनि लाग्यो, असजह पनि भयो,’ आफू पहिलो पटक केटी बनेर कोही केटासँग भेट्न जान गरेको प्रयास थियो त्यो उनको, उनले बेलिविस्तार लगाइन्।

    ‘घरबाट कसरी निस्किने भन्ने तनाब त भइनै रह्यो, मैले १२ बजेको टाइम दिएको थिएँ, २ बजेतिर मात्रै उसँग भेट भयो, म उभन्दा केही पर नै बसेँ, सबैले मलाई नै हेरेजस्तो फिल भयो, आधा घण्टा जति उसँग कुराकानी भयो, त्यसपछि उ गयो,’ फेरी एकपटक बिदाई गरेजस्तै हात माथी उठाएर हल्लाउँदै पीटरले ती केटासाथीसँगको पहिलो भेटमा गरेको हाउभाउबारे खुल्दै भनिन्।

    त्यसपछि पीटरको नील हिरा समाजको हालकी अध्यक्ष पिंकी गुरुङ, समाजकै भुमिका श्रेष्ठ तथा सीमरन शेरचनसँग देखादेख भयो। त्यही दौरान पीटरका एक जना साथीको ‘मिस्टर गे’ भाग लिने कुरा चल्यो। आयोजक ब्लुडायमण्ड सोसाइटी नै थियो। ‘उ एक्लै आउन नसक्ने, त्यही बेला म पनि बीडीएसमा जोडिएँ, त्यसपछि मेरो बीडीएसमा आउजाउ बढ्यो, म त्यहीं इन्टर्नका लागि काम गर्न लागें, २०११।०१२ त्यतीबेला नै मैले गे, ट्रान्स भन्नेबारे बुझ्न थालें, त्यतिबेलासम्म म आफू गे हुँ भन्ने लाग्थ्यो,’ उनले सुनाइन्।

    नील हीरा समाजमा इन्टर्न गर्दै गएपछि पीटरले आफूले घरमा आफ्नो वास्तविक पहिचान बुझेको र आफूले प्रष्ट रुपमा परिवारसँग खोलेर कुरा गर्न पटकपटक प्रयास गरेको बताइन्। ‘जब मैले आफू ट्रान्स जेन्डर हुँ भन्ने थाहा भयो, त्यसपछि घरमा भन्ने आँट गरे, पटकपटक कोसिस गरे पनि सकिन, मलाई बाबाममीलाई भन्न एकदमै गाह्रो भयो, त्यसअघि फुपुदिदी र बहिनीलाई भनिसकेको थिएँ, उनीहरुले मलाई बाहिरबाट कपडा पठाउँदा केटीकै कपडा पठाउन थालिसकेका थिए, बाबाममीलाई नभने पनि केटीले नै लगाउने लुगा ल्याइदिन थाल्नुभयो,’ दिदी बहिनीले नै बाबाममीलाई भनेको हुन सक्ने संकेत गर्दै उनले भनिन्,‘दिदी बहिनीले नै भनेको भएर होला, उहाँहरुले मलाई गर्ने व्यवहार फरक हुँदै गयो, छोरीकै व्यवहार गर्न थाल्नु भयो, मैले आफैंले मुखै खोलेर उहाँहरुसँग भन्न सकिन।’ उनले सुनाइन्।

    पीटरको काम नीलहीरा समाजमा चल्दै थियो। इमाडोल घरबाट आउजाउ गाह्रो भयो। त्यसमाथी पनि केटीको कपडा लगाएर अफिस जान उनलाई सहज भएन, केटाको कपडा लगाउन मन भएन। त्यसपछि उनले इमाडोल नबसेर लाजिम्पाटमा कोठा खोजिन्, घरबाट केटाको स्वरुपमा निस्किने, लाजिम्पाट पुगेर महिलाको पहिरनमा अफिस जाने उनको दैनिकी भयो।

    ‘केही दिन घरबाटै आउजाउ भयो, झोलामा कपडा हालेर कोठामा पुगेर महिलाको पहिरनमा आफुलाई चेन्ज गरेर अफिस जान थालेँ,’ उनले सुनाइन्। बाबाममी घरमा नहुँदा भने घरबाटै महिलाको पहिरनमा अफिस जाने गरेको उनले बताइन्। ‘उहाँहरु घरमा नहुँदाचाँही म घरबाटै महिलाको पहिरनमा अफिस आउन लागें, फेरी बाबाममी आएपछि म घरबाट केटाको लुगा लगाएर आएपनि लाजिम्पाट कोठामा पुगेर कपडा फेरेरै अफिस आउने गर्थे,’ उनले आफ्नो कथा सुनाउँदै गइन्।

