Category: फिचर स्टोरी

फिचर स्टोरी

  • दाइले नै बुबाको हत्या गरेपछि १७ वर्षीया रमिताको बिचल्ली

    दाइले नै बुबाको हत्या गरेपछि १७ वर्षीया रमिताको बिचल्ली

    बैतडी । बैतडीमा दाइले बुबाको हत्या गरेपछि एक किशोरीको विचल्ली भएको छ । डिलाशैनी गाउँपालिका–५ सेराका २४ वर्षीय लोकेन्द्र जोशीले शुक्रबार बिहान ५ बजे आफ्नै ६८ वर्षीय बुबा अन्तराम जोशीको बन्चरो प्रहार गरि हत्या गरे ।

    बुबाको हत्या गरेका दाइ जेल जाने निश्चित भएसँगै १७ वर्षीया किशोरी रमिता बिचल्लीमा परेकी हुन् । रमिताकी आमाको १३ वर्षअघि नै मृत्यु भएको थियो ।

    ‘म चार वर्षकी छँदा आमाको मृत्यु भयो । बुवा, दाइ र म मात्र घरमा बस्थ्यौँ । अहिले दाइले नै बुबाको हत्या गरेपछि म एक्ली भएँ । मेरो कोही छैन,’ रमिताले भनिन् ।

    चुहिने छानो भएको एक कोठाको घरमा बस्ने रमिताले अहिले कक्षा १२ को परीक्षा दिएकी छन् । उनको गाउँकै सबैभन्दा विपन्न परिवारमा पर्छ ।
    लोकेन्द्रलाई डिलाशैनी गाउँपालिका अध्यक्ष सन्तोष जोशीका बुबा प्रदीपले लघु उद्यम सहजकर्ताको १८ महिने कोर्ष गराउन आर्थिक सहयोग गरेका थिए । तर, उनले उक्त कोर्ष पास गर्न सकेनन् । रमिताले भनिन्, ‘इडीएफ कोर्षमा पनि फेल भएको दाइले एसर्ईई पनि पास गर्न सकेका थिएनन् । दुई वर्ष भारत गएर ९ हजार रुपयाँ मात्रै पठाए, त्यो पैसाले गाई किन्याँै । त्यसबाहेक दाइको कमाई नै थिएन । हाम्रो सहारा बुवा मात्रै हुनुहुन्थ्यो । बुबालाई पनि दाइले हत्या गर्नु भयो । म एक्लै भएँ, अब म के गरौँ ? कहाँ जाउँ ? मेरो सहारा कोही छैन् ।’

    यसरी भयो घटना, लोकेन्द्रलाई पछुतो छैन

    अन्तराम जोशी बिहानै ५ बजे उठेर आँगनमा मोही पार्ने पारो धोइरहेका थिए । यसैबेला बन्चरोसहित ढोकाबाट बाहिर निस्केका छोरा लोकेन्द्रले बुबामाथि बन्चरो प्रहार गरे । पहिलो चोट लागेपछि पानी खोज्न गएका अन्न्तरामलाई पाँचपटक बन्चरो प्रहार गरे लोकेन्द्रले । लोकेन्द्रको बन्चरो प्रहारबाट अन्तरामको मृत्यु भयो ।

    बुवाको हत्यापछि लोकेन्द्र धारातर्फ गएका थिए । धारामा भेटिएका गाउँलेलाई आफूले बुबाको हत्या गरेको बताए । त्यसपछि गाउँलेले प्रहरीलाई खबर गरे । ‘मैले केही समय अघिदेखि नै मार्ने योजना बनाएको हुँ । आज मात्रै मौका मिल्यो । मेरो नजरमा चारजना अरु पनि छन् । मैले घटना स्वीकार गरिसकेकाले एक वर्ष पनि जेल बस्दिन होला । मेरो खानामा थुक्ने, मलाई गाली गर्ने भएका कारण बुबा मारेको हुँ,’ लोकेन्द्रले भने ।
    आफु मृतक अन्तरामको छोरा समेत नभएको लोकेन्द्र बताउँछन् । ‘मलाई उसले (अन्तराम) पालेको मात्रै हो । म उसको छोरा नै होइन,’ उनले भने । यसअघि नै १०–१२ पटक बुबाको हत्या गर्न खोजेको उनको भनाइ छ ।

    लोकेन्द्रले अन्तराम आफ्नो बुबा नभएको बताए पनि उनी छोरा भएको आफन्त बताउँछन् । स्थानीयवासीका अनुसार मृतकका दुई छोरी र एक छोरा छन् । जेठी छोरी राजमतीको विवाह भइसकेको छ भने कान्छी छोरी रमिता अविवाहित छिन् । राजमतीको घर महेन्द्रनगरमा छ ।
    बुबाको हत्या गर्नु केही दिन अघिदेर्खिे लोकेन्द्र कसैसँग नबोल्ने गरेको स्थानीयवासीको भनाइ छ । हत्याका अभियुक्तलाई कानुनअनुसार कारवाही हुने जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता लोकराज जोशीले बताए ।

    डिलाशैनी गाउँपालिकाभरिका टुहुरा बालबालिकाका लागि नीति निर्माण गरि टुहुरा बालबालिका लक्षित कार्यक्रम ल्याउने गाउँपालिका अध्यक्ष सन्तोश जोशीले बताए ।

  • गौतमबुद्ध क्रिकेट रंगशाला ११ महिनादेखि अलपत्र, रडमा खिया लागे, मैदानमा झाडी पलाए

    गौतमबुद्ध क्रिकेट रंगशाला ११ महिनादेखि अलपत्र, रडमा खिया लागे, मैदानमा झाडी पलाए

    चितवन । भरतपुर महानगरपालिका-१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला ११ महिनादेखि अलपत्र परेको छ । रंगशाला निर्माणको नेतृत्व लिएको धुर्मुस सुन्तली फाउन्डेसनले आर्थिक सहयोग जुटाउन नसकेपछि रंगशाला अलपत्र परेको हो ।

    लामो समयसम्म निर्माणाधीन रंगशाला अलपत्र परेपछि रडमा खिया लागेका छन् । प्यारापिट बनाउन भनेर ल्याएर भुइँमा राखिएका रड कामै नलाग्ने भएका छन् भने पिलरका रड पनि बिग्रिने क्रममा छन् । अझै आठ महिनाभित्र काम सुरु हुन सकेन भने पिलरका रडसमेत काम नलाग्ने हुने रंगशालाको रेखदेख गर्दै आएका फाउन्डेसनका प्रतिनिधि टेकेन्द्रजंग शाही बताउँछन् ।