    ‘त्यसपछि मलाई विवाहका लागि घरमै केटा मान्छेको कुरा आउन थाल्यो, एक जना दिदीकै आफन्तकहाँबाट फेरि बाहिरै बस्ने केटाको कुरा आयो, मैले त्यो केटा मान्छेसँग कुरा पनि गर्न थालेँ, मलाई केटी बनेर विवाह गर्न त्यसबेला एकदमै रहर जाग्यो। मलाई विवाह भन्ने कुरा एकदमै ठूलो कुरा हो भन्ने लाग्न थाल्यो, तर भिषा पाइन, म ट्रान्स भएकै कारणले मलाई भिषा दिइएन, विवाह भएर पनि म जान पाइउँदिन की भन्ने लाग्न थाल्यो। एउटा केटी हुनु र ट्रान्स हुनुमा असर पार्दो रहेछ भन्ने त्यसबेला बुझेँ। एउटा डकुमेण्टले पनि कति असर पार्दोरहेछ भन्ने त्यसबेला बुझेँ,’ उनले आफ्ना छेकिएका रहर खोतल्दै भनिन्।

    यस वर्षको तिहार उनका लागि बाबाममीको अगाडि लक्ष्मी बन्न जुर्यो। बाबाममी घर बाहिरबाट फर्किदा घरका भित्तामा पीटरले राखेका आफ्नो महिला पहिरनको तस्वीरले बाबाममीको मन तानिसकेको रहेछ। ‘राम्री देखिएकी छौं, तिम्रो आइडेन्टीटी देखें’ भन्ने बाबाको वचनले पीटरलाई तिहारबाट बाबाममीका अगाडि छोरी स्वरुपमा खुलायो। उनले लक्ष्मी पूजाका दिन आफूलाई महिलाकै पहिरनमा बाबाममीका अगाडी उभ्याइन।

    ‘धेरैपटक कोसिस गरें सकिन, बाबाममी बाहिर गएका बेला घरको भित्तामा छोरी बनेको फोटो राखेको थिएँ, त्यो फोटो पहिलेपहिले झिक्दै राख्दै आएको थिएँ, तर यसपटक हटाइन,’ उनले भनिन्, ‘ओहो राम्री देखिएकी छौं’ बाबाको प्रतिक्रिया पाएको भन्दै उनले सुनाइन्। ‘मलाई ठूलो आँट आयो, छोरी बनेर आर्शिवाद मागेँ, पहिले छोरा भएर जन्मिएको अहिले छोरी भयौ, आँटेको सोचेको पुरा होस् भनेर आर्शिवाद दिनुभयो,’ उनले सुनाइन्।

    उनले आफ्नो पहिचान र स्वअनुभूतीले जितेको त्यो दिनलाई सम्झँदै भनिन्,‘त्यो दिन मेरा लागि विशेष दिन बन्यो, म घरमै पीटर भएँ, छोरी भएँ, ट्रान्स जेन्डर भएँ, मैले मेरो पहिचान पाएँ,’ उनले विजयउत्सवको झल्को दिने गरी सुनाउँदै गइन्।

    पीटरले २०२१ देखि नियमित हर्मोनको सेवन गर्दै आइरहेकी छिन्। ‘आफ्नो स्वरुपलाई परिवर्तन गर्न मैले हरेक दिन हर्मोन लिइरहेको छु, यो नखाए नशाहरु देखिने, अनुहार नरम नहुने हुन्छ, रेगुलर नै खाइरहेको छु।’ उनले भनिन्।

    आफूले शरीरमा लगाउन एउटा ‘जेल क्रीम’ पनि प्रयोग गर्ने गरेको उनले जानकारी दिइन्। ‘जेलले फिमेल हर्मोन बनाउन सहयोग गर्छ, बडीमा लगाउने गरेको छु, सर्जरी गर्ने मेरो प्लान छैन, रहर छै,’ पीटर भन्छिन्।

    बेहुली बन्ने रहर

    पीटरलाई अहिले बेहुली बन्न रहर लागेको छ। पहिले आफ्नो पहिचानको खोजीको लडाइँमा रहेकी उनलाई अहिले विवाह गर्न मन छ। ‘मलाई बाबाले विवाह गर्ने प्लान के छ भनेर सोध्ने गर्नु हुन्छ, लाइफमा एक्लै होलिउ विचार गर भन्दै आउनु भएको छ, कसैलाई ज्वाइँँ बनाएर लगेँ भने स्वीकार्नु हुन्छ, अहिलेसम्म एक्लै छु, ४० वर्षसम्ममा विवाह गर्छु भन्ने छ, बेहुली बन्ने मन छ,’ उनले रहर खोल्दै भनिन्।

    श्रीमानमार्फत सर्जरीको अपेक्षा भएमा भने आफूले विवाहपछि सोच्न सक्ने बताउँदै उनले भनिन्, ‘पर्फेक्ट हाउस वाइफ, पर्फेक्ट बुहारी भएर उसको घरमा रहन्छु, श्रीमान्लाई कम्फर्टेवल भएन र तिमी सर्जरी गर भन्ने सुझाव आयो भयो म त्यसका लागि पनि तयार हुनेछु, तर श्रीमानलाई र परिवारलाई तेरो बुहारी यस्तो भन्ने कुरामा उहाँहरुले स्ट्याण्ड लिन सक्नुपर्छ, म हरेक कुरामा कम्परमाइज गर्न तयार छु,’ उनले भनिन्।

    आजको आजै यो समूदायका व्यक्तिले आफूलाई समाजमा खुलाउन नसक्ने उनी बताउँछिन्। पहिले आफूले आफूलाई बुझ्नु पर्ने भन्दै उनले त्यसपछि मात्रै समाज र परिवारमा आफ्नो पहिचानका लागि लड्न सकिने आफ्नो अनुभवले सिकाएको उनले बताइन्।

    ‘म पहिल्यैदेखि फरक थिएँ, पहिलेदेखि नै भाँडाकुटी खेल्ने, भाडा माझ्न मन लाग्ने, फुटबलमा मन नै नजाने मेरो सानैदेखिको स्वभाव थियो, बाबालाई मैले त्यसपछि यी सब कुराहरु स्मरण गराएँ।’ उनले आफ्नो पहिचान पाएपछि बाबासँगको संवादलाई उल्लेख गर्दै भनिन्। पीटरले आफ्नो पहिचानलाई अरुले स्वीकार्ने गरेर आफ्नो व्यवहार देखाउनु पर्ने र त्यसका लागि समुदायका व्यक्तिहरु पनि परिवर्तन हुन जरुरी रहेको बताइन्। ‘अब कन्सेप्टलाई अलिकति चेन्ज गर्नुपर्ने बेला आइसकेको छ।’ उनले भनिन्। (नेपाल न्यूज बैंक)

  • भक्तपुर क्याम्पस र नगरपालिकाबीच द्वन्द्व : ‘आतकं’ बन्द गर्न विद्यार्थीको माग

    भक्तपुर क्याम्पस र नगरपालिकाबीच द्वन्द्व : ‘आतकं’ बन्द गर्न विद्यार्थीको माग

    कठमाडौ। भक्तपुर नगरपालिका–१ दुधपाटीस्थित ऐतिहासिक भाज्यापुखु(पोखरी)को संरक्षण र सीमाका विषयलाई लिएर भक्तपुर बहुमुखी क्याम्पस र भक्तपुर नगरपालिकाबिच विवाद थप पेचिलो बन्दै गएको छ ।क्याम्पससँगै रहेको भाजु पोखरीको दक्षिणतर्फ २० फिटको सडक खोल्न नगरपालिका र क्याम्पस प्रशासनबीच संवाद जारी रहेकैबेला क्याम्पसको संचरनामा डोजर चलाएर भत्काएपछि स्थिति अजहज बन्दै गएको हो ।

    पटक पटक लिखित जानकारी गराउँदा पनि क्याम्पस प्रशासनले अटेर गरेपछि नगरपालिकाले डोजर चलाएको दाबी गरेको छ । तर क्याम्पस प्रशासनले त्रिभुवन विश्वविद्यालयको जग्गामा नगरपालिकाले जबरजस्ती गरेको आरोप लगाएको छ । गेट, खानेपानी ट्यांकीलगायतका संरचना भत्काइएपछि क्याम्पस प्रशासनले सुरक्षाको माग गरेको छ भने संरचना पुनःनिर्माणको माग अघि सारेको छ ।त्रिभुवन विश्वविद्यालयले गठन गरेको जग्गा छानविन आयोगले हालै मात्र स्थलगत अवलोकन गरेको र त्यसको प्रतिवेदन बुझाएपछि आएको निर्णयानुसार दुवैको सहमतिमा काम गर्ने भनेर नगरपालिकालाई जानकारी गराइएको भएपनि जबरजस्ती गरेको आरोप छ ।तर नगरपालिकाले दक्षिणतर्फको डिल खोल्नलाई क्याम्पसले आनाकानी गरेको बताएको छ । उक्त विषय हाल व्यक्तिगत आरोप प्रत्यारोप र लाल्छनामा केन्द्रीत भएको छ । क्याम्पस र नगरपालिकाबीच उक्त डिल र जग्गाको सीमाविवाद सम्बन्धमा आइतबार दुई पक्षबीच छलफल समेत भएको थियो ।

    नगर प्रमुख सुनिल प्रजापति र त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार प्राडा केदारप्रसाद रिजालबीच भाज्यापुखुको दक्षिणपट्टिको डिल खोल्ने र क्याम्पसको सुरक्षा पर्खाल निर्माण गर्ने सम्बन्धमा छलफल भएको छ ।डिल खोल्ने र क्याम्पसको सुरक्षा पर्खाल लगाउने सम्बन्धमा भाज्यापुखु र क्याम्पस दुवैको सौन्दर्यमा वृद्धि हुनेगरी छलफल चलिरहेपनि नगरपालिकाले डोजर चलाएको विषयलाई लिएर क्याम्पस प्रशासन रुष्ट छ । आठसय बर्ष पूरानो मानिएको उक्त पोखरी २०२१ सालमा नापीनक्सा हुँदा कित्ता नम्बर २४१ र पोखरीको चारैतर्फको डिल कित्ता नम्बर २४२ कायम गरी २०३३ सालमा चारैतर्फको डिल क्याम्पसको नाममा दर्ता भएको तथ्य भेटाइन्छ ।क्याम्पस प्रमुख कविता लुइँटेलका अनुसार त्रिविको नाममा रहेको जग्गा संरक्षण गर्ने जिम्मेवारी आफूहरुको भएकाले भत्काउने होइन संरक्षण गर्नुपर्छ ।