    ‘हामीले महानगरले औपचारीक रूपमा स्वामित्व नलिँदासम्मको लागि रेखदेख गरेका हौँ । निर्माणको काम त ठप्प नै छ । लाखौँ रुपैयाँ खर्चिएर ल्याइएका दूबो काम नलाग्ने भएको छ । मैदानमा झाडी पलाएको छ’, उनले भने ।

    रंगशालाको अहिले तीन सुरक्षाकर्मीसहित ६ जनाले रेखदेख गर्दै आएका छन् । लाखौँ रुपैयाँ खर्चिएर दूबो लगाएर ठिक्क पारिएका मैदानमा झाडी पलाएका छन् । रंगशाला निर्माणस्थलमा बनाइएका संरचनाहरू निरन्तरको वर्षाले केही बिग्रिसकेका छन् भने केही बिग्रिने तर्खरमा छन् ।

    हास्य कलाकारद्वय सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ ले २०७४ चैतमा आमनागरिकबाट आर्थिक सहयोग जुटाएर क्रिकेट रंगशाला बनाउने घोषणा गरेका थिए । उनीहरूले २०७५ माघ १६ देखि रंगशाला निर्माणको काम सुरू गरेका हुन् ।

    अहिले रंगशालाको भौतिक प्रगति ३५ प्रतिशत पुगेको छ । तर आर्थिक अभाव भएपछि रंगशालाको भरतपुर महानगरपालिकाले औपचारिक रूपमा स्वामित्व लिने तर्खरमा छ । महानगरले रंगशालाको स्वतन्त्र लेखापरीक्षण गरिसकेको छ । रंगशालाका लागि सरकारले यस आवमा २२ करोड रुपैयाँ छुट्याएको छ ।

    ३० हजार जनाको क्षमताको हुने रंगशालामा तीन हजार दर्शकले बसेर खेल हेर्न मिल्ने प्यारापिटको पहिलो चरणको काम सकिएको छ । प्यारापिटका २८६ वटा पिलर उठाइएको छ । प्यारापिट तयार भएर भिआइपी टावर बनाउन थालिएको थियो । टावर ‘वान’को पिलर उठाइसकेर बिम ढलान भएको छ । आठवटा पिच बन्न बाँकी छन् । दोस्रो टावरको काम हुँदै गर्दा धुर्मुस-सुन्तली फाउन्डेसनले रंगशाला निर्माण रोकेको हो ।

    उधारो आर्थिक व्ययभार बढ्दै गएको र आर्थिक संकलन हुन नसकेको भन्दै काम रोकिएको हो । फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलले चरम आर्थिक संकटबाट गुज्रिएपछि काम रोक्नुपरेको बताए । उनले जनस्तरबाट रकम उठ्ने सम्भावना पनि नभएको र सरकारले नदिएका कारण आर्थिक संकट आएको बताए ।

    रंगशाला बनाउन तीन अर्ब रूपैयाँ लाग्ने प्रारम्भिक अनुमान थियो । चालू आवका लागि सरकारले छुट्याएको रकममध्येबाट रंगशालाको ऋण तिर्नका लागि कट्टेलले पहल गरिरहेका छन् । उनले सिंहदरबारमा पुगेर मन्त्रीदेखि उच्च तहका कर्मचारीसँग नियमित भेटघाट गरिरहेका छन् ।

    रंगशालामा हालसम्म ५४ करोड ९२ लाख ८५ हजार रुपैयाँ खर्च भइसकेको फाउन्डेसनका अध्यक्ष कट्टेलको दाबी छ । १७ करोडजति त ऋण नै रहेको उनी बताउँछन् ।

    भरतपुर महानगरपालिकाले गराएको स्वतन्त्र लेखा परीक्षण प्रतिवेदनमा भने रंगशाला निर्माणमा हालसम्म ५० करोड २० लाख ७९ हजार ७४६ रूपैयाँ भएको उल्लेख छ । रंगशाला १८ करोड १२ लाख ४७ हजार १५० रूपैयाँ ऋणमा रहेको महानगरको स्वतन्त्र लेखा परीक्षण प्रतिवेदनमा उल्लेख छ ।

    रंगशाला निर्माणका लागि ३९ करोड ८० लाख ३८ हजार ५८८ रुपैयाँ संकलन भएको प्रतिवेदनमा देखाइएको छ । रंगशाला निर्माणका लागि सरकारी निकायबाट ११ करोड ८४ लाख ९२ हजार ८१४ रुपैयाँ भएको थियो । अन्य कोषबाट दुई करोड १४ लाख सात हजार ५३९, धनधान्याञ्चलबाट नौ करोड ४१ लाख ५८ हजार ३६७ संकलन भएको देखाइएको छ।

    युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले रंगशाला निर्माण परियोजनाको फाइल प्राप्त भएको र यसलाई कुन मोडलमा अघि बढाउने भन्ने विषयमा छलफल भइरहेको बताए । ‘खेल पूर्वाधारसँग सम्बन्धित परियोजना भएकाले यसलाई अध्ययन गरेर कसरी अगाडि बढाउने भनेर अर्थ मन्त्रालयसँग पनि परामर्श गर्‍यौँ, प्रधानमन्त्रीसँग पनि परामर्श गरिरहेका छौँ’, उनले भने ।

    रंगशाला कसरी अगाडि बढाउने भन्ने निष्कर्ष छिट्टै निस्किने उनले बताए । नयाँ परियोजना नभई एउटा प्रक्रियामार्फत अघि बढेको परियोजना फेरि अर्को प्रक्रियामार्फत अघि बढाउनुपर्ने भएकाले केही ढिलो भएको उनको भनाइ छ। अहिले दुईवटा विकल्पमा छलफल भइरहेको उनले बताए । महानगर पालिकाबाट सम्पन्न गर्न नसकिने भएकाले विकास समिति बनाएर अघि बढ्ने कि राष्ट्रिय खेलकुद परिषदमार्फत अघि बढाउने भन्ने विषयमा छलफल चलिरहेको मन्त्री गहतराजले जानकारी दिए ।

  • मुगुका आगलागी पीडितको पीडा : घाम लागे जंगलमा, पानी परे जाग्राम

    मुगुका आगलागी पीडितको पीडा : घाम लागे जंगलमा, पानी परे जाग्राम

    मुगु । मुगु सदरमुकाम गमगढीको तल्लो बजारका आगलागी पीडितलाई नौ महिनासम्म उचित बासस्थानको प्रवन्ध हुन सकेको छैन । गत २९ कात्तिकमा भएको भीषण आगलागीबाट पीडित भएकाहरूको अझैसम्म पालमुनिको बास भएको छ ।

    आगलागीबाट गमगढी बजारका २१ वटा घर पूर्ण रुपमा जलेर नष्ट भएका थिए । अहिलेसम्म उचित बासस्थान नपाएका पीडित बर्खा लागेसँगै थप बिचल्लीमा परेका छन् ।