    ‘नगरपालिकाको पत्र हामीले पाएका हौं । त्रिविलाई जानकारी गराएर छलफलको तयारीमा थियौं । डोजर चलाउने विषयमा हामीसँग जानकारी थिएन तर जबरजस्ती गरियो । जग्गा संरक्षण गर्ने दायित्व क्याम्पसको हो । त्यो जिम्मेवारी हामी पूरा गर्छौं,’उनले भनिन्,‘संवाद जारी रहेकैबेला संरचना भत्काउँदा स्थिति बदलिएको छ । अब त्रिवि र नगरपालिकाबिच संवाद एवम सहमति नभएसम्म विवाद साम्य हुँदैन् ।’सोही क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन(स्ववियू)सभापति पुकार पराजुली क्याम्पस परिषद्को संरचना डोजर लगाएर भत्काउने विषयमा नगरपालिकाले पत्राचार गरेको आफूलाई जानकारी नभएको बताए ।

    ‘क्याम्पस प्रशासनलाई बुझ्दा चैत्र ६ गते नगरपालिकाले पत्र पठाएको तर डोजर चलाउने प्रसंग उल्लेख गरेको छैन । त्रिविले जग्गा छानविन आयोग गठन गरेर प्रतिवेदन तयारी भइरहेको अवस्थामा नगरपालिकाले दादागिरी देखायो,’ उनले भने, ‘नगरपालिकाले पठाएको पत्र र भत्काइएको संरचनाकाबिच कुनै तालमेल देखिदैन । नगरपालिका क्याम्पसको पठनपाठनप्रति जिम्मेवार पटक्कै देखिदैन । क्याम्पसमा भर्ना खोलेको समयमा शैक्षिक गतिविधि विथोल्ने प्रयास नगरपालिकाले गरेको छ । डोजर आतंक मच्चाएर समस्या समाधान हुनेवाला छैन ।

    विद्यार्थीको शैक्षिक मानसिकता विगारेर नगरपालिका र त्रिविले गैरजिम्मेवारपूर्ण भूमिका निर्वाह गरिरहेको छ । यस्तो कदमको हाम्रो गम्भीर असहमति छ । चाँडो समाधान निकाल्नुपर्छ ।’तर नगर प्रमुख प्रजापति पोखरी र क्याम्पस दुवैलाई राम्रो एवम सुन्दर बनाउन खोज्दा त्रिविले कुनै चासो नदेखाएको बताए । क्याम्पस र पोखरी दुवै सरकारी सम्पत्ति भएकाले संरक्षण गर्ने दायित्व नगरको भएको पनि उनको बुझाइ छ ।‘हामीले पटक पटक क्याम्पसलाई पत्राचार गरेका हौं । त्रिवि, मन्त्रालय सबैतिर पुगेर समस्या समाधानका लागि प्रयास गर्यौं । मापदण्ड अनुसार मात्र संरचना बनाउनुहोला र नभए भत्काउछौं भनेकै थियौं । सबैलाई अनुरोध गर्दा पनि सुनुवाइ नभएपछि डोजर चलाएका हौं,’ उनले भने,‘त्रिविका पदाधिकारीहरुसँग कुरा भइसकेको छ अब चाँडै समाधानको बाटो खोज्नेछौं । क्याम्पस र पोखरीलाई सुन्दर बनाउनेछौं । द्वन्द्व निम्ताएर हामी कसैलाई फाइदा नहुने भएकाले समझदारीको बाटोमा अघि बढ्नेछौं । सहमति नभए नगरपालिकाको नियम अनुसार अघि बढ्छौं ।’

    नगरपालिका र क्याम्पस प्रशासनको आ–आफ्नै तर्कका कारण क्याम्पस परिसरका संरचना भत्काउँदा अवस्था असहज भएको छ । संरचना भत्काएर लथालिंग छाड्दा क्याम्पस परिसर कुरुप देखिएको छ । विद्यार्थीहरुले आफूहरुको शैक्षिक वातावरण खल्बलिएको, हिडडुल गर्न कठिन भएको र जुनसुकै बेला धरपकड हुने संभावनाका कारण असुरक्षित महसुश गरेका छन् ।

    स्ववियू सभापति पराजुली शैक्षिक गतिविधि चलिरहेका बेला डोजर चलाउने, धरपकड गर्ने र हातपात गर्ने जस्ता गतिविधि जारी राखे विद्यार्थीहरु आन्दोलनमा उत्रिने बताए । ‘हामी जग्गा र संरचनाको विवाद भन्दा पनि विद्यार्थीको पठनपाठन राम्रो हुनुपर्छ भन्ने हो । छानविन आयोगको प्रतिवेदन अनुसार तत्काल समस्या समाधान होस भन्ने हाम्रो माग हो । धरपकड गरेर विद्यार्थीहरुको मानसिकता विगार्न पाइँदैन,’ उनले भने ।