    राम्रोसँग ओत लाग्ने घर नहुँदा उनीहरू वर्षा लागेसँगै बिचल्लीमा परेका हुन् । उनीहरू घाम लाग्दा शितलता लिन जंगलतिर धाउन्छन् भने राति पानी परेमा जाग्राम बस्नुपर्ने अवस्था रहेको गुनासो गर्छन् ।

    दिनमा पानी पर्दा छिमेकी वा आफन्तको घरमा ओत लाग्न जान्छौँ । तर, राति पानी परे ओत लाग्ने नमिल्ने भएकाले रातभर जाग्राम बस्नुपर्छ,’ अग्नि पीडित झम्बा तामाङले बताइन् । उनी मात्र होइनन अन्य अग्नि पीडितहरूको पीडा उही छ । घाम र पानीबाट मात्र होइन पीडितहरु सर्पजस्ता विषालु जीवजन्तुबाट उत्तिकै जोखिममा छन् ।

    पछिल्लो समय लगातार परेको वर्षाका कारण सर्पले सास्ती दिने गरेको उनीहरु बताउँछन् । पानी परिरहेका कारण राति पहिरो र सर्प आउँछ कि भनेर हेरिरहनुपर्छ,’ पीडित गुरु तामाङको दुखेसो छ ।

    सरकारले मात्र होइन यहाँ क्रियाशील विभिन्न संघसंस्थाले सुरुमा चासो देखाए पनि पछि पीडितको समस्या समाधानमा चासो नदिएको पीडितहरु गुनासो गर्छन् ।

    आगलागी भएको दोस्रो दिन नै कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही स्थलगत अनुगमन गरेर घरहरूको पुनर्निर्माणका लागि प्रदेश सरकारले सहयोग गर्ने वचन दिएका थिए । घरको पुनर्निर्माणको लागि पीडित र छायाँनाथ रारा नगरपालिकासँग नक्सा पास गर्न बारम्वार पहल गरेको र घर बनाउँदा भुकम्प मापदण्ड, भवन आचारसंहिताको मापदण्ड पालना गरि वडा कार्यालयबाट सिफारिस गरि पहिलो किस्ताको रकम प्रदान गर्ने प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए ।

    ‘प्रदेश सरकारबाट आएको रकम कोषमा जम्मा भएको छ,’ प्रजिअ महतले भने,’ पीडितले नक्सा पास गरेर आए प्रदेश सरकारबाट प्राप्त रकम प्रदान गरिनेछ ।’ प्रदेश सरकारले क्षतिपुर्तिको आधारमा अधिकतम ४ लाखसम्म रकमको राहत दिने प्रजिअ महतको भनाइ छ ।

  • विद्यालयमा चार शिक्षक, एक विद्यार्थी

    विद्यालयमा चार शिक्षक, एक विद्यार्थी

    डडेल्धुरा । ‘अभिभावक ज्यू नमस्कार, कता हिड्नु भयो कुन्नी? एकपटक विद्यालयमा प्रवेश गरि छोराछोरीको पढाइबारे छलफल गरौं कि?’ यहीँ नारा लिएर सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर बढाउन अमरगढी नगरपालिकाले ठाउँ ठाउँमा साइनबोर्ड झुन्ड्यायो।

    नगरपालिकाले नगर क्षेत्रभित्रका मापदण्डअनुरूप न्यूनतम विद्यार्थी संख्या नपुगेको भन्दै ‘नगरपालिकाको विद्यालय समायोजन कार्यविधि २०७७’ लागू गरि नगरभित्रका विद्यालयलाई समायोजन गर्‍यो। विद्यालय समायोजनपछि बालविकासदेखि ५ कक्षासम्म सञ्चालन भएका ५ विद्यालयले शैक्षिकसत्र २०७७ देखि कक्षा ४ र ५ मा भर्ना लिन पाएनन्।

    विद्यालय समायोजन र गुणस्तरीय शिक्षाको नारा लिएर अघि बढेको अमरगढीले सोचे अनुरूप शिक्षा क्षेत्रमा परिवर्तन ल्याउन सकेको छैन्। समायोनपछि ३ कक्षासम्म मात्रै पठनपाठन गर्न पाउने यहाँका अधिकाशं विद्यालयको अवस्था दयनिय बन्दै गएको छ। नगरको लगानी समेत ‘बालुवामा पानी’ जस्तै भएको छ।

    यसैको एक उदाहरण हो, अमरगढी नगरपालिका–३ मा रहेको जनसेवा प्राथमिक विद्यालय डाँडाकोट, पथरोडा। २०४९ सालमा स्थापना भएको यो विद्यालयमा कुनै समय विद्यार्थीको संख्या उल्लेखनीय हुन्थ्यो।

    तर, विद्यालय समायोजनपछि एक जना विद्यार्थी मात्रै विद्यालयमा पढ्नका लागि आउने गरेका छन्। ती विद्यार्थी पनि विद्यालयमा कार्यरत शिक्षिकाको छोरा रहेका छन्।

    ‘नयाँ शैक्षिक शत्रमा २१ जना विद्यार्थी भएका हुन्। भर्ना भएका मध्ये अहिले एक जना मात्रै विद्यालयमा पढ्न आउने गरेका छन्। ती पनि बालविकासमा पढ्छन्,’ विद्यालयकी शिक्षिका आरती सुनारले भनिन्, ‘४ र ५ कक्षामा ठूला–ठूला विद्यार्थी हुन्थे। ती विद्यार्थीसँगै स–साना बालबालिका आउँथे। अहिले उनीहरूले आफूसँगै लग्ने गरेका छन्।’

    विद्यालयमा हाल चार जना शिक्षक र एक जना कार्यालय सहयोगी कार्यरत रहेको शिक्षिका सुनारले बताइन्। दुई जना स्थायी र तीन जना अस्थायी रहेको उनको भनाइ छ। विद्यालयमा नियमित आउने गरेपनि विद्यार्थी नहुँदा समय वेतित गर्नै समस्या हुने गरेको उनी बताउँछिन्।

    उनी भन्छिन्, ‘पालैपालो विद्यार्थीलाई पढाउँछौं। प्रअ सरले प्रशासनिक काम गर्नुहुन्छ। हामी बसेरै बिताउँछौं। गाउँलेहरूले समेत बसेरै तलब खानुहुन्छ भन्छन्। यो भन्दा कतै समयोजन गरिदिए काम गरेर पारिश्रमिक लिएका छौं भन्न हुन्थ्यो।’

    विद्यार्थीको संख्यामा कमि आयो भनेर ४ र ५ कक्षा घटाल माध्यमिक विद्यालय नुवाकोटमा समायोजन भएको विद्यालयका प्रधानाध्यापक डम्बरसिंह भण्डारीले बताए। विद्यार्थीको संख्यामा किन कमि? भन्ने प्रश्नमा उनले भने, ‘केही हाम्रा पनि कमजोरी होलान्। गुणस्तरीय शिक्षा नदिन पनि सकेका हुन सक्छौं।’

    प्रअ भण्डारीले जिल्ला सदरमुकामबाट स्कुल बस गाउँमा आउने भएकोले पनि विद्यार्थी सदरमुकाम दिर जान थालेको बताए। उनी आर्थिक उन्नतीको हिसाबले संस्थागत विद्यालयमा विद्यार्थी पढाउने होडबाजीले समेत विद्यार्थीको संख्यामा कमी आएका बताउँछन्।

    स्थानीय तहको उदासीनता

    सरकारले माध्यमिक तहसम्मको व्यवस्थापन गर्ने जिम्मेवारी स्थानीय तहलाई सुम्पिएको छ। यधपी स्थानीय तहको उदासीनताले सामुदायिक विद्यालयको अवस्था दिन प्रतिदिन खस्किँदै गएको छ। सामुदायिक विद्यालयको अवस्था झन् खस्किदै गएको छ।

    विद्यालयको अवस्था बारे विद्यालयले नगरपालिकालाई जानकारी गराइसकेको छ। विद्यालयमा विद्यार्थीको संख्या शून्य रहेको र विद्यालयमा रहेका शिक्षक तथा कर्मचारीको दरवन्दी समायोजन गरिदिन विद्यालय प्रशासनले वडा र नगरलाई पत्र समेत पठाइसकेको छ।

    तर, अमरगढी नगरपालिका मौन रहेको छ। सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर सुधार गर्दा संस्थागत विद्यालय छोडेर सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै गएका थुप्रै उदाहरण छन्। तर, यो विद्यालयको अवस्था टिठ लाग्दो छ।

    के भन्छन् स्थानीय?

    सामुदायिक विद्यालयमाभन्दा संस्थागत विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै गएकोले पनि विद्यार्थीको संख्या घटेको स्थानीय धिरज भण्डारीले बताए।

    ‘म पनि पहिले पाँच सम्म पढेको थिए। पढाइ राम्रो थियो। तर, अहिले विद्यालय व्यवस्थापन समितिका अध्यक्षले नै आफ्नो छोरो संस्थागत विद्यालयमा पठाएका छन्,’ उनले भने, ‘विद्यालयसँग सम्बन्धित व्यक्तिका छोराछोरी बाहिर गएर पढ्न थालेपछि अरुको पनि विद्यालय प्रति विश्वास घट्दै गयो। र, विद्यार्थी विद्यालयमा लगाउनै छोडे।’

    विद्यालयमा अस्थायी रूपमा कार्यरत शिक्षक तथा कर्मचारी यहाँका राजनीतिक दलले पुहँचका आधारमा भर्ना गरेकोले पनि स्थानीयले विद्यालयमा विद्यार्थी पठाउन छोडेको स्थानीय वीरबहादुर ऐरले बताए।

    -जनसेवा प्राथमिक विद्यालय डाँडाकोटमा विद्यालय पोशाकमा रहेका विद्यार्थी मात्रै अध्ययनरत छन्।

  • सप्तकोसीले धार बदल्यो, चार हजार घर उच्च जोखिममा

    सप्तकोसीले धार बदल्यो, चार हजार घर उच्च जोखिममा

    उदयपुर । शुक्रबारदेखिको अविरलको वर्षासँगै आएको बाढीपछि सप्तकोसी नदीले धार बदलेको छ । नदीको धार बदलिएसँगै चार हजार घर नदी कटान तथा डुबानको उच्च जोखिममा परेको छन् ।

    सप्तकोसीको सम्भावित कटान र डुबान रोक्न सशस्त्र प्रहरी बलले बाँध निर्माणलाई तिव्रता दिएको छ । नदीको धार गाउँतिर सोझिँदा बेलका नगरपालिकाका चार वडाका एक दर्जनभन्दा बढी बस्ती उच्च जोखिममा परेको छन् । नदी गत वर्षदेखि पश्चिमपट्टि सोझिदा तीव्र कटान हुन थालेको हो । कटनका कारण बेलका नगरपालिकाको वडा नम्बर २, ३, ८, ९ उच्च जोखिममा परेका छन् । बेलका नगरपालिका–८ डुम्रिबोटमा नदीले कटान तीव्र पारेपछि सशस्त्र प्रहरीले बाँध निर्माणलाई जोड दिएको हो ।

    कोसी सम्झौताअनुसार भारत सरकारले नदीको दुवैतर्फ स्थायी तटबन्ध नबनाएका कारण पछिल्लो केही वर्षयता बाढी र डुबानको समस्या अझ बढेको स्थानीयबासी बताउँँछन् ।

    स्थानीयवासी भन्छन् ‘नदी पूरै गाउँतिर सोझिएको छ, ढुक्कले निदाउँन सक्ने अवस्था छैन । सप्तकोसी नदी बराह क्षेत्र नगरपालिकाको मध्यभागबाट बग्छ । बर्खामा नदीले वर्षेनी धेरै जनधनमा क्षति पुर्‍याउँदै आएको छ । बाढी आउँदा घर जग्गा डुबाउने र घट्दा किनारामा जमिन कटान तीव्र रुपमा गर्दा सप्तकोसी किनाराका हजारौंँ बासिन्दा घरबारविहीन बनिसकेका छन् ।

    सप्तकोसीले धार परिर्वतन गर्दा गतवर्षदेखि नै उदयपुरको बेलका नगरपालिका– ८ को लाहुरे खोँचमा कटान गर्दा सोमबारे, डुम्रीबोटे, मसानघाट, धौरी टप्पु, चिलिया टप्पु, एबीसी, श्रीलंका टापु, रामनगर, बोची, भागलपुर, क्रान्ति टोल, बानडाँडा र कोशी टप्पु आरक्षका चार हजार घर परिवार उच्च जोखिममा छन् । अहिले बेलका नगरपालिका– ८ को लाहुरे खाँेच र डुम्रिबोटेमा कटान तीव्र पारेको छ ।

    तीन सय मिटर कटान

    यसवर्ष पनि सप्तकोसीमा पानीको सतह बढेसँगै यस क्षेत्रका बासिन्दा जोखिममा परेका हुन् । कोसीले गतवर्ष ६ सय मिटर कटान गरेको थियो भने यस वर्षको बाढीले थप तीन सय मिटर कटान गरी सकेको छ । अब दुई सय मिटर कटान गरे सप्तकोसीले नयाँ मार्ग बनाउने र यहाँ बसोबास गर्ने चार हजार घर परिवार बिस्थापित हुनु पर्ने अवस्था रहेको बराह क्षेत्र नगरपालिका–६ का निर्वतमान वडा सदस्य श्यामबहादुर लिम्बूले बताए ।