     

  • गुन्डुबासी मखमली टिप्न र माला उन्न व्यस्त, मूल्यमा बिचौलियाको रजगज

    गुन्डुबासी मखमली टिप्न र माला उन्न व्यस्त, मूल्यमा बिचौलियाको रजगज

    काठमाडौ । कात्तिकको बिहानको चिसो छिरेटो छल्दै बिहान अबेरै घरको काम सकेर मखमली बारीतिर लाग्छिन् भक्तपुर सुर्यविनायक नगरपालिका–७ गुण्डुकी रचना बस्नेत ।तिहार आउन एक हप्तामात्र बाँकी रहँदा रचनालगायत गुण्डुका किसानलाई पाकेको धान भित्र्याउनु भन्दा मखमली टिप्न र माला उन्नकै धपेडी छ ।

    बिहानदेखि बारीमा मखमली फूल टिप्ने र दिनभरी माला गास्ने गरेको रचना सुनाउँछिन् । यसरी गुण्डुका किसानले गासेका मालाहरु लिन व्यापारीहरु उनीहरुकै दैलोमा नै पुगिरहेका छन् ।साउन अन्तिम सातादेखि नै फुल टिप्न थालेकी रचना विगतको वर्षभन्दा फुल उत्पादन कम भएको कारण माग अनुसार उपलब्ध गराउन नसकेको बताउँछिन् ।‘अहिलेको काम भनेको नै बिहान फूल टिप्ने दिनभरी गास्ने नै हो । साउन अन्तिम सातादेखि फुल टिप्न थालेका हौं । फुलबारी र धानबालीसँगै भित्र्याउन समय आयो । तर पहिले ढकमक्क फुलेको फुल टिप्न र माला गास्नमै व्यस्त छौँ । तर विगतको जस्तो फुल उत्पादन नहुँदा माग धान्न गाह्रो छ । फुल कत्ति पनि खेर गएको छैन ।’

    रचना जस्तै गुण्डुका बासिन्दालाई तिहारले झपक्कै छोपेको छ । हरेकका घरआँगनमा मखमली फूलका माला गाँस्ने भीड लागेको छ । कोही फूल टिप्न र कोही माला गाँस्न व्यस्त छन् । एक्लाएक्लै र सामूहिक रूपमा माला गाँस्नेको चहलपहल देखिन्छ । विशेष गरेर स्थानीय महिलाहरु आलोपालो गरी माला गाँस्न व्यस्त छन् । प्रतिमाला ५ रुपैंयाँका दरले पारिश्रमिक दिएर माला गाँस्ने काममा हरेक घरमा मान्छेहरू व्यस्त छन् ।तिहारको भाइटीकामा दिदीबहिनीले दाजुभाइको दीर्घायूको कामना गर्दै गलामा लगाइदिने मखमली फुल रोप्नेदेखि माला गास्दासम्मका लगानीका बारे जिज्ञासामा रचनाले भनिन्, ‘मखमली खेती त्यति सजिलो छैन । फूलमा चाँडै किरा लाग्छ । किट्नाशक औषधी छर्कनुपर्छ । खर्च पनि उतिकै हुन्छ । कहिलेकाहीँ त नाफाभन्दा बढी खर्च पनि हुन जान्छ ।’

    किसान र व्यवसायीबीच सिधा सम्पर्क नहुँदा फुलको उचित मूल्य नपाइएको रचनाको दुखेसो छ । व्यवसायी आफैं फुल लिन आउनुको सट्टा बिचौलियालाई पठाउने गरेको कारण विगत १५ वर्षदेखि एउटै भाउमा मखमलीको माला बेच्नुपरेको उनको गुनासो छ ।उनले भनिन्, ‘बजार बाउ राम्रो नै पाइन्थ्यो तर व्यापारीहरु गाँउमा आएनन् । किसानसम्म पुगेर सम्पर्क नै गर्दैनन् । बिचौलियाहरुलाई पठाइदिन्छन् । बजारमा मालाको मूल्य राम्रो छ तर हामीलाई १२ वर्षदेखि एउटै मूल्य दिइरहेका छन् । फूलहरु खेर फाल्नुपर्ने अवस्था चाहीं आएको छैन् । सस्तो मूल्यमा भएपनि विक्री भइरहेको छ । विगत १५ वर्षदेखि मखमली फुलको माला प्रतिगोटा २० रुपैयाँमा बिक्री गरिरहेका छौं ।’

    त्यसैगरी, रचना जस्तै अर्की मखमली फूल व्यवसायी राधिका फूयाँलको गुनासो पनि उही छ । फुल व्यवसायी आफैंले बजार र एजेन्ट खोज्नुपर्ने भएका कारण पनि किसानले चाहेको भाउमा बिक्री गर्न नसकिरहेको उनले सुनाइन् ।उनले भनिन्, ‘किसानले भनेको काम गर्ने हो । तर यहाँ बजार, एजेन्ट सबै आफैंले खोजेर हिड्नुपर्ने अवस्था छ । त्यो पनि कहिले गर्न सकिदैँन् । हामीले २०, २५ रुपैयाँमा बेचेको मालालाई दुईसय रुपैंयाँ तिरेर उपभोक्ताले किनिरहेका हुन्छन् । यस बीचमा विचौलियाले कति खाने रहेछन् भन्ने स्पष्ट हिसाब निस्किहाल्छ ।’चाडवाडको बेला भारतलगायतका क्षेत्रबाट फुल आयात रोक्न सकेमात्र मखमली फुलले बजार पाउने उनीहरु बताउँछन् । मखमली उत्पादनका बेला पानी बढी परेकाले हौसिएर फुल्ने समयमा बोटहरु ढलेका कारण यो वर्ष अपेक्षित फुल उत्पादन हुन नसकेको किसानहरु सुनाउँछन् ।

    सरकारको छैन गुण्डुबासीलाई सहयोग
    करिब ४० वर्षदेखि गुण्डुबासीले मखमली फुलको व्यवसायिक खेनी गर्दै आएपनि सरकारबाट अहिलेसम्म कुनैपनि सहयोग नगरेको किसानहरुको गुनासो छ । आफ्नो बारीमा फुल्ने फुल अमेरिका, अष्ट्रेलिया, अमेरिकालगायतका देशमा समेत निर्यात हुने गरेको भएपनि सरकार किसानहरुलाई प्रोत्साहित गर्नुको सट्टा भारतबाट फुल आयात गर्न व्यापारीलाई उत्साहित गराइरहेको उनीहरुको आरोप छ । देशभित्रै उत्पादति वस्तुको उचित भाउ नपाउनुको पछाडि सरकारको हात रहेको राधिका फुयालले बताइन् ।उनी भन्छिन्, ‘नेपाल सरकार भारत बिना बाँच्न नसके जस्तो गर्छ । नेपालमा उत्पादित वस्तुलाई मान्यता दिएको छैन् । हामीले उत्पादन गरेको गोलभेडा समेत खेतमै कुहेर खेर गयो ।

    भारतबाट आयात हुने फूल बन्द गर्ने हो भने हामीले मेहनत गरेको फूल सस्तोमा पनि किन्न आउँथे मानिसहरु । जसका कारण किसानले मूल्य पाउँथे । यसमा सरकारको कमजोरी छ ।’सरकारले फुल व्यवसायका लागि किसानहरुलाई अनुदान दिन सके देशमा खपत हुने फुल उत्पादन गर्न सकिने उनको दाबी छ । सरकार राजनीतिको पछि मात्र लाग्दा किसान उपेक्षामा परेको अर्की व्यवसायी रचना क्षेष्ठको भनाइ छ ।उनी भन्छिन्, ‘फुल राम्रो विक्री हुन सकिरहेको छैन् । किसानले सबैमा गर्ने भनेकै मेहेनत हो । मेहेनत गर्दागर्दा पनि हुदैँन्, धेरै गारो हुन्छ । मेहेनतको एक छेउ पनि पाउन गा¥हो छ नेपालमा । यहाँ उत्पादन भएको वस्तु नेपालमा मात्र प्रयोग गर्ने हो भने पनि पुग्दैन् । यसबारे राम्रो नीति नै छैन् । सरकार आफ्नो राजनीतिमा लागेको छ । नेताहरुलाई किसानहरुले फूल खेती गर्छन्, भन्ने कुरा पनि थाहा छैन् होला ।’

  • तीज गीतमा छैन मौलिकता : परिवारसँगै बसेर सुन्न र हेर्न नसकिने

    तीज गीतमा छैन मौलिकता : परिवारसँगै बसेर सुन्न र हेर्न नसकिने

    काठमाडौं । पछिल्लो समय नेपाली समाजमा तीज गीतहरूको मौलिकपना हराउँदै गएको छ । सस्तो लोकप्रियताका नाममा यस पटकका तीज गीतमा पनि विकृति भित्रिएका छन् ।

    विकृति भित्रिएसँगै राष्ट्रिय लोकसञ्चारकर्मी नेपालले छाडा गीत प्रसारण नगर्ने निर्णय गरिसकेको छ भने तीज पर्वकै छेकोमा सार्वजनिक भएको आफ्नो गीत आलोचित भएपछि गायिका शान्तिश्री परियारले पनि विज्ञप्ति निकाल्दै माफी मागेकी छन् ।

    शान्तिश्रीले गाएको अहिलेको विवादित गीत हो ‘काले के–के बोल्यो बोल्यो मलाई बिस्ताराले पोल्यो …।’ यो गीत नसुन्ने अहिले कमै होलान् । तर यो गीत एकान्तमा मात्र सुन्ने खालको छ । यसको भिडियोले त बजारमा तहल्का नै पिटेको छ ।

    विवादित हुँदा गायिका शान्तिलाई मन पराउनेहरु पनि आक्रोशित नै भएका छन् । शान्ति सबैको नजरमा राम्रो गायिकाको ट्याग लागेकी लोकप्रिय गायिका हुन् तर पछिल्लो समय गीत विवादित हुँदा उनलाई दर्शक स्रोताले आलोचना गरिरहेका छन् ।