    नदीको कटना रोक्न तत्काल प्रयत्न नगरे बेलका नगरपालिकाका–२, ३, ८, ९ र बराहक्षेत्र नगरपालिका–६ सहित सप्तरीको फत्तेपुर, कन्चनरुप, भारहद, राजविराज हुँदै कुनैली नाका भएर नदी बग्ने लिम्बूको भनाइ छ ।

    चार विद्यालय नदी कटनपछि विस्थापित

    सप्तकोसी कटानले बराह क्षेत्र नगरपालिका–६ चिलिया टप्पुस्थित बाल सेवा आधारभूत विद्यालय, जनता आधारभूत विद्यालय, कौशिका आधारभूत विद्यालय बेलका नगरपालिका–३ तर्फ सरस्वती आधारभूत विद्यालयसहित २ वटा स्वास्थ्य संस्था विस्थापित भई सकेको निर्वतमान वडा सदस्य लिम्बूले बताए । त्यहाँ रहेको एकता, सिर्जना, एबीसी, गिनेरी, रामनगर, बुधबारे, चिलिया टप्पु विस्थापित हुने अवस्थामा रहेको उनले बताए ।

    कटान गरेको क्षेत्रमा प्रमुख जिल्ला अधिकारी विरेन्द्रकुमार यादव, सुरक्षा निकायका प्रमुखहरूलाई स्थलगत अवलोकन गराएको बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बताए । अनुगमनपछि कटान रोक्न निगरानी गरी तत्काल अस्थायी मर्मत गर्न प्रदेश सरकार, प्रदेश योजना आयोग, नेपाल सरकार र भारत सरकारलाई आग्रह गरेको नगर प्रमुख कार्कीले जानकारी दिए ।

    सुनसरीको भाण्टाबारी कोसी ब्यारेजदेखि उत्तर बराह क्षेत्रसम्मका बाँध मर्मत सम्भार गर्ने र कटान नियन्त्रण गर्ने दायित्व भारत सरकारको हो । कोसी ब्यारेज निर्माण सम्झौताअनुसार भारत सरकारले वर्षेनी कटान रोक्ने प्रयास गरे पनि पूर्णरुपमा सफल हुन नसक्दा नेपाली भू–भाग कटान र डुबानमा पर्दै आएका छन् ।

    कोसी तथा बक्राहा नदी नियन्त्रण आयोजना विराटनगरका अनुसार कोशी सम्झौताअनुसार चतरादेखि ब्यारेजसम्म सप्तकोसीको दुवै किनारामा भारत सरकारले तटबन्ध निर्माण गर्नुपर्नेछ । कटानका बेला अस्थायी रुपमा भारत सरकारले मर्मत गर्दै आए पनि सम्झौताअनुसार भारत सरकारले तटबन्ध निर्माण नगरेको स्थानीयको गुनासो छ ।

  • जुरे पहिरोको आठ वर्ष : आफ्नै नाममा उठेको राहत रकम समेत पाएनन् पीडितले

    जुरे पहिरोको आठ वर्ष : आफ्नै नाममा उठेको राहत रकम समेत पाएनन् पीडितले

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका, बाह्रबिसे नगरपालिका र त्रिपुरासुन्दरी गाउँपालिकाको सीमानामा ०७१ साउन १७ बिहान ३ बजे ठूलो पहिरो गयो । जुरेको बस्तीमाथिबाट पहाड खस्दा सिङ्गो बस्ती पुरियो भने एक सय ४५ जनाको ज्यान गयो, सयौँ परिवार विस्थापित भए ।

    आठ वर्षअघिको पहिरोले जुरेकी सरिता तामाङको परिवार पनि विस्तापित बन्यो । उनी विदेशमा र श्रीमान् भ्यान लिएर तातोपानी बोर्डर पुगेकाले बाँचेका थिए । तर, उनीले सासुससुरासँगै दुई छोरी र एक छोरा पहिरोमा गुमाए । घटनालगत्तै सरिता नेपाल आएकी हुन् ।

    हुर्कदै गरेका बालख छोराछोरी गुमाएर आफूहरू बाँच्नु परेको पीडाले उनीहरूलाई निकै सताउँछ । उनीहरू भन्छन्, ‘बुढेसकालमा टेक्ने लौरो गुमाउनुपर्‍यो । जत्तिबेलै यो पीडाले पोलिरहन्छ ।’ घटना सम्झिनासाथै सरिताको आँखा आँशुले भरिन्छ ।

    सरिताले एक सन्तानलाई जन्म पनि दिएकी छिन् । उनकी छोरी अहिले चार वर्षकी भइन् । सरिता यही छोरीसँग खेल्दै, रमाउँदै विगतका पीडालाई भुल्ने प्रयत्न गर्छिन् ।

    पहिरोले जायजेथा बगेको दृश्य बिर्सन खोजे पनि यहाँका पहिरो पीडितहरूले बिर्सन सकिरहेका छैनन् । पहिरोपछि उनीहरूको बासस्थान टहरोमा भएको छ । सरिता भन्छिन्, ‘जीवन धान्न धेरै गाह्रो छ, टहराको बास छ । सरकारले बासको व्यवस्था गरिदिए हुन्थ्यो । त्यति पनि गर्न नसके हाम्रो नाममा आएको राहत रकम बाँडिदिए पनि हुने ।’

    यस्तै, सरस्वती बोहोराको पनि जुरे पहिरोले घरदेखि खेतबारी पहिरोमा परेको थियो । उनको परिवार सुकुम्बासी जस्तै भएको छ । उनीहरू अहिले अरनिको राजमार्गको किनारामा भुकम्प पीडित अनुदानबाट आएको पैसाले टहरा बनाएर बसिरहेका छन् । तर, बर्खामा सुनकोसी नदी उर्लिएर आउँदा किनारैमा रहेको टहरो बगाउला की भन्ने पिरलो परिरहन्छ ।

    पहिरोपीडित सुनकोसीमा पानी बढ्दा तर्सिन्छन्

    सुनकोसीमा पानीको सतह बढ्नासाथै उनीहरू पोकापन्तरा बोकेर खुल्ला पाखातिर लाग्छन् । पहिरोले उठिबास लगाएका यहाँका विस्थापितलाई अहिले पनि सुनकोसी बाढीको त्रास छ ।

    यता, जुरे पहिरो पीडितको नाममा संकलित रकम आठ वर्षसम्म सरकारी खातामा मै रोकिएको छ । दैनिक गुजार चलाउन मुस्किल भएको बेला आफ्नो लागि संकलन भएको रकम नपाएकोमा दुःख लागेको बताउँछिन बिनिता लामा । पहिरो पीडितका लागि तत्काल विभिन्न देशमा रहेका व्यक्ति तथा गैरसरकारी निकायबाट दुई करोड २४ लाख रुपैयाँ सहयोग जम्मा भएको थियो ।