    एउटा गीत विवादको मुखमै रहेका बेला शान्तिश्रीको अर्को गीत पनि उहीँ पाराको छ । भर्खरै मात्र बजारमा आएको शान्तिश्रीको अर्को गीत ‘जवानीले पोल्यो …।’

    तर, उनको नयाँ गीत ‘जवानीले पोल्यो’ मा पनि पूर्ववत् शैली र प्रस्तुति देखिएको छ । गीतको शब्द, भिडिओ र कोरियोग्राफी अघिल्लो गीतसँग मिल्दोजुल्दो छ । मोडल र पहिरन पनि उस्तै छन्, र उत्तिकै आकर्षक नृत्य प्रस्तुत गरिएको छ ।

    विश्लेषकहरूका अनुसार यो गीत अघिल्लो जत्तिको ‘क्याची’ नभए पनि, यसको शैली र प्रस्तुतिले फेरि विवाद निम्त्याउन सक्ने देखिन्छ । शान्तीश्रीको यो कदमले उनको पूर्व प्रतिबद्धता र कलाकारको सामाजिक जिम्मेवारीबारे प्रश्न उठाएको छ ।

    अहिले तीजकै लागि भनेर निकालिएका एकपछि अर्को गीत विवादित बनिरहेका छन् । तीजको अर्को ‘गुलेली तन्कियो’ बोलको गीत पनि निर्विवाद छैन । यो गीतको भिडियोमा अभिनेता राजेश हमाल पनि देखिएका छन् ।
    भदौ तेस्रो साता मनाइने तीज ताकेर गत असारदेखि नै गीतहरू आइरहेका छन् । कुनै गीत दर्शक, स्रोताले मन पराएर चर्चामा छन् । कतिपय चाहीं शब्द, दृश्याङ्शका कारण विवादित छन् । तीज भनेर ल्याइएका अक्सर गीत तीजको नभएर रत्यौलीको झल्को दिएको भन्दै आलोचना भइरहेको छ ।

    यस्तै नेत्र अर्यालको शब्द, भगिरथ चलाउने र कविता खत्रीको आवाजमा रहेको ‘दिउँला बरी लै’ बोलको गीत रिलिज भएदेखि नै विवादमा छ । दुई साताअघि कविता खत्री युट्युब च्यानलबाट सार्वजनिक भएको गीतको कमेन्ट बक्स गालीले भरिएको छ । अधिकांशले गीतको शब्द मन पराएका छैनन् ।

    विगत केही वर्षदेखि कतिपय तीज गीत विवादमा तानिँदै आएका छन् । परम्परागत रूपमा महिलाहरूले गाउने गरेको तीजका गीत पछिल्ला समय पुरुषले पनि गाउन थालेका छन् ।

    यस्तै एउटा उदाहरण हो जो आफूलाई गायक भन्दा पनि मोडल भन्न रुचाउने गायक दुर्गेश थापाले तीन वर्षअघि गाएको ‘हामी पनि नाच्नुपर्छ बिच्चबिच्चमा’ बोलको गीत डेढ करोड पटकभन्दा बढी हेरिएको छ ।

    चर्चामा आउनकै लागि तीजको अवसरमा गीत ल्याउनेहरु उतिकै छन् । छोटो समयमा चर्चामा आउनको लागि मौलिकपनालाई ध्यान नदिँदा यस्ता गीतहरु परिवारसँग बसेर हेर्न नसकिने अवस्था छ ।

    वर्षभरीका घटना, नारीका पीर, वेदना तथा सन्देशमुलक सामाग्री भन्दा पनि अनावश्यक तडकभडक शैलीको सिकोले गीतमा विकृती फैलाएको छ । यस्तै गीतका कारण मौलिकतामा ध्यान दिने वास्तविक तीजे भाका ओझेलमा पर्न थालेका छन् ।

    तीजको मौलिकतालाई समेट्न नसकेको गुनासो अहिले चर्को रुपमा उठ्न थालेको छ । यसरी तिजका भाकाहरुमा आफ्नोपना हराउँदै जाँदा यो चिन्ताको विषय हो । यसको नियन्त्रण गर्दै तीजको मौलिकता जोगाउनु आवश्यकता देखिन्छ ।

    बरिष्ठ लोक गायक रामप्रसाद खनाल तीजको मौलिकपन वर्षभरी घटेका घट्नाक्रमहरुलाई गीतमा लेखेर सोही अनुसार महिला पुरुष सँगै गाउँने सँगै नाच्ने सँगै बजाइँदिने चलन हराउँदै गएकोमा चिन्ता व्यक्त गर्छन् ।

    ‘तीजको बेलामा निकाल्दैमा तीजको गीत हुँदैन् । कलाको नाममा अहिले चर्तिकला देखाउनेहरुको हाबी भएको छ,’ उनले भने,‘कलाकारहरुले कला देखाउने हो चर्तिकला देखाउने होइन् । देशमा लोक गीत, दोहोरी गीत र सांस्कृतिक गीतहरुको लागि योगदान दिएको मान्छे भएको कारणले मैले बोल्नैपर्छ ।’

    तीज गीतले पहिला र अहिले निकै फरक भएको भएपनि संस्कृति विनाशको बाटो गइरहेको उनको चिन्ता छ । एकैछिन भाइरल भएर केही नहुने भएकाले लोकको प्रिय बन्न उनी सुझाव दिन्छन् । ‘दर्शकहरुले पनि यस्ता अपाच्य, विकृतीपूर्ण गीतहरुलाई होइन, मौलिकतालाई संरक्षण गर्ने गीतहरुमा सोच्नुपर्छ,’ उनले भने ।

    तीज खानामा, गीतमा र सम्बन्धमा मिठास भर्ने गौरव बोकेको संस्कृति हो । सदियौँदेखि चलिआएको मौलिक पर्वमा अहिले भने खोक्रोले भरिएको जस्तो लाग्न थालेको छ । हजुरआमा, आमाहरूले तीजका बेला गाउँ नै घन्किने गरी मीठा भाकामा दुःख, पीडा, विरह, सुख, माया, प्रेम, विद्रोहका कुरा गीतमार्फत व्यक्त गर्ने गरेको पाइन्छ ।
    वर्ष दिनसम्म घरमा भोगेका दुःख, पतिको माया सबै गीतैले छताछुल्ल पार्ने चलन गाउँघरतिर अझै जारी छ ।

    तीजमा माइत आउँदा सबै तीता अनुभव बिर्सिने गरी आत्मीयता साट्ने, मीठो–मसिनो खाने, चोखो दर खाएर भोलिपल्ट निराहार व्रत बस्ने अनि चौतारी, स्कुल, चोकमा भेला भएर नाचगान गरेर तीज मनाउने चलन हराउँदै गएकोमा चिन्ता बढेको छ ।

    तर हिजोआज तीज महंगा होटल र पार्टी प्यालेसमा गर्न थालिएको छ । परम्परामा परिवर्तन आएर संस्कार नै मेटिनेगरी गीतहरु बजारमा आएका छन् । बुवाआमा दाजुभाइसँग बसेर सुन्नै नसकिने तीजका भाका युटुवमा छ्यापछ्याप्ती छन् ।

    आफ्नो संस्कारलाई अतिरन्जित गर्दै अहिले मौलिक तीज हराएकोमा चिन्ता बढ्न थालेको छ । बदलिँदो समय, फेरिदो आर्थिक अवस्था र आधुनिक जीवनशैलीप्रति बढ्दो आकर्षणका कारण विरह र बेदना समेटिएका गीतहरु हिजोआज सुनिदैनन् ।

    तीज पर्व महिलाले वर्षभरि भोग्नुपरेका दुःख, पीडा र व्यथा बाहिर ल्याउने पर्व हो । पहिला लोक संस्कृति झल्काउने खालका गीत गाउँथे तर अहिले यस्ता गीतहरु लोप हुने अवस्थामा पुगेका छन् । महिलाले सासू–ससुरा र पतिको अन्यायका विरुद्ध आवाज उठाउने संस्कृतिका रुपमा गाउने भाका अहिले फेसनका रुपमा भित्रिन थालेको छ ।

    समय–परिस्थिति फेरिएकाले माथिको भाका अहिलेका लागि असान्दर्भिकप्रायः छ । जानकारहरूका अनुसार, अब तीजका गीत विरह, वेदनाकै हुनुपर्छ भन्ने रहेन तर पर्वको मर्मलाई गीतमा मर्न दिन हुँदैन । अचेल नेपाली मौलिकता झल्काउने शब्द, आफ्नोपन सम्झाउने परिवेशभन्दा भड्किला र उत्ताउला गीत आउने क्रम बढेको छ ।

    गीतकार रुद्रप्रसाद अधिकारीले हरितालीका तीज नेपालमा धेरै मान्यता दिएपनि पछिल्लो समय पर्व समाज भन्दा बाहिर गइरहेको दुःख व्यक्त गर्छन् । तीज पर्व र शास्त्रको रुपलाई कुरुप बनाईंदै लगिएको उनको चिन्ता छ ।
    ‘तीजमा मेला लगाउने र महिलाहरु दरमा होइन दारुमा रमाइरहेका छन् । पर्व र शास्त्रको रुपलाई कुरुप बनाईंदैछ । समाज एउटा नैतिक चरित्रमा र शास्त्रीय कुरामा बाँधिएको थियो अहिले त्यो सम्पूर्ण बन्धनहरुबाट समाज खुल्ला हुँदै गएको छ,’ उनले अगाडि भने,‘अहिलेको समाजमा न त शास्त्रको मर्यादा छ ? न कुलको परम्परा छ ?न लोकआचार छ, कुलआचार, शास्त्राचार केहीपनि छैन् । समाज विस्तारै स्खलित हुँदै गइरहेको छ । यस विषयमा सजक र सचेत बन्नैपर्छ ।’(नेपाल न्यूज बैंक)