    जुरे पहिरो पीडितलाई पनि भुकम्प पीडित सरह मानेर सरकारले आवास निमार्णको लागि तीन लाख रकम दिएको थियो । म्याग्नेसाईट उद्योगमा बस्दै आएका पीडितलाई घर बनाउन आवश्यक जग्गा व्यवस्थापन गर्न भने सरकारले सकेन । यति लामो समय हँुदा पनि वास्तविक पीडित को को हुन् भन्ने निक्र्याैल स्थानीय तहले गर्न सकेन् । १४ मंसिर ०७६ को मन्त्रीपरिषद्को निर्णयले पहिरोपीडितलाई भूकम्पपीडितसरह रकम उपलब्ध गराउने निर्णय गरेको थियो ।

    पहिरो पीडितको नाममा संकलित रकम पीडितलाई दिलाउन पहल भइरहेको विपद् व्यवस्थापन समिति, सिन्धुपाल्चोक फोकल पर्शन श्यामकृष्ण श्रेष्ठले बताए । आठ वर्षअघि नै वितरण हुनुपर्ने रकम समयमै वितरण हुन नसक्दा पीडित अन्योलमा परेका छन् । लामो समय बितिसक्दा पनि पीडितको समस्या भने ज्यूँका त्यूँ छ ।

  • आरडी बर्मन र आशा भोसलेको प्रेम किस्सा

    आरडी बर्मन र आशा भोसलेको प्रेम किस्सा

    काठमाडाैं । भारतीय फिल्मको दुनियाँमा संगीतमा नयाँ आयाम दिने संगीतकार आरडी बर्मन अर्थात् राहुल देव बर्मनको आज जन्मजयन्ती हो । ६० देखि ९० को दशकसम्म उनका गीत लोकप्रिय थिए । आज पनि उनको गीत सुन्न जोकोही चाहन्छन् । आरडीलाई सबैले मायाले ‘पञ्चम दा’ भनेर बोलाउँथे । उनले तीन सय बढी फिल्ममा संगीत दिए । उनलाई बलिउडको सफल संगीतकार मानिन्छ ।

    उनले किशोर कुमार र आशा भोसले जस्ता गायक गायिकालाई ‘सुपरस्टार गायक गायिका’ बनाए । आरडी गायिका आशालाई मन पराउँथे र एकदिन उनले विवाहको प्रस्ताव राखे । आशा पनि आरडीलाई मनपराउँथिन्, तर विवाह प्रस्तावलाई अस्वीकार गरिन् । निकै लामो समयसम्म प्रेम र अस्वीकार चलिरह्यो र अन्ततः उनीहरु एकअर्काका भए ।

    आरडीले दुई विवाह गरेका थिए । पहिलो विवाह रीता पटेलसँग भएको थियो, तर उनीसँग सम्बन्धविच्छेद भयो । आशाको पनि यो दोस्रो विवाह थियो । आशासँग आरडीको पहिलो भेट सन् १९७० मा भएको थियो । सम्बन्धविच्छेदपछि आरडी एक्लो थिए । यता आशाका पति गणपतरावको पनि सन् १९६६ मा निधन भएको थियो । दुवै एक्लाएक्लै भए पनि सांगीतिक सहकार्य जारी थियो । ‘पिया तू ब तो आजा’ र ‘दम मारो दम’ जस्ता गीतले आशालाई लोकप्रिय बनायो । यी दुवै गीतको कम्पोज आरडीले नै गरेका थिए ।

    आरडी र आशा दुवैको जिन्दगीबाट जीवनसाथी अलग भएपछिको अनुभव र पीडा करिब करिब एउटै थियो, त्यहीकारण दुवैको बीचको प्रेम गहिरो थियो । आरडीले एकदिन आशालाई विवाहको प्रस्ताव गरे, तर आशाले यस कुरालाई अस्वीकार गरिन् । आरडी उमेरमा आशाभन्दा ५ वर्ष कान्छा थिए । तर, आशाले विवाह प्रस्ताव अस्वीकार गर्नुमा उमेर कारण थिएन । उनी पतिको निधनको शोकबाट बाहिर निस्किएकी थिइनन् । तर आरडी हार मान्ने अवस्थामा थिएनन् । जसोतसो उनले आशालाई विवाहका लागि राजी बनाए । यो काममा उनलाई लता मंगेशकरले सहयोग गरेकी थिइन् । अन्ततः उनीहरुले सन् १९८० मा विवाह गरे ।

    आशा र आरडीको विवाहलाई लिएर अर्को एउटा रोचक किस्सा छ । जुन लता मंगेशकरसँग जोडिएको छ । लतासम्बन्धमा आरडीको जेठी सासु थिइन् । आरडी लतालाई ‘दिदी’ भनेर बोलाउँथे । लताले आरडीसँग सहकार्य गर्दै कैयौं सुपरहिट गीत दिए । लताले चैतन्य पादुकोणको पुस्तक ‘आरडी बरमनिया’मा आरडीसँगको सम्बन्धका बारेमा उल्लेख गरेकी छन् ।

    ‘जब आरडी र आशाको विवाह भयो, तब आरडीले मलाई ‘हामी तपाईंबाट कुनै महंगो उपहार चाहँदैनौं । यदि तपाईं दिन चाहनुहुन्छ भने मलाई एक वैवाहिक जीवनलाई सुन्दर बनाउनका लागि के के गर्नुपर्छ र के के गर्नुहुँदैन भन्ने कुराको परामर्श पत्र लेखेर दिनुहोस् भनेका थिए’, लताले भनेकी छन् । लताका अनुसार उनले दिएको त्यो पत्र आरडीले जिन्दगीभर सम्हालेर राखेका थिए ।

    आरडीको ५४ वर्षको उमेरमा सन् १९९४ जनवरी ४ मा हृदयघातका कारण निधन भएको थियो ।

  • निजी संस्थाले हकभोग गरेको अर्बाैको जग्गा भरतपुर महानगरको स्वामित्वमा

    निजी संस्थाले हकभोग गरेको अर्बाैको जग्गा भरतपुर महानगरको स्वामित्वमा

    चितवन । एक निजी संस्थाले हकभोग गर्दै आएको अर्बाै रुपैयाँ पर्ने जग्गा भरतपुर महानगरपालिकाले आफ्नो स्वामित्वमा ल्याएको छ । पूर्व–पश्चिम राजमार्गसँग जोडिएको भरतपुरको मुख्य शहरमा रहेको एक बिघा १५ धुर जग्गा महानगरले आफ्नो स्वामित्वमा ल्याएको हो ।

    नेपाल नेत्रज्योती संघले हकभोग गर्दै आएको भरतपुर ओरालोबाट उत्तरतर्फको कुल एक बिघा सात कठ्ठा १५ धुर जग्गामध्ये संघलाई सात कठ्ठा छाडेर बाँकी जग्गा भरतपुर महानगरपालिकाले आफ्नो स्वामित्वमा लिने विषयमा बिहीबार महानगर र संघबीच सहमति भएको हो । सहमति पत्रमा महानगर प्रमुख रेनु दाहाल र संघका सभापति कृष्णराज धरेलले हस्ताक्षर गरेका छन् ।

    ‘वर्षाैँदेखि निजी संस्थाले हकभोग गर्दै आएको जग्गा स्थानीय सरकारको स्वामित्वमा ल्याउनु महत्वपूर्ण उपलब्धि भएको ठान्छु’, दाहालले भनिन् । उक्त जग्गालाई आवश्यकता अनुसार प्रयोग गरिने उनले बताइन् ।

    युनाइटेड स्टेट अफ अमेरिका एजेन्सी फर इन्टरनेशनल डिभलपमेन्ट मिसन टु नेपाल (यूएसएड)को नाममा फिल्ड बुक दर्ता कायम रहेको उक्त जग्गा संघले २०४६ पुस २६ गतेदेखि हकभोग गर्दै आएको थियो । एक बिघा सात कठ्ठा १५ धुरजग्गामध्ये सात कठ्ठामा संघले सञ्चालन गरेको भरतपुर आँखा अस्पताल चिजकुमार, विष्णुकुमारी श्रेष्ठ बहिरंग सेवा विभागको भवन रहेको छ ।

    बाँकी जग्गामा एक व्यवसायीले जंगल आइल्याण्ड होटल सञ्चालन गरेका थिए । जग्गा भाडा सम्झौता अवधि सकिएपछि संघले होटलसँगको सम्झौता रद्द गरेको छ । हाल होटलभित्रका संरचना र रुख कटानको काम भइरहेको छ । अस्पतालको भवन रहेको जग्गा संघको नाममा दर्ता गर्ने र कुनै कारणले दर्ता हुन नसके संघले नै आफ्नो परियोजना सञ्चालन गर्न पाउने कुरामा महानगरले मञ्जुरी दिएको छ ।

    त्यस्तै, अस्पतालले बनाउन लागेको अर्काे भवनको लागि महानगरले स्रोत व्यवस्थापन गरिदिने र भवनको नक्सा पास गर्दा लाग्ने दस्तुर मिनाहा गरिदिनेगरी संघ र महानगरबीच बिहीबार सहमति भएको हो ।

    सहमति भएसँगै महानगरले आफ्नो स्वामित्वमा ल्याउन जग्गाको लालपुर्जा महानगरको नाममा बनाउनुपर्ने छ । अब लालपुर्जा बनाउने प्रक्रिया अघि बढ्ने महानगरका प्रमुख प्रशासकिय अधिकृत रामबन्धु सुवेदीले जानकारी दिए ।

  • तातोपानी नाकामाथि ‘चिसोपानी’ खसेपछि : पहिले व्यापारी, अहिले ज्याला मजदुरी

    तातोपानी नाकामाथि ‘चिसोपानी’ खसेपछि : पहिले व्यापारी, अहिले ज्याला मजदुरी

    सिन्धुपाल्चोक । चीनसँग सीमा जोडिएको तातोपानी नाकाबाट आयात–निर्यात सहज नहुँदा व्यवसायी पलायन हुन थालेका छन् । ०७२ सालको विनाशकारी भूकम्पपछि बन्द भएकोे तातोपानी नाका ठूलो तामझामका बीच १५ जेठ ०७६ मा उद्घाटन भई सन्चालनमा आएको थियो । तर, केही बर्षयताको लगातारको बाढी पहिरोका कारण जीर्ण बनेको सडक, कोभिड महामारी लगायतका कारण देखाउँदै करिब डेढ वर्षदेखि यो नाका सुस्त बनेको छ ।

    स्थानीय व्यवसायी वेदबहादुर श्रेष्ठ भन्छन्, ‘सभामुख, अर्थमन्त्रीसहितको उच्चस्तरीय टोलीले बेलाबेलामा व्यापार सहजीकरणका लागि नाकास्थलको निरीक्षण गर्ने गरेको छ । तर, चिनियाँहरूले नाकामा सुरक्षा प्रोटोकलमा थप कडाइ गरेको छ । चीनले आफ्नोतर्फबाट हुने निर्यात पनि दैनिक कोटा तोकेर पठाउने गर्छ ।’

    अहिले नेपाली ट्रक सामान लिन चीन जान पाउँदैन । चीनले नै ड्राइपोर्टसम्म सामग्री ल्याइदिने हुँदा नेपाली व्यापारीले सोचे अनुसारको सामग्री ल्याउन पाउँदैनन् । तातोपानी नाकाबाट भूकम्पअघि हुने स्थानीय सामग्रीको निर्यात पनि अहिले शून्य छ । तातोपानी नाका हुँदै सामग्री ढुबानी गरेर ल्याउँदा धेरै झन्झड व्यहोर्नु पर्ने व्यवसायीहरू बताउँछन् ।

    भन्सार प्रमुख नाराद गौतमका अनुसार माथिबाट पहिरो र तलबाट भोटेकोशी नदी कटानले तातोपानीसम्म पुग्ने बाटो भरपर्दाे र सहज छैन । कोदारी क्षेत्रमा अघिल्लो वर्ष गएको पहिरोका कारण क्षति भएको सडक निर्माण नहुँदा समस्यासँगै स्थानीय भने आक्रोसित छन् । नाकाबाट अहिले दिनमा ८–१० वटा कन्टेनर भित्रिन्छन् । मनसुनको समय भएकाले सडकसम्बन्धी जोखिम झन् बढ्दै गएको छ ।

    मजदुरलाई जिविका धान्नै मुस्किल

    नाका नियमित सन्चालनमा नआउँदा यसको मार सीमाका बासिन्दामा पनि परिरहेका छन् । सीमामा बस्ने अधिकांश स्थानीय व्यापार गरेर जीवन धान्ने गर्थे । अहिले सीमावासी तितरबितर भएका छन्  ।

    सीमा गाउँमा खेतीयोग्य जमिन पनि छैन । उनीहरूको प्रमुख पेसा भनेको तातोपानी लिपिङमा झोलेपोके व्यापार नै हो । पछिल्लो समय व्यापारीले भित्र्याउने सामानलाई लोडअनलोड गरेर जिविका चलाउनुपर्ने अवस्थामा छन् । तर, अनेकन चुनौतीले ठूला व्यापारी पलायन हुने अवस्थामा पुग्दा मजदुरीबाट समेत जीविका धान्न मुस्किल पर्न थालेको उनीहरूको दुखेसो छ ।

    मजदुर फुर्पा शेर्पा भन्छन्, ‘जग्गा जमिन हुनेले त कमाई गरेर खान्छन्, जग्गा नै नहुनेको बिजोक छ, व्यापारीले भित्र्याउने सामानलाई लोडअनलोड गरेर कमाएको पैसाले जीविका धानेको थियो, नाका बन्द भयो जीवन धान्न गाह्रो छ । कतै जाउँ जाने ठाउँ छैन् ।’

    भूकम्पअघि सम्म यहाँ दैनिक १४ सय मालवाहक कन्टेनर, २८ सय चालक र पाँच हजार मजदुर परिवारको चहलपहल हुन्थ्यो । तर, अहिले सुनसान जस्तै बनेको छ । व्यवसायी र स्थानीयले सरकारलाई पटक पटक नाका सहज बनाउन आग्रह गर्दै आएका छन् । सरकारले पनि चिनिया पक्षलाई विवरण राख्ने आश्वासन दिने गर्छ । तर, नाका चिनिया अधिकारीको आदेशअनुसार सीमित मात्रै खुल्छ । नाका सहज हुने वातावरण भने अझै पनि बन्न सकेको छैन ।

  • बाँदरमुढे घटनाको १७ वर्ष : अझै उचित न्याय पाएनन् पीडितले

    बाँदरमुढे घटनाको १७ वर्ष : अझै उचित न्याय पाएनन् पीडितले

    काठमाडाैं । तत्कालीन सशस्त्र द्वन्द्वको समयमा माडीको बाँदरमुढे खोलामा भएको बम विस्फोटको आज १७ वर्ष पूरा भएको छ । घटना भएको झण्डै दुई दशक पुग्न लाग्दासमेत पीडितले अझै परिपुरण र औषधि उपचारको माग गर्दै हिँड्नुपर्ने बाध्यता रहेको छ ।

    तत्कालीन नेकपा माओवादीले राखेको एम्बुसमा माडीको बगईबाट १५० जना यात्रु बोकेर नारायणगढतर्फ आउँदै गरेको ना १ ख ३२४५ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा ३८ जनाको मृत्यु भएको थियो भने ७२ घाइते भएका थिए । सोही घटनामा पीडित बनेका माडी नगरपालिका– का कृष्ण अधिकारी अहिलेसम्म पनि राज्यका तर्फबाट परिपुरणको व्यवस्था नहुनु दुःखद् रहेको बताउँछन् । उनी भन्छन् ‘घाइते हामी धेरै छौँ । जम्मा २२ जनाले मात्र राहत पाएका छन् । अरुले पाउन सकेका छैनन् ।’

    घाइते मध्ये ५० जनाले राज्यबाट सहयोग पाउन नसकेको उनकाे भनाइ छ । उनले थपे ‘सरकारले बाँदरमुढे पीडित भनेर रातो किताबमा नाम निकालेकाले मात्रै राहत पाएका छन् ।’ यो नाम पनि शक्तिको आधारमा राखिएको उनकाे भनाइ छ ।

    राहतमा नाम नपरेकाका लागि पुनः मूल्याङ्कन गरी राहतको व्यवस्था गर्नुपर्ने उनकाे माग छ । राहतका लागि राखिएका नाममध्ये २० प्रतिशतदेखि शतप्रतिशतसम्मको रहेको छ । शतप्रतिशत राहत पाउने दुई जना रहेका छन् भने अधिकांश २० प्रतिशत राहत पाउने रहेका छन् । यसको पुनरावलोकन हुन नसक्दा समस्या आएको उनले बताए ।

    राज्यले अहिलेसम्म पीडितलाई खासै केही गर्न नसकेको अर्का पीडित सुदीप न्यूरेले बताए । अहिले राज्यले पीडितलाई झुक्याउने र पीडितले विरोध गर्ने कामभन्दा केही हुन नसकेको उनकाे भनाइ छ । उनले भने ‘बाँदरमुढे पीडितलाई परिपुरणको व्यवस्था मात्रै राज्यले गर्नसक्ने हो भने धेरै समस्या हल हुन्छ ।’ माओवादी केन्द्रका जिल्ला नेताले सो घटनालाई सामान्यरुपमा लिएकाले अहिले सम्म समस्याजस्ताको तस्तै रहेको उनले आरोप लगाए । उनले भने, ‘यो घटनाको विषय जिल्ला नेताहरुले उठाउनै चाहँदैनन् । हाम्रो समस्यामा स्थानीय नेताहरु बाधक बने ।’

    बाँदरमुढे पीडित सङ्घर्ष समितिका अध्यक्ष मुक्ति न्यौपाने अहिले पनि घटनास्थलमा पुग्दा आफ्नो शरीर काप्ने गरेको बताउँछन् । उनले भने ‘मेरो श्रीमतीको शव अहिले पनि त्यही छ जस्तो मलाई लाग्छ ।’ घटना भएको १७ वर्ष पुग्दासमेत राज्यले आफ्नो दायित्व पूरा गर्न नसकेको उनकाे भनाइ छ । उनले भने, ‘तत्कालीन माओवादीका अध्यक्ष पुष्पकमल दाहाल दुई–दुई पटक प्रधानमन्त्री हुँदासमेत आफूहरुको माग सम्बोधन नहुनु दुःखद् रहेको छ ।’ पीडितले अहिले न्यायको कुरालाई पछि राख्दै परिपुणरलाई प्रथामिकता दिनसमेत आग्रह गरेका छन् । उनले भने, ‘पहिला घाइतेको उपचार र परिपुरणको व्यवस्था गर्नु राज्यको दायित्व हो ।’ न्याय र परिपुरण दुवै हुन नसकेको पीडितको गुनासो रहेको छ ।

    नेकपा (माओवादी केन्द्र) चितवनका अध्यक्ष रामचन्द्र अधिकारीले पार्टीको पहलमा पीडितलाई न्याय र परिपुरणका क्षेत्रमा धेरै काम भएको जानकारी दिए । पीडितहरुको मागलाई मध्यनजर गर्दै सरकारसँग आफ्नै पार्टीको पहलमा घटनास्थलमा उद्यान निर्माणदेखि स्वास्थ्योपचार, शिक्षा, रोजगारलगायतमा प्रथामिकतामा राखेर काम भइरहेको उनकाे भनाइ छ । उनले भने, ‘तत्कालीन घटनालाई देखाएर धेरै प्रचारबाजी भएका छन् । काम नभएको होइन । यो द्वन्द्वकालीन घटना हो ।’